Posted by: timi_mero_sathi May 11, 2013
कथा- मेरो छोरो घूस खाँदैन
Login in to Rate this Post:     3       ?         Liked by
 

कथा- मेरो छोरो घूस खाँदैन

 

4
 

मनु ब्रजाकी

हिजो ऊ स्वास्नी र छोरो लिएर काठमाडौँबाट आएको थियो, आजै महाभारत सुरु भइहाल्यो ।

“गधा … गोबे्र कीरा… अफिसर रे ! यस्ता छुसी अफिसर ! सबै काँबाट काँ पुगिसके, लिन्ठिङलिन्ठिङ हल्लनदास अफिसर ! सत्यहरिश्चन्द्र बन्न खोजेको होला… पाजी ! के मुख देखाउन आएको यो बूढो बाउलाई ?”

“तपाईंलाई सन्चो छैन बा, आराम गर्नुभए हुन्थ्यो नि !” उसले स्वास्नीतिर हेर्दै भन्यो । स्वास्नीको अनुहार निर्विकार थियो- तटस्थ अर्थात् स्वास्नीको मनस्थिति पनि लोग्नेपक्षतिर होइन ससुरापक्षतिर नै थियो अर्थात् तटस्थताको एउटा किनार हुन्छ नै ।

“भुत्रो आराम गर्नु… आराम गर्नु रे ! हेर् लोकप्रसादको छोरालाई, खरदार भएर बिल्डिङ ठोकिसक्यो । हेर् गोलु विष्टको छोरालाई, घरका सम्पूर्ण आइमाईका नाककान, नारीगला पहेँलपुर पारिसक्यो । हेर् वीरमानको भाइलाई, मोटरसाइकल कुदाएर हिँड्छ । पद्यराजको नातिलाई, सुब्बा पनि छैन यता गाउँमा मिल ठड्याइसक्यो, उता काठमाडौँमा लाख रुपियाँको घरेडी किनिसक्यो । त्यै शुक्रनाथकी साइँलीलाई हेन् न, जाबो नर्स त हो कि राजमार्गछेउ पाँगेको घडेरी किनेर दोकान ठड्याइसकी…. । तैँले के गरिस् ? हँ, तैँले… तँ छुसीलाई त त्यै तलब पनि नपच्ने भो, अघाएर कत्रो डकार मारेको ।”

वरिपरि छरछिमेकीहरुको आकस्मिक उन्नतिले गर्दा बूढाबाको मानसिक सन्तुलन बिग्रन आँटेको छ । तीस वर्ष शिक्षक पेसामा घोटिएर अभाव र अपमानको घामपानी सहेर, घूसको नाउँमा घर जस्तो “घ” पनि सुन्न नचाहेर बल्लतल्ल छोरालाई अफिसर बनाएका थिए । सबै बाउले झैँ भविष्यको रङ्गीन सपना उनले पनि देखेकै थिए । त्यै भविष्यको रङ्गीन सपनालाई अफिसर छोराले धमिल्याउँदै थियो । उनले सोचेको थिए- मैले त दुक्ख पाएँपाएँ, मेरो छोरो र नातिनातिनाहरु सुख पाऊन् तर यो लठुवा त घूसै खान्नँ भन्छ !”

“तैँले घूस नखाएर के भो… देश कुन उन्नतिको शिखरमा पुग्यो र ? तँलाई कम्ता दुक्ख गरेर पढाएको हो र ? म स्कुलमा घोटिन्थेँ, तेरी आमा ठूलाबडाको चाकडीमा घरघर पुग्थी । अब यो बुढेसकालमा हाम्रो दशा देखेर तँलाई त्यो जाबो घूस खाने पनि आँट आएन लाछी ? आफ्नै दुलैको मुख हेर् न, कस्तो ओइलाएको जस्तो छ । हे प्रभु ! के दशा आइलागेको हो यो …”

अफिसमा घूस नखाँदा अमिलिएको थियो भने यहाँ आएर मनसमेत अमिलियो । जति पटक घर आयो सदैव यही लाञ्छना सुन्नुपथ्र्यो उसले । अतः आज साहसपूर्वक उसले धेरै दिनदेखि आफ्नो मनमा लागेको कुरा बासित सोध्ने अठोट गर्‍यो ।

“बा, म एउटा कुरा सोध्छु नरिसाउनुहोला, तपाईंले यत्रा वर्ष स्कुलमा हाड घोट्नुभो तर घूस खानुभएन । स्कुलनिर्माणमा, विद्यार्थीहरुलाई टेस्ट पास गराउँदा, स्कुलका सरसामान किन्दा, किन घूस खानुभएन ? किन हिनामिना गर्नुभएन ? कि विद्यार्थीहरुलाई रातरातभरि फ्री ट्युसन पढाउनुभो ? किन ? भन्नुस् किन ? गाउँको भविष्यका लागि, कि देशको भविष्यका लागि, कि मेरो भविष्यका लागि, कि आफ्नो भविष्यका लागि ?”

आदर्शको भावना उम्लिएर झण्डै आँखामा नआएको बूढा शिक्षक यस अप्रत्याशित प्रश्नले एक्कासि झस्किएर निरुत्तर भए । हतप्रभ भए । अनि आफ्नो यस अनौठो अफिसरतिर हेर्न थाले ।

उनका अनेकौँ शिष्यहरु अफिसर भइसकेका थिए । तिनीहरुलाई उनी सदैव इमानदारी र सदाचारको उपदेश दिन्थे र सन्तुष्ट हुन्थे । उनको आफ्नै जीवन पनि एउटा उज्ज्वल उदाहरण थियो । शिष्य अफिसरहरु उनीसित आँखा जुधाउन सक्तैनथे । मुन्टो निहुर्‍याएर विनम्रतापूर्वक गुरुको उपदेश सुनिराख्थे ।

उनी सात दिनसम्म निरुत्तर नै रहे । क्रमशः अन्यमनस्क हुँदै गए । भोक र निद्रा दुवै हराउँदै गयो । अफिसर छोराले सोच्यो, अब बल्ल बाको चित्त बुझ्यो । फतफत र गनगन बन्द भयो । अतः ऊ छैटौँ दिन आफ्नो छुट्टी सकेर सपरिवार काठमाडौँ हिँड्यो ।

आठौँ दिनका दिन बूढा शिक्षक मुखर भए । आँगनमा आएर चिच्च्याए- “मेरो छोरो घुस खाँदैन, बुझिस् प्यारी बुढी !” बूढीलाई फर्सीको मुन्टा केलाउन लागेको देखेर व्यङ्ग्यपूर्वक हाँस्तै उनी बाहिर आए । जिङ्गि्रङ्ग कपाल, राता आँखा, मैले लुगा, गाउँको आडमा पृथ्वीराजमार्ग लम्पसार परेको थियो । त्यहाँ चियापसलनेर एउटा बस अडिएको देखेर हानिँदै आए र एउटा सुटबुट लगाएको यात्रीलाई हात हल्लाईहल्लाई भन्न थाले- “बुझ्नुभो मेरो छोराले घूस खाँदैन । कहिल्यै खाँदैन । धरोधर्म खाँदैन । मेरो छोरो… तपाईंले चिन्नुभएको होला… हरिकृष्ण, अग्लो, गहुँगोरो छ, नाकनेर कोठी पनि विचार गर्नुहोला… कहिल्यै घूस खाँदैन…”

चियापसलनेरको राणाकालीन परिचित वरपीपलको चौतारी र त्यो अपरिचित यात्री दुवै वाल्ल पर्छन् । उनी भने अन्य यात्रीहरुलाई पनि सोही कुरा बुझाउँदै छन्- “गहुगोरो, अग्लो… नाकनेर कोठी, विचार गर्नुहोला… हरिकृष्ण, कहिल्यै घूस खाँदैन… बुझ्नुभो, मेरो छोरा घूस खाँदैन !”

सम्पूर्ण बस वाल्ल परेको छ ।

 

 

Read Full Discussion Thread for this article