Posted by: huippa August 9, 2018
विदेशमा उपचार होइन देशमा राम्रो अस्पताल खोलौं
Login in to Rate this Post:     0       ?        
सञ्चारमाध्यममा वीर अस्पतालको बिरानो भीभीआईपी कक्षका तस्वीर सार्वजनिक भएको दिन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ‘पेटको उपचार गर्न’ सिङ्गापुर उडे । देउवा उड्न दुई घण्टाअघि मात्र अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल ‘थाइराइड र मृगौलाको पत्थरी’ को उपचार सकेर चीनबाट फर्केका थिए । केही महिनाअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नी श्रीमतीको उपचारको सिलसिलामा सिङ्गापुर पुगेका थिए । प्रधानमन्त्री केपी ओली पनि आफ्नो स्वास्थ्योपचारको सिलसिलामा बरोबर विदेश उडिरहन्छन् । विदेशमा उपचारका लागि नेपाली नेताहरू जाने–आउने समाचार दिन बिराएर सञ्चारमाध्यममा आइरहेका छन् । यसरी स्वास्थ्योपचारका लागि विदेशमा जाने नेपाली नेताहरूमा आफ्नै खर्चमा जानेहरू हातमा गन्नलाई पुग्दैन । राज्यकोषबाट खर्च लिएर उनीहरू जाने गर्दछन् । ‘देश र जनताको लागि जीवन अर्पण गरेका’ नेताहरूको स्वास्थ्य राम्रो हुनुपर्ने कुरामा विवाद छैन । सबैले उनीहरूको दीर्घआयुको कामना गर्दछन् ।
तर नेपालमै उपचार हुने रोगको समेत राज्यकोष खर्च गरेर विदेशमा महङ्गो उपचार गर्न जानु नेताहरूको अनैतिकता हो । नेताले विदेश जानुको सट्टा स्वदेशमै उपचार गरेको अवस्थामा हाम्रा बिग्रे–भत्केका अस्पतालमा सुधार हुँदै जाने आशा गर्न सकिन्छ । अस्पतालका समस्या र सीमितताबारे नेता स्वयं अस्पतालमा उपचार गराए अझ प्रत्यक्ष अनुभव हुन्छ । यसले अस्पतालको भौतिक तथा अन्य सुधारको सम्भावना रहन्छ । जुत्ता लगाउनेलाई जुत्तामा कहाँ पोल्छ भन्ने कुरा थाहा हुन्छ भने जस्तै नेतृत्वमा बसेका व्यक्तिले नै सरकारी अस्पताल र चिकित्सकलाई विश्वास गरेर उपचार गराएको खण्डमा जनस्वास्थ्य र स्वास्थ्य उपचारमा केही परिवर्तन हुनेछ ।
नेताले विदेशमा उपचारका लागि खर्च भएको राज्यकोष देशभित्रै कुनै राम्रो अस्पताल बनाउन वा भएका अस्पतालको स्तरवृद्धिमा लगाउन सके केही नेताले मात्र नभई लाखौंलाख नेपाली जनताले पनि त्यसको उपचार पाउने थिए । नेता स्वयं अस्पतालमा उपचार गराउन आउने परिस्थितिमा अस्पतालभित्र सजगता र आत्मविश्वासको विकास हुने गर्दछ ।
नेतालाई विदेशमा उपचार गराउन राज्यकोष दिने सन्दर्भमा सरकारले कडाई गर्न जरुरी छ । नेपाली जनता सामान्त्न्दा सामान्य रोगको समेत उपचार गराउन नसक्ने अवस्थामा नेताले महङ्गा अस्पतालमा गएर उपचार गराउने विभेदकारी अवस्थाको अन्त्य गर्न जरुरी छ । जनताको नेता वास्तवमा त्यही हो जसले जनताकै तहबाट आफ्नो जीवन अघि बढाउने गर्दछ । जनताभन्दा माथि बस्ने नेता जनताको नेता बन्न सक्दैन । जनताको नेता र राजा सामन्तबीच भिन्नता हुने गर्दछ । सामन्त र राजामहाराजाले आफूलाई जनताभन्दा माथि ठान्छ । जनतालाई तल र आफूलाई माथि राखेर चिन्तन नै सामन्ती चिन्तन हो । नेताले समग्र नेपाली जनताको लागि गुणस्तरीय स्वास्थ्य सेवाको बारेमा चिन्तन गर्नुको सट्टा आफ्नो स्वास्थ्यलाई नै मात्र महत्वपूर्ण र देशको लागि आवश्यक ठान्ने र जनताको स्वास्थ्यको मूल्य नभएको जस्तो व्यवहार गर्नु जनताको नेताको स्वभाव कदापि हुन सक्दैन ।
वीर अस्पताललगायत सरकारी अस्पतालमा अति विशिष्ट व्यक्तिको उपचारको लागि अलग विशेष कक्षको बन्दोबस्त गरेको छ । ती कोठामा आज धूलोको पत्र जमेको अवस्था छ । अनि नेताहरू वीर अस्पतालमै हुन सक्ने उपचारको लागि समेत विदेशमा जानु सामन्ती चिन्तनकै निरन्तरता हो । धेरै नेपाली नेता विदेशमा उपचारका लागि गए । तर कोही एक जना नेताले विदेशमा यस्तो रहेछ, हाम्रो देशमा पनि यस्तो बन्दोबस्त गरौं भनेर केही नयाँ स्वास्थ्य उपचारको बन्दोबस्त गरेका छन् ? कुनै दृष्तान्त छैन । यसले हाम्रा शासक दलका नेताहरू राजनीतिलाई व्यापक जनताको सेवा गर्ने माध्यम बनाइरहेका छैनन् बरु आफ्नो स्वार्थपूर्तिको साधन बनाइरहेको प्रष्ट हुन्छ ।
Read Full Discussion Thread for this article