Posted by: somewhereondearth March 7, 2013
दमयन्ती
Login in to Rate this Post:     11       ?         Liked by

दमयन्ती,

आज तिम्रो चिठीको उत्तर लेख्दैछु । लेख्ने अर्को प्रयास गर्दै छु । यो सक्छु सक्दिन केहि थाहा छैन । सके भनेपनि तिमीलाई पठाउँछु, पठाउँदिन त्यो पनि थाहा छैन । तर शुरु गरेको छु । एक फेर तिम्रो चिठीको थियो, आशा छ यसले अर्को फेर भेट्टाउने छ ।


जीवनमा एउटा अनिवार्य आयाम हुन्छ, समयको । समयले जीवनका तत्वहरुलाई आकार दिन्छ, वजन दिन्छ, चिनारी दिन्छ । यो आयाम बिना जीवन शुन्य भइदिन्छ । भुत, भविष्य र वर्तमान एकै बिन्दुमा बसिदिन्छन् । जीवन प्रसारण हुँदैन । तर केहि भोगाई हुन्छन, जो समयले छुँदैन, भिज्दैन । तिमीसँगको सम्झंना, त्यसपछिका भाव मेरो जीवनमा काल बिहिन बसिरह्यो । समयले निकै लेप लगायो, निक्कै ढाको । अहँ यो पाकेन, उस्तै छ । आज किन हो, म बिगतमा पुगेको छु । म सँग अहिले तिमीसँगको हिजो आज भएर आएको छ, म अनुवृत्त बनेको छु । तिम्रो चिठी उत्तर मैले कहिले लेख्न सकिन । जब जब लेख्छु भनेर कलम उठाँए, कलम गह्रौं भइदियो, लेखेका अक्षरहरु मक्किदै गए, बाक्यहरु बाँधिएनन् । म कमजोर भए । मैले उत्तर पठाउन कहिले सकिन । तर मलाई सँधै केहि अपुग जस्तो भयो, असहज भयो । आज फेरि मन पोलेको छ, त्यसैले म लेख्दै छु । आशा छ यो चिठी पुरा हुनेछ ।


म सफा नै छु । सन्चै छु । सामान्य उतार चढावहरु अविछिन्न नै छन्, जीवन बित्दो नै छ । बिहे गरिन, मलाई जाँगर पनि लागेन । धैर्य चाहिन्छ, मसँग थिएन । आफन्तले निकै प्रयास गरे, मैले सकिन । अहिले प्रसंङग छुटेको घटना भइसक्यो । एक्लै बस्छु, अर्को तिर भाइहरु बस्छन् । बात मार्न, रक्सि खान साथ मनग्गे छ । १-२ बर्षमा फेरिन्छन केटाहरु । जागिर त्यहि नै हो । बुढो साइकल जस्तो छ । म चलाउँदै छु, धानेकै छ ।


यो त भए तिम्रा शुरुका प्रश्नहरु को उत्तर । तिमीले प्रश्न सोधेको पनि ७ बर्ष हुन लागेछ । अब यी उत्तरहरुको पनि खासै औचित्य छैन, तर पनि लेख्दै छु । तिमीले सोधेकि थियौं, म जवाफ दिदै छु। म ढीलो नै भए तर उत्तर दिन मन लाग्यो । तिमीले हाल खबर सोध्यौ, मलाई सन्चै छु भन्न मन लाग्यो ।


तिमीले छोएर गएपछि म नजाँनिदो ब्यत्ति भए आफैसँग । म बिस्तारै आफ्नो छाँयासँग अपरिचित हुन थाले, बिगतको म मलाई परदेशी लाग्न थाल्यो । मेरो छाँया म भन्दा निकै पर पुग्यो, म भने तिम्रो स्पर्शबिन्दुमै अडिए । यो बढो असहज परिस्थिति बन्यो, म गुज्रिए । मलाई सत्य सापेक्षिक लाग्दथ्यो तर यहाँ आयाम परिवर्तन हुँदैथ्यो । मलाई लाग्थ्यो परिबर्तनमा हलचल हुन्छ, आवाज हुन्छ, क्रान्ति हुन्छ । तर अँह, यो त मौन हुँदो रहेछ, शान्त हुँदो रहेछ । मैले पाएको बुद्धत्व यहि हो । तिमीसँगको सम्बन्ध निकै छोटो भयो, मैले प्रसङ्गसँग मेरो कथा भन्न कहिले सकिन् । तिमीलाई मेरो भोगाईको पहिलो श्रोता बनाउने इच्छा हो, त्यसैले तिमीलाई सुनाउँदै छु ।  


क्रमश: 


meaninglessthinkings@somewhereondearth

Read Full Discussion Thread for this article