Posted by: tenthfractal October 14, 2011
----For Creative Writers----
Login in to Rate this Post:     4       ?         Liked by
This was what I had written some seven years ago when I was a carefree undergraduate student at Tri-Chandra College. I will very sincerely appreciate constructive criticisms on this .  I dedicate this poem to Kathmandu Valley which has consumed a large chunk of my life.

चोक

प्रत्येक समयको अस्तित्वमा
त्यो विशाल शून्य आकाश
सधैँ घोप्टिन्छ
यो चोकमा
प्रत्येक विहानीको पदचापमा
त्यो प्रत्येक उज्यालो सूर्य 
सधैँ घोप्टिन्छ
यो चोकमा
यो बुढो  शहरको नौलोचोकमा
जहाँ
धानखेतका आलीहरू भत्काएर
हावाको पासोमा झण्ड्याएर
जमिनमै गाडिएझै यी कंक्रिट-भवनहरूमा
अझै गन्हाइरहेछ
स्यालका पुराना लाशहरू
जो
यो चोक
चोक नहुन्जेल
हरेक चीसो सन्ध्यामा
उल्लूको गीतसँगै
यहाँ भुकिरहन्थे

तर
अब
मालिकका करोड पाङ्ग्राहरुले
किचिरहँदा पनि
यो चोकलाई कुनै रिगँटा लाग्दैन
र यहाँ
समय
कम्युनिकेशन कर्नरको काखमा
भरियाहरुसँग बाघचाल खेलिरहेको छ
सुनमाया चित्रकार
आशाहरूको कुनै ओतजस्तो  पाटीमा   
हरियो साग बेचिरहेकी  छ
भोला महर्जन
कुनै स्याल गन्हाउने पर्खालबाहिर
आफ्नो प्यान्टमा मुतेर सुतेको छ

लाग्छ
यो चोक
आफ्नै नंग्राहरूले
रक्ताम्य हुने गरी
खोस्रिरहेछ आफ्नो मुहार
कोरिरहेछ किरिमिरी
किरिमिरी

त्यही किरिमिरी लिएर
यो चोक बाँचेको छ
सुनमायाको सागसँगै
यो चोक सुतेको छ
भोलाको मूतसँगै
यो चोक आथारो बसेको छ
समयको बाघचालसँगै

यो चोक
यो मेरो देश 
अब कुन भविष्य कोरल्ला ?

 
Read Full Discussion Thread for this article