Posted by: RajaHarischandra August 20, 2009
जमुनी
Login in to Rate this Post:     2       ?         Liked by
भाग -७ 

 

"यो मरिचेलाई डोली चडाएर लानेलाई दुइटा थाल दाईजो दिन्थे|यस्का बरीवात बाजा बजाउदै कहिले भन्ज्यांगबाट ओरालो लाग्लान?" म र जमुनी पधेरा बाट फर्कदै थियौ, दीपककी आमा अलिक अघाडीनै थीइन्| मुन्तिर गल्लीमा  हामी हिंडेको देख्ने बित्तिकै मैनाकी आमा धारे हात लगाउदै गाली गर्न थालिन|   जमुनी भने मैनाकी आमाले तेस्का नाममा गरेको प्रार्थना सुन्ने बित्तिकै कान्लामा  जुको टासिए जस्तै टसिएर लुकेकी थीइ| "फेरी मैना माथि के चाँही उपद्रो गरेर मरिछे यो मरिचेले नत्र भने यतिन्जेल सम्ममा यस्ले मैनाकी आमाको मुखमा बिर्को ठोकी सक्थी" मन मनै सोचे| मैले हातको पार लगाएर "किन हो ?जमुनी " भन्न  नपाउदै उस्ले चोर औलो देखाएर चुप लाग भनी|बारीको पाटाबाट अली अली फुल खेल्न थालेका कात्तिके  बोडीका झ्याङ लहरिदै गल्लीको कान्ला सम्म आई पुगेका थिए| तिनै झाङको छेल परेर लुक्दै जमुनी चाँही भागी|नबिराउनु नडराउनु भन्ने लाग्यो| हुँदा न खादो,  बिना सित्तिमै किन आफ्नै गल्लिमा पनि लुते कुकुर हिंडेझै गर्नु भनेर म सामन्य रुपले नै हिंडे|  अल्ली अगाडि  बांसको झ्याङ नेर मलाई कुरेर बसी रहेकी रहिछे जमुनी|  "किन त्यसरी लुकेर भागेकी जमुनी?" पलाक पुलुक हेर्दै मैले सोधे|" तेस्की छोरीले  पिङ खेल्दा  चप्पलको धुलो मेरो टाउको मा खसाली,  हिजो कोत जांदा मैले पनि तेस्को दसैंको लुगामा अलिकती गोब्बर लगाइदिए, तेही भएर होला नि " अझै खुबै रिसाएकी देखिन्थी जमुनी|

 

 

भिर्खे दमै दाईको घरबाट करिब १ घण्टाको ठाडै उकालो लागे पछी आउने वन काटेर फेरी अलिकती छड्के उकालो हिंडे पछी खुरी खण्ड  छानाको पाखो आउथ्यो, तेही एउटा खुल्ल चौरमा कोत घर थियो| तेही घरमा फुलपाती भित्र्याउने चलन थियो| अरु बेलामा  कोईलीको एकोहोरो आवाजसङै बिरक्त लाग्ने त्यो छानाको पाखो पनि चैते दसैं र दशैमा ब्यस्त देखिन्थ्यो| दसैं मा कोत घरमा पूजा गर्ने जेठो पूजारी, कोत घर लिप पोत पार्ने र पूजाको सहयोग गर्ने माइलो पूजारी, र कालरात्रीमा पन्च बली दिने कान्छो पूजारी हुन्थे|फूलपातीको दिन कोत घरमा फूलपाती भित्र्याउने तामझाम हेर्न पर पर गाउका मान्छे समेत आउथे| मलाई चप्पलको धुलो भन्दा पनि "आफ्नो लुगा दमैकोमा, आफ्नै अगाडी , आफ्नै दुश्मनले दसैंको नयाँ लुगा ढल्काएर हिंडेको" सहन नसकेकी होली जस्तो लाग्यो | "अघिल्लो दिनमा दलेको गोबरको रिस आज सम्म पनि नमोर्ने गरी कती धेरै दलेकी तनी तैले पनि?" बासको एउटा सिन्को पिटिक्क भाच्दै मैले सोधे|"तेस्का लुगा कती गोबर लाग्यो भनेर त आँफै गएर नाप्न, मैले त गोबर को थाप्रोमा ढुङ्गा हानेर तेस्का जिउ मा छिटा पार्देकी हुँ " मलाई समेत  रिस उठ्ने गरी भनी|   


 हामी  आईपुग्दा दीपककी आमा घरजान लागेकी रहिछिन, स्यान्दाइ चाँही अझै सम्म पनि खसीको टाउको खुइल्याउदै थियो| आगनमा पोखिएको खसीको रगत सायद घामले सुकेर होला, कालो भईसकेको थियो|रतन दाई चाँही हिडिसकेछन| "ल आज भिर्खेकोमा लुगा लिन जानु पर्ने, यिनिहरू त दिन भरी पधेरामै चेपागाडा मारेर बसेछन कि क्या हो? " सालको पात खुटेर बनएको दुनुमा अड्किएको रक्ती हातमा टकटकाउदै बाले भन्नु भयो| "पोलेर पनि खाए जस्तो छ कान्छा बा यिनिहरुले चेपागाडा त"  झिल्स्याउन सजिलो हुन्छ भनेर होला सिङ फुस्कीसकेको टाउकोको मुख मा एउटा दाउरो छिराउदै स्यन्दाइ ले मौकामा चौका हान्यो|दसैंलाई चिउरा खान भनेर जमुनीको गैरी खेतमा प्र्याय: ताइचिन धान रोप्थे|तेही धानको अलिकती चिउरा, अलिकती भुटेको भित्र्यास र अलिकती रक्ती खाएर म र जमुनी भिर्खे दाइका तिर हान्नियौ|

 

यो बर्ष भने भिर्खे दाइले भनेकै दिनमा लुगा सिएर सकेका रहेछन|"यो बर्ष भने यि सानाले टिकाको दिन सम्म कुर्नु परेन, ल यो चाँही तिम्रो पाइट, यो चाँही तिम्रो कमिज, अनी यो चाँही तिम्रो बा र आमा को लुगा" कपडा राखेको डालोबाट  एउटा कन्नानी जस्तो डोरिले बाधेको कपडाको पोको निकाल्दै मलाई दिए भिर्खे दाइले|"यिनी नानीको चाँही यो ल " भन्दै अर्को तेस्तै तर अलिक सानो पोको जमुनीलाई दिए|नयाँ लुगाको गन्ध र चमक श्पष्ट अनुभव गर्न सकिन्थ्यो| "म भोली बिहान भाग लिन आउछु भन्देउ है बा आमा लाई " हामी हिंड्न लागे पछी भिर्खे दाइले भने| सधैंको दसैंमा खसीको पुछ्छर र् अलिकती मासु दमै भाग भनेर छुट्याउने चलन थियो|

 

 

घरमा पुगेर लुगा लगाएर हेरे, पाइट अलिकती ठुलो र लामो, अनी कमिज पनि अलिकती ठुलो रहेछ| लुगा छेक्ने बेलामा आमाले "बड्ने केटा केटीको लुगा नाप भन्दा ठुलै बनाइदेउ है भिर्खे दाई, फेरी ३-४ महिनामै छोटा हुन्छन " भनेकाले अलिक ठुला सिलाइदेका रहेछन| कमिजको बाहुला अलिकती दोब्राए ठीक ठिकै देखियो| पाइट  दोब्राए, लम्बाइ मिले पनि कम्मर चै ठुलोनै भयो| केही सिप नलागे पछी, हुक लाउने फितालाई ल्याएर पेटी अड्काउने पेटिघर मा बाधेर अड्काए|नँया लुगा पाएको २-४ दिन चाँही रातो माटो लाग्छ भन्ने डरले  पिढीमा बस्न, भित्तामा आँड लाग्न पनि मन नलाग्ने|  "नँया लुगा लाएर चिप्लेटी खेल्ने हैन नि राजेश" बाले अलिक सतर्कता देखाउदै भन्नु भयो| हुन पनि दसैं सिद्दिएको २-३ महिनामा नै गाउका धेरै जसो केटा केटीको जांघेमा टालो हाली सकेको हुन्थ्यो| चिप्ले ढुङ्गामा गयो, चिप्लेटी खेल्यो, ढुङ्गाको तातोले छाला छोए पछी बल्ल जांघेमा भ्वांग परेको थाहा पाइने|अरु कुरा लुकाए जस्तो नहुने, जती गरे पनि जांघेमा पुर्णिमा का चन्द्रमा जत्रा प्वाल घरका मान्छेले थाहा पाइ हाल्थे|  अघिल्लो बर्ष मेरा जांघेका प्वाल देखेर "कत्राहा सधैको नाँगो, कलाहा  सधैंको भोको" भन्दै खुब गाली खानु परेको थियो| कती दिनलाई टिक्ने हो थाहा थिएन, तैपनी मनमनै  चिप्ले ढुंगा र पाइटको स्पर्श नगराउने बाचा गरे|

क्रमश:

 

 
Read Full Discussion Thread for this article