Posted by: Geology Tiger December 28, 2011
नाइँ भन्नुस् है!
Login in to Rate this Post:     12       ?         Liked by
 नाइँ भन्नुस् है!

दुई चार महिना अघि होला बजारमा एउटा नेपाली सिनेमा आएको थियो 'नाइँ नभन्नुस् है' भन्ने । हुन त राम्रै शिर्षक राखेका हुन् यस सिनेमाका निर्माता र निर्देशकले, एउटा केटाले केटीसँग अथवा एउटा केटीले केटासँग प्रेम प्रस्ताव राख्दा 'नाइँ नभन्नुस् है' भनेर आग्रह गर्नु स्वभाविकै हो । तर त्यही नाइँ भन्न नसक्नाले एउटा बन्दै गरेको सम्बन्ध भत्किन पनि सक्छ भन्ने कुरा शायद मलाई जस्तो त्यो सिनेमाको निर्देशकलाई थाहा नहुन सक्छ । हुनत यो नाइँ भन्न नसक्ने बानीले मलाई धेरै नै हानी पुर्याएको छ । तर आज साझामा राखिएको एउटा तस्बिर हेरे पछि नाइँ भन्न नसक्नाकै कारणले भत्किएको एउटा सम्बन्धको याद आयो ।

सम्बन्धको सुरुवात भने म अम्रिका छिरेको केही समय पछि नै भएको थियो । त्यतिबेला अहिले जस्तो फेसबुकको एक छत्र राज थिएन । हाइफाइव लगायत अन्य धेरै सामाजिक संपर्कको जालोहरु जिवितै थिए । अझ नेपालमा त हाइफाइवकै बोलबाला थियो । अम्रिका छिर्दासम्म पनि मलाई फेसबुकको बारेमा उति सारो ज्ञान थिएन । स्कूलमा गएर पढ्ने, कहिलेकाँही साथीभाइहरु जम्मा भएर रमाइलो गर्ने बाहेकको अधिकांश समय कि त हाइफाइव चलाएर बित्थ्यो कि त मेसेन्जरमा नेपालमा भएका साथीहरुसँग च्याट गर्दैमा । हाइफाइबमा बिशेष गरेर राम्रा राम्रा तरुनीहरुको प्रोफाइल चाहर्नु पनि रमाइलै हुन्थ्यो । यस्तैमा एक दिन मलाई एउटा फ्रेन्ड्शिपको रिक्वेस्ट आयो, एउटा सुन्दर युवतीको । उनको प्रोफाइल राम्रोसँग हेरे, त्यहाँ राखिएका तस्बिरहरु पनि एक एक गरेर हेरे । मलाई अचम्म लाग्यो 'हैन यस्तो राम्रो केटीले मलाई किन फ्रेन्ड्शिपको रिक्वेस्ट पठाएको होला?' । मैले उनलाई फ्रेन्ड्शिप रिक्वेस्ट पठाएकोमा धन्यवाद दिदै नचिनेको मान्छेलाई किन यस्तो रिक्वेस्ट पठाएको भनेर एउटा म्यासेज पठाए । उनको जवाफ थियो 'मैले हाइफाइव चलाऊदै गर्दा कतैबाट तिम्रो प्रोफाइल देखे । अनि तिमीले आफ्नो बारेमा लेखेको पढे, मलाई धेरै राम्रो लाग्यो । त्यही भएर मैले तिमीलाई साथी बनाउन चाहेको।' 'ए राता मकै! हैन के लेखेछु त मैले आफ्नो बारेमा?' मैले आँफैले आफ्नो बारेमा लेखेको कुराहरु दोहराएर पढे, तेहराएर पढे । अनि 'ए ठिकै लेखेको रहेछु' जस्तो लाग्यो ।

हाइफाइवबाट सुरु भएको हाम्रो सम्बन्ध बिस्तारै फोन नम्बर आदानप्रदान भएर फोन वार्तालाप र टेक्स्टिङमा आइपुग्यो । साँझपखदेखि सुरु हुने टेक्स्टिङमा बिहान हुँदासम्म थुप्रै म्यासेजहरु आदानप्रदान भैसकेको हुन्थ्यो । उनलाई घरबाट मलाई फोन गर्न अफ्ठेरो हुने हुनाले धेरैजसो आफ्नो काममा आउँदा र जाँदा फोन गर्ने गर्थिन् । पछि कुरा गर्दै जाँदा थाहा भयो उनीले भर्खर अन्डरग्र्याजुयट लेभलको पढाई सकाएर काम थालेकी रहिछिन् । नेपालमा प्लुसटु सकाउने बित्तिकै हरियो पत्ता पाएर उनी परिवार सहित अमेरिका छिरेकी रहिछिन् । उमेरमा म भन्दा ५-६ बर्षै कान्छो भए पनि उनी मलाई तिमी नै भनेर सम्बोधन गर्थिन् जुन मलाई पनि नराम्रो लागेको थिएन । हामी फोनमा धेरै समय कुरा गर्थ्यौ । हाम्रो चिनाजानी भएको केही महिनामै उनको जन्मदिन परेकोले उनलाई मैले सानो उपहार पठाएको थिए । मैले पठाएको उपहार पाउँदा उनी सार्है खुशी भएर मलाई फोन गरेकी थिइन् र हामीले घण्टौ कुरा गरेका थियौ ।

मलाई बोस्टन शहर सार्है रमाइलो लाग्छ र आत्मीय पनि । बोस्टन शहर घुमिरहदा मलाई आफू काठमाडौंमा नै रहेको भान हुन्छ । म बर्षमा एक चोटि सधैं बोस्टन पुगेको हुन्छु । हुन त मेरो परिवारको सदस्यहरु त्यहाँ भएकै कारणले पनि त्यसो भएको हो । तर वास्तवमै भन्नुपर्दा मलाई अमेरिकामा मनपर्ने शहरहरु मध्ये बोस्टन पहिलो नम्बरमा पर्छ । हाइफाइव र फोनमा धेरै कुराकानी भए पनि हामी दुईले प्रत्यक्ष भेटघाट गर्ने मौका भने पाएका थिएनौ । त्यो बर्षको समर बिदामा मलाई नेपाल गएर फर्कनु पर्ने थियो र नेपालबाट फर्किदा म लगभग १० दिन जति बोस्टनमै बसे । तर दुर्भाग्य उनी पनि आफ्नो परिवार सहित कतै छुट्टी मनाउन गएकोले त्यो बसाइमा उनीसँग भेट भएन । एक अर्कालाई भेटेरै कुरा गर्ने दुबैको रहर पुरा हुन सकेन । ठिकै छ नि त यो चोटि नभए अर्को चोटि त पक्कै भेटौँला भन्दै आफ्नो मनलाई बुझाए । बोस्टनबाट फर्किए पछि मेरो बसाइ कोलोराडोतिर सर्यो । तर यसले हाम्रो फोन संपर्कमा भने कुनै असर पुर्याएको थिएन । हाइफाइवबाट भने हामी बिस्तारै फेसबुकतिर सरिरहेका थियौ । उनी मलाई कहिलेकाँही 'मेरो त केटो छ है' भन्थिन् । तर मलाई पुरा विश्वास थियो कि उनी पूर्ण रुपमा मलाई नै चाहन्छिन् र मलाई पनि उनको त्यतिकै चाहना थियो । हामीलाई केवल एउटा भेटको मात्रै पर्खाइ थियो । जुन भेटम हामी आफ्नो मनमा लागेका सबै कुराहरु धक फुकाएर गर्नसकौ ।

समयले सिंगै एक बर्षको फड्को मार्यो । फेरि मेरो बोस्टन जाने दिन आयो । तर यो चोटिको मेरो बोस्टन घुमाइ सार्है नै व्यस्त हुन संकेतहरु मैले पहिले नै पाइसकेको थिए । त्यो बर्ष बोस्टनमा एनएको सम्मेलन हुँदै थियो र त्यो सम्मेलनमा सहभागी बन्ने मेरो पहिले देखिकै योजना थियो । त्यही समयमा मलाई शिकागो देखि नायगरा फल्ससम्मको यात्रामा पनि जानु पर्ने थियो । यस्तै गरि अरु थुप्रै कामहरु थिए । तर म जहाँ भएर जे गर्दै गरेको भए पनि मैले आफ्नो हरेक गतिविधीको जानकारी उनलाई गराइरहेको हुन्थे । बोस्टनमा भएको एनए आशा गरे झै नभए राम्रो नभए पछी मैले त्यसमा आफ्नो सहभागिता छोट्याए तर शिकागो देखि न्यूयोर्क घुम्दा घुम्दै मेरो धेरै समय चाँही स्वहाँ भैसकेको थियो । तर पनि उनलाई भेट्न तय भएको केही दिनहरु मसँग अझै बाँकी थियो । उनले मलाई बोस्टनमा रहेको युद्द सम्बन्धी एउटा पुरानो संग्रहालय लैजाने प्रस्ताव गरेकी थिइन् जसलाई मैले सहर्ष स्विकार गरेको थिए । मलाई लोभ थियो उनको र संग्रहालयमा राखिएका सामाग्रीहरुको तस्बिर उतार्ने । त्यो बेला मसँग भर्खर किनेको निकोन डिएसएलआर क्यामेरा थियो । त्यसैले पनि म बढी उत्साहित थिए । उनलाई मैले १ बजे भेट्ने समय दिएको थिए । आँफैले गाडी लिएर जादा पार्किङको समस्या आउने हुनाले बसबाट आउनु भन्ने सल्लाह दिएकी थिइन् उनले ।

नजिकै रहेका एक जना सिनियर दाइलाई भेट्ने काम पनि सकाइहाल्छु भन्ने उद्देस्यले म ११ बजेतिर ती दाइको घरमा गए । खासमा उहासँग दुईचार भलाकुसारी गरेर भाग्ने मेरो दाउ थियो, तर त्यहाँ त पार्टी नै पो रहेछ । ल बस कुरा गरौ अनि खाना खानु पर्छ भन्न थाल्नुभयो । मैले होइन दाइ मलाई अलि हतार छ भन्दा भन्दै पनि नाइँ चाँही भन्न सकिन । मलाई लाग्यो म खाना खाएर निक्लन भ्याउँछु । पछी त उहाँले मेरो परिवारबाट अरुलाई पनि बोलाउनुभयो । अब मलाई थाहा भैसकेको थियो कि म नराम्रोसँग फँसे । एक छिन एक छिन भन्दा भन्दै उनलाई मैले भेट्न दिएको समय आउनै लागिसकेको थिए । मैले उनलाई फोन गरेर आफू कुनै जरुरी काममा फसेको र आउन केही ढिला हुने बताए । तर दाइकोमा म यस्तरी फसे कि मैले उनलाई फोन गरेर पछिल्लो पटक दिएको समयमा पनि पुग्न नसकिने छाँटकाँट देखियो । उनी निर्धारित ठाउँमा आइपुग्दासम्म पनि मैले बस चढेको थिइन । मैले पटक पटक फोन गर्दै उनलाई आफू आउँदै गरेको जानकारी दिइरहेको थिए । तर बस चढ्नु भन्दा ठीक केही मिनेट अघि फोन गर्दा उनको फोन उठेन, त्यतिबेलासम्म लगभग आधा घण्टा भन्दा बढी नै ढिला भैसकेको थियो । यसरी पटक पटक फोन गर्दा पनि उनले फोन उठाइनन् । मेरो मन भत्भत पोले झै भयो अनि यो पनि पक्का भयो कि उनी अब त्यहाँ छैनन् । 'अब के जानु?' म अमिलो मन लिएर घर फर्किए । फेसबुकमा उनको एउटा म्यासेज आएको रहेछ ' यसरी पर्खाएर भेट्न नआउनेहरुलाई म साथी बनाउँदिन, आज देखि तिम्रो र मेरो सबै सम्बन्ध सकियो' । यति म्यासेज लेखेर उनले मलाई आफ्नो फेसबुकबाट पनि हटाइछिन् । सार्है नरमाइलो लाग्यो । मलाई अब उनलाई फोन गर्न पनि मन लागेन । एउटा भर्खर बन्दै गरेको सम्बन्ध गर्ल्यामगुर्लुम्म ढल्यो । आखिर भेटसम्म पनि गर्न पाइन । मैले उनलाई प्रत्युतर पठाउदै क्षमा मागे र साथमा यो पनि लेखे कि यदि उनी मेरो भूलको सजाय एउटा सम्बन्धको अन्त्य गरेर दिन चाहन्छिन् भने म त्यसलाई स्विकार्ने छु । यस पछि मैले कहिल्यै उनीसँग संपर्क गर्ने कोशिस गरिन ।

आज साझामा अनायासै उनको तस्बिर देख्दा बिगतका ती केही मिठा र धेरै तिता पलहरु फेरि सम्झिन पुगें । यदि मैले त्यो दिन ती दाइलाई नाइँ भनेर समयमा नै हिंड्न सकेको भए... मैले जीवनमा नाइँ भन्न नसक्दा धेरै दु:ख पाएको छु । वास्तवमा चाहिने ठाउँमा नाइँ पनि भन्नसक्नु पर्दोरहेछ नत्र भने सबैतिर भद्रगोल मात्र हुँदोरहेछ ।


Read Full Discussion Thread for this article