Posted by: dipika02 February 17, 2012
मिती र तिथी
Login in to Rate this Post:     7       ?         Liked by
भाग १
 
 
"वोइ दिपिका, तँ खास जन्मेको चै कहिले भन्त? आफुले एउटा भन्छेस, फेरी ड्राइभर लाइसन्स मा अर्कै छ। बाबा मामुको फोन आउछ फेरी "Happy Birthday, छोरी" भन्दै अर्कै दिन, खास त जन्मेको चाइ एक्ज्याक्ट कहिले हो त्यो भन्त मलाई"---सारीकाले दिक्क मान्दै सोधेको थीइ मलाई एक चोटि। 
 
"खोइ मलाई के था? एक्ज्याक्ट जन्म्या धरी याद हुने भईदेको भए त मेरो स्मरण शक्ती को बयान जताततै सुनिहाल्थिस नि। जा न गएर हाम्रो टोलको भैरब दाइलाई सोध। उनको कालो गाई ब्या दिन जन्म्या हो म।" ठट्टा गरेको पनि राम्रो सँग नबुझ्ने सारीकालाई जिस्काउन रमाइलो लाग्थ्यो मलाई। 
 
उस्लाई त जे भन्दे नि भएको थ्यो। आफ्नो साथी, जसरी जिस्काइदेनी भयो। तर मेरो लागि आफ्नै जन्मदिन पनि जटिल समस्या भएर धेरै चोटि उभीसकेकोथ्यो र अझै छ।

यो समस्या एकाएक अहिले देखिएको कहाँ हो र? जन्मन त स्वस्थानी सांगे पुर्णिमा को दिन जन्मेको थिएँ। दुई बर्ष पनि राम्रो सँग पुरा नभइ आमालाई हतार भयो मलाई स्कुल राख्न । शब्दहरु टिप्नलाई मैना चरी जस्तो थिएँ रे फेरी हजुरबुवा सँग ग्रह साह्रै मिल्ने आफ्नो। अरु नाती नातिना चले भने "बाँदर मरेर जन्मेका भुराहरु कती चल्न सक्छन" भन्ने बुवाले मैले चल्दा चै उल्टो "पुर्ने को दिन जन्मेकी मेरी नातिनी कती टाठी छे" भन्नु हुन्थ्यो रे। सधैं पाएसम्म र मिलेसम्म बुवा सगै धुनुमुनु खेलेर बस्ने हुँदा बुवाका शब्दहरु पनि पुटुपुटु टिप्न थालेछु। आठ महिनाको उमेर देखी बोल्न सुरु गरेको म, दुई बर्ष सम्ममा त कुराको भकारी मात्र नभएर बुवा सँगै भाका हालेर गीत पनि गाउन थाल्ने भएपछी बाबा आमाले नजिकैको स्कुलमा नर्सरिमा भर्ना गरिदिनु भएछ। 
 
दार्जलिङबाट भर्खर सरेका दम्पतिले खोलेको त्यो नयाँ स्कुलमा नर्सरिमा जम्मा ५ जना थियौ। अरु बच्चाहरु आफ्नो आमा बाबाले छोडेर जाँदा डाँको छोडेर रुन्थे रे म चै खेल्न पाइहालिन्छ किन यस्तो अलाप र बिलाप गरेको होला भनेर उनिहरुलाई हेरेर बस्थे रे। तेइ उमेर देखी नै स्कुलमा रमाइलो मान्न थालेको थिएँ रे। न त म पहिलो दिन रोएँ रे न त दोश्रो नै। घर नजिकै स्कुल थ्यो रमाइलोमै सकाएछु नर्सरी।
 
क्लास उक्लिने बेला भयो। जानु पर्ने त लोवर के जि मा थ्यो तर बाबाहरुकै पढाई त सिधै ३-४ कक्षा बाट सुरु गर्दिनु भएको बुवालाई मेरो लोवर के जि र अप्पर के जि चित्त बुझेनछ। " बाबु, अहिले अप्पर र खप्पर गर्न थालिस भने छोरीले ३० बर्षाँनी SLC दिन्न। खुरुक्क १ मा हाल्दे, सकिन भने झार्लास" भन्नु भएछ। बुवाले त आफुले जे गरेको तेइ भन्नु भयो तर ३ वटा बिषयमा स्नातकोत्तर गर्नु भएको मेरो बाबाले पनि खुरुक्क लगेर १ मा भर्ना गर्दिनु भएछ।
 
अंक नसिकेको बच्चालाई जोड घटाऊ गर्नु पर्‍यो, शब्द चिन्न सुरु मात्र गरेकोलाई वाक्य बनाउनु पर्‍यो, सजिलो त के हुन्थ्यो? स्कुल को पढाईले नपुगेर आमाले घरमा रटाउन थाल्नु भएछ। तेइ उमेर देखी संघर्ष गर्न सुरु भएको रहेछ। तीन महिना जतिमा धेरै नै प्रगति देखाएछु, क्लास झार्न नपर्ने भयो। 
 
खुरुखुरु पढ्दै क्लास उक्लदै थिएँ। दुई क्लास देखी क्लास टप गर्न थालेको ४ क्लास सम्म क्लास टपर नै रहेँ। तर घरमा त्यतिले आमा र मामाको चित्त बुझेन। पुष माघ को बिदामा मामाघर गएको थिएँ एक महिनालाई। मामाको छोरा सुबिन दाई ५ क्लास सकेर छ मा जान लाग्नु भएकोथ्यो। मामाले त्यो दुई महिनाको छुट्टी पनि कुर्न नसकेर छ क्लासको किताब किन्दिसक्नु भएछ। मामा उस्तै आफ्नो फेरी।  
 
मामाघरमा आफ्नो कुरा मिल्ने साथी भनेकोनै तेइ एकजना दाई, उही नै किताब लिएर पढ्न बसेपछी मैले नि के गर्नु? उही सग पढ्न लागे। पढ्नु त उस्कै पुरानो ५ को किताब पर्नेथ्यो तर उस्ले नयाँ छ क्लासको किताब पढ्दा आफुलाई उस्को पुरानो ५ को किताब पढ्न के मन लाग्थ्यो? अझ तेस माथि उस्ले तुजुक देखाउथ्यो "यो त मैले उहिले पढेको, तँ यो बल्ल पढ्ने?" भनेर। 
 
सिधासिधी हार मानिहाल्न मन ले मानेन। उही सग बसेर कनी कुथी भएनी छ कै किताब पढ्न थालेँ। मामाले बेला बेलामा जाँच लिनु हुन्थ्यो। सुबिन दाई अलि भुस्कोल पढ्नमा सानै देखी। ध्यान खाली पढ्न भन्दा कमिक्स् को नागराज, कुन कमिक्स सबै भन्दा महङो, साइकल को हावा कसरी फुस्काउने, रेस्लिङ्मा कस्ले कस्तो लक लगाएर पछार्छ तेस्ता कुरामा बढी हुन्थ्यो। पढाईमा मामाले दाई भन्दा म नै बढी तेजिलो देख्नु भएछ, कुरा आमाकाँ पुग्न बेरै लागेन।  
 
बाबा जागिरको सिलसिलामा बाहिर जिल्लामा हुनुहुन्थ्यो, आमाले खुरुक्क प्रिन्सिपल सँग कुरा गरेर पाँचै नपढाइ छ को एक्स्प्रेस बसमा चडाइदिनु भयो। छ क्लास मेरो लागि सजिलो भएन। धेरै कुराहरुमा अन्य साथीहरुले भन्दा मैले बढी मेहनत गर्नु पर्थ्यो। जाँचहरु पनि पहिले पहिले भन्दा धेरै नै छिटो आएको जस्तो लाग्थ्यो। सधैं पढाईमा राम्रो भनेर चिनिएको विद्यार्थीलाई पहिलो दोश्रो त के दसौ भित्र पनि नपर्दा आत्मग्लानि हुन्थ्यो। पढाइको बिषय लिएर कहिले पिर गर्न नपरेको मेरो बाबा र आमालाई कता कता मनमा घोच्न थालेछ र आफुले गरेको गल्ती सेतो पर्दा झै टड्कारै देख्नु भएछ।
 
क्लासमा राम्रो गर्न नसक्दा रिजल्ट आउने दिन त झन बढी दिक्क लाग्थ्यो। पहिले पहिले त्यो दिनमा आफु उत्साहित हुने गरेको सम्झेर दुखी हुन्थेँ। तलै हार मान्यौ भने त माथि चड्ने खुड्किलो नि बन्द भईहाल्छ नि भनेर बाबाले नै उल्टो सम्झाउनुहुन्थ्यो। हरेक बिषयमा थोरै अंक देख्दा साह्रै मन दुख्थ्यो। सबैले हेपेझै लाग्थ्यो। कच्ची बाटोमा लठ्ठिले साइकल को टायर गुडा जस्तो लगलग गर्दै गूड्यो त्यो बर्ष आफ्नो पढाई। 
 
एक चोटि नेपाली पढाउने सर ले "भगवान नमान्नेलाई नास्तिक भन्छन भने मान्नेलाई के भन्छन?" भनेर सोध्नु भयो मलाई, मैले भन्न सकिन। सबैको सामु "यही ताल हो भने तिमी यही क्लास मा फेरी बस्छौ" भनेर प्याच्च भन्नु भयो। एउटा जाबो नास्तिक र आस्तिक भन्न नजान्दैमा क्लास नै नउक्लिने त के हुन्थ्यो होला र? तर त्यो बेलामा सिधा अरुलाई हेर्ने आँट म मा भएन। मुटुमा सिन्का बिजे झैँ भयो। बिजेको त्यो सिन्कालाई निकाल्न मैले सिन्काले नै आफ्नो घाऊ खोतल्नु पर्थ्यो। त्यो बुझ्न पनि बेर लागेन। 
 
"इख नभएको मान्छे र बिख नभएको सर्प काम छैन बुझिस्? " भनेर बुवाले फुपु SLC मा फेल हुँदा कुर्ली कुर्ली भन्नु भएको मेरो त्यो बाल मस्तिस्कमा गहिरो छाप परेकोथ्यो। इखालु म सानै देखी थिएँ। मेहनत जारी नै रह्यो। क्लास मा दोश्रो सम्म धेरै चोटि भएँ तर १० क्लास सम्म नै फेरी टपर भने हुन सकिन। अब बाबा आमाले गल्ती नदोहोर्याउने प्रण गरिसक्नु भएकोथ्यो। 
 
जती हुनु गल्ती पहिले भईसकेको रहेछ। त्यसरी हुँदो न खाँदो को दु:ख पाएर पढाई हुइक्याउने हुँदा १० कक्षा मा पुग्दा १४ बर्ष पनि लागिसकेको थीइन। आफुलाई त केहि पिर परेको थिएन तर एक्कासी स्कुलको अकाउन्टेन्ट नकुल सरले बोलाएर SLC दिन तिम्रो उमेर पुगेन भन्दा पो छाँगा बाट खसे झैँ भएँ।  
 
बाबा काठमाडौंमा हुनुहुन्नथ्यो र आमा पनि बाबा सँगै जानु भएकोथ्यो। नौ र दस क्लासमा म हस्टेल मै बस्थेँ। अब SLC दिन नपाउने भएँ भनेर म तर्सेको देखेर नकुल सरले ले हत्तपत्त मलाई अब फर्म भर्दा २ बर्ष बढाउन पर्छ अरु त केही हुन्न भन्नु भयो। एक दिन मै २ बर्ष बढ्दा आफु नि दङ परे।त्यो उमेरै नै त्यस्तो। जती बढ्यो उती रमाइलो लाग्ने। जन्मदिने आमाले नै थाहा नपाई मेरो २ बर्ष बढ्यो। जन्म साल, दिन, बार, तिथी सबै उनैले राखेर नयाँ न्वारन गरिदिए।
 
पछी बाबालाई उहाँ नभाबेलामा मेरो फेरी न्वारन भयो भने जस्को हल्का भान बाबालाई पहिले नै परीसकेको रहेछ।  
 
"साल बढाएपनी बेबकुफ ले दिन त त्यही Jan 31st नै राख्न पर्ने नि, अब पछी सम्म गाह्रो हुन्छ", बाबाले भन्नु हुँदा, उमेरै त बढीसकेपछी जाबो त्यो गते त जुनसुकै भएनी के फरक पर्छ र जस्तो लागेको थ्यो। आफुले जती जानेको कसैले छैन जस्तो गर्ने उमेर, खुकुरी भन्दा कर्दा बढी लाग्ने उमेर, बाबाले भन्नु भएको के बुझ्नु मैले? हुन पनि गते को महत्व नै कहिले भएन। पुर्णिमा तिथी भनेर जन्मदिन मनाउन सधैं तिथी कुर्नुहुन्थ्यो घरमा। त्यो तिथी फेरी मनलाग्दी गरेर आउथ्यो। कहिले पुषमा पर्याछ कहिले माघ मा। कती चोटि त फाल्गुनमा नि परेको हुन्थ्यो। साथीहरु को जन्मदिन हरेक बर्ष त्यही गते आउथ्यो आफ्नो चै महिना नै एउटै परे पनि धन्य ।हरेक बर्ष मेरो जन्मदिन कहिले छ यो बर्ष भनेर कि बाबा आमालाई सोध्न पर्ने कि त नयाँ बर्षको क्यालेन्डर आयो कि खोज्न पर्ने। 
 
"असत्तीहरुले त्यसरी पुर्नेमा जन्मेको मान्छेलाई चतुर्दशिमा पुराइदेछन। पुर्ने सम्म नि कुर्न नसकेका कालहरु",उता हजुरबुवा उर्लेर सम्हाल्न गाह्रो। बुवालाई त्यो कागजि जन्ममिती मा नि तिथी मिलाएनन् भन्ने पिर।
 
 
क्रमश:
Last edited: 17-Feb-12 10:06 AM
Read Full Discussion Thread for this article