Posted by: newuser March 28, 2005
Thinking Impartially and sensibly
Login in to Rate this Post:     0       ?        
प्रचण्डजीसंग केहि कुरा वाँकिनै छन्। आज सकिहालौं। यतिखेर तपाईंहरु ठ्रलै संकटमा पर्नुभएको प्रतित हुन्छ। एकातिर उग्र राजतन्त्रवादीहरु एकाएक शक्तिको केन्द्रमा पुगेका छन् भने अर्कोतर्फ वावुराम भट्टराई प्रकरणका कारण माआवादीको सामरिक प्रत्याक्रमणमा सिथिलता उत्पन्न भएको प्रष्टै देखिन्छ। तपाईंहरुले जतिसुकै खण्डन मण्डन गरेपनि यि दुवै तथ्यहरु तपाईंहरुका लागि प्रत्युत्पादक भएको निश्चित छ। नेपालको केन्द्रिय शासन उदार बहुदलवादी नेताहरुले हाँक्ने बेलासम्म तपाईहरु समयको प्रवाहलाई विचारेर उनिहरुसंग दीर्घकालिन रुपमा फाइदामन्द हुने सम्झौता गर्न हिच्किचाउनुभयो। तपाईहरुको यहि कमजोरीको लाभ उठाएर प्रतिगमनकारीहरुले जनताका वँचेखुचेका स्वतन्त्रताहरु पनि हरण गर्न सफल भए। तपाईहरुले प्रजातन्त्र लुछिएकोमा जतिसुकै गोहीको आँशु बगाए पनि यसमा शेर बहादुर देउवा जति जिम्मेवार छन् त्यसभन्दा बढि माओवादीहरु जिम्मेवार रहेको प्रजातन्त्रमा निष्ठा राख्?ने हरेक नेपालीहरुले बुझ्ने कुरा हो। जेठ १९को दरवार हत्याकाण्डपछि राजतन्त्र कमजोर हुदै गएको थियो, वर्तमान राजा र त्यसमा पनि युवराज प्रति जनताको विश्वास अत्यन्त धमिलो थियो र २०४७ सालको सम्विधानमा सम्विधान संशोधनको व्यवस्था विद्यमान नै थियो। त्यसमाथी प्रमूख राजनीतिक दलहरुमा गणतन्त्रवादी वहश बढ्दै गइरहेको थियो। यि तमाम कुराहरुलाई मध्यनजर गर्दै तिनै नेताहरुसंग सम्झौता गरेका भ?ए नेपालमा हजारौ युवाहरुको रगतको खोला पनि वग्ने थिएन, केहि सिमित प्रजातान्त्रिक हक अधिकार खोसिने पृष्ठभूमी पनि बन्ने थिएन र गणतन्त्रको खुलेआम बहस गर्ने राजनीतिक वातावरण झन सफेद हुदैजाने थियो। तपाईंहरुले आफ्नो शक्तिको गलत आँकलन गर्दा माओवादीहरु त कमजोर भए भए, जनता पनि कमजोर वन्नपुगे। बितेको कुरा किन गर्नु ? अहिले पनि तपाईहरुले आफ्न गलत कार्यहरुलाई निरन्तरता दिएर निरंकुशतावादीहरुलाई परोक्ष रुपमा सहयोग पु-याइराख्?नु भएको छ। पार्टीभित्र बिचार र सिद्धान्तहरुको प्रजातान्त्रिकरण हुनुपर्छ र व्यक्तिपूजाको गलत प्रथा स्थापित हुनुहुँदेन भन्ने वावुराम भट्टराईमाथी तपाईले गरेका कारवाहीले सबभन्दा बढि घाटा नेकपा माओवादीलाई नै लागेको छ भने सवभन्दा बढि फाइदा उग्र दक्षिणपन्थी राजावादीहरुलाई मिलेको छ। डाक्टर भट्टराई र हिशिला यमीलाई निष्काशन गरिएको समाचारको जतिसुकै खण्डन गरेपनि तपाईहरुले उनिहरुका विचारलाई पार्टी हाइकमाण्ड मार्फत दबाइरहनुभएको छ र उनिहरु निरन्तर रुपमा अपहेलित भइरहेका छन् भन्नेकुरा सबैलाई थाह भैसक्यो। आन्दोलनको सुत्रपात देखिनै अनवरत पार्टीका सिद्धान्त र संगठनहरुलाई बलियो वनाउन क्रियाशिल भट्टराई जस्ता वुद्धिजीविलाई त कमरेड प्रचण्डले देखि सहन्नन भने साम्यवादलाई स्विकार गर्न नचाहने आम जनमानसमा उनको रबैया कस्तो होला अनुमान गर्न सकिन्छ। तपाईंको यहि नीति नै माओवादी कार्यनीतिका रुपमा जारी रह्यो भने प्रचण्डलाई पोलपोट र नेकपा माओवादीलाई खमेर रुज भनेर सम्बोधन गर्नु गलत हुनेछैन। पोलपोट र खमेर रुजहरुको राजनीति अब इतिहास बनेर गयो। माओवादीहरु पनि इतिहास बन्ने कि आफूहरुलाई सुधार गरेर देशको सामन्ति राजतन्त्रलाई ठेगान लगाउन शान्तिपूर्ण र व्यवहारिक नवीन आन्दोलनको शुरुवात गर्ने भन्ने निर्णय अव तपाईंकै हातमा छ। तर निरंकुश राजतन्त्र नेपालका लागि जति खतरनाक छ त्यति नै खतरनाक तपाईंहरुले अहिले अंगिकार गरेको प्रचण्डपथ छ। देशमा प्रजातान्त्रिक गणतन्त्रका लागि सम्भावनाका प्रशस्त ढोकाहरु खुलेका छन्। तपाईहरु उक्त ढोकामा छिर्नका लागि अब प्रजातान्त्रिक शक्तिहरुसंग मिलेर शान्तिपूर्ण आन्दोलनमा लाग्नु उत्तम हुन्छ। तपाईलाई नेतृत्व र सत्तालिप्सा नभएको भए सहकर्मी र सहधर्मी वावुराम भट्टराईलाई खुम्च्याउने प्रयाश गर्नुहुने थिएन। त्यो तपाईंकै राजनीतिक कमजोरीका कारण नै भएको हो। सर्वर्पथम त्यो कमजोरीलाई सच्याउनुस, त्यसपछि जनवादी शासन लाद्ने दिवास्वप्न त्याग्नुस र आतंकवादी शैलिका हत्याहिंशा र पूर्वाधार नष्ट गर्ने आक्रमणहरु पनि छाडिदिनोस। व्यवहारिक राजनीतिको बाटोमा आउने प्रयाश गर्नुस। अझैपनि केहि समय वाँकि छ तपाईंहरुका लागि। अब पनि बुद्धि पुगेन भने तपाईलाई सहानुभूति दिनेहरुले समेत तपाईंको राजनीतिक अवसानमा सन्तोषको श्वास फेर्नेछन्। कृपया उग्र दक्षिणपन्थिहरुलाई मनपरि रजाईं गर्ने मौका नदिनोस ।अन्यथा तपाईले मर्ने बेलामा कुन कुरामा चित्तबुझाउन सक्नुहोला प्रचण्डजी ?
Read Full Discussion Thread for this article