Posted by: Nepe April 2, 2005
Login in to Rate this Post:
0
?
- http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=17323
धरान
गोकुल भण्डारी
जहाँ पाहुनालाई पुग्नेबित्तिकै भानुभक्तले स्वागत गर्छन्
अनि लक्ष्मी चोक लगेर देवकोटासँग भेटघाट गर्छन्
रोमान्सको मूड छ भने मोती स्मृति भवन लग्छन्
भट्टजीको गजलसँगै चिया चुरोट अफर गर्छन्
जहाँ चारकोसे झाडीको स्टेज बनाएर सर्दू र सेउतीले दोहोरी खेल्छन्
प्रेमले पसीना पुछिदिदै जहाँ भेडेटारले चिसो बतास फेक्छन्
जहाँ बूढा सुब्बा तरुनो भएर निशाने खोलामा निशाना लगाउँछन्
अनि पन्चकन्या र दन्तकालीका साथ भाका हालेर गीत गाउँछन्
जहाँ गर्मीमा शीतल र जाडोमा न्यानो हुने गर्छ
अनि चारैतिर हरिया पहाडले अँगालोमा बाँध्ने गर्छ
जहाँ बच्चाको भकुण्डो जस्तै बेलुकी घाम कोशीमा डुब्ने गर्छ
र फेरि बिहान मुसुक्क हाँस्तै विजयपुर डाँडामा देखिने गर्छ
अमेरिका युरोप जस्तै लाग्छन् जहाँ चिल्ला सडकहरु
अनि फोहोर खान नपाएर पर्देशिएका छन् झिङ्गाहरु
पेरिस जस्तै हरेक साँझ रंगिन्छ गुलाबी रंगमा
भट्टी होस् या चिया पसल तातिन्छ माहौल तरंगमा
जहाँ छाता चोकले भविष्यको नेता जन्माउँछ
भोटेपुल र बुद्ध चोकले कुशल खेलाडी जन्माउँछ
जहाँ मंगलबारे र रत्न चोक धान नाचमा रमाउँछन्
अनि पुरानो बजारमा बाँडाहरु नयाँ भाँडा बनाउँछन्
जहाँ पहाडको ठिटो पनि हेर्दा हेर्दै हिरो हुन्छ
फुश्रे जस्तै फुश्रो भएपनि दुइ दिनमै रुप्पी हुन्छ
जहाँ चोकमा युवतीहरु नि:शुल्क सौन्दर्य प्रतियोगिता गर्छन्
अनि बुढा बुढीहरु रौसिएर फैसला गर्छन्
बाहिर देख्ता हाँसे पनि धरानको मायाले म रोएको हुन्छु
बिपनामा जहाँ पुगे पनि सपनामा सधैं धरान पुगेको हुन्छु
जीवनप्रति आशावादी, भोगवादी प्यारो धरान
स म्झियोकी काम्न थाल्छ मेरो मुटु मेरो प्राण