Posted by: shirish October 16, 2009
वाह ! मन्त्री ज्यु वाह !
Login in to Rate this Post:     1       ?         Liked by
image

दसैं मान्न घर गएका मन्त्रीले कार्यालय अनुगमन गरेको भन्दै ४० देखि ५० हजारसम्मको नक्कली बिल पेस गरेका छन् तर उनीहरुले अनुगमन गर्दा (असोज ९ देखि १५) देशभरका सरकारी कार्यालय बन्द थिए



नयाँ पत्रिका


काठमाडौं, २९ असोज


दसैं मान्न घर गएका १२ जना मन्त्रीले सरकारी कार्यालय अनुगमन गरेको भन्दै भ्रमण भत्ता मागेका छन् । तर, उनीहरूले 'अनुगमन गर्दा' (असोज ९ देखि १५) सरकारी कार्यालय बन्द थिए । दसैंमा आफ्ना आमाबुबासँग टीका थाप्न गएको खर्च पनि मन्त्रीहरूले राज्यको ढुकुटीबाट उठाउन खोजेपछि कर्मचारीहरू अन्योलमा परेका छन् । बुधबारसम्म १२ जना मन्त्रीले ४० देखि ५० हजारसम्मको खर्च उठाउन 'बिल' पेस गरेका छन् ।


प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रीहरूले आफूमात्र होइन, तीन/चारजना सहयोगीको पनि आतेजाते भाडा, होटलखर्च र भ्रमण भत्ताबापत ४० देखि ५० हजारसम्मको बिल पेस गरेका छन् ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दसैं मनाउन घर गएका मन्त्रीहरूको नक्कली बिल आउने क्रम जारी छ । 'बुधबारसम्म १२ जना मन्त्रीको बिल आएको छ,' कार्यालयका एक उच्च अधिकारीले भने, 'यस्तो बिल आउने क्रम जारी छ ।'


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता शारदाप्रसाद त्रितालले मन्त्रीहरूले नियमविपरीत बिल दाबी गरेको पुष्टि गरे । 'तर त्यस्ता बिलको भुक्तानी असम्भव छ,' उनले नयाँ पत्रिकासित भने, 'बिदाका दिनमा सरकारी कार्यालयको अनुगमन गरेँ त भन्नै मिल्दैन ।'


मन्त्रीहरूले बिदामा पनि सरकारी कार्यालय अनुगमन गरेको भन्दै भत्ता दाबी गर्नु अनौठो भएको प्रतिक्रिया पनि उनले दिए । 'यसमा हामीले धेरै के भन्नु ? मन्त्रीज्यूहरू आफैंले सोच्नुपर्ने हो,' उनले भने ।


सिँचाइमन्त्री बालकृण खाँणले दसैंमा गृहजिल्ला रूपन्देही जाँदा लागेको खर्चका लागि पेस गरेका छन् । उनले असोज ९ देखि १५ गतेसम्म रूपन्देहीका सरकारी कार्यालय अनुगमन गरेको दाबी गरेका छन् ।


दसैं मनाउन गृहजिल्ला चितवन पुगेका भूमिसुधारमन्त्री डम्बर श्रेष्ठले असोज ९ देखि १७ सम्म सरकारी कार्यालय अनुगमन गरेको भन्दै त्यसको भत्ता मागेका छन् ।


यसैगरी महिला बालबालिका तथा समाजकल्याणमन्त्री सर्वदेव ओझाले १० असोजदेखि १७ सम्म गृहजिल्ला बाँके जाँदा खर्च भएको पैसा मागेका छन् ।


श्रममन्त्री मोहम्मद आफताव आलमले असोज ६ देखि १६ गतेसम्म गृहजिल्ला रौतहटको भ्रमणमा गएर सरकारी कार्यालय अनुगमन गरेको दाबी गरेका छन् । युवा तथा खेलकुदमन्त्री गणेश नेपालीले पनि भ्रमण भत्ता मागेका छन् । उनले ७ असोजदेखि १८ सम्म गृहक्षेत्र जनकपुरको अनुगमन गरेको बताएका छन् । उता गृहराज्यमन्त्री रिजवान अन्सारीले असोज ४ देखि १३ गतेसम्म सर्लाहीका सरकारी कार्यालयको अनुगमन गरेको भन्दै बिल पेस गरेका छन् ।


युवा तथा खेलकुद राज्यमन्त्री चन्दा कलवारले असोज १२ देखि १८ सम्म गृहक्षेत्र जनकपुर जाँदा, शान्ति तथा पुनर्निर्माणराज्यमन्त्री डिल्ली महत १४ असोजदेखि १९ सम्म जुम्ला जाँदा, ऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई ८ असोजदेखि १७ सम्म दैलेख जाँदा, शिक्षा राज्यमन्त्री गोविन्द चौधरी ७ असोजदेखि १६ सम्म गृहजिल्ला रूपन्देही जाँदा र भूमिसुधार राज्यमन्त्री मानबहादुर शाही ६ असोजदेखि १७ सम्म दसैं मान्न मुगु जाँदाको बिल पेस गरेका छन् । त्यस्तै स्वास्थ्यराज्यमन्त्री खड्गबहादुर बस्यालले ७ असोजदेखि १९ असोजसम्म गृहजिल्ला सुर्खेत तथा दैलेखको अनुगमन गरेको भन्दै पैसा मागेका छन् ।


सिँचाइमन्त्री बालकृष्ण खाँण (रूपन्देही)


भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ (चितवन)


महिला बालबालिका तथा समाजकल्याण- मन्त्री सर्वदेव ओझा (बाँके)


श्रममन्त्री मोहम्मद आफताव आलम (रौतहट)


युवा तथा खेलकुदमन्त्री गणेश नेपाली (जनकपुर)


ऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई (दैलेख)


शिक्षा राज्यमन्त्री गोविन्द चौधरी (रूपन्देही)


भूमिसुधार राज्यमन्त्री मानबहादुर शाही (मुगु)


स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल (सुर्खेत/दैलेख)


युवा तथा खेलकुद सहायकमन्त्री चन्दा कलवार (जककपुर)


शान्ति राज्यमन्त्री डिल्ली महत (जुम्ला)


गृहराज्यमन्त्री रिजवान अन्सारी (सर्लाही)

Read Full Discussion Thread for this article