Posted by: shirish July 12, 2011
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        

विविधा»

रुबेल, सुजाता, सिटौला र कांग्रेस

डा. टीकाराम पोखरेल
काठमाडौ, अषाढ २० - बगलादेशी नागरिक रुबेल चौधरी अहिले नेपालमा एकाएक चर्चाको शिखरमा छन् । जहाँ सूचनाको पहुँच छ त्यहाँ रुबेल चौधरीको नाम नसुन्ने नेपाली अहिले कमै होलान् । चर्चाको शिखरमा रहेका रुबेलका समर्थक जति छन् त्योभन्दा सयौँ गुना बढी चाही् उनका आलोचक छन् । रुबेल कांग्रेसकी प्रभावशाली नेतृ सुजाता कोइरालाका ज्वाँइ भएका कारणबाट मात्र यतिबेला चर्चाको शिखरमा पुगेका होइनन्, उनको चर्चाको खास कारण टाइगरटप्स गोली काण्ड र सुडान घोटाला प्रकरण हुन् । प्रायः धेरैको कानमा नपरेको रुबेलको नाम टाइगरटप्समा पूर्व युवराज पारस शाहसँग भएको जाँड भिडन्तपछि एकाएक चर्चामा आयो ।
टाइगरटप्स घटना सेलाउन नपाउँदै नेपाल प्रहरीले सुडान मिसनका लागि खरिद गरेको एसीपीमा भएको भनिएको घोटालमा रुबेलको नाम जोडिएको छ । सत्ता र शक्तिको आडमा सुडान घोटालामा रुबेलको संलग्नता भएको भनी चर्चामा आए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई दोषी भनी आरोपित भने गरेको छैन । त्यसो त रुबेल मात्र होइन सत्ता र शक्तिको आडमा ओत लागेर बसेका अन्य संभावित दोषीलाई पनि अख्तियारले छुनै सकेको छैन ।
रुबेल सुडान घोटाला प्रकरणमा संलग्न छन् वा छैनन् यो त अनुसन्धान र अदालतको निर्णयपछि मात्र ठोकुवाका साथ भन्न सकिने विषय हो । तर समाचार माध्यममा जसरी रुबेलको नाम जोडेर समाचारहरु प्रकाशित/प्रशारित भएका छन् यसबाट रुबेल अनुसन्धानको दायराबाट बाहिर छैनन् भन्ने स्पष्टै
हुन्छ । अनुसन्धानको घेरामा रुबेल आउनुपर्छ र अनुसन्धान गर्ने निकायले निर्धक्क साथ उनलाई अनुसन्धानको दायरामा पार्नुपर्छ । रुबेललाई जोगाउने नाममा कांग्रसको सत्ता र शक्ति दुरुपयोग भयो भने त्यो कांगे्रसका लागि नै दुर्भाग्य हुनेछ ।
सबैले बुझेकै कुरा हो आरोपित व्यक्ति आरोप प्रमाणित भएपछि मात्र दोषी ठहरिन्छ । तर राज्यले कुनै पनि घटनामा अनुसन्धानको दायरामा हरेक व्यक्तिलाई राख्न सक्तछ । यसकारण रुबेललाई सत्ता र शक्तिको आडमा ओत लागेकै कारणबाट अनुसन्धानको घेरा बाहिर पार्ने जुन कसरत भैरहेको छ त्यसलाई कदापी उचित मान्न सकिन्न । यस्तो दुष्कर्म गरियो भने नेपालको अख्तियार दुरुपयोग निवारणको इतिहासमा यो दुर्भाग्ययपूर्ण हुनेछ ।
नेपालमा रुबेलको न कुनै व्यापार व्यवसाय छ न कुनै कतै वैधानिक संलग्नता नै देखिन्छ । विना व्यापार, व्यवसाय, पेसा रुबेल किन नेपालमा बसिरहेका छन् भन्ने कुरा मननयोग्य
छ । यसकारण पनि बिनाकाम बसेको व्यक्ति सत्ता र शक्तिको आडमा अबैध धन्दामा संलग्न हुनसक्ने आशंकालाई प्रशस्तै बल मिल्छ । अन्यथा आजको जवान पुस्ताको कुनै एउटा व्यक्ति बिना काममा समय बर्बाद गरी घुमिरहन्छ भन्ने कुरा त्यति विश्वासयोग्य लाग्दैन । त्यसैले सुडान प्रकरणमा रुबेलको संलग्नता अनुमान निकट पुग्न सकिन्छ ।
तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौला र सुजाता कोइरालाबीच सुरुका दिनमा सम्बन्ध चिसो थियो । पछि त्यो चिसो सम्बन्ध त्यत्तिकै मत्थर हुँदै गयो र अहिले त्यो सम्बन्ध निकै घनिष्ट छ । हालै भएको कांग्रेस बैठकमा कांग्रेसका केन्द्रीय सदस्यहरूले सुडान प्रकरणमा सिटौलाको संलग्नताबारे स्पष्ट पारिनुपर्ने प्रश्न उठाउँदा सिटौलाले भ्रष्टाचार गरेको छैन मलाई थाहा छ भन्दै सिटौलाको सबैभन्दा दरो ढाल बनेर सुजाता नै उभिइन् । त्यसैले सिटौला गृहमन्त्री हुँदा सुरुका दिनमा सम्बन्ध चिसो हुनु र पछिल्ला दिनमा सम्बन्धमा सुधार हुनुको कडी कतै यही सुडान प्रकरण त होइन भनी आशंका गर्ने ठाउँ पनि प्रशस्तै छ ।
त्यसो त कांग्रेस नेता एवम् पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई अदालतले जब जेल सजाय तोक्यो त्यसमा पार्टीले वाग्लेका पक्षमा आवाज उठाउनुपर्ने भनी सिटौलाले पार्टीमा प्रस्ताव नै गरे । पार्टीले यसलाई महत्त्व नदिएकाले मात्र त्यो प्रस्ताव त्यत्तिकै तुहियो । आफू सुडान घोटालामा मुछिने पक्का भएपछि वाग्लेको हवाला दिंदै पार्टीलाई वाग्लेको भ्रष्टाचारको समर्थनमा प्रयोग गराउन पाएपछि सुडान प्रकरणमा पनि पार्टीलाई आफ्नो पक्षमा पनि बोल्न लगाउन पाइने थियो भन्ने निहित स्वार्थ त सिटौलामा थिएन ? अन्यथा यी वाग्ले र सिटौला विपरीत दुई धु्रवका नेताले एकले अर्काको समर्थन किन गर्थे र ? परिस्थितिजन्य यी घटनाक्रम सुडान घोटालाका लागि यथेष्ठ प्रमाण नै नभए पनि यस्ता घटनाले अनुसन्धान प्रक्रियालाई सहयोग भने पुर्‍याउँछ ।
सुजाताको शब्दमा भन्ने हो भने त रुबेलमाथि कुनै पनि आरोप लगाउनु भनेको सुजातामाथिको आरोप हो, सुजातामाथिको आरोप भनेको कांग्रेस माथिको आरोप हो, कांग्रेसमाथिको आरोप भनेको सिङ्गो व्यवस्था माथिकै प्रहार हो । उनको थप दाबी छ कोइराला परिवारको महत्त्वपूर्ण भूमिकालाई गौण र बदनामी बनाउन कोइराला परिवार र उनीहरुका नातागोतामाथि यस्ता आरोपहरु लगाइन्छ । भ्रष्टाचारको विषयलाई राजनीतिक रंग दिने सुजाताको प्रयासले पनि सुडान प्रकरणमा रुबेलको संलग्नताको आशंकालाई थप बल मिलेको छ । टाइगरटप्समा भएको सामान्य झगडालाई पनि सुजाताले नै राजनीतिक रंग दिएर चर्काएकी थिइन् । झगडालाई राजनीतिक रंग दिएकै कारण उक्त घटना पनि रुबेल र सुजाता दुवैका लागि प्रत्युत्पादक भयो । रुबेल बदनाम भए । सुजाता अपरिपक्व देखिइन् । सुडान प्रकरणलाई पनि सुजाताले जति राजनीतिक रंग दिन्छिन् त्यति नै उनका लागि त्यो प्रत्युत्पादक हुने निश्चित छ ।
एउटा टेलिभिजन अन्तर्वार्तामा सुजाताले भनिन्, 'भ्रष्टाचारको आरोप किन नेपाली कांग्रेसलाई मात्र लाग्छ ? कांग्रेसलाई मात्र लगाइएकोले यो सुनियोजित हो ।' अरुलाई अपरिवक्व बोल्ने भनेर दाबी गर्ने सुजाताले यस्ता केटाकेटी तर्क गरेर आफ्नै उचाइ घटाउनुअगाडि सोच्नुपर्ने हो कि जसले जे गलत काम गर्छ त्यसलाई त्यही आरोप लाग्छ । जस्तो कि माओवादीलाई सम्पत्ति कब्जा, जबर्जस्ती चन्दा असुली, धम्की, कुटपिटजस्ता क्रियाकलापमा संलग्न भएको आरोप लाग्छ । सम्पत्ति कब्जा, जबर्जस्ती चन्दा असुली, धम्की, कुटपिटजस्ता आरोप कांग्रेसलाई किन लाग्दैन भने सामान्यतया कांग्रेस यस्ता क्रियाकलापमा संलग्न छैन । तर भ्रष्टचारको मामिलामा कांग्रेस नेतालाई अरू पार्टीका नेताहरूको तुलनामा अलि बढी नै आरोप लाग्ने गरेको छ किनभने कांग्रेस सबैभन्दा बढी सत्तामा बसेका हुँदा तुलनात्मक रूपमा कांग्रेसका नेताबाट बढी भ्रष्टाचार भएको छ । तर यसको अर्थ अरू
पार्टीका नेताहरू भ्रष्टाचारमा संलग्न छँदै छैनन् भन्ने होइन ।
रुबेल चौधरी वा अरू कुनै कांग्रेस निकट व्यक्ति वा कांग्रेस नेतालाई भ्रष्टाचारमा संलग्न भएको आशंका गरिनु नै प्रजातन्त्र वा व्यवस्थामाथि नै प्रहार गरिनु हो भने कांग्रेसजनले जे गरे पनि हुन्छ भन्ने सन्देश जान्छ । कांग्रेसले जे पनि गर्न पाउने भएपछि अरू पार्टीका नेताले पनि जे पनि गर्न पाउने नै भए । मनपरी गर्ने आफू अनि त्यसको विरोध गर्दा व्यवस्थामाथिकै विरोध भनेर उम्कँदै जाने हो भने देश त दिन प्रतिदिन भासमा जकडिँदै जान्छ ।
नेपाली कांग्रेस कानुनी शासनमा विश्वास गर्ने पार्टी हो भन्ने धेरैको बुझाइ छ । त्यही पार्टीको एउटी नेतृ सुजाताको पनि कानुनी शासनमा विश्वास छ भने यस्ता भ्रष्टाचारका मुद्दालाई विषयान्तर गरी सत्ता र शक्तिको दुरुपयोग गर्नुभन्दा रुबेललाई अनुसन्धान घेरामा लैजान सहयोग पुर्‍याए हुँदैन र ? त्यसो नगरी सत्ता र शक्तिको आडमा भ्रष्टचारजस्तो गम्भीर विषयलाई व्यवस्था वा राजनीतिक उपलब्धिसँग जोडेर विषयान्तर गर्दै लैजाने हो भने प्राप्त उपलब्धिको रक्षा होइन बरु व्यवस्था नै बदनाम भएर प्रतिगामीलाई फाइदा पुग्ने र उपलब्धि नै गुम्ने डर हुन्छ ।
नेपाली जनताको नियति नै र्हो, पार्टीका ठूला नेताले जे गरे पनि समर्थन गरिरहनुपर्ने । नेताले जतिसुकै कलंकित काम गरे पनि समर्थनमा तालि बजाइदिए नेता खुसी हुने र विरोध गरेचाहिँ नेताले जनतालाई नै उत्छृङ्खल र प्रतिगामी देख्ने रोग दल र
तिनका नेताहरूलाई लागेको छ । यतिबेला कांग्रेसलाई खुसी पार्ने हो भने जनताले रुबेल, सिटौला, वाग्ले, खुमबहादुर र गोविन्दराजको काला कर्तुतको पक्षमा तालि बजाउनुपर्नेछ । एमाले खुसी
पार्ने हो भने पर्शुरामहरूलाई जोगाउन झन्डा बोकेर दौड्नुपर्नेछ । माओवादीलाई खुसी पार्ने हो भने अग्नि सापकोटा र बालकृष्ण ढुंगेलहरूको बचाउ गर्नुपरेको छ । तर यस्तो दण्डहीनतालाई प्रश्रय दिंदै जाने हो भने देशको कुन हविगत होला ?
Last edited: 12-Jul-11 10:02 AM
Read Full Discussion Thread for this article