Posted by: Geology Tiger November 23, 2011
फेरि एउटा नयाँ मोर्चाको आव्हान!
Login in to Rate this Post:     13       ?         Liked by
यो कबिता कुनै बिशेष साथीको आग्रहमा लेखिए पनि यसको स्रोत चाँही साझामा महिला मोर्चाको आव्हान गर्ने रसिका कान्छी, म्रिदुला र निलाशा आदी हुन्

फेरि एउटा नयाँ मोर्चाको आव्हान!

हो यो मोर्चै मोर्चाको संसार हो ।
यहाँ मान्छे छैननन् ।
मान्छे सबै मोर्चा भएका छन्, मोर्चाहरुको हिस्सा भएका छन्, मोर्चाहरुमा बाँडिएका छन् ।
आज मान्छे आफ्नो लागि होइन मोर्चाको लागि बाँचिरहेछ,
उ मोर्चाभित्र बाँचिरहेछ, मोर्चाहरुले घेरिएर बाँचिरहेछ,
र उ मोर्चाकै लागि मरिरहेछ ।
मैले मान्छेको बोली नसुनेको त जुगौ बितिसक्यो,
यहाँ बोल्छन् त केवल मोर्चाहरु
अट्टहास गर्दै, आदेश गर्दै र मोर्चाबिहिन मान्छेहरुको उपहास गर्दै ।
गाउँ गाउँमा मोर्चा, शहर शहरमा मोर्चा,
टोलटोलमा मोर्चा, घरघरमा मोर्चा,
किरासरि सल्यागंबल्यागं सल्यागंबल्यागं सलबलाइरहेका मोर्चा ।

तर मोर्चाहरुको यो भिडमा
फेरि एउटा नयाँ मोर्चाको आव्हान!
म आफूलाई असहाय महसुस गर्छु,
मोर्चाहरुको बिच आफूलाई नितान्त एक्लो महसुस गर्छु ।
चारैतिर हेर्छु, तर मान्छे कतै देख्दिन, देख्छु त केवल मोर्चा अनि मात्र मोर्चा ।
उफ्फ! म एउटा मान्छेको अस्तित्व यी मोर्चाहरुबाट कसरी जोगाउँ?
एउटा कालखन्डको समाप्तीसँगै मान्छे जातीको अस्तित्व निमिट्यान्न् पार्न,
कुनै काल्पनिक कथामा बर्णन गरिएका समयचक्रलाई सफा गर्ने ल्याङगोलिएर्स जस्तै, 
आफ्न तिखा दार्हाहरुलाई उदाएर मलाई लखेटिरहेछन् मोर्चाहरु ।
अनि म भाग्दै छु, भाग्दै छु ।

मैले कैयौ चोटि सोचेको थिए र सोधेको थिए,    
मोर्चाहरु के को लागि र कसको लागि?
मोर्चा खोल्नेहरुबाट त सधैं यसको मिठो उत्तर आउँछ ।
तर मलाई थाहा छ,
सही उत्तर त मोर्चा झेल्नेहरुले मात्र दिनसक्छन् ।
मोर्चा नियम र कानून मिच्नको लागि,
मोर्चा असहाय र अशक्तलाई थिच्नको लागि,
मोर्चा दिनदहाडै मान्छे मार्दै हिंड्नको लागि,
सोझासिधा जनतालाई ठग्न र लुट्नको लागि,
अनि लुटेको धन मिलिजुली बाँड्नको लागि,
मोर्चा मोर्चातन्त्रको लागि, मोर्चा लुटतन्त्रको लागि अनि मोर्चा छुटतन्त्रको लागि

स्वतन्त्र व्यक्तिलाई राजनैतीक आस्थाको बन्दी बनाउन,
र आफ्नो भाडाको टट्टु बनाउन,
राजनैतीक दलहरुको मोर्चा, जनमुक्ती मोर्चा ।
हत्याराहरुलाई माफि दिलाउन कानूनकर्मीहरुको मोर्चा
राजनैतीक पार्टीहरुको मोर्चा ।
विद्यार्थी पढ्ने स्कूल र कलेजहरुमा तालाबन्दी गर्न, 
विद्यार्थी संगठनहरुको मोर्चा ।
बिरामी मार्ने डाक्टरलाई केही गर्न पाइदैन भन्दै जुलुस गर्ने,
स्वास्थ्य व्यवसायीहरुको मोर्चा ।
घुसखोरीलाई कारबाही गर्न नदिन, 
कर्मचारीहरुको मोर्चा ।
जनताको धन र पसिना चुस्ने कालाबजारीलाई जोगाउन, 
व्यपारी र व्यवसायीहरुको मोर्चा ।
अहो! कति धेरै मोर्चा?
किरासरि सल्यागंबल्यागं सल्यागंबल्यागं सलबलाइरहेका मोर्चा।
म यो मोर्चाहरुको भिडबाट एउटा मान्छेको अस्तित्व जोगाउन,
दौडिरहेछु, दौडिरहेछु ..
तर फेरि एउटा नयाँ मोर्चाको आव्हान !
अनि म गर्ल्यामगुर्लुम्म ढल्छु ।

 
Read Full Discussion Thread for this article