Posted by: khoikkhoik December 6, 2010
WTF...
Login in to Rate this Post:     0       ?        
क्रान्तिकारी सम्मेलनका लागि परीक्षा सारियो

कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर २१ - माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनका लागि त्रिभुवन विश्वविद्यालयले चलिरहेको परीक्षा बीचैमा रोकेको छ । प्राकृतिक प्रकोप तथा लडाइँजस्ता असामान्य अवस्थामा मात्रै परीक्षा सार्न सकिने व्यवस्था दुरुपयोग गरी स्नातक तह दोस्रो वर्षको जारी परीक्षा स्थगन गर्दा हजारौं विद्यार्थी मर्कामा परेका छन् । देशमा असामान्य अवस्था सिर्जना भएमात्रै परीक्षा स्थगन गर्ने नियम छ । क्रान्तिकारीको सम्मेलन मंसिर २४ देखि २८ गतेसम्म कीर्तिपुरमा हुँदैछ ।  विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले मंसिर २३ देखि २९ गतेको परीक्षा 'विशेष कारणवश' सारिएको जनाएको छ । जनआन्दोलन २०६२/०६३ का बेला विद्यार्थी दबाबमा परीक्षा स्थगन गरिएको थियो । त्यसले गर्दा विश्वविद्यालयको परीक्षा प्रणाली नै प्रभावित भएको छ । दलै पिच्छेका भ्रातृ संगठनको सम्मेलनमा परीक्षा स्थगित गर्दै जाने हो भने विश्वविद्यालयको शैक्षिक प्रणाली बिग्रँदै जाने विज्ञहरूले चेतावनी दिएका छन् । क्रान्तिकारीको सम्मेलनमा देशभरबाट १ हजार ८ सय १८ प्रतिनिधि काठमाडौं आउँदैछन् । सम्मेलनमा आउने विद्यार्थीको परीक्षा बिग्रने भन्दै क्रान्तिकारीले स्थगन गर्न परीक्षा नियन्त्रण कार्यालयलाई दबाब दिएको थियो ।  विभिन्न क्याम्पसमा स्ववियुले बिथोलेका परीक्षा सञ्चालनमा कार्यालयले आनाकानी गरिरहे पनि क्रान्तिकारीको सम्मेलनका लागि भने पूर्वतालिका अनुसार चलिरहेको परीक्षा अचानक स्थगन गरेको हो ।

एकाएक परीक्षा स्थगितको सूचना आएपछि उपकुलपति माधव शर्मासमेत असन्तुष्ट छन् । 'परीक्षा चलिरहँदा यसरी कहिल्यै परीक्षा स्थगन गरिएको थिएन,' उपकुलपति शर्माले कान्तिपुरसित भने, 'नीतिगत रूपमा रजिस्ट्रारको अध्यक्षतामा यो निर्णय हुन्छ तर यो गम्भीर निर्णय हुनुअघि मलाई कुनै जानकारी दिइएन ।' परीक्षा समितिको अध्यक्ष रजिस्ट्रार रहने व्यवस्था छ । सामान्यतः परीक्षाका काम भने नियन्त्रकको जिम्मेवारीमा हुने गरेका छन् । आफू राजधानी बाहिर रहेको बेला यस्तो निर्णय गरिएको र सूचना जारी भएपछिमात्र यसबारे जानकारी पाएको उपकुलपति शर्माले बताए । यो निर्णयले गलत नजिर बस्ने पनि उनले जनाए । स्थगित परीक्षा पुस १८ देखि २३ सम्म साविककै केन्द्रमा चालू गर्ने कार्यालयको सूचनामा उल्लेख छ । परीक्षा नियन्त्रण कार्यालय स्रोतका अनुसार बोर्ड बैठकले नै परीक्षा सार्ने निर्णय गरेको हो । बोर्ड अध्यक्ष रजिस्ट्रार भीमराज अधिकारी छन् । उनी माओवादी कोटामा नियुक्त पदाधिकारी हुन् ।

रजिस्ट्रार अधिकारीले यसअघि कांग्रेसको महाधिवेशनका बेला त्रिवि सेवा आयोगको परीक्षा र एमालेनिकट अनेरास्ववियुको जनकपुरको सम्मेलनमा नियमित परीक्षा सारिएकाले यसमा कुनै अनौठो नभएको प्रतिक्रिया दिए । त्यतिबेला परीक्षा सुरु नभएकाले तालिका हेरफेर गरिएको थियो । 'यसरी परीक्षा सार्ने प्राक्टिस कांग्रेसको महाधिवेशनबाट गरिएको हो र अनेरास्ववियुको जनकपुर सम्मेलनमा पनि सारियो,' उनले भने, 'पछि पनि विद्यार्थीको सहयोग लिनुपर्ने भएकाले अहिले अखिल क्रान्तिकारी) को अधिवेशनमा पनि सारिएको हो । यो कुनै नयाँ कुरा होइन ।' उनले आफू परीक्षा बोर्डको पदेन अध्यक्ष भएकाले परीक्षाको दैनिक कार्य सञ्चालन नियन्त्रक र सहनियन्त्रकको निर्णयमा भएको बताए ।



रेक्टर सूर्यलाल अमात्यले क्रान्तिकारीको दबाबमा परीक्षा स्थगित गर्नु परेको बताए । 'क्रान्तिकारीले सुरुमै लिखित जानकारी नदिएकाले आकस्मिक रूपमा यो परीक्षा सार्नु परेको हो,' उनले भने, 'पहिले पनि यसरी स्थगित गर्ने चलन थियो ।' स्नातक तह दोस्रो वर्षमा करिब ९६ हजार विद्यार्थीले नियमित तथा आंशिक परीक्षा दिएको अनुमान छ । कतिपय परीक्षार्थीले परीक्षा सारिएको जानकारीसमेत पाएका छैनन् । परीक्षा दिन राजधानी आउने, गाउँबाट सदरमुकाम धाउने बढी प्रभावित भएका छन् । क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले विश्वविद्यालयलाई दिएको सूचना गम्भीरतापूर्वक नलिँदा यो स्थिति आएको बताए । 'हामीले हाम्रो १८ औं सम्मेलनबारे त्रिविलाई भदौमै जानकारी दिएका हौं,' सम्मेलन कुनै हालतमा सार्न नमिल्ने उल्लेख गर्दै उनले भने,  'विश्वविद्यालयले गम्भीरतापूर्वक नलिँदा विद्यार्थीले दुःख झेल्नुपर्ने स्थिति आयो । सम्मेलनमा आउने विद्यार्थीको परीक्षा छुट्ने भएकाले हामीले सार्न आग्रह गरेका हौं ।' शिक्षाविद् डा. विष्णु कार्कीले त्रिविमा 'नयाँ चलन सुरु भएको' टिप्पणी गरे । 'यसअघि कहिल्यै यसरी परीक्षा सारिएको जानकारी थिएन,' राजनीतिका निम्ति महत्त्व दिएको उल्लेख गर्दै उनले भने, 'देशमा लडाइँ चर्किए, प्राकृतिक प्रकोप भए र असामान्य अवस्था आएर नियन्त्रण गुम्ने स्थितिमा मात्र परीक्षा सार्न सकिन्छ । तर यो त्यस्तो स्थिति होइन ।'

 

प्रकाशित मिति: २०६७ मंसिर २१ ०८:३२

Read Full Discussion Thread for this article