Posted by: shareds April 6, 2011
FLASHOUT!! Bhat Bhateni, Chaudhary, Shanker, Golchha, Bishal, Sarda, Varun, Chamelia... देश लुट्ने ठूला औद्योगिक घराना चिनौँ
Login in to Rate this Post:     0       ?        

देश लुट्ने ठूला औद्योगिक घराना चिनौँ

-ओम थापा-

अर्थसचिवबाट राजिनामा दिएपछि बिहीवार रामेश्वर खनालले फेसबुकमा एउटा छोटो नोट लेख्नुभयो, बितेका आठ वर्षमा हरेक दिन सत्ता र पैसाका लोभीसँग भेट भयो। त्यसो भए को थिए त ती लोभी? जो पैसा र सत्ताका पछि मात्र दौडिरहेका छन्।

पैसाको लोभका कारण नक्कली भ्याट विल प्रकरणमा संलग्न भएको र त्यसलाई राजनीतिक च्यानलबाट मिलाउन सत्ताका पछि लाग्ने ठूला कर्पोरेटको अति गोप्य सूची फेला परेको छ।

नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तिय अपराध ‘ह्वाइट क्राइम’को सूचीमा नेपालको मल्टिनेशनल कम्पनी भएको स्वघोषणा गर्ने ठूला कर्पोरेट घराना समेत छन्। यो ह्वाइट क्राइममा दुई जना सभासदका कम्पनी समेत मुछिएका छन्, जो उद्योग-व्यवसायीको कोटाबाट समावेशी संविधान बनाउनका लागि संविधानसभामा प्रतिनिधित्व गर्छन्। को को रहेछन् त उनीहरु। विस्तृत जानकारीका लागि भित्र आउनुस्-


आन्तरिक राजस्व विभागले छानविन गरिरहेका ५२ कम्पनीमध्ये ३१ कम्पनीले नक्कली भ्याटबाट राजस्व छलेका छन्। यी ३१ कम्पनीमध्ये २४ वटा कम्पनीले नक्कली भ्याटविलको कारोवार गरेर दुई अर्ब ७० करोड रुपैयाँको भ्याट र आयकर छलेका थिए भने सातवटा कम्पनीले नक्कली निकासीको प्रमाणपत्र पेश गरेर ८९ करोड रुपैयाँको भ्याट फिर्ता लिएका थिए।

नक्कली भ्याट विल प्रकरणमा औद्योगिक घराना चौधरी, गोल्छा, विशाल, शंकर, वरुण डेभलपर्स, भाटभटेनी र चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनीसम्म छन्। नक्कली भ्याट विल प्रकरणमा संविधानसभा सदस्य चौधरी समूहका अध्यक्ष विनोद चौधरी र गोल्छा समूहका दिवाकर गोल्छाका फर्महरु समेत छन्। चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी एमालेले संविधानसभा सदस्य बनाएको हो भने गोल्छालाई नेपाली काँग्रेसको कोटाबाट मनोनित गरिएको हो।

शंकर समूह

छानविन गरिएका ३१ वटा फर्ममध्ये शंकर समूहको जगदम्बा स्टिलको सबैभन्दा बढी नक्कली भ्याट विल फेला परेको छ। आन्तरिक राजस्व विभाग स्रोतका अनुसार, जगदम्बाको ८० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ।

पहिले ८० करोडको ३८ प्रतिशत तिरे पुग्थ्यो छानविनपछि ८० करोडको नक्कली विलबाट झण्डै ६० करोड रुपैयाँ कर निर्धारण भएको छ। ८० करोडको १३ प्रतिशत भ्याट, २५ प्रतिशत आयकर र त्यति नै जरिवाना तथा वर्षको १५ प्रतिशतका दरले व्याजसमेत हिसाव गर्दा ८० करोडको ७५ प्रतिशत सरकारलाई तिर्नुपर्दछ, स्रोतले भन्यो। त्यो भनेको ६० करोड रुपैयाँ हो।

भारतबाट ४० वर्ष अघि शुन्य रुपैयाँ लिएर नेपाल आएका शंकरलाल गोल्यानका अहिले डेढ दर्जन उद्योग छन्। डेढ दर्जन उद्योगमध्ये जगदम्बा स्टिल सबैभन्दा ठूलो कम्पनी हो। वर्षमा शंकर समूहले २६ अर्ब रुपैयाँको कारोवार गर्ने दावी गोल्यानले आफ्नो वेबसाइटमा गरेका छन्। ५२ वटा कम्पनीको छानविन सकिएपछि दोस्रो लटमा छानविनका लागि सूची बनाइएका ४८० फर्ममा गोल्यानका अन्य फर्महरु पनि छन्। यसै समूहका पवनकुमार गोल्यान एनएमबी बैंकका अध्यक्ष छन्।

चौधरी ग्रुप

चौधरी समूह अर्न्तगत विनोद चौधरीले नेतृत्व गरिरहेका तीनवटा कम्पनी र अरुण चौधरीले नेतृत्व गरिरहेको एउटा कम्पनीको पनि नक्कली भ्याट विल प्रकरणमा छ। चौधरी समूहको सिजि इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सबाट छ करोड रुपैयाँ बराबरको नक्कली विल फेला परेको छ। चौधरी समूहकै सिजि फुड पनि नक्कली भ्याट विल प्रकरणमा छ। छानविनको क्रममा अन्तिम चरणमा पुगेका पाँच कम्पनीमध्ये सिजी फुड पनि छ। सिजी फुडबाट पनि करोडौं रुपैयाँका नक्कली भ्याट विल फेला परेका छन्, आन्तरिक राजस्व विभाग स्रोतले जानकारि दियो।

नेपालबाहिर दर्जनौं होटल खोल्ने भनेर चर्चामा आएको चौधरी समूहको सिजि इलेक्ट्रोनिक्स र सिजी इम्पेक्सले नेपालमा एलजी, सिजी कम्पनीका विद्युतीय उपकरणको विक्री गर्दै आएका छन्। उता सिजी फुड भने वाईवाइ चाउचाउको उत्पादन कम्पनी हो।

सभासद् चौधरीका भाई अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टलको पनि १६ करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेको छ। विभागले आड वटा सवारीसाधनको अधिकृत विक्रेताको छानविन गरेको थियो। आठ कम्पनीबाट २० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ। सबैभन्दा ठूलो अरुण इन्टरकन्टिनेन्टलको हो, विभाग स्रोतले बतायो।

गोल्छा अर्गनाइजेशन

दिवाकर गोल्छाको नेतृत्वमा रहेको गोल्छा समूह अर्न्तगतको हिम इलेक्ट्रोनिक्सको पनि छ करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ। हिम इलेक्ट्रोनिक्सको जिम्मा गोल्छा समूहका उदियमान निर्देशक शेखर गोल्छाको नेतृत्वमा छ।

गतवर्ष गोल्छा समूहकै अर्को फर्म नियोटेरिक पनि राजस्वको अनुसन्धानमा दोषी पाइएको थियो। यही कम्पनीले अग्रिम मिती राखेर भ्याट विल जारी गरेपछि राजस्वले गोल्छा समूहलाई शंकको घेरामा राखेको थियो। यहींबाट आन्तरिक राजस्व विभागले नक्कली भ्याट विलको कारोवार भैरहेको हुनसक्ने अनुमान गरेको थियो। तर पछि पुतलिसडकको एउटा फर्ममा छापा मार्दा दुई सयभन्दा बढी कम्पनीको नक्कली भ्याट विल फेला पारेपछि मंसिरबाट भ्याट छलिसम्वन्धी अहिलेसम्मकै ठूलो अपरेशन सुरु गरिएको थियो।

विशाल समूह

चर्चामा नआउने तर ठूलो व्यवसायिक सञ्जाल भएको विशाल समूहको युनाइटेड डिष्ट्रिव्युटर पनि नक्कली भ्याट विल प्रकरणमा फसेको छ। आन्तरिक राजस्व विभागले छानविनका क्रममा मल्टिनेशनल कम्पनीको सूचीमा राखेको युनाइटेड डिष्ट्रिव्युटरबाट १० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ।

युनाइटेड डिष्ट्रिव्युटरले भारत लगायत तेस्रो मुलुकबाट सौन्दर्य तथा दैनिक उपभोग्य सामान आयात गरेर थोक विक्री गर्दै आएको छ। राजनीतिक रुपमा अर्थमन्त्रीसँग पहुँच भएको यो समूहले बैंक तथा वित्तिय संस्था, इन्सुरेन्स कम्पनी, ट्रेडिङ हाउस लगायतमा लगानी छ।

विशाल समूहका अध्यक्ष जेपि अग्रवाल एनआईसी बैंकका अध्यक्ष समेत हुन्, समूहका उपाध्यक्ष टिआर अग्रवाल र निर्मल अग्रवाल एनआईसीमा बोर्ड सदस्य छन्। उता यही समूहका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल भने बैंक अफ एशियाका अध्यक्ष छन् भने अनुज अग्रवाल बोर्ड सदस्य छन्। स्रोतका अनुसार नक्कली भ्याट विल प्रकरणमा छानविनका लागि दोस्रो सूचीका ४८० फर्ममा विशाल समूहका अन्य फर्म पनि छन्।

भाटभटेनी सुपरमार्केट


यही वर्ष छोरीलाई दाइजोमा दिन ‘एअर कार्गो’मा करोडौं रुपैयाँ खर्च गरेर मर्सिडिज वेञ्च कार झिकाएका मिनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपरमार्केट पनि नक्कली भ्याट विल प्रकरणमा फसेको छ। महाराजगञ्ज र भाटभटेनीमा गरी दुईवटा सुपरस्टोर सञ्चालन गरिरहेको भाटभटेनी सुपर मार्केटको आठ करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ।

भाटभटेनीको मुद्धा अहिले छानविनमा बाँकी रहेका पाँचवटा कम्पनीमध्येको एक हो, छिट्टै कर निर्धारण हुन्छ, आन्तरिक राजस्व विभाग स्रोतले जानकारि दियो। भाटभटेनीले पनि नक्कली विलको झण्डै ७५ प्रतिशत रकम तिर्नुपर्दछ, स्रोतले भन्यो। धेरैजसो नक्कली विल मारवाडी समुदायसँग सम्वन्धित उद्योगमा फेला परेको थियो, भाटभटेनीमा कसरी पुगेछ कुन्नी, अनुसन्धानमा संलग्न एक अधिकृतको टिप्पणी थियो।

वरुण डेभलपर्स

गतवर्ष नेपालमा पहिलोपटक फुड चेन केएफसी र पिज्जा हट भित्र्याएर चर्चामा आएको भारतीय लगानीकर्ता रविजैन ताजपुरीयाको कम्पनी आरजे कर्पको फर्म वरुण डेभलपर्स पनि नक्कली भ्याट विल प्रकरणमा छ। यसैको प्यारेन्ट कम्पनी आरजे कर्पले नेपालमा पेप्सीको उत्पादक वरुण वेभरेज र केएफसी पिज्जाहटमा लगानी गरेको छ।

वरुण डेभलपर्सले धापासी काठमाडौंमा पार्कभ्यु होराइजन नामका सुविधासम्पन्न बंगला बनाएर विक्री गरेको छ। एउटै बंगलालाई एक करोड १९ लाखदेखि दुई करोड ५३ लाखसम्म विक्री गर्ने वरुण डेभलपर्सको १५ करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेको छ। यो कम्पनीका नाममा झण्डै ११ करोड रुपैयाँभन्दा बढी कर निर्धारण गरिएको छ।

चमेलिया जलविद्युत

नक्कली भ्याट विल प्रकरणमा चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी पनि फसेको छ। चमेलिया जलविद्युत आयोजनाको सिभिल निर्माणमा ठेक्का पाएको चाइना गेजुवा वाटर एण्ड पावर गु्रप कम्पनीले भेरिएशन बढाउनका लागि नक्कली विल खरिद गरेको स्रोतले बतायो। झण्डै ६० करोड रुपैयाँको नक्कली भ्याट विल किनेर परियोजनाले भेरिएशन बढाएको थियो। तर खर्चमा देखाउन भ्याट विल किने पनि चमेलियाले भ्याट भने तिरेको छैन।
थापाको यो लेख आजको जनआस्था साप्ताहिकमा प्रकाशित छ।

Read Full Discussion Thread for this article