Posted by: crazy_love April 30, 2021
हेरेको तिमीलाइ आँखाले हैन।
Login in to Rate this Post:     7       ?         Liked by
हेरेको तिमीलाइ आँखाले हैन।
भाग-१

धेरै कुरा गर्नु छ भन्ने रहर हुँदा हुँदै पनि, गर्न नसकिएको जस्तो । ठुलो सपनाहरुको लहर , तर हतार नभएको जस्तो मन। जिन्दगीमा के के नै गरुला भन्ने चाहना, तर यो सब के को लागि? के बाँच्नु मात्रै सबैथोक हो त? के होला त जिन्दगीको सार्थकता? घर, काम, स्कुल!
मनभित्र यस्तै उदास बादलहरु मडारिरहेको बेलामा एकदिन जुनाले मलाई देखाइ परैबाट उसलाई ।

"त्यो केटा मलाई एकदम मन पर्छ। तर भौतिक रुपमा हैन नि, मानसिक अनी भित्री सुन्दरताको कारण मात्रै। त्यो एकदम हम्बल छ" जुना दुई बच्चाकी आमा भैसकी। तर उ एकदम इमान्दरीपुर्बक आफ्नो भावनाहरु ब्यक्त गर्छे, कुनै हिच्किचाहट बिना। म त्यस्तो गर्न सक्दिन।

जुनाले देखाएको "इन्टर्न" लाई मैले पनि हेरे। भर्खरकै रहेछ, होला त्यस्तै २७-२८, तर पनि धेरै कलिलो देखिने भएर होला, उसले दार्ही र जुङा पालेको थ्यो। दुब्लो शरीर, सानो सानो कद, सानो आँखा, लाम्चो अनुहार, सिल्की कपाल। मेरो पहिलो हेराइमा उ केबल एउटा साधारण पुरुष थ्यो। यदी उ पेशाले भबिश्यको डक्टर नभएको भए शायद बिल्कुलै सामान्य खालको चरित्र हुन सक्थ्यो वास्तविक जिबनमा। तर उ सेतो कोटमा डक्टर भन्दा बढी कुनै रसियन लेखक जस्तो लाग्थ्यो मलाई। न त मेरो सम्झनामा कुनै रुसी लेखकको अनुहार प्रस्ट छैन। चेखबको केही कथाहरु मन पर्थे, त्यसैले मैले उसलाई चेखबको रुपमा कल्पना गरे। तर पछी मैले चेखबको फोटो हेर्दा धेरै आकर्शक लागेको थ्यो। यदी मैले उसलाई कुनै प्रसिद्द रुसी लेखकको रुपमा कल्पना नगरेको भए, शायद यो कथाको शुरु हुन्थेन।

जुना म भन्दा पनि उमेरले सानी हुनु पर्छ, तर धेरै कुरामा उ म भन्दा धेरै व्याबहारिक छे। म शायद मिड्लाइफ क्राइसमा छु, मलाई धेरै कुराको अर्थ लाग्दैन। जस्तैकी माया प्रेम, घर, परिवार। सबैको आफ्नै आफ्नै परिभाषा हुन सक्छ जिबनको, बुझेर वा नबुझेर हो मलाई त खाली नाटक जस्तो लाग्छ । एउटा रुटिन जस्तो जिबन! राम्रो संस्कार, आफुभन्दा सक्षम जिबनसाथी, सामाजिक मान्यताको लागि विवाह र सन्तान, राम्रो जागिर, घर, बैँक ब्यालेन्स र एकोहोरो जिन्दगी। मलाई अत्यास लाग्छ यो रुटिन देखी।

जुना र मेरो जिबनमा पनि फरक छ। उसको घर छ, परिवार छ र शायद माया पनि। मेरो घर मात्रै छ।

जुनालाई “हम्बल” लागेको मान्छेलाई मेरो मनले त्यती सम्झीरहेन।

तर एकदिन म लन्चको लागि के मगाउने भनेर साथीहरुसँग अफिसमा कुरा गर्दैथे, कसैले ढोका पुरा नखोली मेरो नाम बोलायो। मैले ढोकामा हेरे। हम्बल मान्छे मलाई हेरिरहेको थ्यो। उसको निलो र खरानी जस्तो आँखाहरु मैले देखे।

"के तपाईं रुम नं २०१ को बिरामीको लागि कफी लागि दिनु हुन्छ, प्लिज?"

म स्तब्ध। मेरो आँखाहरु स्तब्ध। मानौ उसका निला आँखाहरुले मेरो मनको गहिराइ सम्म स्पर्श गरेको छ। मेरो धरातल डगमगाएको छ। मेरो मन स्तब्ध। मेरा आँखाहरु अब उसको सुन्दर आँखाहरुबाट अलगिन्न चाहदैनन। अचानक मेरो वरिपरिको सबै आवाज बन्द हुन्छन र उसको "प्लिज" मात्रै गुन्जिरहन्छ। साँच्चै अती साधारण जस्तो देखिने यो मान्छेको आँखामा के छ, म पत्याउनै सकिरहेकी थिएन।

"क्रेजी? सुन्नु भयो?"
म झसँग भए। जुनाले एक चोटि परिचय गराएकी थि, उ सँग धेरै पहिले। उसलाई अझै मेरो नाम याद रहेछ।

"हजुर, के भन्नु भयो? सरी!"

"रुम नँ २०१ मा कफी लागि दिनु हुन्छ, प्लिज?" उही अनुरोध, उही मिठास अनि जुनाले भने झै “हम्बलनेस”।

"स्योर!" मैले आफ्नो मनलाई फकाए। मलाई उ सँग अझ धेरै कुरा गर्न मन थ्यो, तर उ हतारमा जस्तो देखिन्थ्यो।

उ "धन्यबाद!" भन्दै गयो तर मेरो मनमा उसको निला आँखाहरु गढी रहे।

मलाई दिनभरी छट्पटी जस्तो भैरह्यो। मेरो मनको तारमा मिठो संगीत भरेर उ कहाँ गयो? मलाई उ कहिले फर्केला भन्ने आशा लाग्न थाल्यो।

अचानक बर्षौपछि मेरो मनमा रहरको टुसा फेरी पलाउन थाल्यो। सुकिसकेको पातमा हरियो रङ फैलिएको जस्तो लाग्न थाल्यो। मनको कुरा कसलाई थाहा हुन्छ? कहिले कुन रङ फेरिरहन्छ?

एक नजर, एक हेराइ, एक पल! त्यही एक दिनले मेरो जिबनमा ठुलो तरङ ल्याइदियो।

मेरो मन बेलाबेलामा पखेटा फिजाएर उड्न चाहन्थ्यो। मलाई “हम्बल” मान्छेको बारेमा बुझ्न मन लाग्थ्यो। मैले उसको फेसबुक हेरे। प्रोफाइल फोटोमा उ एउटी सुन्दर केटीसँग औपचारिक पहिरनमा थ्यो। शायद कुनै बिशेष समयको हुनु पर्छ, उसले कालो टक्सीडो लगाएको थ्यो र उ सँगकी केटीले वाइन कलरको कक्टेल ड्रेस लगाएकी थी। त्यो केटीको कपाल सर्लक्क सिल्की लामो थ्यो, फोटोमा उ हम्बल भन्दा अग्ली देखिएकी थी। हम्बल शायद मेरो हाइटको हुनु पर्छ र केटीले हाइ हिल लगाएकी हुन सक्छे। तर त्यो केटी “हम्बल”को जोडीको रुपमा सुहाउदिनथी। उ कुनै प्रख्यात फेसन पत्रीकाको मोडेल जस्ती थी। तर "हम्बल" भोलिको साइकोलोजिस्ट हुँदैथ्यो, उ सँग प्रसस्त पैसा र प्रतिस्ठा पक्का थ्यो। । त्यो राम्री केटी उसको मंगेतर हुन सक्थी वा जिबन साथी। तर प्रोफाइल हेर्दा तिनिहरु बिबाहित जस्ता देखिदैनथे।

मलाई फेरी आफ्नो उमेरको खयाल आयो। जिन्दगीको यस मोड्मा म आफुलाई प्रौढ भन्न रुचाउन तर मेरो अनुहारको छेउ छेउमा टल्किने चाँदी जस्तो कपालले मलाई नब यौबना भन्न पनि दिदैन। शरीरमा देखिएको परिवर्तनले मलाई कुनै लुगा लगाउन छेक्दैन, तर मनमा भने अरुले के भन्ला भन्ने डर जस्तो लगिरहन्छ।

त्यो दिनभरी मैले उसको जिन्दगीको बारे बुझ्ने कोशिस गरे। फेसबुक उसले प्राइवेट गरेको रहेछ तर केही फोटोहरु देखे। उसको परिवारसङ को वा साथीहरुसङको। धेरै पहिलेको जब उसको अनुहारमा दार्ही जुङाहरु पलाएका थिएनन। फोटो र उसलाई हेरेर मैले उसको र मेरो बिचको उमेरको फरक थाहा पाउन सकिन। यती चाँही अड्कल गर्न सकिन्थ्यो उ र मेरो उमेरमा एक दशक भन्दा कम फरक हुन सक्थेन।

घर पुगेपछी केही बेर मैले उसको बारेमा सोच्न रोक्नु पर्‍यो। घरमा मेरो धेरै भुमिकाहरु थ्यो। अब म कसैको आमा, श्वासनी, भाउजु, दिदी र काकी मात्रै थिए। ती मध्ये निभाएको प्रेमिकाको भुमिका धेरै पहिले सकिसकेको थ्यो। म भित्रको प्रेमको रङीन सपनाहरु खन्डहरजस्तो निराश भएका थिए।

म फेरी नाटकको पात्र झै आफ्नो चरित्र निभाउदैथे। घरमा सबै आ-आफ्नो फोनमा ब्यस्त थे। औपचारिक कुराकानी पछी म आफ्नो कोठामा गए। ड्रेसिङ टेबुलको अगाडि पुगेपछी म झस्के। मेरो प्रतिबिम्बमा जवान युबती थिएन, त्यहा निरस र थाकिएकी एक नारी थी। मेरो ओठको रङ गुलाबी थिएन, सुकेर पत्र पत्र भएको थ्यो। बिहानै लगाएको लिप्स्टिक र फाउन्डेसन गैसकेको थ्यो। फुङ उडेको अनुहारमा रहरको कुनै नाम निशान थिएन। दिउसो भरिएको रङीन मन अहिले फेरी खुइलिएको थियो।

मलाई आफ्नो रुप आँफैलाई मन परेन।
नुहाइ सकेर फेरी एकचोटि आफुलाई हेरे ऐनामा ! प्रतिबिम्बमा भिनस उभिएकी थिए, जो रोमनहरु बिच प्रेम, सुन्दरता, यौन र सम्रिद्धिको लागि प्रख्यात थी।

शरीरमा बगिरहेका शीत जस्ता पानीका थोपाहरुलाई हेर्दै मैले आँफैले आँफैलाई सोधेको थिए।

के म मा प्रेम अझै बाकी छ?

क्रमश:


Read Full Discussion Thread for this article