Posted by: AnandNepal April 10, 2021
KP and PK
Login in to Rate this Post:     1       ?         Liked by
चैत २४ गते रुकुम पुगेका माओवादी अध्यक्ष प्रचण्डले आफ्ना केही ‘गल्ती’हरु सुनाए । अब ती गल्ती सच्याउने भन्दै उनले रुकुमेली जनतासमक्ष आत्मालोचना गरे । माफी मागे ।

** प्रचण्डले रुकुमको आमसभामा आँफैले भनेका कुरा : ***

काठमाडौंमा बसेर लडेको लडाइँले हामीलाई प्रतिफल धेरै दिएको छैन । जतिबेला हामी जनतामा गएका छौं, हामी विजयी भएका छौं । जतिखेर हामी सिंहदरबारभित्रै चलखेल गर्ने, कहिले योसँग, कहिले त्योसँग, विभिन्न शक्तिसँग सहकार्य गर्ने, खेल खेल्ने भएको छ, हामी हारेका छौं ।

अहिले के भन्न खोजिएको छ भने प्रचण्ड अब कमजोर भइसक्यो । अब प्रचण्डलाई जनताको साथ छैन । अब प्रचण्डले केही गर्न सक्दैन ।......अब प्रचण्डको त्यति तागत छैन भन्ने ठानेका छन् केही मान्छेहरुले ।

ती मान्छेहरूलाई भन्नका लागि मेरो पार्टी छ । मेरा नेता, कार्यकर्ता साथीहरु छन् । मसँग क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने उर्जा, शक्ति छ र जनताको साथ छ भन्नका लागि चैत्र २४ गते रुकुममा जनआन्दोलन दिवस मनाउन आएको हुँ ।.... म यहाँबाट सरकारलाई, सिंहदरबारमा बसेर प्रतिगमन गर्न चाहनेलाई रुकुमेली जनताको वीचबाट खबरदारी गर्न आएको हुँ । म खबरदार भन्न चाहन्छु प्रतिक्रान्तिकारीहरुलाई ।

मैले प्रधानमन्त्री (ओली) लाई भनेको छु, बाजी त तिमीले हारिसकेका छौ । तिमी हारिसक्यौ । म फेरि जनताको काखमा, सडकमा आइपुगेको छु । मैले जितेँ, भन्याछु मैले । जो जनतासँग हुन्छ, त्यसले जित्छ । जसले जनतालाई छोड्छ, त्यसले हार्छ ।
अब मैले थोरै समय काठमाडौं, धेरै समय जिल्लामा दिन चाहेको छु । मैले बाँकी अवधि जनताको काखमा फेरि एकचोटि गएर प्रतिक्रान्तिकारीहरुलाई चुनौती दिने आँट मसँग छ । आज तपाईहरुले दिएको उर्जाले त मलाई झन् ठूलो शक्ति प्रदान भएको छ । म कुनै हालतमा झुक्ने छैन । जनतासँग गरिएका बाचा, कबुल र प्रतिवद्धताहरु बिर्सने छैन ।

म वास्तवमा थोरै तपाईहरुसँग आत्मालोचना गर्न पनि आएको हुँ । मैले काठमाडौंका अरु पार्टीका नेताहरु देशी–विदेशी थुप्रै–थुप्रै मान्छेहरुसँग यसो गरे होला कि, त्यसो गरे होला कि..... मैले राष्ट्र र जनताको हितप्रति दायाँ–वायाँ त गरिनँ । गर्ने पनि छैन । ममाथि हजारौं, शहीद बेपत्ता, घाइते योद्धाहरुको बोझ मेरो टाउकोमा छ । म दायाँ–वायाँ सोच्नै सक्दिनँ ।

तर, यसवीचमा मलाई दुःखमा बचाउने, मलाई सहयोग गर्ने, जस्तोसुकै अप्ठ्यारो पर्दा पनि प्रचण्ड भनेर हिँड्ने नेता–कार्यकर्ता अलि ओझेलमा जस्तो, जाली फटाहाजस्ताले भाऊ पाएजस्तो चैं भयो ।

तपाईहरुले देख्नुभयो, पार्टी विभाजन गरेर गए पनि पछि आएर गल्ती भयो कमरेड भन्नेलाई मैले बडो उदारतापूर्वक पार्टीको माथिल्लो तहमा जिम्मा दिएँ । मलाई गद्दार भन्नेहरु मात्रै होइन, २०७० को चुनावमा ममाथि बम प्रहार गर्ने साथीलाई मैले गृहमन्त्री बनाएँ । शायद मैले गल्ती गरें । संगठन, जनतामा प्रभाव केही पनि नभएको मान्छेलाई लगेर स्थायी समितिमा राखिदिएँ । ती बिकाऊ माल सावित भए । शायद मैले गल्ती गरें ।

मैले तपाईहरुलाई नै अगाडि बढाइराख्नुपथ्र्यो । पार्टी, लाइन र लिडरशिपप्रति इमान्दार, दुःख गरेका कार्यकर्ताहरुलाई नै मैले प्रत्येक नियुक्तिमा या पार्टीमा पदोन्नति गर्दा वा मन्त्री बनाउँदा बढी प्राथमिकता दिनुपर्नेमा मैले अलिकति गल्ती त गरें ।
सोझासीधा सहीद परिवारहरु अलिअति ओझेलमा परेको जस्तो । हिजो जनयुद्धमा त्यत्रो त्याग गर्नेहरु कता–कता पार्टीको नजरबाट अलि छुटेको जस्तो । फटाहा–फटाहा टाइपका मान्छेहरु चाहिँ हेडक्वार्टरलाई घेराऊ गरे भन्याजस्तो देखियो । म आत्मालोचना तपाईहरुसँग गर्न आएको हो । अब म त्यस्तो गर्दिनँ । हिजो आन्दोलनमा इमान्दारीताका साथ लागेका जनता र कार्यकर्तालाई अगाडि बढाउने संकल्प गर्न चाहन्छु ।

सबै मिलेर अपदस्थ गर्ने बन्यो भने पनि हामी अपदस्त हुँदैनौं । हामी प्रमुख प्रतिपक्षका रुपमा जनताको साथमा बसेर फेरि केही समयभित्रै सरकार कब्जा गर्ने ठाउँमा पुग्नेछौँ ।
***
Read Full Discussion Thread for this article