Posted by: Rudramati May 23, 2013
कथा– घृणा
Login in to Rate this Post:     0       ?        
लेखक : सुबिन भट्टराई
source: www.ekantipur.com/kantipur/news/news-detail.php

बूढीका आँखा त्यसैकी बुहारीले सधैँ बुनिरहने सुइटरको काँटाले रोपिदिनू जस्तो लाग्छ । हेर्न पनि सधैँ एकनाशले आफ्ना आँखाका नानीसमेत नहल्लाई सुइरोले झैँ हेर्छे । बर्षौदेखि आफ्नो घरको बार्दलीबाट मेरो आँगनमै एकनाशले हेरिरहनु नै उसको दिनचर्या बनेको छ । म कलेज जाने बेलामा हेर्छे । कलेजबाट फर्केर आएपछि पनि हेर्छे । भित्र पस्दा हेरिरहेकी हुन्छे । बाहिर निस्किँदा हेरिरहेकी हुन्छे । बूढीको घर र मेरो घर ठ्याक्कै आमनेसामने छ ।


'टाढै बाबू ?' देखेसम्म हरेकपल्ट बूढी मलाई जानेबेलामा एकपल्ट यो सोधेरै छाड्छे ।

त्यसैले मलाई भरसक बूढी नभएको मौकामा मात्र घरबाट बाहिर निस्किन मन लाग्छ । तर बूढीको स्वभाव कस्तो भने ऊ घरी घरी मात्र आफ्नो बार्दली छाड्छे । चिया र फलफूलसम्म त ऊ बार्दलीमै बसेर खान्छेे । त्योभन्दा माथ्लो स्तरको खानेकुरामात्र  भित्र पसेर खान्छे । मलाई लाग्छ, बुहारीले बाहिरै ल्याइदिए ऊ खुसीखुसी मेरै घरतिरै हेर्दै हसुर्दी हो । 

अतः प्रत्येकपल्ट आफ्नो घरबाट बाहिर निस्कने बेला बूढीले गर्ने प्रश्न सुनेर मेरो रगत उम्लिन्छ ।' घरमा कोही आउनै हुँदैन ।  'को आ'को बाबु ?' भनेर सोध्छे । एकपल्ट 'तलाइँ के चासो बूढी ?' भन्ने जवाफ फर्काउन मन लाग्छ । तर म सामाजिक हुनुको ढोङ्ग गर्दै लुत्रुक्क परेर नाटकीय आवाजमा सही सही जवाफ दिन्छु । अनि एकपल्ट आफैँले आफैँलाई कायर भनेर उक्साउँछु । तर त्यो स्व-उक्साहट मेरो सामाजिक हुनुको अभिनयसँग पराजित अनुभव गर्छ । र म बूढीलाई एउटा तिरस्कारको हेराइ हेरेर काम चलाउँछु ।

लाग्छ, उसलाई मेरो आँगनमा म कतिबेला निस्किन्छु भनेर प्रतीक्षा नै रहेको हुन्छ । दाँत मोल्ने बेलामा मलाई आँगनमा निस्केर टहल्दै दाँत मोल्नुपर्छ । बूढी, त्यतिबेला पनि आफ्नो बार्दलीमा भएको कुर्सीमा बसेर मैले दाँत मोल्दै गरेको एकटकले हेरिरहन्छे । मुखभरि थुपि्रएको मञ्जनले बूढीको मुखैमा थुकिदिउँ पनि लाग्छ । 

मलाई कुनै कोणबाट मन पर्दैन बूढी । बूढीको त्यस्तो बानी देखेर होला मलाई समस्त बूढाबूढीको जातप्रति नै घृणा लाग्न थालेको छ । कस्तो चासो राख्नुपरेको अर्काको कुरामा ?

एकदिन त बूढीले हद नै गरी । सधैँ कलेज जाँदा गेटबाट बाहिर निस्केर म पश्चिमतर्फको बाटो लाग्थेँ । त्यो दिन पूर्वपट्टकिो बाटोमा घर भएको एकजना परिचितलाई भेटेरै जानुपर्ने काम थियो ।  निस्कने बेलामा बूढी मलाई हेरिरहेकी थिई । सधैँझैँ 'टाढै बाबू ?' भन्ने प्रश्न सोधी । मैले आंशिक झर्किँदै सीधा जवाफ दिएँ । तर म पूर्वतिर किन लागेँ, यो बूढीले सोधिन । यस्तो पनि भएको थियो, बूढीले त्यो प्रश्न सोध्न नभ्याओस् भनेर हतार हतार म त्यो बाटोतर्फ दौडिसकेको थिएँ । 

धन्न ! यो कुराको स्पष्टीकरण बूढीलाई दिनुपरेन । मन ढुक्क थियो ।

तर बेलुकी र्फकँदा बूढी उस्तै पोजमा बार्दलीमा बसिरहेको फेला परी ।

'आज किन यताबाट नगएर उताबाट बाबु ?' सोध्न भ्याइहाली । कन्सिरी तात्यो । दिनभरि यै सोध्न पर्खेर बसेजस्तो गरेर बूढीले मलाई यो सोधी । एकपल्ट गएर बूढीको जगल्टा उखेल्नुजस्तै लाग्यो । तर रिसले म नसुन्याझैँ गरेर छिटोछिटो आफ्नो घरभित्र छिरेँ । 

अब बूढीले गाउँ हल्लाउँदी हो । 'फलानाको छोरो आजकाल बोल्दा पनि नबोली हिँड्छ ।'

एकपल्ट त्यस्तै भएको थियो । बूढीको हरेक प्रश्नको उत्तर दिँदादिँदा हैरान भइसकेको म, एक दिन नबोली हिँडिँदिएको थिएँ । भोलि, पर्सिपल्ट गाउँमा फलानाको छोरो ठूलो भो रे भन्ने हल्ला व्याप्त । घरका सदस्यले मलाई गाली गरेपछि पो थाहा पाएँ । 

'कसैसँग बोल्दिँदा तँ ठूलो हुन्छस् ?'

म के भनूँ ? त्यो बूढीसँग अरू बेला बोलेकै छु नि ! एकैपल्ट नबोलेको त हुँ !

घरी घरी त्यो बार्दलीमा बूढी नहँुदा मलाई विछट्ट आनन्द लाग्छ । आँगनमा गएर खेलूँ खेलूँ लाग्छ । कुटायममा भए पनि ब्रस गर्न मन लाग्छ । हावाको स्वाद लिन मन लाग्छ ।

तर हतपत बूढी मलाई त्यो सुख दिन कहाँ तयार देखिन्छे ?

उसलाई त आफ्नो बार्दलीमा तैनाथ रहेर मेरो सम्पूर्ण गतिविधिमाथि चियो राख्नु छ । म कहाँ जान्छु ? कुन बाटो जान्छु ? किन जान्छु ? उसलाई सब चाहिन्छ । ऊ आफ्नी बुहारीसँग बाझ्दा 'म कान नसुन्नेलाई...,' वा 'म आँखा नदेख्नेलाई...' भनेको म आफ्नो आँगनबाट सुनिरहेको हुन्छु । तर उसका आँखा चुस्त छन् मेरो गतिविधि नियाल्न । उसका कान सधैँ सुनिरहन्छन् मेरो घरको गेट बजेको । मेरो घरमा कोको किन आउँछन् बूढी सब जानकारी बरोबर पाई नै रहेकी हुन्छे ।

हो, यसैले त म घृणा गर्छु त्यो बूढीलाई । म मनमनै बूढीलाई निकै सराप्ने गर्छु । 'मर्न नसकेकी बूढी,' 'अलच्छिने...' आदि आदि । साँच्चै म बेला बेलामा बूढी मरेको कल्पना गर्छु । कति आनन्द आउँदो हो ! कति हलुको हुँदो हुँ म त्यस दिन ! वर्षौँदेखि बूढीले भन्दै आएकी छे, 'अब कति नै बाँच्छु र ? डाँडामाथिको घाम ।' हो डाँडामाथिको घाम । तर यस्तो लाग्छ, पश्चिमको डाँडामाथिको घाम नभई पूर्वको डाँडामाथिको घाम हो बूढी । लाग्छ बूढीलाई अझै धेरै बाँच्नु छ । मेरा धेरै गतिविधिहरूको चियो नराखी बूढीलाई मर्नु छैन ।

र बूढी कहिल्यै मर्दिन । न मभित्रको बूढीप्रतिको घृणा नै मर्छ । मर्छ त केवल बूढी मरोस् भन्ने मभित्रको आस ।

बूढीले मेरो अर्थोक केही बिगारिदिएकी छैन जसका लागि म बूढीलाई यतिविधि घृणा गरूँ । मलाई आफूभित्र भएको घृणाको परिमाणदेखि डर लाग्छ कहिलेकाहीं । यो यतिविधि घृणा केको द्योतक हो ? कोही कसैलाई यतिविधि घृणा गर्छ र ? आफैँ पहिल्याउन असमर्थ छु । यसर्थ मेरो मनको एउटा कुनोमा बूढीप्रति भएको यो भावप्रति म कहिलेकाहीं स्वयम् क्षुब्ध हुन्छु । यो के ? कतै म ठूलो पाप त गरिरहेको छैन ? बूढाबूढीलाई कत्रो सम्मान दिने गर्छ यो समाज ? देशले नै ज्येष्ठ नागरिक भत्ता दिने गरेको छ । गाडीमा यात्रा गर्दा बूढाबूढी उभिएका छन् भने, जवानहरू जुरुक्क उठेर उनीहरूलाई सिट छाडिदिन्छन् । जता पनि सहुलित, सम्मान र सहयोग पाउँछन् उनीहरू, केवल उनीहरूको उमेरकै कारण । तर म ? म त केवल एकोहोरो घृणा मात्र गरिरहेछु ।
Last edited: 23-May-13 12:30 PM
Read Full Discussion Thread for this article