Posted by: caliber19 December 3, 2012
गाजलु ति ठुला ठुला आंखा (कथा)
Login in to Rate this Post:     1       ?         Liked by
 गाजलु ति ठुला ठुला आंखा (कथा) अन्तिम भाग  
 
खोइ, दिदिले ऊठाकिथी केरे ।
 
 
बिनुले फोन गर्या रइछे । तेतिबेला कोठै पिच्छे land line र गोजी पिच्छे cellphone हुन्थेन, एउटै फोन थियो बैठकमा - दगुरें म तेतै । 
अंकल दर्शन ! बिनु छिन् ? 
एकछिन है त ........... 
हेलो ! अं भन । 
सरी ल, तिम्ले फोन गर्या रइछेउ, म बाहिर थिएं । 
भोली हामी सबै मन्दिर जाने कि भन्या के । 
के छ र त्यस्तो special ? को-को जाने हो ? 
खास केइ छैन । भेटघाट नभाको पनि कत्ती भो, एसो get together जस्तो पनि हुन्छ भनेरनी । 
निशालाई भनेउ त ? 
प्लान बनाउने ऊही त हो । 
ए, अनी जाने कसरी नि ? bike मा जानेभे हामीसँग २टा हुन्छ केरे । 
हैन-हैन, जिप रिजर्भ गरेर जाने सोचिरा' हामी त । 
ल ठिकै छ, भेला चाइं कां हुनेनी ? 
तिं तल चोकमा त हो नि, कां हुनु अन्त ? छ बजेतिर आइपुग ल । 
हस् माते ! अरु सुनाउ के हुँदैछ ? 
के हुनु हो ! घरमा बस्दा-बस्दा म त बौलाउन लाइसकें । 
एकचोटी फोन गरेर निस्के'त जां भन्यो तिं हामी हाजिर भईहाल्थिम्, किन बौलाई बस्नु पर्‍यो तिम्लाई ? 
गफ नदेउ, को झुल्देओस् तासमा ! ल राखें ऐले, भोली भेटेरै कुरा गरुम्ला । 
 
 
तंलाई के भन्ती त बिनुले ? (गिलासमा जिन भर्दै गुरुलाई सोधें, हामी "माथि" थिम्) 
के हुनु, जे तंलाई भन्याथी । भोली त do or die है ! फेरि-फेरी आउंदैन एस्तो मौका बुझिस् ? (गिलास पनि ठोक्याइयो) 
३ घुट्की, घुट्-घुट्-घुट् पारें मैले । दिनको बोहोनी नै तेइ परेकाले होला शायद, घांटी अलि-अली चर्‍र भो - पेट अलि-अली तातो पनि भो । "खै यार सोच्या त मैले पनि तेइ हो, हेरौं के हुन्छ !" 
उ झनै तिर्खाएको रइछ, गिलास रित्याउंदै भन्यो, "कस्तो के हुन्छ नि ? खुरुक्क भन्, तंलाई गार्हो लागे मै भन्दिम्ला, ठीक ?" 
तर ---- सबै हुन्छन्होला भोली त, कसरी ---
कसरी-ससरी त्यो तैं जान्, तर जसरी भेनी भोली निशालाई म एक्लै पार्दिन्छु, आगे romeo साबको जो मर्जी । 
ल-ल देखा जाएगा । खै चुरोट छ भने सल्का मेरो त छुटेछ । 
तिन्टा मात्र रइछ यार, ला ! म तल भनेर आउंछु, अर्को एक हाफ पनि थप्ने त होलानी ? 
मेरो सुड्डो आज घरमै छन् क्या, भरे खाउंलानी हुन्न ? 
अंकलले था नपाईस्या हो र ! तेत्रो मासु पनि बांकी नै होला यार । 
खान्छिन नि दिदिले । 
दिदिलाई १ किलो दिसक्या छ त । अच्छा ल ठीक छ, एक क्वाटर र चुरोट भनेर आउंछुन्त हुन्न ? 
 
 
म सिधै कोठातिरै हान्निम्ला भन्ने सोच्दैथें तर बाबा बाहिरै हुनुहुंदो रइछ, रोकिहाल्नुभो । 
गार्डेन पाइप हेर्त एक्चोटी, गांठो परेजस्तो छ । 
"ह्यांबाट हुन्न बाबा यो त, बन्द गरेरै मिलाउनु पर्छ ।" हुनत blue riband गनाउदैन भन्ने उ बेला हाम्रो सामान्य मान्यता थियो तैपनी बाबा नजिक नआइदे हुने भन्दै कामना गरें । 
एसो कहिलेकाँहीं त फुल-विरुवाहरुलाई पानी दिए पनि हुने, के भाको छोरो तं त ? कि त कोठाभित्रै गुम्स्याछ कि त बाहिर-बाहिरै हरा'छ ! 
(आफुलाई बिहानै distilled - पानी दिहाल्यो, फुल-विरुवाहरुलाई normal - पानी दिंदै गरुम्लानी भन्यो मनले) ल ! मैले देकैत हुन्छुनि । हजुर २-४ दिन घर बसिसिने मान्छेले कसरी था पाइसिन्छ ? झन् आज बिहान-बिहान चिसोमा गएर मासु ल्याएं हजुरकोलागी, जस दि'सिनु छैन छोरोलाई ! 
एss मेरो लागि पो ? तं कैलेदेखी veg भईस् बाबु कि ब्रत हो र आज ? बिचरो मेरो नाश्तिक छोरोलाई बिगारी छाडी कि क्या हो तेरी आमाले ! (बाबा प्राय: जिस्किरनुहुन्छ । घर-परिवारकालागी निकै कम समय मिल्छ वहांलाई शायद तेसैले पनि होला, बाबा रिसाएको बिरलै देख्याछु मैले) 
ढुक्क होइस्यो, त्यस्तो केइ होइन तर हजुरलाई कम होला भनेर मैले त अघीनै तिर्थ दाइकोमा चना-पुरी दाबेर आइसकें । देखिस्यो, कती चिन्ता छ मलाई हजुरको ! (जिन र मासु हसुरी सकेको राज खोल्न मिलेनत !) बाबा म माथि जाउं ? 
सुन्-सुन्, रमेशजिसँग कुरा भाथ्यो; अश्विनीलाई दिल्ली पठाउंदै हुनुहुन्छ रे । तेरो के छ बिचार  ? 
म त बाहिर जान्नहोला, कमसेकम bachelor सम्म त नेपालमै पढ्ने । हुदैन र ? 
ठिकै छ, जे तंलाई राम्रो लाग्छ । 
 
 
खानपान करीब १२ बजेतिर सकियो, बिदाको दिन परेकोले अलिक ढिलै भो त्यो दिन । राजेश्वर अंकल र नबिन दाई पनि आउनुभाथ्यो - कुरा पक्कापक्की थ्यो - छतमा म्यारिज जम्नेवाला थ्यो - मेरो धुम्रपानमा कर्फ्यु लाग्नेवाला थ्यो ! तर खेलाडी निक्लिए मात्र ३ ! 
आमालाई गन्ने हो भने कोरम त पुग्थ्यो तर राजेश्वर अंकल र नबिन दाई भने भरसक आमालाई नखेलाउने मुडमा देखिनुभो । 
नाइ-नाइ, भाउजु त माल फालेको फालेइ गरिसिन्छ । 
मेरी आमाले आँफैले माल काट्नुभो भने पनि कुरा गर्दै जांदा हात्का मालजती हुर्‍याइदिनुहुन्थ्यो, वहांलाई मालको हेक्कै नरहने ! 
यि, यो खेली हाल्ला त । (नबिन दाइले मलाई तारो बनाए । मलाई म्यारिज खेल्नुमा कुनै आपत्ति थिएन तर मलाई राम्रै था थ्यो कि त्यां तास खेलाई कम, राजनैतीक विश्लेषण धेरै हुनेवाला थियो तेसैले ममा जांगरको टुसो नै पलाएन ।) 
नखेले पनि भाउजुको पत्ती साइडबाट एसो हेर्देन्त । (अंकलले अर्को पाशो थापे, म भने अंझै पनि ऊम्किहाल्न सकिन्छ कि भन्ने दाउमा थिएं) 
कांss आफुले उपन्यास कस्तो सश्पेन्शमा छोड्याछु, मेरो साथीलाई बोलाइदिन्छु बरु । 
मैले आफ्नो घांटिको फन्दा गुरुलाई पहिर्याइदिएं, ऊपाए अरु केइ थिएन त्यां । तास भनेसी ऊस्लाई नि पुगिहाल्यो, वर्षीका बुटा नाघ्दै आइपुग्यो । बल्ल-तल्ल खेल सुरु भो छतमा, म घोत्लिएं अलिकती बांकी रा'को - वेद प्रकाश शर्माको थ्रिलरमा । 
 
 
ऊपन्यास सक्काइ छाडें । तेस्मा मुख्य पात्रले एक नगरवधुको सहायता लिएर कुनै ठुलो अपराधीक गिरोहको पर्दाफाश गरेको रहेछ । एकछिन सम्म त्यो प्लटबाट बाहिर आउन सकिन, मथिंगलको कतै नेपथ्यमा तेही सेरोफेरो घुमिरह्यो । चुरोटको तलतल लाग्यो तर छत 'रिजाब' भइसक्याथ्यो, भान्सामा पुगेर चिया बनाएं, चिनी नराखी । कोठामा फर्केर चिया प्युंदै गर्दा भोली मन्दिरमा बज्ने घण्टी अब भने मेरो मनमा पनि बज्न थाल्यो । अहो ! गुरुले भनेझैं होला त, भोली बल्ल म आफ्ना मनका पोकाहरु उसामु फुकाउनेछु । इन्कार त शायदै नगरली कि, आखिर भेट्ने प्लान पनि त ऊसैले बनाकी रइछ । मैले कैलेदेखी पाली राखेका प्रेमका बिजहरुमा ऊस्को स्विकारोक्तिले सिन्चित मात्र गरिदिए - म कती भाग्यमानी हुनेछु, कती सुन्दर हुनेछ हाम्रो संसार ! म रोमाञ्चित भएं । होइन, तेसो भएन भने ? भन्ने मौकै मिलेन भने ? खुदा ना खास्ता, बल्ल-बल्ल जुरेको मौका पनि एदी खेर गो भने ? अनेकौं त्राशले मन हुंडलियो पनि । अन्त्यमा बडो काइदाको जुक्ती फुर्यो - backup plan पनि तयार पार्ने निधो गरें मैले । ऊस्लाई एकान्तमा पार्न पो गार्हो होला त बाबै, लेटरको एउटा सानो चिर्कटो फ्यास्स थमाउन त के भारी होला र ! घुंडा धसेर लेख्न बसें म तर, कम गर्छु भन्दा-भन्दै पनि २ पेज लामो प्रेमपत्र तयार भो ! 
 
 
आइरन-साइरन गरेर आज अलिक formal dress लगाउंकी जस्तो पनि लाग्यो तर फेरी सोचें - आss होस्; जे छु, जस्तो छु, ठीक छु, आज एकदिनलाई मात्र किन बिथ्थामा नाटक गरिराख्नु ! कस्लाई था'नभा होर मेरो आनिबानी ? गुरु र म हिंड्दै पुग्यौं भेला हुने ठाउंमा, म बेला-बेला गोजिमा हात पुर्याउथें, लेटर कतै झर्यो कि ? कतै टुप्पो पो देख्या छ कि ? शिवानी पैलेनै आइसक्यारैछे, गुर्लुम्म कालो पच्छ्यौरा ओढेर फलफुल पसल अगाडि ऊम्याथी । यो केटी ठीक छे बा, कहिलेई नक्कल-झक्कल पार्न आएन एल्लाई, मनमनै भनें ।
तिमी मात्रै ? 
अं, हेरन छ बजे जम्मा हुने भन्थे मोरिहरु, कोइ आ' हैन । 
तं पो ऊठ्ने बित्तिकै दगुरिहालिस् जस्तो छ, अरु त दल्दै होलान् नि किरिम्-पाउडर ! गुरु र शिवानिबिच तंतं-मम चल्थ्यो, उ जिस्कियो । 
सबै तैं जस्तो अल्छे हुन्छन् नि ! बिहान ५ बजे उठेर नुहा'कि हो तेरी बजैले एस्तो चिसो पानीमा पनि, बुझिस् । 
लौ है ! तेसो भे त पुड्किको आज सब पाप पखालिने भो !
कल्लाई पुड्की भनिस् बज्या, पख् तंलाई ---
गुरु दौड्यो, शिवानीले एकछिन एता-ऊता खेदाइ । बिनु र अर्का एक सज्जन मित्र आएपछी कुरा अन्त कतै मोडियो, २टी परम् भक्तिनिहरु आउन बांकी नै थियो । चिया खाउं भनेको केटीहरु र अर्का मित्रले मानेनन्, पहिले देवपूजा अनी मात्र पेटपुजा भन्ने अड्डी कसे । हामी अधर्मीहरुलाई भने एस्ता कुराको बाल थेन, तिं पछाडिको ठेला पसलमा गुरु र मैले गर्मागरम पकौडा र चिया पड्काइ हालिम । 
 
 
गुरु र शिवानीको भागदौड चल्दैथ्यो, अर्का मित्र नजिकैको पत्रीका पसलमा के-के नियाल्दैथे, बिनु र म आफ्नै ऊरन्ठ्याला गलफत्ती गर्दैथिम्, पारीपट्टी एक नौलो युवकको साथमा निशाहरु देखापरे ! 
बिनु, को हो त्यो केटा ? 
ल, तिम्लाई था छैन ? आजको हाम्रो चिफ-गेस्ट ऊही त हो । (बुढी औंला र चोर औंलाले 'L' आकार बनाउदै ऊस्ले भनी) निशाको के ! निकै डिप् चलिराछ नि आजकाल यिनिहरुको !
मलाई बज्रपात परेजस्तो भो । सयौं पेग जिन र सयौं फाइल ट्याब्लेट ले भन्दानी बेसी ट्रिप द्याजस्तो भो । भाउन्न भएर आयो, वरिपरी सबै कुरा फन्फनी घुम्न थाले, ओंठ-मुख सुकेर एकैछीनमा प्याक्प्याक्ती हुन थाल्यो । दिमाग शुन्य भो, केही सोच्न र प्रतिकृया जनाउनै सकिन, तेहीं किनाराको पेटिमा थ्याच्च बसें । हेर्दा-हेर्दै निश्पट्ट अन्धकारले ग्वाम्म छोपेजस्तो भो - मलाई, मेरो मायालाई, मेरो जिन्दगीलाई । 
 
 
ऊनिहरु सडक तरेर वारी आइसकेछन् । परिचय हुँदै रेछ, म मुश्किलले २ मिटरको दुरिमा हुँदो हुँ तर केही सुनाइदीरा'थेन । निशाले कुन्नी के भनेर मतिर औंल्याइ, सायद intro नै होला भनेर मैले बसेरै हात ऊठाएं - hi भन्ने पारामा । 
ल-ल जिप खोज्न जाम अब, हीं ढिला भईसक्यो । बिनुले मेरो पाखुरा समाएर ऊठाउंदै भनी । 
हेरन मेरो त कस्तो टाउको दुखेर आयो, म त जान सक्दिन कि क्या हो । 
आम्मै ! के भो त एकैछीनमा, headache को औषधी खान्छौ ? शिवानी जा त पानी र___
हैन-हैन छोड्देउ, म एकछिन रेस्ट गर्छु । तिमीहरु जावो, सरी यार म कुनै अरु दिन जाउंलानी, हुन्न ? 
ओेए ! के भो तंलाई ? r u serious ? (गुरु मलाई समात्न आइपुग्यो) हिंड-हिंड जाउं, गाडीमा जानेत हो, बिस्तारै ठीक हुन्छ । 
म जांदिन यार, प्लिज । सरी, माइन्ड नगर है तिमीहरु । 
सक्दैन भने ठिकै छन्त, किन जबरजस्ती गर्नु, बाटोमा फेरी केइ भो भने ? भन्न त हिंजै देखी टाउको दुख्याछ भन्दैथ्यो, बिहान पनि नाआउने सुरमा थियो, मैले नै कर गरेर ल्याको हो । (गुरु अब कुरा मिलाउन थाल्यो । तेसो त मलाई किन जाने मन छैन भन्ने बारेमा ऊस्लाई रत्तिभर नि अन्दाजा थेन तर ऊस्ले एती कुरा चाइं बुझेको थ्यो कि 'कुनै कारणवस' म अब जाने पक्षमा छैन) 
लाss ! अब के गर्ने त ? निशाले निन्याउरो मुख पारी । ऊस्को त्यो उदाश अनुहार देख्दा त, गैदिउं कि जस्तो पनि लाग्यो तर आफ्नो मुटु छिया-छिया भएको कस्ले देखोस् । 
तिमेरु त जावो न, भईहाल्यो नि । ल-ल हिंडो' म जिप खोज्दिन्छु । तं यिं बसिराख् है एकछिन् । 
साथीको नाममा कलंक छस् है तं बज्या ! बिरामी साथीको हेल्प गर्नु छैन, खुरुक्क घर लिएर जा, जिप हामी खोजिहाल्छम नि । 
शिवानीले सजिलो पारीदी' । take care ल भन्दै ऊनिहरु लागे, म एक तमाशले टोलाइरहें, गुरु किन र के भो भन्दै सोध्दैथियो तर धेरै बेरसम्म मैले केही बोल्नै सकिन । 
 
 
हामी अझै पेटिमै थिम । सुर्योदय भइसक्याथ्यो तर आकाशभरी गुम्म बादल लागेकोले घाम देखिएको थेन । मेरा आंखामा पनि तेस्तै बादलले ढाकेको थियो, कतिखेर ति बादलहरु झरी बनेर चुहिने हुन्, कतिखेर सम्म मैले थाम्न सक्ने हुँ - केइ था थेन । 
के भो यार, केही त बोल् । मसँग पनि शेयर गर्दैनस् ? कसैले केही भन्यो हो ? 
छाती भक्कानिएर आयो, बोली अझै पनि कहिं-कतै अड्की रह्यो । मैले रसाएका आंखाले ऊस्लाई पुलुक्क हेरें मात्रै । 
निशाले केही भनी ? उस्ले उत्सुक र उत्तेजित हुंदै मलाई झक्झकायो । 
छोड्न यार । बल्ल मैले एती भन्न सकें । 
पख् म चिया लिएर आउंछु । ऊस्को मनमा अब केही चिसो पस्यो । 
पानी पनि ल्यान है । 
 
 
साले ! सबै नखा है, (रिसाउंदै मेरो हातबाट फाइल खोस्यो) मर्ने बिचार छ कि के हो ? कुरा के हो भन् त सही पैला ! 
मेरो हातमा जे-जती बचेँको थियो एकै फांकोमा मुखमा हालें र आधी बोतल पानीसँग निलें अनी मेरो ब्यथा पोखें ऊस्लाई । हातको चिया-गिलास तेहीं नालिमा झुरुम्म फुटाउंदै उ जंगियो, "को रइछ त्यो .... (मुख नि छाड्यो) ? हेरी राख् गुरु, अब त्यो (चुट्की बजाउंदै) कां गाएब हुन्छ; तेस्का बाउ-बाजेलेनी फेला पार्न सक्नेछैनन् ।" 
आवेगमा नआन त्यसरी, ऊस्को के गल्ती छ र ? मै अभागी रेछु, जिन्दगी सुरु नहुंदै उजाडीयो यार । 
हो-हो, गल्ती त तेरै हो नि, हैन ? हेर् मलाई एस्ता कोरा कुराहरु आउंदैन र sympathize गर्न नि आउंदैन, मलाई आउने यि एइ हो (मुट्ठी देखाउंदै) र त्यो .... लाई म देखाएरै छाड्छु । 
नरिसा न हो । ला, यो नि फुटा (चिया खाइ सक्काको गिलास पेटिमा राख्दै भनें) अली शान्त हुन्छस अनी भट्टी जाम्ला । 
हैन, तेरो मुटुमा त तातो रगत नि छैन कि के हो ? सबै ड्रग्स र दारुले भरिए जस्तो छ, काट्न मन लाग्या छैन त्यो .... लाई ? ऊस्को पारो अझै घटेको थेन । तर ऊस्लाई के था मेरो दिमागको पारो झन कां पुगेको थ्यो र मनमा कस्तो ताण्डव मच्चिएको थ्यो भनेर तैपनी आफुलाई सामान्य पार्ने प्रयत्न गरिरहें किनकी गुरुलाई हावा दिनु हामी सबैकालागी हानिकारक हुनजान्थ्यो, यो मैले बुझेकोथें । 
त्यो कुरा गर्दै गरुम्ला, पैला बाइक लेर आन, मलाई त हिंड्ने मनै छैन । 
ल, यिं बसी राख् है त, म गएर आइहालें । अनी त्यो पसले .... ले गिलासको पैसा माग्यो भने नदी' है, मैले फुटाको भन्नु । 
ऊस्ले कताको रिस कता पोख्यो, मैले सबै पैसा तिरें । 
गोजिबाट निशालाई लेखेको पत्र निकालें, खोलेर हेर्न मन लागेन; यत्तिकै धरधरी च्यातेर नालिमा फ्यालिदिएं । मन भारी भो, आज मेरो कुनै एक हिस्सा वा मेरो स्वामित्वको कुनै एक तत्व सदाकालागी माशीए झैं लाग्यो - केही अधुरो जस्तो, केही अपुरो जस्तो, आज आँफैभित्र केही क्षय महशुस गरें ।  
एकैछीनमा गुरु पनि आइपुग्यो । "आज तैं चला", म पछाडि बसें । क्लच ह्वात्त छोड्दै ऊस्ले बाइक घुंइक्यायो, म भने आंधी-वेहेरिमा अल्झिएकै थिएं । 
 
 
अब आफ्नै घरभित्र कैदी हुने र भोक-निन्द्रासँग दुश्मनी सांध्ने काम झनै बढेर आयो मेरो । आमा प्राय: सोधिरहनु हुन्थ्यो, मैले परिक्षा बिगारेको छु कि, मसँग पैसा छैन कि वा म बिरामी छु कि भनेर । आफ्ना सन्तानप्रती कती ममता र चिन्ता हुन्छ आमा-बाउको, यो सायदै कसैले शब्दमा बयान गर्न सक्ला । म आमासामु हरेक क्षण खुशी र निश्फिक्री रहेको अभिनय गर्ने प्रयास गर्थें तर न वहाँले पत्याउनु हुन्थ्यो नत मैले खुलेरै कुरा गर्न सक्थें । हाम्रो सामाजिक-पारिवारिक संरचना नै त्यस्तो थियो/छ भनौं वा तेस्का मुल्य र मान्यताहरु । 
 
 
गुरु संधै २टा option अघी सार्थ्यो । कि त्यो केटोलाई ठीक पार्ने कित निशासँग एकबाजी खुलेरै कुरा गर्ने । तर मलाई दुबै विकल्प मुनाशिव लागेन । मायाको शाब्दिक वा पर्यायवाची अर्थ केवल प्राप्ती होइन भन्ने निष्कर्शमा पुग्थें म । कती पटक ति युवकसँग आँफैलाई साटेर पनि कल्पिएं मैले, निशा र म एक-अर्कालाई पाएर खुशी छौं - यो पर्याप्त छैन र ? अनी ति युवकको बिरोधाभासले के भूमिका खेल्ला हाम्रो समझदारी र समर्पणमा ? के यसरी कसैको संवेदना र भावनासँग पैंठेजोरी खेल्नु जायज हो ? अंह, यो गलत हो - मलाई संधै एही लाग्यो । 
 
 
जीवनको दुरिमा ऊमेर घिस्रिंदै थियो, मलाई भने अब घरमा आर्मी शासन सुरु हुन थाल्यो । बिहान आमासँग morning-walk जानै पर्ने, दिउंसो bridge course जानै पर्ने, सांझमा गुरुसँग भट्टी जानै पर्ने । bridge course सुरु हुन तई भला १ हप्ता बांकी थियो (गुरुले खै कता के चांजो-पांजो मिलाथ्यो) तर आमा कैले जयन्ती फुपुले छतभरी पालेका बट्टाइ चरा देखाउन लानुहुन्थ्यो, कैले राजेश्वर अंकलको मयुरले भर्खरै कोरलेका चल्ला देखाउन लानुहुन्थ्यो, कैले शिवांगी दिदिले पकाएको मालपुवा ख्वाउन लानुहुन्थ्यो - एदी केही बाहाना भेटिएन भने जेब्रा ब्याग थमाएर मनग्य तरकारी शपिङ गर्नुहुन्थ्यो । बिच-बिचमा बिनु र शिवानीले के-के जाती प्लान बनाएर फोन पनि गर्थे - सिनेमा, पार्क, मन्दिर, रेस्टुरां; एस्तै-एस्तै । तर, गुरुले सम्हाली हाल्थ्यो; जानु पर्थेन । 
 
 
bridge course को पहिलो दिन थियो, चुप्-चाप एउटा कुनोमा बसुम्ला भनेको कां हुन्थ्यो; तारा देवीको गीत झैं भो - सोचे जस्तो हुन्न जीवन .. room मा छिर्नासाथ त्रिलोक-चौध भुवन तेहीं दर्शन भो । आकृति (हाम्रै ग्रुपकि) र निशा तेहीं रहेछन ! गुरुलाई पनि के दोश दिनु, तेतिबेला औंलामै गन्न सकिन्थ्यो bridge course का सेन्टरहरु । म केही बोलिन, हातको हेल्मेट यता-ऊता घुमाइरहें । 
ए ब्बा ! तिमीहरुनी आउंछौ भन्ने था भे त सबै सल्लाह गरेर यतै आउनु हुन्थ्यो नि, भन्नु पर्दैन पागल, शिवानीहरु बेक्कारमा ऊता गए । (निशा रिसाए जस्तो गरी, तर उसङै बसेको तेही केटो देखेर गुरु हाइपर भइसक्याथ्यो) 
ब्रेकमा कुरा गरुम्ला नि ल । ओेए हिंड, हामी त जां-जैले नि पछाडि त हो नि । (गुरुलाई तानें)
 
 
टाइ-सुटमा आएका गुरुबाले newton को 1st law मै आधी घण्टा खर्चिए, अगाडि रहेको टेबुल र आफ्नो बलको तुजुक देखाउंदै उदाहरण पनि दिए तर inertia को बारेमा चित्तबुझ्दो व्याख्या गरेनन् । मलाई newton का ३टै laws जुबानी याद रहेकोले हो वा त्यो बेला ममा negative energy नै हाबी भएकोले हो; ऊनको पारा खास्सै मन परेन । दोश्रो क्लास म्याथको थियो, फेरी एकजना झिल्के गुरुबा औतारिए । आफ्नो अलिक लामो केशलाई दाँयांतिर कोरेर, बाँयां साइडमा चटक्क सिउंदो बनाएकाथिए, बाटुलो चस्मा लगाएकाथिए र शत्रुघन शिन्हा टाइपको जुंगा राखेकाथिए । ऊनी संधै आफुलाई ऐनामा 'ह्यान्सी' देख्दाहुन् तर मलाई खै किन हो, कार्टुन जस्तै लागे । जो हाम्ले छ कक्षातिरै  पढिसक्याथिम्-बुझिसक्याथिम्, तिनै केही सामान्य formulae को discussion मै ऊन्ले टाइम पास गरे, र केटीवर्ग प्रती नै ऊन्को लगाव बेसी देखियो । बल्ल-तल्ल १५ मिनेटको ब्रेक पाइयो, गुरु र मलाई एक-आपसमा केही सल्लाह गर्नु परेन, अघोषित ऊदेश्य तय थियो - चुरोट तान्नु । हामी चुप-चाप र हतार-हतार बाहिर निस्केको त निशाहरु कुरिरा' पो रइछन् । 
चिया खान जाने होलानी ? (पहिलो प्रश्न निशाले नै राखी)
(मलाई के भनुम - के भनुम भईराथ्यो, गुरुले फ्याट्ट बोलिहाल्यो) कां १५ मिनेटमा चिया खान भ्याउनु ? हामी त एक-एक सर्को चुरोट तान्न निस्केको । 
ह्याss अब english त होनी, छुटेनी के हुन्छ र ? (आकृतिले सहजै भनी) 
हामी अंग्रेजी माध्यममा पढ्ने भइखाका गोबर-गणेशहरु अंग्रेजी बिषयलाई खुबै हेलां गर्थेउं, सायद नेपाली माध्यममा पढ्ने विध्यार्थीहरु पनि त्यसरीनै नेपाली बिषयलाई अपहेलित गर्दाहुन् । 
आखिरमा चिया खानै पर्ने भो । हामी तल झरेर नजिकैको एउटा सानो चिया पसलमा छिरेउं । सेतै फुलेका एक वृद्ध आफ्नै धुनमा के-के गर्दै थिए, निशाको त्यो केटोले order place गर्‍यो "ल बाजे ५ वटा मिट्ठो चिया बनाउनुस् ।" 
हुनत नेपालका हरेक होटेल, रेस्टुरां र चिया पसल smoke-free नै थिए तैपनी मलाई सोध्न मन लाग्यो, "बा, हाम्ले चुरोट खायौं भने रिसाउनु त हुन्न नि ?" 
"म किन रिसाउंला र बाबु, मज्जैले खानुभए हुन्छ, सबै खान्छन्" पावरवाला चश्मा मिलाउंदै ति वृद्धले उदार दिल देखाए । 
 
 
अब चिया र चुरोटसङै अलि-अली गफ पनि सुरु हुन थाल्यो । म प्रश्नको जवाफ मात्र दिन्थें, गुरुको त मौन ब्रत जस्तै थ्यो - चुरोट माथि चुरोट फुक्दै थियो । ऊता english को क्लास सुरु भईसक्याथ्यो सायद तर हामी अब फर्केर जाने मुडमा थिएनौं । 
बाजे, एसो पेट भर्ने केइ छैन तपाईंकोमा ? निशाले प्रश्न तेर्स्याइ । 
ऐले त केइ छैन त नानी, अलि-अली पाउरोटी र अण्डा छ, खाने भए बनाइदिन्छु । 
चाउमिन-साउमिन बनाउनुहुन्न तपाईं ? 
त्यस्तो त केइ बनाउने गर्याछैन -- सांझतिर अलि-अली सेकुवा बनाउंछु, जंड्याको लागिनी ! (ऊनी फिस्स हांसे, तलपट्टिको २टा दांत रइनछन् । तर ऊन्को हंसाइमा मैले अर्कै भाव देखें, मलाई केही बात मार्न मन लाग्यो ऊनिसँग र सेकुवासङै दारु खान पनि मन लाग्यो, गुरुलाई चिमोटें - ऊस्ले कुरा बुझिहाल्यो)
ल तिमेरु क्लास जाने हो कि घर जाने हो जावो, हामी त अब हजुरबाको सेकुवा सकाएरै जान्छम । (गुरुले स्पश्ट पार्यो) 
हेर-हेर लोभी, हामी पनि खानेनी । (आकृतिले जान मानिन) 
बाजे, एकचोटी फेरी चिया ख्वाउनुस् अनी सेकुवा पोल्न थाल्नुस्, हुन्छ ? (निशा पनि नजाने भई अब) 
 
 
अर्को राउण्ड चिया आइपुग्यो । गुरुलाई "मेरो नि तैं खा ल" भन्दै म ति वृद्धको पछी-पछी लागें, पसलको पछाडितिर जहाँ सेकुवा पोल्ने चुलो थियो । एताऊतीको केही झारपात र अखबारका पानाले कोइलामा ऊन्ले आगो बाले अनी छेवैको पुरानो टेबुल फ्यान चलाए, कोइलाहरु एक पछी अर्को सल्कंदै थिए, ऊनी म्यारिनेट गरिसकेको मासु झिरमा ऊन्दै थिए । 
बाबुले सिगरेट भित्रै खानु भएनी हुने, कि त यो बुढोले कमसल मासु हाल्देला भनेर चियो गर्न आउनुभो र, हे-हे-हेss ! ऊनी ठट्टिए । 
हो त बा, खशी भनेर रांगो ख्वाइदिनुभो भनेत मेरी आमैलाई 'माता' चड्छनी फेरी, आइपुग्छिन तपाईंको टुप्पी रिङाउन ! म नि जिस्कें । 
के खशी के रांगो बाबु, कि त खांदै नखानु, खाएसी सबै मासु एकै हो, हैन्त ? आफ्नो चित्त शुध्ध हुनु पर्‍यो, खानपान त इच्छाको कुरो हो । मैलाई हेर्नुस्, म पनि कर्म-काण्ड गर्ने वाहुनको छोरो हुँ, ऐले मासु र रक्सी बेचेर बस्याछु । 
 
 
कुरा गर्दै जांदा ऊन्का अतितका पन्नाहरु पनि पल्टिंदैगए । पाल्पा घर रहेछ ऊन्को, मध्यम वर्गिय व्राम्हण परिवार । पुर्खेउली जाय-जेथाले  खानलाउन पुग्ने, सानोतिनो ब्यापार पनि । औंशी-पुर्णे-विहे-व्रतबन्धमा अतिरिक्त कमाइ पनि भईहाल्ने, २ छोराका सुखी पिता । समय चक्र घुम्दै जांदा ऊन्का २ सुपुत्रहरुको विहे पश्चात कलह सुरु हुन थालेछ, बुहारीहरु आफ्ना पतिदेवका साथमा अलग्गिने बिषयमा । ऊन्ले पनि कुनै छल-कपट नगरि आफुसँग भएको चल-अचल सबै ३ भागमा बांडीदिएछन - २ छोरा र पतनिको नाममा । '१२ छोरा १३ नाती बुढाको धोक्रो कांधै माथि' भनेझैं बुढेसकालमा जेनतेन गर्दागर्दै दैवले ऊन्की अर्धाङिनीलाई चुंडेर लैदिएछ । किरिया सकिएको भोलिपल्टै देखी २ सुपुत्रमा झगडा हुन थालेछ, आमाको सम्पतिमा हकदाबी बारे । संगोलमा बस्दा कस्को पढाईमा कती खर्छ भो, कस्को ऊपचारमा कती रिण थ्यो, कस्को भागमा बंजर खेत पर्‍यो; आदी-इत्यादी बिषय ऊछालिएछन । आफ्नी धरमपतनिको वरषी पनि नसक्किंदै छोराहरुको रडाको अदालत सम्म पुगेकोले दिक्क भएका यि वृद्धले आखिरमा भएभरिको सबै, तेहिंको एउटा प्राथमिक विद्यालयलाई चन्दा दिएर एता पलाएन भएका रहेछन । अहिले भाडाको एही पसल रहेछ, राती टेबुल जोडेर एतै सुत्दा रहेछन । 
 
 
३८२ भएछ हाम्रो हिसाब, ५०० को नोट दिंदै मैले भनें, "खुब मिठो सेकुवा ख्वाउनुभो बा, राख्नुस् फिर्ता चाहिंदैन ।" 
साले, एक्लै-एक्लै स्वर्ग जाने बिचार छ कि क्या हो ? हजुरबा यो नि राख्नुस् (हुन त ति वृद्धको रामकाहानी ऊस्लाई केइ था थेन, तैपनी १०० को नोट थमाउदै गुरुले भन्यो) अब ह्यां पढुन्जेल हामी तपाईंका दैनिक ग्राहक भयौं । 
 
 
म यो bridge course स्रिस कोर्स गर्दिननी हुन्न ? राती खाना खांदा मैले जनाउ दिएं । 
किन ? के भोर बाबु ? मेरी आमाको सदा झैं चिन्ता । 
नयाँ कुरा केइ पढाउन्नन्, तेइ पुरानो राग । 
के भो त, १-२ घण्टा एसो टाइम पास हुन्छ । घरमै बसेर के गर्छस् ? वहाँको वैकल्पिक कारण त्यस्तो थियो । 
म पोखरा जाम् कि भन्ने सोच्दैछु, सानीमाकोमा । 
सांच्चै जान्छस् त बाबु ! मेरी आमा फुरुङ्ङ हुनुभो, छोरो बाहिर-फेर कतै घुम्न निक्लिने भो भनेर । 
एss रमाss मेरो कोठाबाट त्यो रातो फोन डायरी ल्या त छिटोss । कैले जान्छस् बाबु ? म कल्यानलाई फोन गर्दिहाल्छु । (कल्याण अंकल air-ticketing पेशामा आबद्ध हुनुहुन्थ्यो) 
म त बस बाटै -- जाम् कि भनेको 
मिल्छ भने -- भोली नै जाने --
ल-ल, तेसो भए म नानुलाई फोन गर्दिन्छु । (गायत्री सानीमालाई आमा नानु भन्नुहुन्थ्यो) तं पैला भुजा सक्का, अनी हामी दुबै मिलेर तेरो प्याकिङ गरौंला है । 
 
 
त्यो दिन आमालाई सम्झाउन हम्मे-हम्मे नै पर्‍यो, १०-१२ सालकी बच्ची झैं व्यबहार गर्दै हुनुहुन्थ्यो । 
दिनचर्या सुरु भो morning walk देखी, तर त्यो दिनको गन्तब्य परेछ मन्दिर । म सबैतिर सहभागी भईदिन्छु  तर मन्दिर र पूजापाठको टिका लाउन फिटिक्कै मन लाग्दैन । 
हेर्, आज टिका लाइनस् भने म त मर्दिन्छु नि ! 
ल लाइदिनुस्, (निधारको कपाल दायां हातले माथितिर सिम्हल्दै मैले शिर झुकाएं, आमाले चन्दन र टिका लाइदिनुभो, मैले ढोगें । उठेर हेर्छु त आमाको आंखा भरी-भराउ छ, स्थितिलाई सामान्य पार्न मैले गर्ल्याम्म अंगालो हाल्दै भनें) अब त मर्नु हुन्न होलानी ? 
छोड् बदमाश, थाली खस्न लाग्यो । 
 
 
अब अर्को चर्तिकला सुरु भो, आमाको भाकल थियो कि आस्था हो कि खै ! के हो, घरलाई दाहिनेतिर पारेर जानु पर्ने भो । देब्रेतिरबाट गएको भए १५ मिनेटमै घर पुगिन्थ्यो तर दाहिनेतिरबाट जांदा डेढ् घण्टा हिंड्नु पर्ने भो । 
ट्याक्सीमा जाम् न, हुंदैन ? (मलाई तेत्रो हिंड्ने मन थेन)
अलि-अली हिंड्नु पनि पर्छ के । अस्ती शिवांगिले के भनी था छ ? म त मोटाइ सकें रे ! (आमालाई ego problem रेछ कां मान्नु) 
 
 
बल्ल-तल्ल घर आइपुगियो । चिया सँगै खाइयो, खाना सँगै खाइयो, एकछीन बैठकमा सँगै भलाकुसारी पनि गरियो । तर आमाको अर्को ढिपी सुरु भो फेरी, "म पनि बस पार्क जान्छु" भन्न थाल्नुभो । मलाई था थ्यो आमाले बस पार्कमा गंगा-जमुनाको बाढी ल्याउनुहुन्छ भन्ने, बडो मुश्किल्ले सम्झाइ-बुझाई गरेर निक्लें म । 
 
 
(गुरुसँग कुरा भा थेन, फोन गरें) राम्रोसँग बस है, म त पोखरा जान लाग्या । तंलाई धेरै मिस गर्नेछु यार । 
ओेए साले ! कां छस् तं ? कैले जान ला ? 
बस पार्कमा छु यार, १२:३० को बस छ । 
पख् म आउंछु । 
छोड्दे यार तं भ्याउंदैनस्, एकछीन कुरा नै गर बरु । 
के कुरा गर्नु गुरु, राम्रोसँग जा । हेर् मलाई शब्दहरुको फुलमाला गांस्न आउंदैन, तंलाई थाहै छ, जे भो - भो , भरसक नयाँ जिन्दगी सुरु गर्ने कोशीस गर् यार । 
अरे वा ! तं त स्वामिजी जस्तो कुरा गर्न थालिस् त ? 
चुप लाग् । फोन गर्दै गरेस् नि । 
१०-१५ मिनेट एस्तै कुराकानी भयो, गुरु बेला-बेला भावुक हुन्थ्यो, म सहजता ल्याउने प्रयास गर्थें । 
 
 
गायत्री सानीमा आँफै लिन आउनु भारेछ मलाई । मैले ढोगेर आश्चर्य प्रकट गरें, एss हजुर पो आइस्या !
भाग्यमानी भएस् । ल हेर, एती ठुलो भईसकेछ यो त ! अरु सामान कां छनी तेरो ? 
एत्ती हो । यि, यो एउटा क्यामरा छ, २-४ जोर लुगा छन् बास् । 
ल हिंड् तेसोभे, ऐले पुग्ने बित्तिकै दि' लाई 'घटना र विचार' सुनाउनु पर्छ । ब्यानदेखी १७ चोटि फोन गरेर हैरान छ । 
ममी त तेस्तै होइसिन्छ नि, म आउंदा पनि जात्रा गरेर धुन्धान । तर हजुर किन आइस्या, म आइहाल्थें त, घर नदेख्या हो र ? शौरभी र दिक्षान्त एक्लै होलान् घरमा ? 
एss कुरै नगर्, दादा कैले आइसिन्छ भनेर भुइंमा खुट्टै छैन ऊनिहरुको त । खासमा त तेरो सानोबाबा आइसिने कुरा थियो तर के इमर्जेन्सी मिटिङ पर्‍यो रे । 
 
 
चोइटिएको मेरो मनलाई, अलिकती भएनी पोखराको त्यो रमणियताले मलम्-पट्टी लगाउने काम गरेको थियो । तर, मन्दिर र गुफा-सुफा भन्दा लेक्साइडतिरै मेरो अखडा बेसी हुनेगर्थ्यो । मेरी आमैको कडा निर्देशन थियो क्यारे सानीमालाई - म जां गएनी, जे गरेनी, जतिबेला घर फर्केनी, केही भन्नु हुन्थेन । कैलेकाइं त बिहान क्यमेरा भिरेर निक्लें भने, ४-५ दिनसम्म सारङकोट वा घान्द्रुकतिरै हराइदिन्थें म । धन्न त्यो बेला, बिचरा सर्वहारा वर्गका कुनै मुक्तिदाताहरु थिएनन्, आफ्नो देशमा आँफै भएर ढुक्कसाथ घुम्न पाइन्थ्यो । 
 
 
तेसो त पोखराले निशाको याद बार-बार ताजा पनि पारीदिन्थ्यो, माछापुछ्रे देख्नासाथ मेरो नसा-नसामा प्रकाश दाई दौडिनुहुन्थ्यो, "फेवा तालको आंगनमा लै लै माछापुछ्रे छायां, जीवन मेरो सेती बगर बिना तिम्रो माया .. " यो माया भन्ने चिज पनि बडा गज्जबको रेछ ! आफ्नी प्रियशीको शौन्दर्य बखान गर्दै कोही काब्य नै लेखिदिन्छन, आफ्न सम्पूर्ण खुशीहरुलाई तिलाञ्जली दिंदै कोही जोगी बनिदिन्छन । अध्यात्मिक्ता भन्छ यो निरर्थक मोह हो, भौतिक्ता भन्छ केवल सामान्य आवश्यकता हो । जीवन व्याख्याताहरुका पनि आ-आफ्नै पारीभाषाहरु - राजाका आफ्नै कुरा, रङ्कका अर्कै कुरा ! मलाई पनि कुनै दिन जीवन रंगिन छ जस्तो लाग्थ्यो, बगैंचामा फुलेका फुलहरु जस्तै वा सप्तरंगी इन्द्रेणी जस्तै; तर आज म जीवनको कुनै रंग देख्दिन अथवा कुनै एक रंग किटान नै गर्नु परे - त्यो सेतो हुनसक्छ सायद । हुन त कतिपय दर्शनशास्त्रीहरुले, जीवनको रंग एउटै हुन्छ, जो कालो हो भन्ने मान्यता पनि राखेकाछन । तर, ऊनिहरुसँग मेरो अलिकती मतान्तर छ, मलाई लाग्छ कालो आँफैमा मुल रंग हैन, त्यो त सेतोलाई छोपिदिनुको ऊपज मात्र हो । सेतो अलि-अली मात्र छोपियो भने त्यो grey हुनजान्छ जो शायद एक आम मानीसको जीवनको रंग हो । 
 
 
दिनहरु बित्दैथिए, म तोरीलाउरे टुरिष्ट आफ्नै धुनमा । धेरै पछी मात्र था भो, गुरुले पनि तेश्रो दिनदेखी नै bridge course छोडेछ । २-४ दिनपछी उ पनि हानिएछ भैरहवातिर, अंकलको पोस्टिङ् भएको ठाउंतिर । SLC को रिजल्ट नि आयो, राम्रै नम्मरले पास भईएछ । भविश्यप्रती ऊद्देश्यविहिन हुँदै म घर फर्किएं । धेरै पछी गुरुसँग भेट भो, हाम्रा ऊनै पुराना श्रिंखलाहरु दोहोरिन थाले । ऊस्लाई मैले एउटा जिम्मा बिसाएं, निशा जुन कलेजमा पढ्दिन; हामी तेइ कलेजमा पढ्ने बारे । 
 
 
म भरसक avoid गर्ने प्रयत्न गर्थें तर कैलेकाइं अनायाशै जम्काभेट भईदिन्थ्यो, निशासंग । सँगै नपढेकोमा गुनासो गर्थी उ, म दोषजती जम्मै बाबाको टाउकोमा थोपरिदिन्थें । टोल-छिमेकमा मर्दा-पर्दा सामेल हुनैपर्थ्यो, त्यां पनि ऊस्का नजरबाट भागीरन्थें म । साथीहरु कहिलेकाँहीं गाइंगुइं सुनाउथे, निकै खुशी छे रे उ त्यो केटोसँग भनेर । म रातमा तारा गन्दै आफ्नो मुटुलाई सान्त्वना दिन्थें, ऊस्को खुशी नै मेरो खुशी हैन र ? मेरै स्वार्थ मात्र यदी ताक्ने हो भने के जाबो माया लाएं त मैले ? त्याग पनि जीवनको एउटा पाटो हो भने ठिकै छ, यो जुनी तिम्रै नाममा भो । तिम्रा हरेक प्राप्ती र प्रगतिहरुमा म पनि हांसिदिने प्रयास गर्नेछु, आफ्ना पिडाहरु र तिम्रा यादहरु सांचेरै बांचिदिने प्रयास गर्नेछु । 
 
 
BSc भर्खरै सुरु भाथ्यो, एकदिन घर पुग्नासाथ आमाले बडो अनौठो प्रश्न गर्नुभो । 
बाबु, तं कैले विहे गर्छस् ? (म अक्क न बक्क भएं)
विहे ? के भो हजुरलाई ? कांबाट आयो आज एक्कासी विहेको कुरो ? 
तेरो साथीको त विहे रइछ त १५ गते, कार्ड छोडेर गा'छे । 
हत्तपत्त कार्ड खोलेर हेरें, वेहुलिको नाम थियो - निशा घिमिरे ! 
 
 
म होश हराएझैं हुन थालें । फाइलहरु छिटोछिटो सिद्धिन थाले, बोतलहरु छिटोछिटो रित्तिन थाले । जता पनि अब पत्झड देख्नथालें; खङ्रङ्ग सुकेका पहेंला पातका राशहरु, जेनतेन ठडिएका काला रुखहरु अनी नाङा हांगाहरु, चाराचुरुङ्गी-फुल-सुगन्ध कहीं-कतै-केही छैन, सबै कुरा निर्जिब र निस्सार जस्तो । अनेक कोशीस गर्थें मन भुलाउन, मन सम्हाल्न तर अरुलाई सम्झाउन मात्र सजिलो रेछ; आँफैलाई सम्झाउन माहा गार्हो । 
 
 
१५ गते पनि आयो । गुरुलाई निम्तो त अवश्यनी थ्यो तर उ नजाने पक्कापक्की भईसक्याथ्यो, भन्न त मलाईनी नजा भन्यो धेरै पटक तर म जानेवाल थिएं । त्यो दिन बिहानैदेखी एक तुर्को दारु वा एक टुक्रो चक्की पनि खाइन, नुहाइ-धुहाइ गरें, सेभ गरें, प्रोजेक्टको अलिकती काम सक्काएं र बेला भएसी लागें म विहे घरतिर - आइरन गरेको कपडा लाएर । 
 
 
दुलाह-दुलहीलाई अलिक ऊंचो स्थानमा राखिएको रइछ, सानोतिनो मञ्च जस्तै थियो । ऊनिहरु २टा कुर्सिमा बसेकाथिए, अगाडि सानो टेबुलमा टिकाको थाली थियो, दुलहीपट्टी अरु तिन्वटी केटीहरु खास्खुस गर्दैथे । रातो पहिरन र झिलिमिली गहनाले आज त झन बिछट्टै राम्री देखिएकी थीई उ । मेरो पालो आएसी दुबैलाई टिका लाइदिंदै भनें, "ल, विहेमा त बोलायौ केरे, अब छिट्टै छैंटिमा पनि बोलाउनु !" उ केही लजाउंदै मुस्काइ र उसैगरी मुस्काउंदै थिए मेरो मुटुदेखी बेखबर उस्का - गाजलु ति ठुला ठुला आंखा । 
अस्तु । 
 
Read Full Discussion Thread for this article