त्यो अनुहार !!!!!!!
जिन्दगीको यो मोड सम्म आइपुग्दा असंख्य अनुहारहरु भेटिए, धेरै मेटिए। अनेक व्यबहार झेलिए, केही मा जेलिएं । एउटा अनुहार म ३० बर्ष देखी बाटो चौबाटोहरुमा खोजी रहेको छु ।
आज फेरी त्यही पुरानो कालो दिनको स्मृतिपुन्जमा पुगेको छु । कुरो ५ क्लास पढ्दा तिर को हो । पिताजीले अंश त्यागी स्वतन्त्र जिन्दगी रोज्नु भएको धेरै दिन भाको थिएन । बाबाले काम गर्ने बैंक मा डकैटी भए पछी बाबाले जागिर छोड्नु भयो । चाँदिका वर्तन बनाउने पुरानै पेशालाई निरन्तरता दिन पूर्बाधार बनाइ भर्खर कामको थालनी गर्नु भएको थियो । नयाँ काम को सुरुवाती लगानी ( समय र अर्थ )मा घरको भकारी भिकारीमा परिणत भैसकेको थियो । समय अनेक दृष्टिले कष्टपूर्ण थियो । कुनै चमत्कार बिना त्यो स्थितिबाट मुक्ती मिल्ने संभावना न्यून थियो ।
चिसो चुल्हो बाल्नै पर्यो । खाली पेटहरुलाई माड ले टाल्नै पर्यो। आम्दानी भने केही थिएन ।
बिहान सबेरै उठ्थें । नेपाली कागजको क्यालेण्डर तथा अन्य सजावटका पोस्टरहरुमा रङ्ग भर्थें । एक पाटो रङ्ग भरेकोको १ रुपैया पाइन्थ्यो । रङ्ग भरेर दङ्ग हुन्थें । सधैं हुने काम थिएन। जती हुन्छ मन लगाएर गर्थें । त्यो पैसाले ६ जनाको माड बन्दैन थ्यो ।
घरमा एउटा पुरानो लुगा सिउने कल थियो । हाम्रो टोलमा एउटा परिवारले ढाकाको खास्टोमा किनारा लाउने काम गर्थे । आमाले त्यही काम मागी किनारा सिउने काम थाल्नु भयो । एक खास्टो को पच्चिस पैसा । कागज मा रङ भर्ने काम न भाकोबेला म नि सिउने गर्थें । जसो तसो चिसो दाउरो बल्थ्यो । लड्डु विद्यार्थी भाकोले पढाई को कुनै चिन्ता थिएन । चिन्ता थियो त भात को ।
यसरी जिन्दगीहरु घिस्रिरहेका थिए । त्यती बेला दसैंको उपलक्षमा १५ दिन स्कूल बिदा । घटस्थापना अघिल्लो दिन शनिबार थियो । शनिबार बाबाले काम गर्ने आरानमा आगो फुक्ने, रसान मा सहयोग गर्ने काम गर्थें । त्यो दिन पनि म बाबा संगै ज्यासलमा ( काम गर्ने ठाम )थिएं ।
एक जना ४०-४२ बर्षको झन्डै एस् फीट अग्लो ब्यक्ती ले ढोका ढक्ढक्याए । ढोका खोलें । खैरो रङको दौरा सुरुवाल, कालो भात गाउंले टोपी, इस्टकोट र कपडा को जुता लाएको ब्यक्ती देखें ।
"किशन दाई को घर यही हो,"नेवारीमा सोधे ती अपरिचित ब्यक्तीले । मैले हो भनें ।
काँधमा ल्हासाको झोला भिरेका ब्यक्तीले पिताजिलाई भेट्नु पर्ने काम बताउदै थियो .................................................................
क्रमश: