Posted by: _____ December 12, 2012
सम्झनामा भीमबहादुर दाइ
Login in to Rate this Post:     0       ?        
 

सम्झनामा भीमबहादुर दाइ


 
 
 
(2 votes, average 3.00 out of 5)
भुवन ढुंगाना -
इच्छामृत्युमा कहिलेकाहिँ ठट्टा गरेर प्रश्न गर्दा थला परेर मर्न नपरोस् भन्नुहुन्थ्यो भीमबहादुरदाई। त्यस्तै भयो। सरल जीवनयापन गर्ने भीमबहादुर दाइको मृत्यु पनि जटिल भएन। निधनको अप्रत्याशित खबर सुनेपछि नर्भिक अस्पताल परिसरमा उभिइरहँदा हठात डाँको छाडेर रुन मन लागेको थियो। छेउमा उभिएर सान्त्वना दिइरहेका थिए कनकमणि दीक्षित। आफूलाई सम्हालेँ। मृत्युका सम्बन्धमा लामाजस्तो भविष्यवाणी गर्न सक्ने भीमबहादुरजीलाई अन्तिमपटक अस्पतालमा हेर्न जाँदा मृत्युवरण गर्न उहाँले रोजेको बाटो पहिले नै ठम्याइसक्नुभएको रहेछ, थला परेर होइन, अकस्मात हठात हिँड्नुपर्ने मृत्युयात्रा रहेछ। त्यसबखत मसँग आँसु र गहिरो अनुभूतिबाहेक कुनै शब्द थिएन। भीडमा पनि मानिसहरू सत्ता, ठट्टा र राजनीतिका कुरा गरिरहेका थिए। म भने भर्खरै शवगृहमा हेरेर आएको उहाँको शान्त अनुहार सम्भि्करहेकी थिएँ। सम्झनाका ज्वारभाटाले यसरी घेरिरहेका छन्, म हेलिँदै कहाँ पुग्छु थाहा छैन। 
अहिले यसबखत म उहाँलाई नजिकैबाट चिन्दछु भनेर दाबी गर्ने सामर्थ्य पनि मसँग छैन। मैले उहाँलाई हालसालै कहिले भेटेँ भनेर सम्भि्कन खोजिरहेछु। निधन हुने तीन दिनअगाडि फोनमा 'कस्तो छ भीमबहादुर दाइ' भनेर सोध्दा 'सञ्चै छु' भन्नुभएको थियो। त्यो उहाँले झुठ बोल्नुभएको थियो वा हठात त्यस्तो हुन गयो, केही बुझ्न सकिनँ। संकोची स्वभावका भीमबहादुरजी खोतलेपछि मात्र बिस्तारै गाँठी कुरा फुकाउनुहुन्थ्यो। त्यही भीडमा सुनेँ, अघिल्लो दिन राति डा.शशांक कोइराला भीमबहादुरजीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर पुगेका थिए रे। यो प्रस्ताव नै उहाँका लागि यमदूत भएर आएको रहेछ। रातभरि बेचैनी र छटपटी भयो होला। त्यो संकोची मान्छेले शशांकसँग प्रत्युत्तरमा मलाई अहिल्यै अस्पताल भर्ना गरिदेऊ, डाक्टर देखाइदेऊ भनेका भए सम्भवतः भीमबहादुरजी अझ केही वर्ष बाँच्नुहुन्थ्यो कि? अफसोच यस अर्थमा लाग्यो कि हाम्रा नेेताहरू सामान्य रुघाखोकी लागेमा पनि दिल्ली र बैंकक पुग्छन्। तर, भीमबहादुरजीलाई बानेश्वरदेखि नर्भिकसम्मको दुरी पनि टाढा लाग्यो। नियतिमा यही रहेछ भनेर चित्त बुझाउँछु। 
मान्छेको व्यक्तित्वको छाप मनमा परेपछि सधैं भेटेजस्तो लाग्दो रहेछ। टाढा-नजिक जहाँ रहे पनि आत्मीयताका सम्बन्धमा एकनास व्यवहार देखाउने भीमबहादुरजीको स्वभावका लागि पनि उहाँलाई बढी सम्भि्करहनेछु। 
२०१९/२० सालतिर फारबिसगञ्जमा सरोज कोइराला, नित्यराज कोइराला, जगन्नाथजीसँगै निर्वासित जीवन बिताइरहेका भीमबहादुरजीलाई पहिलोपटक भेटेकी हुँ। चिम्सा, तीक्ष्ण आँखा भएका गोरा सधैं मुस्काइरहने भीमबहादुरजीलाई एकपटक चिन्ने कसैले पनि सजिलै बिर्सन सक्दैनन्। उहाँको अनुपस्थितिको रिक्तता सदैव महसुस भइरहनेछ। सरोजदाजुले मेरी आमालाई काकी भन्ने गरेकाले उहाँ सबैको काकी हुनुभयो, साथमा जाने म भएँ, भुपा बहिनी र मेरा दाजुसमान भीमबहादुरजी सँगको यो सम्बन्ध जस्तो थियो, त्यस्तै रहिरह्यो। 
२०३१ सालतिर भीमबहादुरजी नख्खु जेलमा छँदा प्रत्येक महिना भेट्न जाने गर्थेँ। त्यसबखत जाउलाखेलबाट हिँडेर जानुपर्दथ्यो। जेलको ढोका बाहिर कसलाई, किन, केका लागि, के नाता भन्ने प्रश्नको जवाफमा 'भीमबहादुरजीको बहिनी' भन्ने गर्दथेँ। उनीहरू तामाङ भाषामा छड्के प्रश्नहरू गर्दथे, मलाई अफ्ठ्यारोमा पार्न मुखामुख गरिरहन्थे। भीमबहादुरजीलाई ढोकामा देखेपछि छाडिदिन्थे। साथमा लगेको ५० रुपैयाँ, केही खानेकुरा र एकदुई किताब दिएर गह्रुंगो मन लिएर फर्किनुपर्दथ्यो। जति अनुरोध गरे पनि आफूलाई खर्च ५० रुपैयाँभन्दा एक रुपैयाँ पनि बढी लिनुहुन्नथ्यो भीमबहादुर दाइ। फर्किने बेलामा आफूले जेल परिसरमा ढकमक्क फुलाएका गुलाफका ताजा फूलहरू दिनुहुन्थ्यो। घरको फूलदानीमा राखेका ती गुलाफका फूलहरूले अर्को महिनाको भेट सम्झाइरहन्थे। फूलका बिरुवा लगाउने, फुलाउने कलामा निपुण भीमबहादुरजीलाई पचासौं फूलका नाम कण्ठ थिए। चाबेल, महाराजगन्ज, बानेश्वर, जहाँजहाँ बस्नुभयो, त्यहाँ फूलहरूको पनि बास भयो। गोदावरी, गुलाफ र अन्य सिजनका फूलहरू ढकमक्क फुले। 
दोलखाको जंगलमा गएर बन्दुकले हरिण र कालिजको सिकार गर्ने रोमाञ्चकारी कथा सुनाएर केटाकेटीलाई मुग्ध पार्नुहुन्थ्यो। घरको आँगनमा टेबुलटेनिस खेलेर, माउन्टेन बाइक चलाएर चकित पारिदिनुहुन्थ्यो। केटाकेटीलाई लाटा र मन नपर्ने मान्छेलाई गोबलडोक भन्ने उहाँको भाषा शैली थियो। केटाकेटीलाई माया र बुढापाकालाई आदर गर्ने उहाँको स्वभावले बिपीको स्मरण हुन्थ्यो। स्वास्नीमान्छेमा सुशीला भाउजू (बिपीपत्नी) उहाँको आदर्श हुनुहुन्थ्यो। स्वास्नीमान्छे शालिन हुनुपर्दछ भन्नुहुन्थ्यो। एकपटक उहाँसँग दोलखा जिरी जाँदा पारिवारिक प्रश्न गर्दा हाँसेर ठेट नेपालीमा भन्नुभयो, 'म निर्वासनमा भएको बेला छोरा र छोरी छाडेर स्वास्नी पोइल गइन्।' त्यसपछि त्यसबारे कहिल्यै केही सोधिएन। 
जनकपुरमा लीला कोइरालाको संरक्षणमा छोरा दीपक धेरै बर्ष बस्यो। पछि २०४२ सालतिर पार्टी कार्यालयमा भेटेको थिएँ। परिवारविहीन भएर पनि पारिवारिक आत्मीयता बढाउनसक्ने भीमबहादुरजीको खुबी थियो। केटाकेटीका लागि अभिभावक, हाम्रा लागि भीमबहादुर दाइ। २०४६ सालको जनआन्दोलनका दिनहरूमा राती बाटोबाटै पक्रिएर सेन्ट्रल जेल लगिएछ, किन आउनुभएन भनेर सोधखोज गर्दा जेलमा पुगेपछि थाहा पाएँ। 
न बास न गाँसको ठेगान भएका भीमबहादुर दाइलाई कांग्रेसका पूर्वसभासद् राधेश्याम अधिकारीले आश्रय दिएर ठूलो गुन लगाउनुभएको थियो। त्यसपछि उहाँको जीवनशैलीमा स्थीरता आएको थियो। अर्का मद्दतगार अधिवक्ता प्रकाश राउत नर्भिक परिसरमा त्यस दिन रुनमात्र सकेनन्। म भने रोइहालेँ। 
खानेकुरामा सुप र आलुको पापड रुचाउने भीमबहादुर दाइ राजनीतिक अन्तर्वार्तामा भने शिष्ट र घुमाउरो पाराले नेताहरूलाई झापड हिर्काउने क्षमता राख्नुहुन्थ्यो। चियाका पारखी भीमबहादुरजीले ज्यासमिन टि खान सिकाउनुभयो, नख्खु जेलमा किसुनजी (सन्तनेता कृष्णप्रसाद भट्टराई) त्यो चियाको अम्मली हुनुभयो। अंग्रेजी-नेपाली दुवै भाषामा दूरबल भएका भीमबहादुरजीले बिपी साहित्य दर्शन, सार्त्रको अस्तित्ववाद, सिमन द बोभाको सेकेन्ड सेक्स, बादल सरकारको 'पगला घोडा' पढ्ने प्रेरणा जेलबाट पठाएका चिीहरूमा दिएर पछि छलफलमा उतार्नुभयो। यसका लागि पनि भीमबहादुरजी मेरो साहित्यमा अभिरुचि बढाउने गुरु हुनुहुन्छ। कांग्रेस सभापतिमा पराजित भएपछि उहाँलाई लक्षित गरेर लेखिएको मेरो कथा सुनाएपछि हाँस्दै भन्नुभयो, 'गजबको चित्रण गर्नुभएछ, स्रष्टाको अन्तर्दृष्टि पनि हुन्छ भन्ने कुरा ठीकै हो।' सुशीला भाउजूबारे कान्तिपुरमा छापिएको मेरो लेख कटिङ गरेर ओछ्यानमुनि राख्नुभएको रहेछ, देखाउनुभयो। 
उहाँका अविस्मरणीय संस्मरणहरू, बिपी साहित्यबारे समालोचकीय दृष्टिकोण, पार्टीको इतिहास र यथास्थिति केही पनि पर्याप्त मात्रामा लिपिबद्ध हुन पाएन। बहुआयामिक ब्यक्तित्वका धनी भीमबहादुरजीको यो पक्ष ओझेलमा नै रह्यो। आउँदो पुस्ताका लागि उदारहणीय, अनुकरणीय विचार प्रवाह गर्न सक्ने, बिपी दर्शन र सिद्धान्तका अनुयायी भीमबहादुर तामाङको निधन पछिसम्म खट्किरहनेछ।
Read Full Discussion Thread for this article