(यस कथाका संपूर्ण पात्रहरु वास्तविक हुन, कसैलाई काल्पनिक लागेमा वा कसैको काल्पनिक कथा संग मेल खान गएमा संयोग मात्र हुनेछ ।)
महिना र गते एकिन याद छैन तर पनि २०६७ को जेठ-असारको एक दिन । नेपाल बन्द वा चक्का जामलाई छल्दै जसो-तसो अफिस भित्र छिर्न सम्म सफल भएकोमा मख्ख परेको थिएँ तर अन्य डाइरेक्टर, कर्मचारी र सेवाग्राहीहरु कोही पनि आईनपुगेकाले अफिसमा सहयोगी राजन भाई र म मात्रै थियौं । केही अफिसियल काम नभए पनि इन्टरनेटमा च्याट र फेसबुकमा कमेन्ट गरेर बस्नुमा एक प्रकारको आनन्द नै आईरहेको थियो ।
धेरै जसो विदेशमा रहेका मित्रहरु सँग अनलाइनमा त्यताको जीवन शैली र हाल खवरको बारेमा कुराकानी गर्नु संगै व्यावशायिक छलफल गर्नु मेरो दैनिकी जस्तो बनेको थियो । त्यही भीडमा एक जना अत्यन्तै सरल शैलीमा लेख्ने सुन्दर महिला मित्र पनि अनलाइन देखिनु भयो । उनीसंगको मेरो अनलाइन चिनजान धेरै पुरानो नभए पनि उनको लेखन शैली र कहिले काहीँ वेबक्याममा देखिने सुन्दर मुहार र मनमोहक मुस्कानले मलाई अनौठो रुपले आकर्सित गरेको थियो । च्याट सुरु भयो, उनको पारिवारिक अवस्था र देश बाहिर रहनु पर्ने बाध्यता वा रहरको बारेमा जान्न म उत्सुक थिएँ र सोधें पनि । धेरै बेर सम्म जवाफ नआएकोले 'कतै मैले अनावश्यक प्रश्न पो सोधेछु की ? अर्काको पारिवारिक कुरा सोध्नु उचित थिएन' भन्ने लागेर आयो ।
निक्कै बेर पछी उनले लेखिन, "म पहाड मै जन्मेर हुर्केकी हुँ । मैले गाउँकै स्कूलबाट उच्च माद्यामिक शिक्षा पुरा गरेकी हुँ । तर अहिले लामो दुरी काटेर यहाँ पुगे पनि मेरो मन त्यहीँ वन-पाखा र घाँस-गोठाला मै अल्झिएको छ ।" उनी भन्दै (लेख्दै) गईन र म आफ्नो उपस्थिती जनाउंन छोटो उत्तर दिँदै उनको भनाईहरु पढ्दै गएँ । उनको गीत-संगीतमा गहिरो रुची रहेछ र सानै उमेरमा गाउँ देखि शहर सम्म निक्कै वटा गतिबिधीमा सहभागी भएर प्रसँसा समेत कमाइ सकेकी रहिछीन । साथै साहित्य सिर्जनामा पनि उत्तिकै रुची रहेछ । अहिले पनि गीत संगीत र साहित्यमा अगाडी बढ्ने चाहना त रहेछ । तर बाध्यताको कारण विदेशमा रहनु परेकोले अगाडी बढाउन नसकेकोमा धेरै दु:खी रहिछीन । मैले उनको फेसबुकमा राखिएका फोटोहरुको बारेमा समेत जवाफ खोज्दै गएँ र उनले दिंदै पनि गईन । छोटो तर मिठो (ठेट पूर्वेली) पाराको उनको लेखाई मलाई रमाइलो लागि राखेको थियो ।
उनी लेख्दै गईन, "मेरो कथा धेरै दु:खद छ । गीत संगीतमा संलग्न हुने क्रममा इटहरीमा भएको एउटा कार्यक्रममा आउँदा धरान चौकीबारीको एक जना 'सिंगापुरे लाहुरे' संग चिनजान भयो । उ पहिलो छुट्टीमा आएको रहेछ । केही दिनकै चिनजानमा उ म प्रती निक्कै नजिकिएको पाएँ । कार्यक्रम पछी पुन: म पहाड फर्किएं र उ पनि सिगापुर फर्कियो । टेलिफोन र चिट्ठी पत्रको आधारमा हामीले हाम्रो संबन्धलाई कायम राख्यौं । टेलिफोन मै उसले राखेको प्रेम प्रस्तावलाई मैले सहजै स्वीकार गरी दिएँ र अन्तत: हाम्रो चिनजान मिठो प्रेममा बदलियो । यसरी नै फेरी अर्को बर्ष पनि साँगितिक कार्यक्रममा सहभागी हुन म इटहरी आएँ र हाम्रो सल्लाह अनुसार नै उ पनि छुट्टीमा निस्कियो र ढिलो नगरी हामीले भागेर बिहे गर्यौं ।"
म उनको कथामा डुब्दै गएँ । उनी भन्दै थिईन, "हामी भागेर बिहे गरेको केही दिन पछि उसको घरमा गयौं । तर त्यहाँ उसको आमा लगायत सबै परिवारले मलाई अत्यन्तै रुष्ट व्यवहार गरे । मलाई बुहारी जस्तो व्यवहार कसैले गरेनन । मेरो श्रीमान पनि यस्तो व्यवहारको विरुद्धमा केही गर्नुको सट्टामा चुप बसेर मौन समर्थन गरेको मैले महसुस गर्न थालेँ । कुरो बुझ्दा त मेरो श्रीमान पहिले नै बिवाहित र एउटा छोरा बाउ पो रहेछ र म त सौता माथि पो आएकी रहिछु । यो थाहा पाएर छाँगाबाट खसे जस्तै भएँ, आँफै पछुताएँ, आँफैँलाई धिक्कारेँ तर पनि श्रीमानले 'त्यो त करकापमा परेर बिहे गरेको हुँ, मलाई मन नपरे पनि परिवारको दवावमा बिहे गरेको, म त तिमीलाई नै माया गर्छु ।' भनेकोले अलि कति मन बुझाएर अनेक प्रताडना सहेर बसें । उ छुट्टी सकिए पछि फेरि सिंगापुर नै फर्किएर गयो । मलाई दुर्व्यबहार गर्ने क्रम झनै बढे पछि म उसको परिवारमा बस्न नसक्ने भएँ र एक जना साथीको सहयोगमा धरान मै छुट्टै कोठा भाडामा लिएर एक्लै बस्न थालेँ । तर 'आफ्नो परिवारको अपमान गरेको' भन्दै श्रीमानले पैसा पठाउन पनि छाड्यो । अन्तत: म माइतीको शरणमा पुग्नुको बिकल्प रहेन र माइत मै मैले छोरीको जन्म दिएँ । अहिले २ बर्षको छोरीलाई माइतीमा छाडेर यहाँ आएकी छु । आफ्नो त आफ्नो त्यस माथि छोरीको भविष्य पनि मेरै काँधमा छ । नत्र काखे बच्चालाई छाडेर विदेशीने रहर कस्लाई हुन्छ र ? छोरीको सम्झनाले मुटु चिरिएर आउँछ नी, तर वाध्य हुनु पर्दो रहेछ । दिन रात आँशु पिएर बाँचेकी छु । यस्तै छ मेरो कथा ।"
उनको कथा पढेर मन कता-कता अमिलो भएर आयो । भावुक मन पग्लिएछ क्यारे, अलि कति आँखाबाट पोखियो पनि । राजन भाई पनि बन्दको रमिता हेर्न बाहिर निस्कि सकेको हुनाले अफिसमा म मात्रै बाँकी थिएँ, एक्लै भएकोले सुटुक्क लुकाएर तर्काइ पठाउनु पर्ने कुनै कारण थिएन, मज्जाले आँखा पुछें । म केही भन्न सक्ने अवस्थामा थिईन । मन-मनै 'त्यो धोकेबाज लाहुरे र उसको परिवारलाई भेटेर जसरी भए पनि उनलाई न्याय दिलाउनै पर्छ ।' भन्ने सोँच आयो । निक्कै बेर पछि मैले लाहुरेको नाम र घर नम्बर सोधेँ तर उनले केही जवाफ दिईनन । 'शायद उनी पनि मर्माहत बनिन क्यारे, बताउन सक्दिनन होला ।' भन्ने सोंचेर म विदा भएँ । त्यस दिन अरु कसै संग बोल्ने मुढ चलेन । राती पनि उनकै तस्विर आँखा वरी-परी घुमी रह्यो, 'कसरी न्याय दिएर सहयोग गर्न सकिन्छ ?' भनेर अनेक तर्कना मनमा खेलीरहे । खाना खान समेत मन लागेन र राती अबेर सम्म निन्द्रा लागेन । बिहानी पख झपक्कै एक छीन निदाएको बेलामा, 'उनको श्रीमानले उनलाई कुट्दै गरेको तर देख्दा-देख्दै पनि धेरै जनाले रमिता हेरेर बसेको र आफुले रोक्न खोज्दा मेरो पनि आवाज नै ननिस्किएको' सपना देख्न पुगेँ । बिहान भरी 'कत्ती खेर अनलाइनमा उनलाई भेटेर उनको लाहुरेको घरको बारेमा सोधौँ ?' भनेर मन बेचैन् रह्यो ।
उनै संग कुरा गर्ने हतार लागेर एक घण्टा अगाडी नै अफिस पुगेर उनलाई पर्खेर बसेँ । करिब् आधा घण्टा पछि सँधै जस्तै उनी पनि अन्लाइनमा देखीइन। एक्कै चोटी सोधी हाल्नु अगाडी औपचारिक सम्बोधन सक्दा नसक्दै उनले सोधिन, "हिँजोको मेरो कथा तपाईंलाई कस्तो लाग्यो ? रेडियो नेपालको 'गीती कथा' कार्यक्रममा पठाउनको लागि भनेर लेखेको, अलिक राम्रो भएन की जस्तो लागि राखेको छ, सुझाव दिनुस् है ।"
यस्तो बेलामा आउने रसलाई नेपाली व्याकरणले के भन्छ कुन्नी ? म चाँही ट्वाँ..... परेर चुप-चाप बाहिरिएँ ।