Posted by: SurNaTal May 27, 2008
यात्रामा तिमि...
Login in to Rate this Post:     0       ?        

सर्बप्रथम त सबै साझा बासिमा मेरो नमस्कार तथा जदौ। लामो समय सम्मको गयल पछी यो 'सुर न ताल' जिबितै छ र साझालाई बेहद र अबिरल माया गर्दछ भन्न देखा परेको छु।  फर्किदै गर्दा महिनौ अगाडि गरेको बाचालाइ निभाउने प्रयास स्वरुप यो धागोको अन्तिमा भाग प्रस्तुत गरेको छु। छिर्दै गर्दा देखेको छु, धेरै शाहीत्यिक खुराकहरु पस्कीइएका छन, जस्को म भोको छु, तर समए पाएको छैन, पढ्ने र प्रतिकृया ब्यक्त गर्ने, जो अरुका केही दिनहरुमा हुनेछ। र प्यारो साझा चौतारी सधा जस्तइ फैलिरहेको, झांगिएको र गाजिएको पाउदा हर्स बिभोर भएको छु। छिट्टै हाजिर जनाएर नयाँ चौतारीबासी संग परिचय गर्न आतुर छु। जय साझा। 

 

 

यात्रामा तिमी- अन्तिम भाग
------------------------------------


ताजमहल अगाडि उभिएर तिमी अचम्म मानिरहेथ्यौ - "कस्तो बादशाह थियो होला त्यो जस्ले यती बिशाल दरवार बनायो - आफ्नी रानी को सम्झनामा।" हामी हराइ रह्यौं, धेरैबेर, ति शाह जहान र मुम्ताज का काहानी अनी यो महलका अतुलनिय सुन्दरताहरु संग। आजै दिल्ली फर्कनु छ - दिदी भिनाजु नत्र रिसाउनु हुन्छ। भोली बिहानै त रेल समातेर निस्कनु छ। फेरी ड्राइभर पनि त कुरिरहेको छ। ४ घण्टा जतिमा उस्ले दिल्लिको तो बहिरी भागमा पुर्यायो जाहाँ मेरी दिदी बेचैनिका साथ हाम्रो प्रतिक्षा गरिरहनु भएको थियो। उहाँ यती खुशी हुनुहुन्थ्यो हामीलाई देखेर कि मानौँ यो नै उहाँको सबैभन्दा खुशीको पल हो।

छुकछुक छुकछुक रेल बिहानै दक्षिण तिर हुइकियो। गोआ - समुद्र किनारहरुले धनी गन्तब्य। पालोलेम बिचको बालुवामा घोप्टिएर मतिर टाउको फर्काउदै तिमी फुकेट र गोआका बिचहरुको तुलना गरिरहेछौ।
"यो भन्दा त मलाई प्याटोङ बिच नै राम्रो लागेको थियो।" तिमीलाई बिगत बर्तमान भन्दा रमाइलो लाग्छ। शायद मलाई पनि। र यो पनि तिमीले बुझेकी छौ - बिगत बन्नलाई बर्तमानमा घटनाहरु बुन्नु आवश्यक छ। अनी यात्रा जस्तो उत्क्रिस्ठ तान केही हुँदैन जस्ले भबिस्यको लागि एउटा सुन्दर ईतिहास बुनिदेओस। तेसैले हामी यात्रामा निस्कन्छौं, नयाँ अध्याय लेख्न, भबिस्याको ईतिहासको। तर मलाई बर्तमान प्रती अन्याय गर्न मन छैन। किनकी मैले बुझेको छु यो पल आज जती रमाइलो छ, भोली फर्किएर हेर्दा अरु सैयौ गुना रमाइलो बन्ने छ।

"खै मलाई त यही राम्रो लाग्यो। फेरी तिमी रिसाएकी थियौ फुकेटमा।"
"म रिसाएको कि हजुर?"
"तिमिनै त हो स्विमिङ नगएकी।"
"हजुर नै त हो पहिले फोटो खिन नमानेको।"
"ल ल छाड। फेरी यहाँ पनि उस्तै होला।"
"कस्ले पक्डिएको छ र?"

अनी हामी त्यो अरबिक सुमुद्र किनाराको बालुवा र पानीमा खेलेर औधी रमाएथ्यौं। सम्पूर्ण तनाबहरुलाई भुलेर, थकानहरुलाई बिर्सिएर। हजारौँ भारतीए, काला र गोरा हरुको बिचमा पनि आफु एक्लै जस्तो। कसैको पर्बाह बिना। मस्त। उन्मक्त। स्फुर्त।

र हाम्रो सिद्धान्त अनुरुप हामी उडिरह्यौं अनी गुडिरह्यौं ; एसिय, युरोप र अमेरिकाका आकाश र सडकहरुमा।

बेङ्लोरबाट भारतीय बिमान सेवाले बेइजिङ पुर्याएथ्यो। हामी हाम्रै धर्ती माथि उडीरहेथ्यौं होला, शायद। बेइजिङ रमाइलो थियो rectangle हरुमा बाडिएको शहर। अझै अबिस्मरानीय थियो १ घण्टा जतीको सडक यात्रा पछी पुगिएको आस्चर्य चकित पारीरहने बिशाल आस्चर्य - the Great Wall. चिनिया सम्राज्यको उत्तरी सिमाना जोगाउन भनेर सासकहरुले १ दसक लगाएर बनाएको त्यो बिशाल पर्खालहरुको स्रिंखला अबर्नानीय थियो। ६००० KM लामो त्यो पर्खाल ठड्याउने क्रममा लाखौं मान्छे मरेका थिए रे। ठाउँ ठाउँमा किल्लाहरु पनि थिए, सैनिकहरु पहरेदारी गर्न बस्ने किल्लाहरु। पहाडै पहाडबाट उठाइएको पर्खालमाथि सिडिहरु थिए। हामी ति सिडिहरुमा उक्लैदै सोच्दै थियौं कती दिन लाग्दो हो यो पर्खाल वारपार हिंड्न! मेरो बाबा २००१ साला तिर सैनीक हुनुहुन्थ्यो। उहाँले भन्नु भएको सम्झन्छु, पूर्व ४ नम्बर बाट नेपाल सम्म राणाहरुलाई राजास्वको सिक्कहरु पुर्याउन जांदा २२ दिन लाग्थ्यो रे। तेस हिसाबले यो पर्खालको पल्लो छेउ पुग्न २ बर्ष २ महिना लाग्ने रहेछ। २ घण्टामा तल नपुगे त्यो चिनिया भोटेले हामीलाई छाडेर जानेछ। तेसैले शायद जुनिभरको लागि हाम्रो ग्रेट वाल संगको भेटलाई बिसर्जन गर्दै ओरालो झरेथ्यौं , मनभरी अतुलनिय स्‍मृतिहरु संगालेर।

Buckingham र अरु दरवारहरु अनी Art Museum हरु घुमिरहंदा तिमी मेरो कांधलाई आफ्नो अढेस बनाइ रहेथ्यौ। हामी London र पश्चिमी संसकृतिमा घोलिएको छाडापनले अचम्मित भएथ्यौं। फोटो खिच्न पनि संकोच लाग्ने मुर्तिहरु। आइफल धरहराको तल बसेर माथि टुप्पो तिर नियाल्दा त्यो कहाँ हो कहाँ बिलाएको थियो। स्कुलमा पढेको "पेरिस मुस्काउँछ रंगै रंगमा" को बयानसंग हामी त्यो धरहरालाई दाँजी रहेथ्यौँ। माथि चड्ने शाहस गरिनौ तिमीले र हामी बाटो लागेथ्यौं। हाम्रो रहरमा परेका हिट्लरले एहुदीहरुको बिनास गर्न भनाएको भट्टी र इजिप्टको बिशाल पिरामिड लाई थाती राख्दै पानी जहाजको तालिका भेट्न हामी पोर्चुगल को लिस्बोआ पुगेथ्यौं। जहाज भोलिपल्ट छुट्ने थियो। ५० युरोमा त्यो अन्तिम रात बितेथ्यो युरोपको - एउटा मध्यम स्तरको होटल।

र अन्तत त्यो दिन पनि आयो, हाम्रो बर्शौं देखिको सपना। पानी जहाजमा Atlantic पार गर्ने। लिस्बोआ देखी न्यु योर्क सम्म ४ दिन हामीले जामिन संगको संबन्धलाई बिच्छेद गर्यौं। बिशाल पानी जहाजले लिस्बोआ को जमिन-पानी किनारा छाड्दा १ बजेको थियो। जमिन माथिको भर छुट्दा संगै कता कता नजानिदो त्रास पनि अल्झिदो रहेछ। पानी मेरो तौल थाम्न सक्दैन र तिम्रो पनि। तर पनि उमंगको बाढि यती ब्रिहत थियो कि त्रासले कुनै असर देखाउन पाएन। आन्ध्र महासागरको अथाह जलरासीलाई चिर्दै चिर्दै जहाज पश्चिम तर्फ पौडिरह्यो, ११ सय मानिषहरु बोकेर। पचासौं गोराहरु, कालाहरु, मंगोलियनहरु र भारतीयहरु संग घुलमिल हुँदै हामी यात्रारत रह्यौं।

तेस्रो दिन थियो। हामी लन्चमा थियौं। हाम्रो टेबलमा आज कोही उदाएको छैन। एक्लै छौं। त्यो धेरै जसो हामीसंगै खाने फिलिपिनो जोडी पनि आज देख्दिन। हाम्रो छिमेकी रसियन केटिहरुपनि आज हराएका छन। यता उता आँखा घुमाएको; एउटा हप्सी देखियो - तिमीलाई नियालिरहेको, मेरो आंखा छल्न खोजेर। ऊ तिर संकेत गर्दै मैले भनेथें-

"उ त्यो काले अघी देखी तिमीलाई हेरिरहेछ, खुब मन पर्‍यो क्यारे।"
"छी कस्तो काले!"
"के भो त, दिल वाले जस्तो छ! बिहे गर्छौ?"
"कोही नपाएर तेही काले संग? फेरी हजुर पनि कस्तो आफ्नी बुढीलाई अरुले हेर्दा बिहे गरेर जाउ भन्ने। अरुका बुढा भए ..."
"अरुका बुढा भए के?" मैले बिचैमा रोकेथें।
"गएर पिटिदिन्थे नि, अरु के।"
"काटमारको कुरा चाँही नगरुम साथी। फेरी यो पानी जहाजमा भाग्ने ठाउँ पनि छैन। हेरेर के बिग्रियो त। तरुनि केटीलाई जस्ले नि हेर्छ।"
"भैगो भैगो कातर माहासय।"
"म कातर? छाड तेस्लाई अहिल्यै बजाइदिन्छु।"
"मैले केही रोकेकी छैन। हेरौं न त हामी पनि!"
"कस्ती मान्छे तिमी, झगडा गर्न उस्काउने। अरुका बुढी भए ..."
"मेरो डाइलग किन चोर्नु नि? के त अरुका बुढी भए?"
"उ त्यसरी माया गरेर बस्थे नि।" - दाँयांतिर जहाजको पारापेटमा अंगालो हालेर बसेका युगल खैरेहरुलाई संकेत गरेथें।
"अरुको के मत्लब हजुरलाई। किन हेर्नु पर्ने जे गरेनी। त्यो त तपाईं जस्तो डरछेरुवा छैन होला। आउला नी फेरी बजाउन।"
"लगाम छैन त अगाडि मात्र हेर्न। एसो टाउको घुमाउन पनि नपाउनु?"
"खै आउनुस् म बान्दिउला लगाम।"
"लगाम हैन यो चेन बानिदेउ त" - मैले मेरो फुस्किएको घडी र देब्रे हात अगाडि बढाए। दाइनेमा फ्राइड स्रिम थियो, मिठो।
"जस्तो मान्छे, उस्तै घडी। खुस्केट।" तिमी अझै पेल्दै थियौ। मलाई पनि। स्रिमका टुक्राहरु पनि।

न्यु योर्क पुगेकै दिन हामी ग्राउण्ड जिरोमा पुगेथ्यौं। एउटा बिशाल जेट प्लेनले दोस्रो टावर छेड्दा अर्को तिरबाट आगोका बिशाल डल्लाहरु उछिट्टिएका द्रिस्याहरु मानसपटलमा घुमिरहे। कती छिट्टै हटाइ सकेछन स्टिल र कंक्रिटको त्यो ब्रिहत पहाड। पत्याउनै गाह्रो - हो येहिं ति गगनचुम्बी युगल टावरहरु थिए, अस्ती भर्खरसम्म।

अनी म हार्भर्ड स्क्यायर जान चाहें, तिमी निआग्रा फल्स। हार्भर्डको मुर्तिलाई तिमीले पनि छोयौ, मैले पनि। निएग्राको मनमोहकतालाई मैले पनि चुमे, तिमीले पनि। अनी हामी आन्ध्र महासागरको किनाराबाट सोझै प्रसान्त महासागरको कीनारामा पुगेथ्यौं। सान फ्रान्सिस्कोमा मामली दाजुहरु कुरी रहनु भएथ्यो। जिम्मु झानेको दाल, बासमती भात, खसिको मासु, गुन्द्रुकको अचार। कतै हामी उही पूर्व ४ नन्बर आफ्नै घर पुगेका त हैनौं झैं। आफन्तहरुको आत्मियता र मिठो नेपाली भोजनले धेरै दिनको यात्राको थकानलालाई उसै बिर्स्याइदियो। भोजपुर देखी कथामान्डु सम्म अनी यात्राका अरु धेरै थरी कुराहरुमा आधारात सम्म हामी जागै थियौं - दाई भाउजु संगै। कती बेला निदाइयो पत्तै भएन।

ढकढक ढकढक। ढोका ढक्ढक्याएको आवाजले आँखा खुले। यातायुती हिरें। तिमी थिइनौ। सम्झें; हिजो night duty छ भन्दै थियौ। रातभरी सबै निद्रा र थकान बिर्सेंर यो बिरामी र ऊ बिरामी बिच ओहोर दोहोर गरिरही हुन। अब त बिरामीलाई बिहानिको दवाइ खुवाउने बेला पनि भयो होला। उनले हस्पिटलको ड्युटिमा बिताएको एउटा अनिदो रातभरमा मैले सम्पूर्ण विश्व घुमिदिएछु, उनी संगै। ओछ्यानमै पल्टिएर सपनिको रमाइलोपनालाई बिपनिमा बोध गरिरहेथें; खुनहरु कोठा सफा गर्न आएका रहेछन। लुगा फेरे, तेही पुरानो साइकल पक्डिएं र सिधै क्याम्पस तिर बतासिएं। सपनाका झल्कोहरुले सताइरह्यो। कुनै काम गर्ने जांगर नै भएन। लन्च गएं, २५ भाटको दाल-भात। १ बजे कोठा फर्किएं र हिजोका सपनाहरुलाई यि पानाहरुमा उतारिरहें। अहिले ९ बजेर १० मिनेट गएछ। यसरी ८ घण्टा र १० मिनेट निरन्तर मैले मेरा सपनाहरुलाई यि पानाहरुमा उतारें मेरी राम प्यारीका लागि। म कामना गर्छु, मेरो सपना पुरा होस्। र म कामना गर्छु, मेरी राम प्यारी सदैब खुशी रहुन।

अबिरल स्‍मृति र न्यानो माया शाहीत, तिम्रै हजुर।

सुर न ताल।

Last edited: 27-May-08 05:22 PM
Read Full Discussion Thread for this article