Posted by: timer August 2, 2011
HEROES of NEPAL
Login in to Rate this Post:     0       ?        

मै हुँ बेचिएकी, लौ गर बहिष्कार


(5 votes, average 5.00 out of 5)
चरीमाया तामाङ, सिन्धुपाल्चोक, साउन १७- चरीमाया को हो, सबैलाई थाहा छ। मेरो बाल्यकालदेखि वर्तमानसम्म सबै जानकार भइसक्नुभएको छ। वास्तवमै मनभित्र साँच्चैको ईच्छाशक्ति छ भने ठूलै लडाइँ जित्न सकिने रहेछ। सफलता हात पर्ने रहेछ। आपत्मा फँसेकी नेपाली चेली भएर मैले यो अनुभूति गरेकी छु।

बेचिएर म जुन दिन जन्मभूमि फर्केँ, त्यही दिनदेखि मैले मानव बेचविखनविरुद्धको लडाइँ थालेकी हुँ। सातवटा गैरसरकारी संस्थाले मसहित १ सय २८ नेपाली चेलीलाई भारतबाट उद्धार गरेर २०५३ मा नेपाल फर्काएको थियो। साउन ७ गते म ज्यूँदो लास भएर जन्मभूमि आइपुगें।

खुट्टामा चप्पल थिएन। लुगाले पूरै शरीर ढाकेको थिएन। समाजमा हेय दृष्टिले हेर्न थालियो। यही परिस्थितिबीच मैले कठिन यात्रा रोज्ने निधो गरेँ- चेली बेचविखनविरुद्ध लडाइँ। मैले यो पनि संकल्प गरंँे- म जुन समाजको सदस्य हुँ, मैले त्यहीँ सम्मानित भएर बाँच्न पाउनुपर्छ।
बेचिएर फर्केको केही समयपछि पुनर्स्थापनाका लागि काठमाडौंबाट नवज्योति नामक संस्था गाउँ आइपुग्यो। यो संस्थाको गतिविधि नजान्दासम्म फेरि बेचिँदैछुजस्तो लागेको थियो। बुझेपछि भ्रम हट्यो। त्यही संस्थाबाट बेचबिखनविरुद्ध औपचारिक यात्रा सुरु गरेँ। अनु थापाका नाममा राजधानीमा सहयोग याचना गर्दै हिँड्न थालेँ। पत्रकार र अरू मलाई चिडियाखानाबाट निस्केको जनावरझैँ हेर्थे। 'मलाई अपराधीका रूपमा नहेर्दिनुहोला' - तिनीहरूलाई मेरो आग्रह हुन्थ्यो।
ओरेक, नवज्योति, सिविन र एबिसी नामका चार संस्थामा आबद्ध हामी बेचबिखन प्रभावित महिला मिलेर २०५४ मा 'शक्ति समूह' खोल्यौँ। पटकपटक मरेर बाँचेको तीतो अनुभव शक्तिमा बदल्न यो नाम जुराएका थियौँ हामीले। संस्था खोलेको चार वर्षपछि २०५६/५७ मा बल्ल दर्ता भयो। म उमेरले सानै थिएँ। पाँच कक्षामात्र पढेकाले ज्ञान अभाव थियो। अहिले १२ कक्षामा पढ्दैछु। एउटा संस्था दर्ता हुन चार वर्ष लाग्ने? त्यो हामीलाई हेर्ने फरक दृष्टिकोणको उपज थियो। मसँगै उद्धार गरिएका पीडित साथीको अवस्था बु‰न म उनीहरूको घरमा समेत गएँ। मेरो भन्दा उनीहरूको परिवार केही रामै्र थियो।
सुरुमा व्यक्तिगत लडाइँ धेरै गर्नुपर्‍यो। दिन त्यस्तै थिए, कसैले पीडितका पक्षमा वकालत गर्दैनथे। समस्यामा परेको व्यक्ति आफैँ अग्रसर हुनुपर्थ्यो। २०५५ सालको एउटा घटना अझै झल्झल्ती याद आउँछ। म आज सम्मानित भएको यही हल हो जहाँ बेचबिखनविरुद्ध कार्ययोजना बनाउने कार्यक्रम थियो। आफ्नै जिल्ला भएकाले शक्ति समूहको प्रतिनिधिका रूपमा म पनि सहभागी थिएँ। त्रुटि नराखी छलफल भयो। 'बेचिएर फर्केका पीडितको पहिचान गरी सामाजिक बहिष्कार गरौँ, यसरी मात्रै बेचबिखन रोकिन्छ' भन्ने निष्कर्ष निकालियो। त्यतिबेलासम्म म प्रभावित महिला भन्ने कसैलाई थाहा थिएन। मलाई असह्य दुःख लाग्यो। मैले आफ्नो पहिचानसहित कडा प्रतिवाद गर्दै भनेँ, 'त्यसो भए ल यही हलबाट सुरु गर्नुस्, मै हुँ, बेचिएर फर्केकी चेली। ल सक्नुहुन्छ भने अहिल्यै मलाई बहिष्कार गरेर देखाउनुस्।' सबै मुखामुख गरेर हेरेको हेर्‍यै भए।
समय यस्तो थियो, दलालविरुद्ध जाहेरी दिन जिल्लामा आउँदा मान्छे अचम्म मानेर हेर्थे। अहिले आफैँलाई कसरी गर्न सकेँजस्तो लाग्छ। २०५७ मा छिमेकी गाउँ सिन्धुकोटमा मेरो विवाह भयो। बेचबिखनमा परेकै कारण मलाई गाउँबाट बहिष्कार गरियो। माइतीमा पनि ठूलो समस्या थियो। माथ्लो घरमा दलाल बस्ने, तल्लो घर मेरो माइती। अपहेलना सहँदै दुवै घर मिलाउनु साँच्चिकै चुनौतीपूर्ण थियो। मलाई सहयोग गर्ने आफ्नो घर जाने अवस्था थिएन। आफ्नै गाउँबाट बेचबिखनविरुद्ध अभियान सुरु गर्न सिन्धुकोटमा एउटा तालिम चलाउनुपर्छ भन्ने सोच आयो। यतिसम्म कि पेपर किन्ने पैसासमेत थिएन। लाइन कपीमा निवेदन लेखेर मेलम्चीस्थित गैरसरकारी संस्था महिला आत्मनिर्भरता केन्द्रमा तालिम चलाउन माग गरेँ। बेचबिखनविरुद्ध चार दिनको तालिम गाउँमा चलाएँ। त्यसपछि चरीमाया राम्रो भन्न थालियो। केही राहत महसुस गरेँ। अहिले गाउँमा आँखाको नानीजस्तै भएकी छु।
मलाई बेच्ने दलाललाई १० वर्ष जेल भयो। जिल्ला अदालतको निर्णयविरुद्ध उनीहरू पुनरावेदन गए पनि तीसँग बलियो प्रमाण नभएकाले म चुप लागेर बसेँ। आखिर पुनरावेदनले पनि जिल्ला अदालतकै फैसला सदर गर्‍यो। २०५४ मा जेल परेका दलाल २०६४ मा मुक्त भएपछि पनि मैले उनीहरूविरुद्ध फेरि संघर्ष गर्नुपर्‍यो। जेलबाट निस्कनासाथ उनीहरूले मेरा भाइहरूमाथि आक्रमण गरे। मैले खम्बा बनेर फेरि प्रतिकार गरेँ र आवश्यक पर्दा गरिरहन्छु।
बेचिएका चेलीलाई पुनर्स्थापनामात्र होइन, भविष्यको बाटो देखाउनुपर्छ। यो अभियानमा लाग्न त्यति सजिलो छैन। बाँच्न धेरै गाह्रो छ। हरेश खानु हुन्न, थाकेर बस्नु हुँदैन। बिहानी हुन कालो रात बिताउनै पर्छ। अप्ठ्यारा आउँछन्, जुध्दै जानुपर्छ। साथ दिने बलियो हात भयो भने केही गर्न सकिन्छ। आफूमा ईच्छाशक्ति भने हुनैपर्छ। तबमात्र सफलता हात लाग्छ। लडाइँ जितिन्छ।
-(अमेरिकी सरकारद्वारा 'आधुनिक युगमा दासता अन्त्य गर्न लागिपरेकी नायिका- २०११' द्वारा सम्मानित शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले आफ्नो सम्मानमा गृहजिल्ला सिन्धुपाल्चोकमा सोमबार आयोजित कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश)
प्रस्तुति : ध्रुव दंगाल/नागरिक


Read Full Discussion Thread for this article