Posted by: AnandNepal May 25, 2021
हेत्छाकुप्पाको कथा (नेपाली लोक कथा)
Login in to Rate this Post:     1       ?         Liked by
भाग १

आमा बाबु दुबै बितेपछि हेत्छाकुप्पा सानैमा टुहुरो भयो। उसको घरमा उ र उसका दुइ दिदिहरू तायामा र खियामा मात्रै थिए। आमा बाबु नभएको यो परिवारलाइ चाक्लुङ्धिमा राक्षसनिले निकै नै सताइ रहेकि थिइ। त्यो राक्षसनिले उनिहरुको खेतबारिमा फलेको सबै अन्न त खाएर सकिदिइ| चाक्लुङ्धिमा राक्षसनिको यस्तो हर्कतलाई तायामा र खियामा रोक्न सकेनन किनकि राक्षसनि उनीहरु भन्दा धेरै शक्तिशाली र दरलाग्दी थिइ| एक दिन त्यो राक्षस्नी ले घर भित्र भकारिमा भएको अन्न पनि सबै खाएर सकिदिइ| तै पनि तायामा र खियामाले राक्षसनिलाइ केहि गर्न सकेनन| त्यस पछि त उनिहरू भोकभोकै हुन थाले। उनीहरु भोक भोकै तड्पिएको देखेर चाक्लुङ्धिमा राक्षसनि खुशी भएर नाच्न थालि|

अति भोक लागे पछि एक दिन भाइ हेत्छाकुप्पाले भन्यो, "दिदि मलाइ असाध्यै भोक लाग्यो।"

भोकै त तायामा र खियामा दिदिहरु पनि भोधेरै नै लागेको थियो| तर, उनिहरुले "भोक लाग्यो," भनेर भन्ने पनि कोहि थिएनन। आंफ्नो भोक सहेर बसिरहेका दिदिहरुलाई भाइको भोक असह्य भयो| उनीहरु खानेकुरा खोज्न जङ्गल गए |

जंगलमा उनीहरुले खोक्लि साक्लि र गिठ्ठा भ्याकुर फेला पारे | खानेकुरा फेला पारेपछि उनीहरुले बोक्न सक्ने सम्म खोक्लि साक्लि र गिठ्ठा भ्याकुर ल्याएर उसिनेर भाइलाइ खुवाए आँफु पनि खाए। एक दिन चाक्लुङ्धिमा राक्षसनि ले ति तीनजना त भोक भोकै मरे होलान भनेर बुझ्न आइ पुगी| उनीहरु त खोक्लि साक्लि र गिठ्ठा भ्याकुर खाएर रमाइलोसंग बसी रहेका पो रहेछन।

यो देखेर चाक्लुङ्धिमा राक्षसनिलाइ असह्य भयो उसले रिसले चुरा भएर खोक्लि साक्लिलाइ पाताल भसाइ दिइ। अनि, गिठ्ठा भ्याकुरमा खक्पा छर्केर खानै नहुने गरेर तितो बनाइ दिइ। गिठ्ठा भ्याकुर खानै नसकिने तितो भएपछि, उनीहरुले केहि पनि खानेकुरा फेला पार्न सकेनन| दिदिहरुले नजिकै फलेका ऐसेलुको रस ल्याएर भाइलाइ खान त दिन्थे तर, ऐसुलुको रसले मात्र भाइ बाँचाइ राख्न नै गाह्रो हुने भयो। तर, नजिकै अरु केहि पनि खानेकुरा थिएन, भएको जति सबै चाक्लुङ्धिमा राक्षसनिले सकी सकेकी थिइ।

नजिकमा कुनै पनि खानेकुरा फेला नपरे पछि दिदीहरुले खानेकुरा खोज्न टाढै जाने निर्णय गरे। उनीहरु नाफर्किन्जेल भाइलाइ भुलाइराख्न उनिहरुले बुचुकुलकुमा एउटा खानेकुरा उसिन्न राखिदिए | दिदीहरु खानेकुरा खोज्न भनेर टाढा टाढा गएपछि हेत्छाकुप्पा बुचुकुलकुमा उसिनिरहेको त्यो गोलो गोलो चिज कुन बेला पाक्छ र खाउँला भनेर कुरी रह्यो। एकछिन पछि, पाक्यो कि भनेर त्यसलाई छाम्यो तर त्यो एकदमै कडा थियो, पाकेकै रहेनछ। एकछिन पछि फेरि, पाक्यो कि, भनेर छाम्यो तर पाकेकै रहेनछ। हेत्छाकुप्पा यता उता खेल्यो अनि फेरि आएर पाक्यो कि भनेर छाम्दा पनि पाकेकै रहेनछ। उसलाइ भोकले अत्याईरहेको थियो | खानेकुरा खोज्न हिंडेका दिदिहरुको अत्तो पत्तो थिएन|

खासमा, घरमा केहि पनि खानेकुरा थिएन| तेसैले दिदिहरुले भाइलाइ झुक्याउन ढुंगाको लोहोरोलाइ पो उसिन्न राखिदिएका रहेछन। ढुंगा के पाक्थ्यो, तेसैले कुर्दा कुर्दा भोकले निराश भएको हेत्छाकुप्पा त्यहिँ लड्यो। उ लड्दा उम्लिरहेको तातो पानि उसको कोमल जिउ भरि पोखियो। भोकले आत्तिएको, खान नपाएर निराशामा चुर्लुम्मै डुबेको हेत्छाकुप्पालाइ त्यसपछि कहिल्यै खानु परेन। किनकि, केहि क्षणमा नै उसको प्राण पखेरु उड्यो।

उता दिदिहरु, तायामा र खियामालले दिनभर जङ्गलमा खानेकुरा खोजे। घर नजिकका सबै खानेकुरा चाक्लुङ्धिमा राक्षसनि बिल्लुप्त पारिसकेकि थिइ। धेरै पर पुगेपछि उनिहरुले बल्ल बल्ल बनकेरा फेलापारे। हिँड्दा हिँडदा लखतरान पर्दै घर आइपुग्दा घरमा भाइ हेत्छाकुप्पा भने मरिसकेको थियो। त्यति दुख गरेर ल्याएको बनकेरा खान नपाउँदै आँफ्नो प्यारो भाइ हेछाकुप्पा त्यसरि मरेको देखेर उनिहरु अति नै दुखित भए ।

तर, नहुनु भइ सकेको थियो। तायामा र खियामाले हेत्छाकुप्पालाई बाहु र केराको पातमाथि राखेर चिहानमा राखे। भाइको शरिरको छेउमा कर्द र एक कोसा केरा पनि राखि दिए। त्यसपछि उनिहरुले त्यहिँ भाइको नाममा एक-एक वटा फुल रोपे।

बाबु आमा गुमाएका दुइ दिदि बहिनिलाइ संगै बाँधेर राखेको त्यहि एउटा भाइ थियो. त्यो पनि मरेपछि तायामा र खियामालाइ त्यो घरमा बस्न पनि मन लागेन। आँगनमा जाँदा पनि भाइ खेलिरहेको याद आउने, भान्सामा जाँदा पनि भाइलाइ आगोले पोल्छ कि भनेर हकारेको याद आउने भयो. दुइ दिदि बहिनि संगै भयो कि त आमा बाबुको कुरा गर्न थाल्ने कि त भाइ को कुरा गर्न थाल्ने भए

तायामाले भनिन्, "हेर खियामा तँ र मा भेट भयो कि जुनबेला पनि दुखिया कुरा मात्रै गर्ने भयौं. घर पनि नरमाइलो लाग्न थाल्यो, तँ आंफ्नो बाटो लाग् म आंफ्नो बाटो लाग्छु."

खियामाले चिन्तित हुँदै भनिन, "मलाइ एक्लै छोडेर जान्छ्यौ दिदि?"

तायामाले सम्झाउँदै भनिन्, "तिमि पनि ठुली भै सक्यौ अब, आंफ्नो आफ्नो गरेर खाने बेला भयो, बरु हामी बेला बेलामा त भेटिहाल्छौ नि."

यसरी गफ गर्दै गर्दै हिंड्दा दुइ दिदि बहिनि मलायाथुम्कि डाँडामा पुगे. त्यहाँ बसेर उनिहरुले कहाँ जाने के के गर्ने सल्लाह गरे. उनिहरु बेलाबेलामा त्यहाँ फर्केर आउने अनि भाइको चिहानमा रोपेको फुललाइ पानि हाल्ने, गोडमेल गर्ने सल्लाह गरे.

त्यसरी फुलको हेरचाह गर्न आउँदा हेरचहा पनि हुने, उनिहरु बिच भेटघाट पनि हुने अनि एक अर्काको अबस्था पनि थाह पाइने हुनाले - कहिले कहिले आउने भनेर दिन पनि निश्चित गरे। यसरी छुट्टिन लागेका दुइ दिदि बहिनि दुखि भएर एक अर्कालाइ अंगालो हालेर एक अर्काको काँधमा टाउको राखेर निकै बेर रोए।

उनिहरु यति रोए कि, त्यो देखेर आकास पनि निन्याउरो भयो, चराहरु पनि चिरविर नगरि चुपचाप हेरेर बसिरहे, हवा नै रोकिएको जस्तो संसार नै अडकिएको जस्तो भयो। सुक्क सुक्क गर्दै रोइ रहेकि तायामाको आँसु को भेल बगीरहेको थियो उनको आँखाबाट.

उनको आँशु भुइँमा खस्यो अनि त्यहिँ जम्मा हुन थाल्यो। अनि आँशुको भेल बिस्तारै ओह्रालो तिर बग्न थाल्यो, एक खोला बनेर। तिनै तायामा दिदिको आँशुबाट बाट बनेको खोलाको नाम नै आजकल तावाखोला भनेर चिनिन्छ। अनि, अर्कि दिदि खियामा दिदीको काँधमा टाउको राखेर रुँदा जम्मा भएको आँशुले भेलाले अर्को खोला बन्यो जसलाइ आजकल रावाखोला भनिन्छ।


अब, दिदिहरु छुट्टिएर कहाँ जान्छन, फेरि भेट हुन्छ कि हुँदैन ... त्यसको लागि भाग २ प्रतीक्षा गर्नु होला :)

भाग २ ..
यो "हेत्छाकुप्पाको कथा" हो तेसैले हेत्छाकुप्पा नै मरेपछि कथा सकिनु पर्ने होइन र ? .. होइन, कथा सकिएको छैन!
Read Full Discussion Thread for this article