Posted by: caliber19 November 23, 2012
गाजलु ति ठुला ठुला आंखा (कथा)
Login in to Rate this Post:     1       ?         Liked by
 गाजलु ति ठुला ठुला आंखा (कथा) भाग ५ 
 
"बाल भो" मुखभरी भुटनको बुजो चपाउंदै अश्पष्ट स्वरमा उ बर्बरायो ।
 
 
भोली SLC को अन्तिम दिन थियो, म भने पानी बाहिरको माछो झैं ब्याकुल थिएं । सिरानतिर अढेस लागेर यत्तिकै guide को पानाहरु पल्टाउंदैथें तर दिमागमा न केइ घुसिरहेकोथ्यो नत मैले जबरजस्ती घुसाउने प्रयास गरें । मेरै मानशपटलमा मच्चिएको खैला-बैला जस्तो लाग्थ्यो पानाहरुमा पनि, अक्षरहरु कता-कता भागीरहेका झैं भान् हुन्थे । म अक्षरहरु खोजेर शब्द पनि बनाउन सकेको थिइन झन् शब्दहरु क्रम्बध: पारेर कांबाट अर्थ निकाल्नु ? त्यो भित्ते घडिको कांटाहरु स्वाट्टै घुमेर भोली भईदेनी हुनेनी !
"दाई खाना यिं ल्याइदिने होकी भान्सामा आउनुन्छरे ?" रमा कोठामा छिरी । 
हैन, म आउंछु भन्दे । 
 
 
तंलाई सन्चो छैन कि क्या हो ? आमाले झसङै पार्नुभो । 
ठीक छु त म । किन ? हजुरले कस्तो देख्नुभोर मलाई ? 
भुजा खेलाएर मात्र बस्याछस्त, नखाएर ! मिठो लागेन भने अरु केइ बनाइदिम् ? 
ए, हैन-हैन पर्दैन । अघी होटेलमा कच्याक्कुचुक खाथें, खास्सै भोक लाग्याछैन - तेसैले । 
धेरै किताबमै मात्रै ध्याउन्न पनि दिनु हुन्न के, दिमागलाई अलि-अली फ्रेश पनि राख्नु पर्छ । तेइभेर पनि होला भोक नलाग्या ! बिचरी मेरी गौमातेलाई के था' छोरोको ध्याउन्न केमा छ र किन भोक नलाग्या भनेर ! 
नखाने भए छोड्देन्त, म पछी वाइवाइ बनाएर हटकेसमा पठाइदिन्छु राती भोक लाग्यो भने खाएस् । 
म ऊठ्नै लागेकोथें गुरु आईपुग्यो । ओए ! बल्ल खांदैछस् तं ? 
के खान्थ्यो हेर्न, खेलाई मात्र बस्याछ अघिदेखी । बाबु चिया प्युंछस् तं ? 
चिया थरमसमै भर्दिस्यो आन्टी, म भुजा नै खान्छु । 
मेरो यो छोरो चाइं ज्ञानी छ, अचार कुन खान्छस् बाबु आंपको कि मुलाको ? 
२टै राखिदिनुस्न, यो हन्तकारीले खाइहाल्छ क्यारे ! मलाई त्यो टमाटरकै अचार थपिदिनुस्न बरु अलिकती । 
हो त, टन्न खानुत पर्छ नि यो ऊमेरमा । सबै तैं जस्तो हुन्छन् र ? 
गुरुको लहै-लहैमा मैले पनि भात सक्काएं । 
बाबु, तिमीहरुलाई म प्राउन चिप्स् पनि तारिदिन्छु है । 
हवस् ! भन्दै थरमस र गिलासहरु समातेर हामी कोठातिर लागिम् । 
 
 
मुझे निंद न आए मुझे चैन न आए ... गुरु अब कोइलादेव हुन थाल्यो । 
चुप लाग साले ! म कुरा बुझ्दिन र ? तंलाई ऐले नै किन उदित नारायण हुन पर्‍यो भनेर । टाइम-टाइम कि बात है प्यारे, हामी पनि हेरुम्ला ।
हेरेस्, तर एस्तो दिलफेंक आशिक भएर भातै खान त छोडिन्नहोला । 
घुङ्ग्रुले, घुङ्ग्रु बानेर कत्थक नचाउंदा अनी तेस्पछी देखिन्छ नि तेरो पनि ता-थै-तक-थै । ए सांच्ची ! तेरो किताबहरु खोइ त ? (ऊ संधै आफ्ना किताबहरु study table मै राख्थ्यो, आज देखिन) 
ल्याकोछैन, म त एक्छिनमा जान्छुहोला । 
ओ हो प्रभु ! के खुशीमा दर्शन दिन औतारिनु भोत, एकछिनकोलागी मात्र ? मत अब धन्य हुने भएं त ! 
कोइ-कोइ मायाजालमा भुतुक्कै भएर मर्नै लागेहोलान् भनेर संजीवनी पुर्याउन आको नि ! (दराज खोलेर हाफ blue riband निकाल्यो)
याssर, भर्खर भात खाइयाछ - भोली ब्यान जांच छ ___
तं आज रातभरी पढ्लास् वा सुत्लास् भनेर म पत्याउं !? एकेक् पेग मारुम् अनी माथि चुरोट तान्न जाम्ला के । फेरी तंलाई सबै रित्त्याएस् कस्ले भन्याछ र ? जती खान मन लाग्छ खाएस् । 
चिया खान ल्याको गिलास, ऊस्ले जिनले श्री गणेश गर्‍यो । दुबै गिलासमा आधा भन्दा केही धेरै खन्यायो, दुबैले ठाडो घांटी लायौं र लाग्यौं छत तिर ।    
 
 
भोली त श्री ५ को सरकारलाई डिस्टर्ब गर्न नपाईने होला क्यारे, म राधा दिदिकोमै कुर्नेछु । ऊस्ले yes भनिछे भने खुशी मनाम्ला केरे वर्ना गम ही सही ! 
तेरो पापी मुख् ! अली शुभ-शुभ त बोल् । 
मैले बोलेर र गरेर हुने भए त ऐलेइ कन्यादान गरिदिन्थें नि, क्यार्नु ! खप्परमा जे छ तेइ हुने हो ! 
एकछिन एस्तै भलाकुसारी भए, फेरी एक बाजी घुट्क्याइयो, फेरी एक बाजी छतमा पुगियो तेस्पछी गुरु लाग्यो । 
 
 
बाबा रामदेबको कुन्नी के-के जाती आशनहरु छन् ति बारे मलाई खास्सै ज्ञान छैन तर मेरो आफ्नै विषेश आशन हुन्थ्यो, सोचाशन । सिरानीलाई भित्तोमा ठड्याएर अढेस् लाग्ने अनी सोच्ने ! एउटा हातमा guess paper थियो, अर्को हातमा pen । ओछ्यानभरी अरु पनि पुस्तक र नोटबुकहरु छरिएकाथिए, छेवैको सानो टेबलमा आधा गिलास जती reloaded जिन पनि थियो । 
 
 
भोली लेखाको परिक्षा, तर अहं - syllabus अनुसार यो बैरी मनले पढ्न मानेपो ! भोली के गर्नेहोला, कसरी भन्ने होला, मान्ली कि नमान्ली ? रिसाउनेपो होकी ? एस्तै अवस्थाहरुको जोड-घटाऊले नै वासलात तयार भयो । ऊस्को त्यो कफी कलरको सिल्की कपाल, ति जादुमयी hazel अंखाहरु, सर्लक्क मिलेको नाक, पोटिला गुलाबी ओंठ, बर्षातले धोइएर पहिलो लालिमामा मुस्काएको सुनगाभा जस्तो स्निग्ध त्यो रुप, छुंदा पनि दाग लाग्ला जस्तो ऊस्को शौन्दर्य अनी जंगली मौरिको महले झैं मत्याउने त्यो यौवन - गोश्वारा भौचरमा एस्तै माधुर्यता र अलंकारहरुको नै प्रविष्टी भयो । म. ले. प. को फारम न. यती र ऊति महलमा के-के पर्छन् वास्तै भएन बरु आफ्नै सपनाको महल पो खडा गरियो ! 
 
 
"कत्ती भन्नु यो केटोलाई, रातभरी नपढ् भनेर । हेर त ! अंखा पनि रातो-रातो पारेछ ।" विहान चिया खांदा आमाले फेरी मात्री-स्नेह छताछुल्ल पार्नुभो । आमैलाई के था' यो केटोको अंखा पढाईले हैन अहोरात्र केटी-किर्तनले रातो-रातो पारेको हो भनेर !
छाडिदे बा त्यो चिया, म तंलाई कालो चिया बनाइदिन्छु । रमाss जा त नानी तलबाट तुलसी पत्ता लिएर आइज । 
मनमनै भनें, आमा पनि कां allopathy विज्ञ कम्पाउन्डर छोरोलाई homeopathy को जनम घुट्टी पिलाउने कुरा गर्नुहुन्छ ! यधपी, सुरुसुरु कालो चिया खाएर निक्लें म । 
 
 
प्रश्नपत्र पनि हातमा पर्‍यो । सर्‍रर शिर देखी पुछार सम्म नियालें, अहो ! प्रश्नहरु कती सजिला आएका भन्ने भान भो । लेख्न सुरु त गरें तर आफ्नै हात आज दुश्मन साबित भो, आफुलाई भने एक्कै क्षणमा डाङ-डुङ सबै लेखी सक्काएर कतिखेर फुत्त बाहिर निस्किम्ला भन्ने चटारो हातको ताल हेर्यो कछुवाको चाल ! मनको accelerator घाईं-घाईं र घुईं-घुईं गर्दै थिचिएको थिचियै छ, हातले भने speed लिने चुँ सम्म पनि गर्दैन ! हिंजो-अस्तिकै आफ्नै तालमा लेखिरहेछ ! engine oil को २टा गोली घुट्क्क्याइदिम्की भन्ने सोच्दैथें तर, अतिरिक्त उत्तरपुस्तिका थप्ने म नै पहिलो परेछु; अली राहतको साश आयो । बल्ल-तल्ल सक्काएर निस्कें । अब त मुटुबाट एउटा कांडा निकालेको जस्तो होलाकी भनेको के हुन्थ्यो, झन् अर्को कांडा पनि रोपिए जस्तो पो भो ! निशालाई कुर्नु पर्ने भो ! 
 
 
मम पसलमा पुगेर बस्न पनि भ्याएकोथिन, साउबा साख्खिन आइपुग्नुभो "अब त भाईहरुलाई हाइसंचो भोहोला ?"
(हाइसन्चो भाछ कि सन्चोहराम भाछ तिम्लाई केथा बुढा, भन्न मन लाग्यो) परिक्षा दिएर मात्रै भएन क्यारे अंकल, रिजल्ट पनि त राम्रो आउनु पर्‍यो नि । खै ! चिया ख्वाउनुस् - एउटा सुर्य पनि । 
म चिया-चुरोटमा मन भुलाउंदैथें, केही समय पछी गुरु पनि आइपुग्यो । 
म जाम कि बसम ? 
बस्न यार कोइ त आका' छैनन् । कस्तो गरिस ? 
ठिकै भो, अनी तेरो ? 
गर्न त राम्रै गर्याछु तर हतार-हतारमा handwriting चाइं पत्तुर भाछ । 
एक्-दुइ गर्दै अरु पनि थपिए, सरोकारवालीको पनि सवारी भो । सबै भेला भईसकेपछी फेरी एक राउण्ड चिया जांदै थियो, साउबा पुन: मख्खन दल्न आइपुग्नुभो "आज किन चिया मात्रै त ? आज त झन् मिठो-मिठो, धेरै-धेरै पो खानु पर्ने होन्त ।" 
हो कि बाजे तर तपाईंकोमा धेरै खाइयो क्या, तेसैले आज हामी सबै जना अन्तै गएर खाने प्लान छ । बिनुले भनी । 
के plan छ र ? मैले सात्तो गए झैं गरी निशालाई सोधें । 
आज हामी सबै नेवा: घर जाने भनेको के । ऊस्ले प्रस्ट्याइ । नेवा: घर उबेला गोजी गरम हुनेहरुकालागी चल्तिको र गुणस्तरीय नेवारी रेस्टुराँ मानिन्थ्यो । 
मैले पुलुक्क गुरुतिर हेरें । मुखको चिया साइडतिर भुर्‍रर छरेर फट्किंदै उ हांस्न थाल्यो, अरु चाइं के भो - के भो ? भन्दै सोध्न थाले । के भाथ्यो भन्ने कुरा त कि गुरुलाई था थ्यो कि त एइ पीडितलाई था थ्यो । "अंकल एक बट्टा सुर्य ल्याउनुस्त" मैले चुरोट मगाएं, चियामा पनि एक्कासी के नपुग्या - के नपुग्या जस्तो लाग्यो ! 
 
 
नखरमाउलीहरुले अस्ती देखी नै plan गर्या रइछन् त हाम्लाई पनि थाहा द्याभे हुने, कमसेकम हिंजो राती त्यसरी म छट्पटिने त थिन । 
गुरु तिमेरु जांदै गरोन्त, म पैसा तिरेर आउंछु । 
"ल ल जुम !" मेरो आशय ऊस्ले बुझिसक्याथ्यो, उ अघी लाग्यो, बांकी पछी-पछी निक्लिए । एउटा गोली, एउटा ट्याब्लेट र एउटा क्याप्सुल घुर्लुप्प पारें मैले । 
"के भा छ र भाईलाई ? भन्न त चिया खाएपछी पानी खानुहुन्न भन्छन् केरे ।" साउबा अब त जैसी पनि बन्नुभो ।  
कैले काइं छाती दुख्छ, तेस्कै हो अंकल । (जान्ने हुन्छौ बुढा, मान्छेले ह्यां ट्याब खाइरा'बेला चिया खाएपछी पानी खानु हुन्न भन्ने अर्ती !) 
अरुका त ऊन्मुक्त नै थिए, आफु भने गर्हौं पाइला चाल्दै लागियो नेवा: घरतिर । बेला-बेलामा गुरु कोइलादेव बनिहाल्थ्यो, "जिन्दगीsss कैसी है पहेली हाएss..." 
 
 
नेवा: घरमा खास्सै रमाइलो लागेन, अरु दिन हुंदो हो त म पनि छोएला र बारा मुख मिठ्याउंदै खान्थेंहोला तर त्यो दिन आफुलाई जुठो परेजस्तो भाको ! कहिले बाहिर गएर चुरोट फुक्थें, कहिले भित्र आएर चटामरी खेलाई बस्थें - तर जे भए पनि आफ्नो मनको नैराश्यतालाई मुहारमा आउन देको थिन, बेला-बेलामा ऊनिहरुको गफमा सकृय सहभागीता पनि जनाइदिन्थें । हाम्रो रशायन-शास्त्रीलाई भने पर्नु पिर परेको थियो त्याहां, बिचरो सम्यबजी र sprite मै गुजारा चलाऊंदै थियो । मैले त औषधी खाइसक्या हुनाले ज्यानलाई पौषटिक तत्व प्राप्त भईसक्याथ्यो, उ भने जीवनजलको ब्याकुल्ताले गर्दा बार्-बार घडी हेर्न थालीसकेको थियो । तर क्यार्नु, तेस्को घडीमा जतिसुकै बजोस्न, मुख्य कुरा त नवदुर्गा-भवानिहरु पो सन्तुष्ट हुनुपर्‍यो त !
 
 
बल्ल-बल्ल प्रशन्न हुनुभो शक्तीपिठका ज्युंदा प्रतिनिधिहरु । हामीलाई बिल (चेक) हेर्न पनि दिएनन्, दुइटी लक्ष्मीहरु मिलेर १५ सय राखेर पठाइदिए, पछी कती भेटी फिर्ता लिए कुन्नी ! एक हिसाबले हाम्लाई पनि ठिकै भो नत्र त फेरी "खाया-पिया चारानेका, ग्लास तोडा बारानेका" हुनेवाला थियो । 
ल, को - कताबाट जाने हो त ? 
हामी त सिधै जाने, हुन्न ? 
अंम्ss हामी चाइं माथिबाटै भएर जानुपर्ला । 
२ - २ जना देवीको २टा ग्रुप बन्यो । कहीं-कतै एउटा सानो अंकुरण जिवितै थियो, घर जानेबेला त एक्लै पर्लेकी भन्ने तर निष्ठुरी देवीहरुले तेइमाथी पनि चण्डी नाच नाच्नुभो ! 
अब बांकी रहे एकजना भद्र देवदुत जसलाई मापसे को मा पनि था'थेन, ऊनी आउंथेनन् - हामी कर गर्थेनम्, नत्र फेरी "तिमी डांकाहरुले मेरो छोरोलाई बिगारीदिएउ" भनेर ऊफ्रिने बाउ-आमाहरु हाम्ले टोल-छिमेकमा थुप्रै देख्याथिम् । तेस्कारण, ऊन्लाई पनि बिदा गरेर हामी लागिम् नित्य कर्मथलोतिर ! 
 
 
अब म हरेक क्षण अवसरहरुको खोजिमा हुन्थें, कसरी ऊस्लाई भेट्न सकिएला भनेर । पहिले त आक्कल-झुक्कल फोनमा कुरा पनि हुन्थ्यो पढाई discussion कालागी, अब त्यो बाहाना पनि रहेन । घरमा जाउं, किन आएको भन्नु ! उ घरबाट कहिले-कतिखेर-काहां निस्किन्छे, तेस्को timetable पनि आफुसँग थिएन । बडा बिपत्ती आइलागेकोथियो ! मन भुलाउने केही कुरा थियो भने - राधिका दिदिको भट्टी ! कहिलेकाँहीं त घरको चिया पनि नखाइ हुंइकिन्थेउं हामी बिहानै - सितन केही हुन्थेन, अलि-अली गाजर-कांक्रोका साथमा चाउचाउ सांधेर दिन्थिन बिचरी ! 
 
 
हुनत तेतीबेला आफुलाई संधै शनीवार तर त्यो दिन वास्तवमै कुन्नी केस्को बिदा परेको रहेछ, बाबालाई पुरी र खसिको मासु खाने मुड चलेछ । म वेद प्रकाश शर्माको थ्रिलर ऊपन्यास पढ्दैथें, रमा आइपुगी "दाई मासु किन्न जानु रे" । 
खै त चिया ल्याइनस् ? 
आमाले पकाउंदै हुनुहुन्छ, ऊतै जानुस्न । 
 
 
म bike रोकेर गेटभित्र छिर्नासाथ गुरुको tibetan terrier लाडिदै आइपुग्यो । बडो मायालाग्दो फुच्चे थियो, काखमा लियो भने त ओंठ-मुख चाटेर दिक्कै पनि पार्थ्यो । आन्टिको पूजा भर्खरै सक्यारैछ, "ला प्रशाद, टिका त तं अधर्मिले कैलेइ लाउन्नस् केरे" 
खोइ त्यो ऊठ्या छैन अझैं ? 
कां खेत खन्न जानु छ र तेल्लाई, लडिरा'होला । 
म त मासु लिन जानला' आन्टी, हजुरहरु पनि खाइसिने होलानी ? 
सोध् तेरै साथीलाई । 
गुरुले मुख धोए जस्तो गर्‍यो, आन्टिले चियाकोलागी कर गर्दै हुनुन्थ्यो हामी बत्तीहालेम् । आ-आफुलाई चाहिने भन्दा डेड् केजी मासु हाम्ले बेसी किनेम्, प्लान बनिसकेको थियो - १ केजी राधा दिदिलाई, आधा केजी हामीलाई ! राधा दिदिलाई हाम्रो मासु बनाइदिराख्नुस्, एकछिनमा आइपुग्छौं भन्दै हामी घरतिर हानिएउं । 
 
 
मासु टुक्रा पारेरै ल्याछ है, म एकछिन बाइर गएर आउंछु । (आफुलाई कतिखेर भट्टी पुगुम् भन्ने थ्यो)
तंसंग पढ्ने को केटीले फोन गर्याथी' । (शान्त तलाउमा आमाले ढुंगा हिर्काइदिनुभो)
कस्ले ?? (मेरो मुटु पड्केला जस्तो भो)
खोइ, दिदिले ऊठाकिथी केरे । 
क्रमश:
Read Full Discussion Thread for this article