Posted by: crazy_love August 14, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        

भाग-१२


सार्थकले नसोचेको दिन पनि आयो। सधैं झै बिहानी सुर्योदयबाटै शुरु भएको थियो। उसको वरिपरि सबै कुरा उस्तै थिए, कौसी अगाडीको अम्बाको बोट उस्तै, तल बङैचामा फुलेका गुलाफहरु उस्तै र ढोकै नजिकका धुपीको बोट पनि उस्तै। केहि फरक नैं थिएन कहिँ पनि। मात्र उसको मन अमिलो भइरहेको थियो। उसलाइ यस्तो लागिरहेको थियो, कोहि उसको मुटुलाइ चिथोर्दै छ र पीडामा उ कराउन सक्दैन। उ कसैलाइ बताउन सक्दैन उसको मनको हालत। ओइलिएको मन लिएर उ हिड्यो CDO अफिस ११ बजेतिर।


त्यहाँ पुग्दा त्रिस्ना र बलबहादुर अझै आइपुगेका थिएनन्, प्रबेशले तयारी गर्दैथ्यो। सार्थकलाइ प्रबेशले उसकै साथीको कोठामा राख्यो। प्राय सबैले चिन्ने हुनाले सार्थक त्यही कोठामा बसेर झ्याल बाहिर हेर्न थाल्यो। नभन्दै केहि बेरपछि त्रिस्ना र बलबहादुर ढोकामा देखिए। बलबहादुरले झुकेर नमस्ते गर्‍यो, त्रिस्ना उसलाइ क्वार्क्वार्ती हेर्न थाली। त्रिस्ना अस्ति भन्दा अलि दुब्ली देखिएकी थिए। कमजोर जस्तो देख्थी, उ बलबहादुरको हात समातेर एउटा कुनामा उभिएकी थिइ। सार्थक त्रिस्नासङ कुरा गर्न चाहन्थ्यो, उस्लाइ कसरी शुरुवात गर्ने भन्ने पीर परिरहेको थियो। त्रिस्ना बलबहादुरलाइ नछोडि बसेकी थिए। सबै तयारी भइसकेपछि प्रबेशको साथीले सम्पूर्ण कागजात लिएर CDOको कोठामा गयो। केहि बेरपछि फर्क्यो र अलिकति समय कुर्नु पर्ने जानकारी दियो। कुरिन्जेल खान खान जाने कुरा भयो। बलबहादुर र त्रिस्ना अघि अघि निस्के, सार्थक र प्रबेश एक्छिन पछि निस्के। रमेश आइनसकेकोले सार्थक केहिबेर मुल ढोकामा कुरिरहेको थियो। त्यतिकैमा उसको आँखामा त्यहिँ भित्रको सानो चिया पसलमा पुग्यो। बलबहादुर र त्रिस्ना चिया पिउँदै थिए। त्रिस्ना सुखा पाउरोटी चियामा चोपेर खाइरहेकी थिइ। सार्थकलाइ कस्तो कस्तो लाग्यो। उ त लन्चको लागि रेस्टुरेन्ट जादैंछ। रमेश गाडी लिएर आइपुग्यो, त्यसपछि एउटा राम्रो रेस्टुरेन्टमा गएर सार्थकले चिकेन चाउमिन अर्डर गर्‍यो, रमेशले चाहि मोमो अर्डर गर्‍यो। दुबैजनाको अर्डर वेटरले एकैछिनमा ल्याइदियो। भोक त बेस्सरी लागिरहेको थियो सार्थकलाइ, तर पहिलो चम्चा मुखमा हाल्नासाथ उसले चियामा सुखा पाउरोटी चोपलेर खाइरहेकी त्रिस्नालाइ झलझल्ती सम्झिन पुग्यो। मन फेरि कुडिंयो, उसले खानै सकेन। त्रिस्नासङ आज उ कुरा गरेरै छाड्छ, उ अब निर्णय गर्नेछ। जो सुकैले जे सुकै भनोस्, मतलब् छैन उसलाइ। त्रिस्ना उसकी छोरी हो, उ लिन्छ  जिम्मा त्रिस्नाको। उ दिन सक्छ सबै खुशी त्रिस्नालाइ। उसले अठोट गर्‍यो। आधा घन्टा पछि उनिहरु फेरि काठमान्डौ CDO अफिस पुगे।


प्रमुख जिल्ला अधिकारी (CDO) को कोठामा गएर सार्थक, त्रिस्ना उभिए, बलबहादुर ढोकैमा थियो। CDO ले सार्थकलाइ केहि प्रश्न सोध्यो, उसले त्रिस्ना उसकै छोरी हो भन्यो। अलिकति अबिस्वाश, अलिकति आश्चर्य मिसाएर CDO ले अरु केहि थप प्रश्न गर्‍यो। सार्थकले स्वाभाबिक रुपमा सबै कुरा बतायो। त्रिस्नालाइ पनि त्यस्तै गरि सोध्यो, जवाफ चाहि बलबहादुरले दियो। सार्थकले दस्तखत गर्‍यो, त्रिस्नाले गरी। नागरिकताको काम १५ मिनेटमा सकियो।बुबाको नाम सार्थक सिम्खडा लेखियो त्रिस्नाको नागरिकतामा। नागरिकता लिनासाथै बलबहादुरले "धन्यबाद, सर!" भन्यो सार्थकलाइ र CDO लाइ पनि र हत्त न पत्त फेरि त्रिस्नालाइ डोर्याएर लग्यो। सार्थक छक्क पर्‍यो, उसले कुरा गर्न बाँकि छ। उ उनिहरुको पछि पछि लाग्यो।


"बलबहादुर! एक्छिन पख्नुस्। कहाँ जान लाग्नु भएको?"


"सर, हाम्रो त आजै बेलुकीको बस छ बन्दिपुर जाने। अब धेरै समय बाँकी छैन।" बलबहादुर अझै त्रिस्नाको हात समातिरहेको थियो।


"किन आजै जानु पर्ने?" सार्थकले सोध्यो।


"यत्रो दिन यता बस्ता उता काम बिति सक्यो सर। अब यहाँ बस्ने काम पनि छैन।" बलबहादुर हतारिएकै थियो।


"सुन्नुस्! मलाइ एक्छिन त्रिस्ना सङ कुरा गर्न दिनुस्।" सार्थकले वरिपरि कसैलाइ देखेन।


"के कुरा गर्नु हुन्छ? उसले बोली फर्काउनै सक्दिन।" बलबहादुरले निधारको पसिना पुछ्दै भन्यो। त्रिस्ना कतै पर हेर्दै थिइ।


"के भन्नु भयो? त्रिस्ना बोल्न सक्दिन?"सार्थक अरु आतियो।


"उसको जन्मै त्यस्तो। बोल्न मात्र सक्दिन। अरु सबै बुझ्छे।" बलबहादुरले भन्यो।


"तपाइले यो कुरा अस्ति मलाइ किन भन्नु भएन?"सार्थकलाइ रिस पनि उठ्यो बलबहादुरदेखि।


"भनेर के हुन्थ्यो सर? उसको लेखालाइ कसैले बदल्न सक्दैन।" बलबहादुरको स्वरमा अरु तनाब थियो।


"अनि स्वास्थ्य सेबिका को काम कसरी गर्छे त?" सार्थकले थाहा नपाएको कुरा अरु पनि छन् कि भनेर सोध्यो।


"रहर गर्दैमा पुरा कहाँ हुन्छ र? अब स्वास्थ्य सेबिका नभए पनि उसको झोला सोला बोक्ने काम त गर्न सक्छे नि। चाहदैंमा सबै कुरा कहाँ पुरा हुन्छ र?" बलबहादुरमा केहि आशा केहि निराशा देखियो।


"त्रिस्नालाइ यहीँ छोड्नुस्, म उसलाइ डाक्टर देखाउछु, सकेसम्म चाहिने सबै उपचार गर्छु। उसलाइ पढाउछु र काम पनि खोजिदिन्छु। त्यो गाँउमा भन्दा यहाँ धेरै सुबिधा छ।" सार्थकले अनुरोध गर्‍यो।


"सर, तपाइको त सन्तान छन्, सुखी परिवार  छ। मेरो त संसार नैं यही त्रिस्ना हो। मेरो आँसु, हाँसो सुख, दुख, रात, दिन, यही छोरी हो।  म तपाइलाइ त्रिस्ना दिन सक्दिन।" बलबहादुरले दुइ हात जोडेर बिन्ती गर्‍यो।


"त्रिस्ना मेरी पनि छोरी हो। म उसलाइ बाबुको माया दिन चाहन्छु। त्यो तपाइ दिन सक्नु हुन्न।" सार्थकले त्यसो भन्दा वरिपरि दुइ- चार जना ब्यक्तिहरु झुम्मिन थालेका थिए।


"सर! म कति बाँचुला र? म पछिको जिम्मा तपाइ लिनु होला। तर बाँचुन्जेल मेरो संसार रित्तो नबनाइदिनु सर।" बलबहादुर रुन थाल्यो। प्रबेश र रमेश पनि आइपुग्यो। दुबैले सार्थकलाइ सम्झाउन थाले। त्रिस्ना बलबहादुर रोएको देखेर आँखा भरी आँसु पार्दै सार्थकलाइ हेर्न थाली। त्यो हेराइमा शायद तिरस्कार थियो। सार्थकको अनुहारमा ग्लानि थियो। त्रिस्ना केहि भन्न पनि सक्दिन,तर आँखाहरु बर्षिरहन्छन् लगातार। बिडम्बना सार्थक त्रिस्नालाइ फेरि गुमाउन चाहदैन।


धेरै बेर कुरा भए पछि प्रबेशले सार्थकलाइ त्रिस्नाको हालखबर बारे बन्दिपुर गए पिच्छे जानकारी दिइरहने आस्वाशन दियो। चाहेको खन्डमा सार्थकले त्रिस्नालाइ आबश्यक सामानहरु पनि पठाउन सक्ने पनि कुरा भयो। बिरामी भएमा वा बेला बेलामा सार्थक आफै बन्दिपुर गएर त्रिस्नालाइ भेट्न सक्ने अनुमति दियो बलबहादुरले। तर बलबहादुर बाँचुन्जेल त्रिस्ना उसैसङ बस्ने भइ। त्यहि भयो सम्झौता बाबु-छोरी बिचको। सार्थकको केहि लागेन। उसले त्यो दिन पैसा पनि बोकेको थिएन। बैंकको चेक पनि थिएन साथमा। उ त्रिस्नालाइ अलिकति पैसा दिन चाहन्थ्यो, तर उ सङ केहि सय मात्र थिए। त्यही भए पनि त्रिस्नाको हातमा राखि दिन चाहन्थ्यो उ। उसले वालेट छाम्न थाल्यो। २-३ सय भेटिए। पैसा निकाल्दै थियो, बलबहादुर र त्रिस्ना बिदा मागी केहि पर पुगिसकेका थिए। उ पैसा मुठिमा बन्द गरेर हेरिरह्यो दुबैलाइ।

उनिहरु मुख्य ढोकामा पुग्दा सार्थकले आफुलाइ नियन्त्रण गर्न सकेन र बोलायो "त्रिस्नाssss!"


त्रिस्नाले आँखाबाट बरर आँसु खसाल्दै एकचोटि सार्थकलाइ फर्केर हेरी, फेरि बलबहादुरको हात समाएर ढोकाबाट ओझेल भइ।

समाप्त।



 

Last edited: 16-Aug-09 09:57 AM
Last edited: 16-Aug-09 09:57 AM
Read Full Discussion Thread for this article