Posted by: dipika02 March 10, 2009
पाहुना
Login in to Rate this Post:     0       ?        

भाग १


"दिपिका ला हेर्न खत्तम नै हुने भयो, बर्बाद हुने भयो"--- सारीका फोनको रबर को एन्टेना चिमोट्दै आइपुगी मेरो कोठामा। दस पाइलाको दुरिमा थियौँ होला हामी त्यो दुरी पनि हिंड्न नसकेर दौडेर आइ। 


"बिस्तारै हिँड। घर भित्रै दौडिन त पर्दैन होला नि? आइपुग्ला तेरो बाजे फेरी तल बाट निहु खोज्न"---आफुलाई उस्को कुरा सुन्न भन्दा बढी तल बस्ने कालेको पिर। अलिकती आवाज ठुलो भयो भने पनि तल बाट हान्न थाल्थ्यो उस्को दलिनमा। आफुलाई पैतालामै ठोक्या सरी हुने गरेर।


"मान्छे ह्याँ मर्न आँटिसकेँ, उस्लाई तेइ असत्ती नरपिसाच को पिर"---फन्केर हिँडी मेरो कोठाबाट। खुब प्रयोग गर्थी यो नरपिसाच भन्ने शब्द। शब्दै सुन्दा नि दिउँसै तर्साउला जस्तो डर लाग्ने।  


"किन मर्न आँट्या त्यो पनि सुनारै जा न"---उस्को अनुहार पनि नहेरी, आँखा झिमिक्क नगरि मनिटर तिर अनी औंला चै किबोर्डमा पिटिक पिटिक पार्दै मैले सोधेँ, मैले नसोधिकन उस्ले चै नभन्ने नै झैँ गरेर।


"हेर्न अको दिदी आउने रे पर्सी, बुधवार आएर आईतवार जाने रे"---रुँला जसरी भनी।

"आहा!"---निस्किहाल्यो मेरो मुख बाट। सारीका तीन छक्क परी।


अको दिदी भनेको त्यस्को फुपु। उहाँको र मेरो चिना पर्ची केबल फोटोमा मात्रै भएको थ्यो। आफ्ना छोरा बुहारी  अनी नातिनिलाई भेट्न अमेरिका आउनु भएको छ भनेर सारीकाले नै सुनाकी थीई १-२ महिना अगाडि। बेला बेलामा सारीकाले  फोन गरेर "मलाई भेट्न आइस्योन" त भन्थी तर चेपारो पार्दा आँफै चिप्लिछे। बोलिको अली रुखो र छुच्चो अनी बुहारी  सँग खट्पट चै सधैं पर्छ भनेर पनि उसैले राग गाएकी थिई। अब यो पाली साँच्चिकै खट्पट बाट लम्किन खोज्नु भएको हो कि भदैको चेपारो को चपेटोमा पर्नु भएको हो थाहा भएन। आउने निधो गर्नु भएछ। खासै उहाँ आउनु भनेको मेरो लागि त कागलाई बेल पाक्या सरह नै हुनुपर्ने थ्यो तर परीस्थिती अर्कै परीदियो यो पाली।


आको दिदी "in" हुने बित्तिकै सफल "out" हुन्थ्यो हाम्रो अपार्ट्मेन्ट् बाट। खास मलाई खुशी लागेको चै सफल "out" हुने भएर हो।


सारीकाको र मेरो अपार्ट्मेन्ट् मा हामी भन्दा धेरै बस्ने ; हामी भन्दा धेरै खाने तर पैसा चै फुटी कौडी ननीकाल्ने अनी काम गर्न भनेपछी वरको सिन्का पर पनि नसार्ने; ढलेको गिलास धरी उठाउन एक्छिन सोच्ने यदी त्यो उठाउदा मेरो कम्मर मर्किने हो कि भनेर; मोजा खोलेर कहिले सोफामा कहिले भान्सामै फालिदिने; टि.भी को आवाज दुई कोश पर सम्म सुन्ने गरेर ठुलो बनाउन पर्ने; नुहाए पछी घरमा को को छ मत्लब नगरेर रुमाल कम्मर मा बाँधेको भरमा अर्ध नग्न शरीर लिएर दुई घण्टा वरदोर गरेर बस्ने; दिन भर भिडियो गेम पाएपछी बसेको ठाउँबाट हलचल नगरने; खान पकाउन केही जाँगर पनि नदेखाउने तर खानेकुरा केही फ्रिजमा देख्न पनि नहुने। देख्यो भने अरु खावस कि नखावस वास्ता नगरेर एक बचन कसैलाई नसोधी आफु मात्रै खाने; हरेक बिदा, लामो होस् कि छोटो होस् आइपुगिहाल्ने; यती धेरै गुणहरुले भरिपूर्ण "सफल" नाम गरेको सारीका को बोइ फ्रेन्ड थ्यो। नाम मात्र सफल काम जती उस्का सबै असफल हुन्थे। मान्छे त बिदा भएपछी काम गर्न तिर लाग्छन नि उ त सिधै आइपुग्थ्यो हामी काँ। दुई हप्ता भन्दा धेरै कुनै काममा पनि टिक्न सकेको हाम्रो ज्ञानमा आएको छैन। काममा जो सँग पनि ठ्याक नमिल्ने उस्को। त्यस्तो त मैले आज सम्म उस्को बाहेक अरु कसैको पनि सुनेकी छैन।  एउटा ठाउँ नराम्रो हुन सक्छ दुइटा हुन सक्ला सब का सब नराम्रो त कसरी हुन्छ? त्यो मैले कहिले बुझिन।  


हुन त सफल बस्ने हाम्रो अपार्ट्मेन्ट त के हाम्रो स्टेट मै थिएन। उ अर्कै स्टेटमा बस्थ्यो र त्यही युनीवर्सिटिमा पढ्थ्यो। सारीका पनि पहिले त्यही पढ्थी र सँगै बस्थी। सुरुमा त दुई जनाको जोडी चखेवाको जोडी जस्तो थ्यो रे। पछी कुरा मिल्न छोड्यो रे। दुई जनाको झगडामा मायाप्रिती त पिङ-पङ बल्ल जसरी कहिले एका छेउ कहिले अर्को छेउतिर हुइकिन थाल्यो रे। पछी सारीका हाम्रो युनिवर्सिटिमा ट्रन्स्फर भएकी थिई। सँगै बस्दा नमिलेका कुराहरु छुट्टीदा चै मिल्यो रे उनिहरुको। अब एकअर्का प्रती माया सागर को छाल जसरी उर्लेर आयो रे। तर पनि अचम्मको कुरा चै जती उर्लेर आएपनी, बगाएर अर्को छेउ तिरै पुर्याए पनि सँगै चै कहिले नबस्ने रे, दु:ख पाए रे। त्यस्तो पनि हुने रहेछ।  


सँगै नबस्ने पनि भन्ने मात्रै हो। सफल जहिले हामी काँ हुन्थ्यो। जस्ले पनि तिमीहरु तीन जना बस्ने हो भनेर सोध्थे। अरु त अरु एक्चोटी म्यानेज्मेन्ट बाट चिट्ठीनै आएको थ्यो हामीले खबर नै नगरि अर्को मान्छे पनि राख्यौँ भनेर। हामीले पछी गएर उ त पाहुना हो भन्दा त्यस्तो सधैं बस्ने पनि पाहुना हुन्छ भनेर हामीलाई नै उल्टो प्रश्न गरेकी थिई म्यानेजरले। त्यती हुँदा पनि सफललाई केही फरक परेको चै थिएन। उ आफ्नो नित्य कर्म गरिनै रहेको थ्यो, बिदा भयो कि झोला बोकेर हामीका पसारो पर्न आईहाल्थ्यो।


यो पाली पनि दुई हप्ता बितिसकेको थ्यो, अब अर्को दुई हप्ता बस्ने सफलको प्लान थ्यो। अको दिदी आएपछी त उ जानै परीहाल्यो। आफ्नै फुपुको अगाडि सारीका पनि बोई फ्रेन्ड सँग एउटै कोठामा त बस्न कसरी सक्थी र? बस्न नसक्ने मात्रै होइन सफललाई चिनाउन पनि सक्दिन थिई त्यो बेलामा। सफल को र उस्को सम्बन्ध कस्तो हो सारीकालाई नै त छुट्याउन हम्मे हम्मे थ्यो अरुले के बुझ्ने र उस्ले कस्लाई के भन्ने?  त्यसैले उ चिन्तित थीइ अको दिदी आउने भनेर। आफुलाई त सफल जस्तो चन्डलाई पठाउन पाए जुन मुन्ड आएपनी केही थिएन, झन फुपु त राम्रै भयो। 


क्रमश: .......

 
Last edited: 10-Mar-09 09:13 AM
Read Full Discussion Thread for this article