युलेन्स एजुकेसन फाउन्डेसनको सार्वजनिक वक्तव्यले हाम्रो समाजलाई ऐना देखाइदिएको छ।
खासगरी समाजको त्यो तप्कालाई; जो आफूलाई सचेत र जागरूक ठान्छ, बुझ्झकी र बुद्धिजीवी ठान्छ।
यसमा हाम्रा सञ्चारमाध्यम र हामी पत्रकारहरू पनि पर्छौं।
पत्रकारका दुई मुख्य काम हुन्छन् — सत्य भन्ने, र असत्यको भ्रम चिर्ने।
युलेन्सको हकमा हामीले यी दुवै जिम्मेवारी पूरा गर्न सकेनौं।
युलेन्स एजुकेसन फाउन्डेसन अन्तर्गतका स्कुल र कलेजलाई लिएर समाजमा भ्रम छरिएको थियो। आम मान्छेलाई त्यो भ्रम पूर्वबाट घाम उदाएजस्तै सत्य लाग्थ्यो।
हामीले समाजमा व्याप्त त्यो भ्रम चिर्न जरूरी ठानेनौं।
जति बेला हामीलाई यसको अनुभूति भयो, युलेन्स आगोमा जलेर खरानी भइसकेको थियो।
भदौ २४ को विध्वंसात्मक आगजनी र तोडफोडले काठमाडौंको बाँसबारी र ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलका भौतिक संरचना ध्वस्त भएको खबर सुनेपछि हामी बल्ल झल्याँस्स भयौं।
हामीलाई लाग्यो — युलेन्सको सत्य भनिनुपर्छ, लेखिनुपर्छ।
हामीले युलेन्सका संस्थापक अध्यक्ष सोम पनेरूलाई फोन गर्यौं र आफ्नो कुरा भन्यौं।
जबाफमा उनले भने, 'Now it's too late.' (अब धेरै ढिला भइसक्यो।)
हामी थप केही बोल्नै सकेनौं।
उनले अगाडि भने, 'तपाईंहरूले धेरै ढिला थाहा पाउनुभएछ, जब सबै समाप्त भइसक्यो। हामी अब मिडियासँग कुरा गर्दैनौं।'
सोमले जसरी हामीसँग कुरा गरे र फोनको लाइन काटे, त्यसमा उनको आक्रोशभन्दा 'इमोसन' बढी झल्किएको थियो।
हामी उनको भावना र संवेदना बुझ्छौं। आक्रोश र पीडा पनि बुझ्छौं। र, यसले हामीलाई लज्जित बनाएको छ।
तर फेरि पनि हामीलाई लाग्छ — Better late than never.
युलेन्सलाई लिएर आम मान्छेमा दुइटा ठूला भ्रम छन् —
पहिलो, यो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री आरजु देउवा राणाको स्कुल हो।
दोस्रो, धनीमानीका छोराछोरी मात्र पढ्ने यो स्कुलले अकुत नाफा कमाउँछ।
आम मान्छेमा ध्रुवसत्यको हदसम्म फैलिएका यी दुवै भ्रममा कुनै सत्यता छैन।
सत्य के हो भने, न यो स्कुल आरजु देउवाको हो। न यसले धनीमानीका छोराछोरी मात्र पढाउँछ। र, न यसले नाफा कमाउँछ।
युलेन्स नाफा नकमाउने कम्पनीका रूपमा खुलेको स्कुल हो। यसरी खुलेको कम्पनीमा कसैको व्यक्तिगत लगानी हुँदैन। कोही सेयरधनी हुँदैन। त्यसैले यो स्कुलको मालिक कोही छैन। र, यसको नाफा कसैले लैजान पाउँदैन।
अनि यो स्कुलले धनीका केटाकेटी मात्र पढाउँदैन। बरू धनीहरूसँग धेरै शुल्क लिएर त्यही पैसाबाट सयौं गरिब विद्यार्थीलाई नि:शुल्क पढाउँछ। जे–जति कमाइ हुन्छ, स्कुलमै लगानी गर्छ। विद्यार्थीको पठनपाठनमै खर्च गर्छ। सम्पन्न र विपन्न दुवै परिवारका विद्यार्थीलाई एकै कक्षामा राखेर विश्वस्तरीय शिक्षा दिन्छ। यो नेपालमा खुलेका सबभन्दा गुणस्तरीय स्कुलमध्ये एक हो।
यति मात्र होइन, नाफा वितरण नगर्ने उद्देश्यले खोलिएको यो स्कुल भविष्यमा बन्द भए यसको स्वामित्वमा रहेको सबै सम्पत्ति राज्यकै हुन्छ।
केही समयअघि विघटित प्रतिनिधिसभामा हामीले एउटा बहस सुनेका थियौं — सबै निजी स्कुललाई गैरनाफामूलक बनाउनुपर्छ।
ठूला धेरै निजी स्कुलले उक्त अवधारणाको विरोध पनि गरे। युलेन्स भने सुरूदेखि यही अवधारणा अनुरूप चलिरहेको छ।
यस्तो स्कुल कसले खोल्यो त? कसले चलाउँछ? कसरी चल्छ? योसँग आरजु देउवाको सम्बन्ध के?
हामीले बेलैमा नलेखेका यस्ता सवालका जबाफ ढिलै भए पनि यो स्टोरीमा लेख्दैछौं।
मिरियम युलेन्स (दायाँ) र उनका श्रीमान गाई युलेन्स।
यो स्कुलको स्थापना बेल्जियन नागरिक मिरियम युलेन्स र उनका श्रीमान गाई युलेन्सले गरेका हुन्।
कथाको सुरूआत सन् नब्बे दशकको प्रारम्भबाट हुन्छ, जति बेला मिरियम युलेन्स पहिलो पटक नेपाल आएकी थिइन्।
यहाँको बसाइले उनको मन पनि यतै बस्यो। अरू धेरै पर्यटक यहाँका मनोरम दृश्यले लोभिन्छन्, मिरियमलाई भने यहाँका मानिसको आत्मीयता र सहृदयताले लोभ्यायो।
त्योभन्दा ठूलो कुरा त, उनी ती हजारौं नानीबाबुको अवस्था देखेर पग्लिइन्, जो विभिन्न कारणले दरिद्रताको मार खेपिरहेका थिए र पढ्ने अवसरबाट वञ्चित थिए।
उनले त्यस्ता नानीबाबुको भविष्य सपार्न र उनीहरूको जीवनमा थोरै भए पनि खुसी छर्न 'ह्याप्पी होम' नामको बालगृह सञ्चालन गरिन्।
बालगृह त खोलिन्, तर नेपालमै बसेर त्यसको दैनिक व्यवस्थापन सम्हाल्न मिरियमसँग समय थिएन। उनी निकै कम समय नेपालमा बस्थिन्। त्यही भएर बालगृहको व्यवस्थापन सम्हाल्न उनी सक्षम व्यक्तिको खोजीमा लागिन्।
त्यसै क्रममा उनको भेट भयो, सोम पनेरूसँग।
गोरखाको ग्रामीण परिवारमा जन्मिएका सोम अमेरिकी नागरिक तथा प्रख्यात समाजसेवी ओल्गा मुर्रेले खोलेको 'नेपाल युथ फाउन्डेसन' मा आबद्ध थिए। त्यही संस्थामार्फत उनी विभिन्न सामाजिक काममा संलग्न रहँदै आएका थिए। खासगरी गरिबीका कारण पढ्न नपाएका बालबालिकालाई छात्रवृत्ति दिने अभियानमा उनी समर्पित थिए।
सोमको कामसँग आफ्नो आवश्यकता मिलेपछि मिरियम युलेन्स सोध्दै, खोज्दै उनको सम्पर्कमा पुगिन्।
र, ह्याप्पी होमको व्यवस्थापन हेरिदिन प्रस्ताव राखिन्।
यहीँबाट मिरियम युलेन्स र सोम पनेरूको सहकार्य अघि बढ्यो।
यो सन् १९९६ को कुरा हो।
यहाँबाट कथाले नयाँ मोड लिन्छ। मिरियमकै माध्यमबाट उनका श्रीमान गाई युलेन्ससँग सोमको सम्बन्ध गाँसिन्छ।
विश्वस्तरीय कला संकलक र व्यवसायीको परिचय बनाएका गाई युलेन्स एक परोपकारी व्यक्ति हुन्। उनी आफूले कमाएको धन समाजको हितमा खर्च गर्नुपर्छ भन्ने सोच राख्थे। त्यसका लागि उपयुक्त अवसरहरूको खोजीमा सधैं तल्लीन रहन्थे।
सोमसँग चिनजान भएपछि उनले प्रस्ताव राखे, 'म नेपालको शिक्षा क्षेत्रमा योगदान गर्न चाहन्छु।'
युलेन्सको प्रस्ताव सुनेर सोम उत्साहित भए।
उनकै पहलमा सन् २००१ मा काठमाडौं विश्वविद्यालय (केयू) का तत्कालीन उपकुलपति प्राध्यापक डा. सुरेशराज शर्मासँग युलेन्सको भेट भयो। त्यसैको परिणाम स्वरूप गाई युलेन्सको आर्थिक सहयोगमा केयूमा 'डिपार्टमेन्ट अफ बायो–टेक्नोलोजी' स्थापना भयो।
त्यसबीच सोमको मनमा अर्कै हुटहुटीले जन्म लिन थालिसकेको थियो।
उनी गरिब बालबालिकाको शिक्षादीक्षामा आफ्नो लामो अनभुव र समाज कल्याणमा काम गर्ने युलेन्सको परोपकारी अभिलाषालाई जोडेर एउटा यस्तो विद्यालय खोल्न चाहन्थे, जसले उच्चस्तरीय र आधुनिक शिक्षा दिन सकोस्।
सोमले आफ्नो मनको हुटहुटी गाई युलेन्ससमक्ष राखे।
सोमले देखेको सपनामा सहयोग गर्न युलेन्स सहमत भए।
गाई युलेन्स र सोम पनेरूको यही जुगलबन्दीले अन्तर्राष्ट्रिय स्तरको बालमैत्री शैक्षिक संस्था स्थापना गर्ने खाका तयार भयो।
उनीहरू काठमाडौंको कुनै सार्वजनिक विद्यालयको व्यवस्थापन लिएर त्यहाँ आफ्नो खाका प्रयोग गर्न चाहन्थे। यसका लागि आनन्दकुटी, महेन्द्र भवन, महेन्द्र आदर्श विद्यालय, कीर्तिपुर ल्याब स्कुल लगायतसँग अनेक चरणमा छलफल भयो।
तर जति कोसिस गर्दा पनि उनीहरूको प्रयास अघि बढ्न सकेन।
यहाँनिर काठमाडौं विश्वविद्यालयका उपकुलपति सुरेशराज शर्माले सोम र युलेन्सलाई बाटो देखाउने काम गरे।
समस्याग्रस्त सार्वजनिक स्कुल सम्हालेर त्यसलाई सुधार्ने काममा समय र स्रोत खर्चनुभन्दा शून्यबाट नयाँ संस्था सुरू गर्नु छिटो, छरितो र प्रभावकारी हुने उनको सुझाव थियो।
यही सुझाव अनुसार गाई युलेन्स, ओल्गा मुर्रे र सोम पनेरूले अन्तर्राष्ट्रिय स्तरको नयाँ स्कुल खोल्ने निर्णय लिए।
उनीहरू आफ्नो स्कुल गैरनाफामूलक ढंगमा चलाउन चाहन्थे। त्यही भएर सन् २००६ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा 'मुनाफा वितरण नगर्ने कम्पनी' का रूपमा युलेन्स एजुकेसन फाउन्डेसन दर्ता गरियो।
यसको नाम पनि उनै परोपकारी दम्पती मिरियम र गाई युलेन्सको पारिवारिक नामबाट राखिएको थियो।
फाउन्डेसन दर्ता गर्दा पाँच जना ट्रस्टी रहने गरी सोम पनेरूको नेतृत्वमा बोर्ड अफ ट्रस्टी गठन भयो।
अनि, सन् २००६ अप्रिलबाट युलेन्स स्कुलले खुमलटारमा कक्षा सञ्चालन गर्यो। औपचारिक उदघाटन भने सन् २००६ नोभेम्बर ११ मा तत्कालीन शिक्षामन्त्री प्राडा मंगलसिद्धि मानन्धरले गरेका हुन्।
सुरूआतमा युलेन्स स्कुलले विद्यार्थी भर्नाका लागि विज्ञापनधरि गरेन। ह्याप्पी होम र नेपाल युथ फाउन्डेसनले चलाइरहेका बालगृहका बालबालिकालाई नै यहाँ पढाइएको थियो।
कक्षा सञ्चालन भएको अर्को वर्ष सन् २००७ बाट नयाँ विद्यार्थीलाई पनि भर्ना खुला गरियो।
त्यति बेला शुल्क तिर्ने गरी १२० जना नयाँ विद्यार्थी भर्ना गरिएका थिए।
युलेन्स, मुर्रे र सोमले खाका बनाउँदा नै के कुरा तय गरेका थिए भने, यो स्कुलमा आर्थिक रूपले सक्षमहरूसँग शुल्क लिने र त्यही पैसाबाट गरिब विद्यार्थीहरूलाई छात्रवृत्तिमा पढाउने।
उनीहरूले ८० प्रतिशत विद्यार्थीसँग शुल्क लिने र २० प्रतिशत गरिब विद्यार्थीलाई छात्रवृत्ति दिने मोडल तयार पारेका थिए। यो मोडल आज पनि कायम छ।
युलेन्समा अहिले करिब १५ सय विद्यार्थी पढ्छन्। तीमध्ये २० प्रतिशत त्यस्ता विद्यार्थी छन्, जसको परिवार छैन वा परिवार भए पनि उनीहरू बालबच्चा पढाउने हैसियत राख्दैनन्।
देशका विभिन्न कुनाबाट ल्याइएका ती विपन्न समूहका बालबालिकाले युलेन्स फाउन्डेसनकै कारण शिक्षा पाइरहेका छन्। आफ्नो जिन्दगीमा थोरै भए पनि खुसी छर्ने र भविष्य उज्ज्वल बनाउने मौका पाइरहेका छन्।
नेपालमा युलेन्स जस्तो स्तरीय स्कुल खोलेर असंख्य बालबालिकालाई शिक्षाको अवसर दिने गाई युलेन्स, मिरियम युलेन्स र ओल्गा मुर्रे तीनै जना आज हामीबीच छैनन्। मिरियमको निधन सन् २०२३ मा भएको थियो भने ओल्गा २०२४ फेब्रुअरीमा बितिन्। गाई युलेन्सको निधन भएको त ६ महिना मात्र भयो।
यो त भयो, स्कुल सञ्चालनको इतिहास।
अब कुरा गरौं, आरजु देउवासँग युलेन्सको सम्बन्ध के हो?
धेरै मान्छेले युलेन्सलाई देखी नसहनुको एउटा कारण यही प्रश्नले हो। एउटा शैक्षिक संस्थामा आगो झोसेर खरानी बनाइनुको कारण पनि यही हो भन्ने हामीलाई लाग्छ।
माथि नै भनिसक्यौं, युलेन्स स्कुल सञ्चालनमा आरजु राणाको 'गोरू बेचेको' सम्बन्ध पनि छैन। स्कुलको इतिहासले पनि यो तथ्य छर्लंग पार्छ।
त्यसो भए आरजुको नाम कसरी जोडियो त?
यो त्यति बेलाको कुरा हो, जब राजनीतिमा आरजुको प्रवेश नै भएको थिएन। उनी विभिन्न सामाजिक संस्था चलाउँथिन् र महिला विकास तथा सशक्तीकरणका काममा केन्द्रित थिइन्।
युलेन्स फाउन्डेसनले सार्वजनिक परिचय भएका व्यक्तित्वका रूपमा विद्यालय व्यवस्थापन समितिको नेतृत्व सम्हाल्न आरजुलाई प्रस्ताव गर्यो।
आरजु तयार भइन्।
युलेन्स एजुकेसन फाउन्डेसनले स्कुल सुरू गरेपछि साबिक शिक्षा ऐन–नियमावली अन्तर्गत रहेर विद्यालय व्यवस्थापन समिति गठन गरेको थियो। फाउन्डेसनको बोर्ड अफ ट्रस्टीले आरजुलाई व्यवस्थापन समितिमा नियुक्तिका लागि सिफारिस गर्यो। त्यसपछि साबिकको जिल्ला शिक्षा कार्यालयले नै उनलाई युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेको हो।
यसलाई सजिलोसँग बुझ्न तपाईं कुनै सामुदायिक विद्यालय सम्झिनुहोस्। त्यहाँको व्यवस्थापनमा स्थानीय व्यक्तिहरू हुन्छन् र तिनैमध्ये कसैले व्यवस्थापन समितिको नेतृत्व सम्हाल्छन्। यसरी व्यवस्थापन समितिको नेतृत्व सम्हाल्नु भनेको विद्यालयको मालिक हुनु होइन। विद्यालयको कमाइ घर लैजानु होइन।
युलेन्स स्कुलको मोडल पनि यही हो।
जसरी सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा जोसुकै व्यक्ति अध्यक्ष भए पनि त्यसको स्वामित्व सरकारको हुन्छ, त्यस्तै युलेन्सको व्यवस्थापन समितिमा जो भए पनि त्यसको सञ्चालन फाउन्डेसनले गर्छ।
यहाँ महत्त्वपूर्ण कुरा के भने, आरजु देउवा युलेन्स एजुकेसन फाउन्डेसनको बोर्ड अफ ट्रस्टीमा सदस्य छैनन्। विगतमा पनि कहिल्यै थिइनन्।
यो यथार्थविपरीत युलेन्सलाई आरजु देउवाको नाफा कमाउने व्यवसायका रूपमा दुश्प्रचार गरिएको भन्दै युलेन्स फाउन्डेसनले आफ्नो सार्वजनिक वक्तव्यमा खेद प्रकट गरेको छ।
यति मात्र होइन, देउवाले यो दुश्प्रचारको पटक पटक खण्डन गर्दा पनि सञ्चार माध्यम, नागरिक समाज, तालुकदार निकाय, समुदाय सबैले नसुनेझैं गरेको र त्यसैको सिकार युलेन्स स्कुल भएको वक्तव्यमा उल्लेख छ।
'कुनै व्यक्तिको राजनीतिप्रतिको असहमतिलाई जोडेर उसको स्वयंसेवी योगदानको मूल्यांकन संस्थालाई खरानी बनाएर गरिन्छ भने यसउपरको मौनता चेतनशील समाजबाट अपेक्षित छैन,' वक्तव्यमा भनिएको छ, 'यो मौनताको सिलसिला जति लम्बिन्छ, उति सोचिरहन अभिशप्त हुनेछौं — हामी कस्तो समाजमा बसिरहेका छौं? हामीले कस्तो समाजमा एउटा विश्वस्तरीय बालमैत्री सिकाइ केन्द्र सञ्चालनको दुस्साहस गर्यौं?'
युलेन्स फाउन्डेसनले ललितपुर महानगरपालिकाको शिक्षा महाशाखा, शिक्षा मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभागसहित तमाम सरोकारवाला निकायलाई आफ्नो सत्यतथ्यबारे 'मुख खोलिदिन' अनुरोध गरेको छ।
युलेन्स फाउन्डेसनले यो स्कुललाई किन्डरगार्टेनदेखि क्याम्पस तहसम्म विस्तार गरेको छ। युलेन्स स्कुल, युलेन्स कलेज, युलेन्स सेन्टर फर एजुकेटर डेभलपमेन्ट, युलेन्स लिप–ग्याप इयर प्रोग्राम लगायत सञ्चालित छन्। 'आइबी' जस्तो विश्वस्तरीय पाठ्यक्रम नेपालमा पहिलो पटक भित्र्याएको पनि युलेन्सले नै हो।
पछिल्लो आन्दोलन क्रममा खुमलटारस्थित पाँच वटा भवन, बाँसबारीस्थित तीन वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टर ध्वस्त पारिएका छन्। आगजनीबाट विद्यालयका ८३ वटा गाडी ध्वस्त भएका छन्। विद्यालयका सबै एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचर जलाइएका छन्, लुटिएका छन्। विद्यार्थीका सबै रेकर्ड खरानी पारिएको छ।
यो घटनाबाट एक अर्ब २५ करोड रूपैयाँ बराबरको क्षति भएको युलेन्स फाउन्डेसनले जनाएको छ। करिब १५ सय विद्यार्थीको पढाइ प्रभावित भएको छ भने पाँच सयभन्दा बढी कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर गरेको छ।
'यो खरानीबाट उठ्न सजिलो छैन। ढलेको आत्मविश्वास उठाउन सजिलो छैन। उठे पनि फेरि ढल्नुपर्दैन भन्ने सुनिश्चितता छैन। यो अनिश्चयबाट कसरी निस्किने? पुनर्निर्माणपछि फेरि ध्वंसको सामना गर्नुपर्दैन भनेर कसरी ढुक्क हुने? कक्षाकोठामा हाम्रा बालबालिका र शिक्षक, कर्मचारीको जीवनको सुरक्षामा कसरी विश्वस्त हुने? सडकमा बालबालिका लिएर गुड्ने हाम्रा सवारी साधन निर्वाध र सुरक्षित रूपमा गन्तव्यमा पुग्ने प्रत्याभूति हामीले कसबाट, कसरी प्राप्त गर्ने?' युलेन्स फाउन्डेसनले सरकार, समाज र हामी सबैसँग प्रश्न गरेको छ।
युलेन्सले उठाएका यी सवालमा जबाफ दिन ढिला भएको छैन। किनभने, समाजमा फैलिएको भ्रम चिर्न कहिल्यै ढिला हुँदैन।
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
2020 : Why No Trump !
Nepal TPS has been Extended !!!
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
What is the purpose of an F1 student visa in the U.S.?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.