Posted by: Rudramati December 13, 2012
भोक (katha)
Login in to Rate this Post:     0       ?        

जे होस प्रतिब्यक्ति २०५ भारुका दरले उनीहरुले कम्तिमा पनि २५ जनाबाट ५००० भन्दा बढि रकम आफ्नो नाफा बनाए ।

टाउको अड्याउने पनि नभएको सिटमा रातभर यात्रा गर्नुपर्दा साह्रै कष्ठ भयो । त्यसमाथि जंगल आउने बित्तिकै डाँकाको डर देखाउँदै गाडी एकआधा घण्टा बाटैमा रोकिन्थ्यो र २०–२५ वटा गाडीहरु जम्मा भएपछि पुलिसले स्कर्टिङ गर्दै जंगल कटाउँथ्यो । यसरी बस बिहान ११ बजेतिर दिल्ली पुग्यो ।

दिल्ली पुगेर गाडीबाट ओर्लन मात्र के पाएको थियो रिक्साहरुले घेरे । म दंग परेर सोच्दैथिएँ यतिका रिक्साले किन घेरेका होलान्? यत्तिकैमा समुहका अघोषित नाईके जसलाई म सिस्नेरी पुसाँई भन्थेँ, उनले भने–“के वाल्ल परेर हेरेको? लुट्छन अहिले अनि थाहा पाउला ! हिँड अरु साथीहरुसंगै ।”

खासमा म धेरै मान्छे देखेर भन्दा पनि उनीहरुले ‘फलानो ठाउँ जाने हो? म सस्तोमा लैजान्छु’ भन्दै नेपालीमा बोलेको देखेर दंग परेको थिएँ । हामीभन्दा २२ गुणा ठुलो देशको राजधानीमा बसबाट ओर्लने बित्तिकै कसैले नेपाली भाषमै बोलाएर रिक्सा चढ्न गरेको आग्रह, मलाई सत्य नारायणको पुजामा छिमेकीले गरेको निम्ता जस्तै आत्मिए लागेको थियो ।

मेरो सोच एकातिर तर नतिजा उल्टो पो निस्क्यो त ! सिस्नेरी पुसाँईले भने–“फकाई फकाई आफ्नै भाषा बोलेर आफ्नाहरुलाई लुट्ने यीनै डाँकाहरु त हुन नि ! नेपाली भनेर मात्रै पनि केही हुन्न । बानी हो मुख्य कुरा ।”

सिस्नेरीको बोली नसकिँदै हाम्रा समुहका सबैले पालैपालो गोजी पो छाम्न थाले त !

एउटा भन्छ–“मेरो त २५ सय थियो, सबै लगेछन् पकेटमारहरुले ।”

अर्को भन्छ–“मेरो त भएको भनेकै १५ सय आईसी थियो, त्यो पनि गोरु बेचेर ल्याएको । अब म कसरी पुग्ने बम्बई ? म त यतै होटल खोजेर काम गर्छु बरु ।”

यसरी एकएक गरेर पालैपालो सबैले लुटिएका कुरा सुनाउँदै गए ।

मैले लुटिएको जम्मा रकम कति भएछ भनेर हिसाब गर्न जरुरी पनि ठानिन ।

बस्……मेरो पैसा टोली नेता सिस्नेरी पुसाँईसंग सुरक्षित थियो, यसैमा खुसी र ढुक्क थिएँ ।

“ज्या…!” आईतिकाफ्ले पुसाँई पनि चिच्याउन पो थाले त ! –“सालाहरुले मेरो पकेट पनि मारेछन् । मेरो त धेरै थिएन, यी ठुला भदैको ९ हजार आईसी पो झ्वाम्म पारे मादरचोदहरुले ।…..साला भेटियोस् न मात्रै……” उनी बोल्दै त गए तर अर्कोतिर मैले तोरीका फुला देख्न थालिसकेको हुनाले उनले अरु के के भने चालै पाईन ।

****

बाले हिँड्ने बेला भन्नुभएको थियो– “नाटक खेल्न मात्रै गर्न जानेर के गर्नु ? अरु कुरामा त गोबरै होस नि तँ ।……यो पैसा सिस्नेरी पुसाँईलाई राख्न दिनु । तैँले तिन हजार आईसी जति राखेस् । त्यो पनि जुत्तामा लुकाएर नि फेरी । बाटोमा डाँका लाग्छन् त्यै भएर……”

बाले भनेझैँ साँच्चीकै पकेटमारले लुटेका हुन कि सिस्नेरी पुसाँई बास्तविक चरित्र उतार्न सक्ने अभिनेता सिद्ध भए, त्यो चाँही बुझ्न सकिन मैले ।

एकछिनको साँक्कसुँक्क पछि सबै एकैठाउँमा भेला भए । भिडलाई नेताले सम्बोधन गरेझैँ कथित सिस्नेरी पुसाँई बोल्न थाले–“साथीहरु हो ! जे नहुनु थियो भैसक्यो । अब रोएर के गर्नु ? बरु सबैले मिलाएर तिर्ने हो भने ठुला भदैले बम्बईसम्मको भाडा हालिदिन्छन् । पुग्ने बित्तिकै तिर्नुपर्छ है सबैले ।”

सबैले हुन्छ भने ।

कुराकानी फिक्स भैसक्यो त्यहाँ । मानौँ मैले उनीहरुलाई पैसा दिन पहिले नै तयार भएर आफैले प्रस्ताव राखेजस्तो गरी ।

हुन त मैले पैसा दिनुको विकल्प पनि थिएन त्यहाँ । किनकी म तिमीहरुलाई पैसा दिन्न, जे सुकै गर भनेर त्यहाँबाट हिँड्नका लागि त मसंग त्यहाँका बारेमा जानकारी पनि त हुनुप¥यो नि !

बडो मन नलागी नलागी जुत्ता खोलेर मोजा भित्रको पैसा निकालेँ र भनेँ–“सबैलाई पुग्ने पैसा त छैन मसंग १८ सय आईसी मात्र बाँकी छ । यसैले जतिलाई पुग्छ पुग्छ ।”

हुन त मसंग ३ हजार थियो तर दिईन । किनकी सबै पैसा दिए फेरी अन्त पनि यस्तै समस्या परे के गर्नु? भएको ९ हजार त चिलिम भैसक्यो । त्यसैले १८ सय मात्र निकालेर बाँकी बाह्रसय मोजाभित्रै लुकाएँ ।

सिस्नेरीको अनुहार उज्यालो भयो । किनकी उ ढुक्क थियो अरु नभएपनि उ चाँही मेरै पैसाले आफ्नो गन्तव्यसम्म अवश्य पुग्नेछ । मेरो पैसाले म सहित ६ जनाको रेलको टिकट काट्न पुग्यो, चालु डिब्बाको ।

रेलवे स्टेशन बाहिरको चिया पसलमा राखेको नानखटाई र चिया खाएर हिँड्यौँ हामी १० जना बम्बई यात्रामा, छ जना मेरो पैसाले र बाँकी ४ जनाले आफ्नो खल्ती झारझुर पारेर । बाँकी छुटे दिल्लीमै ।

अघिल्लो दिन दिउसो तिनबजे सुरु भएको रेलयात्रा भोलिपल्ट ३ बजेसम्म जारी थियो । बाटोमा चिया र समोसा बाहेक तिनदिन देखि मुखमा दालभात परेको थिएन । मुख सुख्खा भएको थियो, हल्काहल्का कमजोरी सुरु भैसकेको थियो ।

सिस्नेरी पुसाँई चिच्याए–“ए झरौँ अब…यहीँ हो झर्ने । नत्र पुगौला फेरी बम्बईको बान्द्रा प्लेटफार्ममा ।”

“यो बम्बई हैन र पुसाँई ?” म बोले ।

“काँ हुनु ? यो त सुरत हो । बम्बई ह्याँबाट रेलमा ६ घण्टा अँझ अघि जानुपर्छ ।” उनले भने ।

जाँ सुकै होस् ! आफुलाई बेलैमा उनको कोठामा गएर मजाले दालभात खाएर सुत्नपाए हुन्थ्यो अहिलेलाई, अनि भोलिदेखि आफु सुरक्षित महसुस गर्दै यो अल्सरको उपचार गर्न पाए हुन्थ्यो । यस्तै सोचेँ मनमनै र लागे उनीहरुका पछि ।

बिस्तारै सबै एकएक गर्दै छुट्टिए, बाँकी रह्यौँ सिस्नरी र म मात्र । म सर्कसमा तालिम दिएको बाँदर जस्तो सिस्नेरीका पछि–पछि थिएँ ।

उनी जताजता जान्छन उतैउतै डोरिनु मेरो धर्म अनि कर्म दुबै थियो, किनकी मेरो यहाँ अरु चिनेको वा मैले थाहा पाएको केही पनि त थिएन ।

करिब एकघण्टाको अल्याङमल्याङ पछि मलाई सिस्नेरीले भटारस्थित आफ्नो जागिर छ भनेर सुनाएको ठाउँमा पु¥याए । उनी सिधै मेनेजरसंग कुरा गर्न भनेर गए । म त्यही अफिसको पेटीमा बसेँ । १० मिनेटजति बितेको हुँदो हो सायद, सिस्नेरी रातोपिरो हुँदै आए, अनि मलाई त्यहाँबाट तुरुन्त हिँड्ने आदेश दिँदै आफु अघिअघि लागे ।

“साला गुज्राती ! आफुलाई बिलगेट्स सम्झिन्छ । एक महिना ढिलो के गरेको थिएँ ! आमा चकारेर गाली गर्छ माद्राचोद…. ।

“……….त्यस्का जस्ता कम्पनी गल्ली गल्लीमा छन् । चुड्कीका भरमा काम पाउँछु मैले पनि…. ।”

मेरो अघिअघि हिँडेका उनी उनी एक्लै बर्बराउँदै थिए ।
 

“साला पापी पेट भर्नका लागि कस्तो कस्तो गाली सहनुपर्छ भने । किस्मतमै गरिब लेखेर ल्याएपछि साला पराया भुमिमा पनि गाली खानुपर्छ” उनले कामका लागि ईण्डिया आउनुपर्ने कारण कसैले नसोधेपनि बताउँदै बर्बराउँदै हिँडिरहे मेरा अघिल्तिर ल्याङल्याङ ।

उनका यति कुरा सुनिसकेपछि मैले के भो पुसाँई भनेर सोध्ने हिम्मत नै गरिन र सोध्न उचित थिएन पनि ।

साँझ परिसकेको थियो सायद तर मैले बत्तीको उज्यालोमा मेसो पाईन । उनी मलाई छेउको एउटा ठुल्ठुला पात भएको रुखको छेउमा बसालेर म एक्कैछिनमा आउँछु भनेर आफ्नो झोला सहित भिडतिर छिरे अनि क्रमशः मेरो आँखाबाट ओझेल परे ।

आउँछु भनेर बेपत्ता भएका सिस्नेरी पुसाँई आउन निकै बेर लगाए ।

म पनि कसरी समय बिताउँ भनेर यताउता टहल्न थालेँ । एक, दुई, तिन हुँदै सात घण्टा बित्यो तर सिस्नेरी आएनन् ।

बिस्तारै चिन्ताले पो सताउन थाल्यो ।

अब यो पराया भुमिमा म कहाँ जानु?

लगातार तिनदिनको यात्राले गलेको ज्यान कहाँ लगेर बिसाउनु?

पिसाब लाग्छ, दिसा लाग्छ, कहाँ लगेर बिसर्जन गर्नु ?

त्यो भन्दा पनि ठुलो कुरा, भएभरको पैसा बाटैमा चिलिम भैसकेको अवस्थामा केहीगरी सिस्नेरी बेपत्ता भई नै हाले, मुखमा के हाल्नु? अनि कता जानु?

यीनै कुरा एकैचोटी दिमागमा घुम्न थाल्यो ।

सोचेर आखिर समाधान निस्कनेवाला त थिएन । वर्तमानमा वर्तमान समस्याको समाधान खोज्नु नै उत्तम विकल्प भन्ने ठानेर कार्यआरम्भ पनि सोही अनुरुप गर्ने सोच बनाएँ ।

छेउमै काठको गोदाम थियो । गोदाम बाहिर चाख्लो आँगन थियो । यस्सो हेरेँ, धेरै मान्छेहरु त्यही लम्पसार परेका । म पनि छेउतिर कतै गएर पल्टीने सोचका साथ त्यतै लतारिएँ ।

छेउमा पुगेको मात्रै थिएँ, आवाज आयो–“अबे कौन छे?”

लामा लामा जुँङा भएको बेतको लठ्ठी समातेको मान्छे बोलिरहेको रहेछ ।

“मै…मै हुँ” मैले जवाफ फर्काएँ ।

“अबे मै मै क्या लगा रखा है ? क्युँ आया है ईस टाइममे इधर?” उ बम्क्यो ।

म के भन्ने भन्ने अवस्थामा पुगेँ ।

म को हुँ? यहाँ किन आएको हुँ? मसंग उसलाई तत्काल फर्काउने कुनै जवाफ थिएन ।

उ छेउमै आईपुग्यो र भन्न थाल्यो– “पडालिखा आद्मी जैसा लग्ता है, लेकिन ब्याग लेकर ईस टाइममे ईधर क्युँ घुमरहा है?”

मैले आधा हिन्दी चौथाई नेपाली र बचेकुचेको ठुटे अँग्रेजी सहितको खिचडी भाषामा उसलाई आफ्नो सविस्तार बताएँ ।

उसले पनि बडो गम्भीर पारामा मेरो कुरालाई लिएझैँ गरी टाउको हल्लायो र फिल्मी पारामा भन्यो– “मुझे लग्ता है तुने बहुद दुःख पाया है । ईस लिए आज ईधर ही ठहेर । कल ढुँड्ना तेरे रिस्तेदारको । ठिक है?”

मलाई आश्रयस्थल मिलेकोमा असाध्यै खुसी लाग्यो । यही खुसीमा मैले आफु भोको भएको कुरा पनि बिर्सेछु । लामो यात्राका कारण कतिखेर सुत्न पाईएला झैँ भएको मलाई बाटोको पेटी मै सहि आश्रय दिने त्यो मान्छे फरिस्ता झैँ लाग्यो ।

चौकीदारले आफ्नो परिचय दिँदैथियो क्यारे, कतिखेर म चाँही भुसुक्कै भईहालेछु ।

****

Read Full Discussion Thread for this article