Posted by: Rudramati June 18, 2013
कथा - र अन्तत: म पोइल हिंडें l
Login in to Rate this Post:     0       ?        
म शुभश्री l कस्तो राम्रो नाम! तर म कहिल्यै कसैकोलागी शुभ साबित हुनसकिन l पूर्बी नेपालको गाउँमा जन्मेर हुर्केपनि मैले पढ़नेलेखने वातावरण पाएको थिएँ l गरिब परिवारमा जन्मेपनि छोराछोरीलाइ पढाउने कुरो बाबाआमाको प्राथमिकता थियो l म आफैंलाई भाग्यमानि मान्थेl नौ कक्षा पुरा गरेकै दिनबाट मेरो जिन्दगी  बदलिन थाल्यो l मलाइ लाग्छ तब देखि म शुभश्री बाट अशुभ बनें हुँला l टाढाका आफन्तले मेरो बिहेको कुरो चलाए l ठीकैको हुनेखाने परिवार, सभ्य र राम्रो खानदान, लायक केटो यस्तै यस्तै फतुर लाएर मेरो बिहेको लागि बाबाआमा लाइ राजि बनाएछन l एक त गरिबी अर्को हुर्केकी छोरी l हुर्केकी त के भन्ने भर्खर १५ लागेकी थिएँ तर गाउघरमा त्यो उमेर त्यसबेलाको लागि हुर्केकै हुन्थ्यो l छोरीलाई पनि पढाउनुपर्छ भन्ने मेरा बाबाआमाको आखामा आफन्तले त्यसबेला के त्यस्तो पट्टि लगाइदिए हुनन् , मेरो बिहेजस्तो कुरो मलाइ एकै वचनपनि नसोधी तय गरिदिए l म रोएँ, बिरोध गरें तर त्यसको केहि अर्थ थिएन l हतारोहतारो मै बिहे भयो र म जीवनमै पहिलोपटक त्यति टाढा काठमाण्डौ नजिकै एक गाउँमा नौली बुहारी बनेर भित्रिएँ l न त मलाइ बिहेको खुसि थियो न केहि उमंग l सुरुका केहि समय सामान्य नै बिते l पछी थाहा लाग्यो मेरा दुलाहालाइ टीबी रहेछ l जुन कुरो मेरा माइतीलाई पनि ढाँटिएको थियो l तर समय गुज्रिसकेपछी  औषधि त बेकाम हुन्छ भने त्यो पक्रिएको झुटको के कुरा! गरिबमा मेरो घर माइतिभन्दा गरिब थियो l चार छोरा, तिन छोरी मध्ये म माहिली बुहारी l घर एक खालको कलहखाना झैँ लाग्थ्यो l सबै प्राणि कर्कस, झर्कोफर्को, बुहारी भनेको काम गर्ने मेसिन जस्तो l जिन्दगी ले सुम्पेको तितो यथार्थ संग दिन बित्त्दै थियो म गर्भवती बनें l दुखका पहाड झन् झन् चुलिंदै गयो l करकापमा जोडिएको नाता ले हो या के हो मलाई त्यो घर, परिवार र यहासम्मकि आफ्नै दुलाहाको पनि अन्तरहृदयदेखि कहिल्यै माया लागेन l यत्ति हो कि त्यो मेरो कर्म घर हो l म वफादार र जिम्मेवार हुनुपर्छ भन्ने सोच्थें बाँकी आफ्नोपन कहिल्यै कहिल्यै म मा पलाउन सकेन l ति टीबी ले खटारो बनाइएका दुलाहा प्रति मेरो मानबिय समबेदना पक्कै थियो तर प्रेम थिएन l जुन दिन मेरो सहमति बिना मेरो बिहेको टुंगो लगाएर आफ्नो बोझ हल्का गर्दै मलाइ पराइको गाउँमा पठाइदिए त्यसदिन देखि मलाइ बाबाआमा समेत पराइ नै लाग्थ्यो l चाहेर पनि मैले त्यो अनिच्छित जिन्दगीसंग सम्झौता गर्न सकिरहेको थिइन तर त्यहि नै मेरो नियति थियो l छोरी जन्मी l केहि खुसि लाग्यो तर उसको भबिस्य आफ्नैसंगदाँजेर म संधै तर्सिन्थे l    

 
जीवन चल्दै थियो भनुँ चलाउने प्रयत्नमा थिएँ l त्यहि तिबिग्रस्त मेरा पति र म बीच कुनै सुमधुर सम्बन्ध स्थापित हुनैसकेन l उसलाई  आत्मग्लानी हुन्थ्यो या हिनताबोध या त जिन्दगी प्रति दिक्क ,,,तर त्यो सबैको भडास मेरो शरीरमा हिलैमैलै जुत्ता सहित लात्तीले बजाएर निकाल्ने गर्थ्यो सानो सानो निउमा l मलाइ थाहा थियो यो सब मैले सहनु जरुरि छैन l किनकि मेरो केहि दोष थिएन l ऊ गरिब थियो, रोगि थियो र थियो कर्कस सुकेको रुख जस्तो तर त्यो सबमा म कारण थिइन l सायद त्यहि नमिठो पनाले होला मैले कहिल्यै सम्बन्ध मिठो बनाउने रहर पनि गरिन l यस्तैमा एक दिन ढाँ कुट्न मेलमा जाँदा बाटोमा एक युवक भेटिए l ति अबिबाहित र शहरमा पढ्दै रहेछन l सामान्य चिनाजानी भयो l केहि महिनाको लागि गाउँ फर्किएका ति युवक संग मेरो भेटघाट बाक्लिंदै गयो l तिनले मेरो बारे सब सोधीखोजी गरिसकेपछि पनि निक रुची र सम्मान देखाइरहे l मलाइ लाग्यो मेरो प्रेम त्यहि युवक हुन सक्छन न कि मेरो रुखो रोगि पति l तिनले एक साँझ म र मेरो छोरी लाइ लिएर शहर जाने र बाँकीको जिन्दगि संगै बिताउने भनेपछि मैले आखा चिम्लेर हुन्छ भनिदिएँ l मलाइ थाहा थियो मैले गलत गर्दैछु तर नचाहेको, कामना नगरेको , सपनै नदेखेको रुखो रोगि संग चुपचाप जिन्दगि बिताउनु भन्दा कामना र सपनाको मान्छे संग रुँदै हाँस्दै बाँच्नु उचित सम्झेर एक रात चुपचाप छोरी बोकेर तिनै मायालु संग शहर पसें l त्यसपछि मलाइ र मेरा मायालु ‘प्रतिक’ लाइ यो गन्दे र अन्धो समाजले भयानक गालि र घृणा दियो l प्रतिक त आफ्नै परिवारबाट बहिस्कृत नै भए l तर मलाइ खास नमिठो लागेन न त पश्चाताप नै भयो l जिन्दगी मा सम्झौता या आवेग को नाममा  श्रीमती गिंडने या जलाउने यहि समाजका लोग्ने मान्छे हुन l रात दिन पिटेर कुटेर कसैको जीवनको मूल्य नदेख्नेहरुको माझमा मैले मन नपरेपनि कहिल्यै कसैलाई कुटिन , पिटिन, जलाइन l कुनै बहानामा मैले हिँसा गरिन l न त आफ्नो बाध्यतामा सन्तानको घांटी दबाउने आमाहरु जस्तो केहि गरें l आफ्नो लामो जिन्दगीको लागि स्वेच्छाले रोजेको मायालु संग आफ्नो मुटुको टुक्रा छोरी बोकेर चुपचाप हिंडीदिएँ त के अपराध गरें ? 

 
हो मैले यस्तो सोचेर आफुलाई बलियोबनाइ रहें l 

 
अब त प्रतीक को  पनि बढुवा भएको छ जागिरमा l छोरी कृसा स्कुल पढ्न थालि l प्रतिक कति मायालु र सहनशील छ ,,,,आज उसैको मायाले मैले र मेरी छोरीले पुनर्जीवन पाएका छौं l समय घर्किन कति बेर! अब १२ पास गर्ने बितिकै म यो भन्दा राम्रो काम गरुँला l अनि त जिन्दगी चलिहाल्छ नि ! भो अब मलाइ  पछाडी फर्केर त्यो कालो समय सम्झनु छैन l तर यत्ति याद आउँछ कि अझै पनि त्यो समाजले मलाइ ‘पोइल गएकी’ भनेर नाक खुम्च्याउन छोडेका छैनन् l र बिर्सिन सक्दिन ,,,त्यो सारा उकुसमुकुस गुम्फन  जिन्दगीबाट निस्सासिएं निस्सासिएँ र अन्तत: म पोइल हिंडें l +++++++++++

 
अबेर साँझ डायरी पढिसकें तर मन रंथन्नीरह्यो रातभर र आखामा फ्ल्यास्ब्याक भैरह्यो  शुभश्रीको कहानी, ति शान्त तर चंख आँखाका रहस्य अनि डायरीका अन्तिम वाक्य,”...र अन्तत: म पोइल हिंडेंl”
Read Full Discussion Thread for this article