Posted by: HomLal February 18, 2011
Returning to Nepal
Login in to Rate this Post:     2       ?         Liked by
यो राम्रो छलफलको विषय भएकोले मेरो दुई पैसाको कुरा पनि थप्न मन लाग्यो, यो धागोलाई तन्काउन।

मेरो बिचारमा, विदेशबाट फर्किने नेपालीले नेपालमा बढि सफलता पाउँछन किनभने कमसेकम उनीहरुले दुई फरक कोणबाट परिस्थितिलाई मुल्याङ्‍कन गर्न सक्छन। देखेरै पनि कति कुरा सिकिन्छ नि गाँठे! नेपालको कुरा त बुझेकै छ र केही नयाँ कुरा भए सिक्न नि बेर लाग्दैन। विदेशको सुख दु:ख भोगिसकेपछि फेरि विदेशिने रहर हुदैन। त्यसैले, बढि जानकारी हुनु र कम तृष्णा हुनु भनेको बढि सुखी/खुसी हुनु हो। अनि सुखी मान्छे बढि सफल त हुन्छ नै। म चै हन्डर खाएकै मान्छेमा बढि भरोसा गर्छु।

यसरी एक आपसमा छलफल गरेर देशको वास्तविक कुरा बुझ्नु त राम्रो हो, तर निर्णय त आफैले गर्नु पर्छ। किनभने जति धेरै मान्छे उति धेरै कुरा। जसको कुरा नि ठीकै हो जस्तो लाग्छ। त्यसैले गहिरिएर आफ्नो हृदय सुन्नु पर्छ, बुझ्नु पर्छ। अचुक र अकाट्य निर्णय भन्ने कुरा नै हँदैन। कुनै कुरा सोच्दा मात्र पनि जीउ गलेर आउँछ भने कुनै कुराले मनलाई प्रफुल्ल र रोमान्चित बनाउँछ। कसैको मनलाई नेपाल जाने कुराले भारी बनाउँछ भने अरुकोलाई हल्का। यस्तो दुई थरिका मान्छेले एउटा निर्क्योल निकाल्न सम्भव कुरै भएन। तर, यस्ता छलफल बढि जानकार हुन चै काम लाग्छ। त्यसैले जे कुराले आफ्नो मनलाई छुन्छ, त्यो कुरा गर्नु पर्छ नत्रभने सफलता हात लाग्दैन, जहाँ बसेनि जता गएनि। 

अर्को कुरा, सोच्यो मात्र भने जे कुरा नि गाह्रो हुन्छ, गर्‍यो भने भने ठूलो कुरा पनि समय लगाएर गर्न सकिन्छ। त्यसैले, योजना बनाउने, लक्ष्य तोक्ने र काम थाल्ने। वीचमा आउने ब्यवधानलाई झेल्दै अघि बढ्ने। मान्छेले आफ्नो वास्तविक धरातल छोड्नु हुन्न। अहिलेको परिस्थितिमा जे छ त्यसलाई स्वीकार गरेर आफ्नो विवेकले सकेको निर्णय गर्ने। केवल कल्पना गरेर त्यस्तो भए हुने, यस्तो किन भयो भन्ने खालका कल्पनाहरु यथार्थ भन्दा धेरै टाढा हुन्छन। यदि निर्णय गलत भयो भने पनि त्यसबाट पाठ सिक्ने र अघि बढ्ने। 

एउटा बुझ्नै पर्ने कुरा चै के हो भने भौतिक दु:ख भनेको मान्छेले सहन सक्छ, मानसिक सक्दैन। त्यसैले यी दुई कुराको तुलाना हुनै सक्दैन र गर्नु पनि हुँदैन। दु:खले हामीलाई कहि कतै पनि छोड्दैन। एउटा न एउटा दु:खको कारणले पछ्याई रहन्छ, जीवनमा उतार चढाव भैरहन्छ। यसबाट भाग्ने भन्दा यसलाई झेल्ने कला सिक्नु पर्छ। साच्चै सुखी हुन त हाम्रा पुर्खा योगी ऋषिमुनिहरुबाटै शिक्षा लिनु पर्छ तर अहिले तेता नजाउँ। जे होस, रोज्नै पर्छ भने भौतिक दु:ख रोज्नु नै ठीक हुन्छ। सफलता भन्दा सुखको पछि लागौ। हाम्रो देशलाई सुखी मान्छे चाहिएको छ। दु:खीले दु:ख बाँड्छ, सुखीले सुख। परिस्थितिले जहाँ राखे पनि सबैलाई सुखै सुख होस।


Read Full Discussion Thread for this article