युरोपदेखि बाटैबाटो नेपाल युरोप आएको साढे दुई महिनापछि म फर्किने तर्खरमा छु। हेलसिन्की (फिनल्यान्ड) को यो स्टेसनबाट छुट्ने रेलले मलाई भोलि दिउँसो मस्को पुर्‍याउनेछ। म यसकारण उत्साहित छैन कि मैले बितेको साढे दुई महिना युरोपका कुनाकुना घुमेर बिताएँ। बरु, अबको मेरो यात्राले मलाई संसारमा मान्छेले विरलै गर्ने अनुभवको एउटा लामो शृंखलाभित्र प्रवेश गराइरहेको छ। अफिसबाट साढे दुई महिना छुट्टी लिएर युरोपतिर हिँडेको मेरो यात्रा एक हिसाबले टुंगिसकेको थियो। तर, यो अनुभवलाई यत्तिकैमा सीमित पार्न मन मानेन। र, मैले अचानक लिइदिएको निर्णय थियो, हवाइमार्ग प्रयोग नगरेरै नेपाल फर्कने अठोट। 'ट्रान्स साइबेरियन टे्रन' बारे मैले धेरै वर्षअघि सुनेको थिएँ। तर, हामीजस्ताले त्यो अनुभव लिनु कम्ति जोखिम थिएन। अहिले नै भन्नुपर्दा कम्तीमा भाषामात्रै पनि मेरो निम्ति पहाड बनेर उभिएको छ। कसरी संवाद गर्ने? मैले जानेकै नेपाली र अंग्रेजी हो। त्यो दुवै भाषा यहाँ काम लाग्दैन। अस्ति दुई साता बेलायत बस्दाबाहेक अंग्रेजी जान्नु पनि मेरो निम्ति लाभदायक रहेन। प्रायः युरोपेली मुलुकमा तै आधा अंग्रेजी र आधा शरीरको भाषाले भोकैचाहिँ मरिन्न। तर, अब त त्यो पनि फिटिक्कै काम नलाग्ने। लिपिसमेत फरक चल्ने दुनियाँमा पुग्दैछु। पिरकोलिसा केस्टिला मेरो गजबकी हितैषी हुन्। उनको घुमन्ते स्वभावले नै त्यो व्यक्तित्वलाई रसिलो बनाएको छ। केही दिनअघिसम्म पनि फिनल्यान्डको नेपालस्थित दुतावासकी प्रमुख उनले नेपालकै कुनाकाप्चा घुम्दाको वर्णन सुन्दा म आफैं नेपाली भइकन पनि थकथकी लाग्थ्यो। करिब चार वर्ष बस्दा उनले मेरो देशको सबैखाले भूभाग टेकिसकेकी थिइन्। चालीस जिल्ला पुग्दाका उनका वर्णन सुन्दै रमाइला थिए। युरोपबाट यो दुर्लभ बाटो हुँदै नेपाल फर्किन सम्भव छ भनेर मलाई अर्थ्याइदिने उनी नै थिइन्। ठिक दुई वर्ष पहिले उनले यसरी नै बेइजिङदेखि मस्कोसम्म रेलयात्रा गरेकी थिइन्। म झन् के कम! सोझै रेलमा लामो दुरी छिचोल्नुभन्दा प्रत्येक ठाउँको आनन्द लिँदै बढ्नुपर्छ भनेर ठाउँठाउँमा ओर्लने, घुम्ने र फेरि अर्को रेल चढ्ने हिसाबले मेरो यात्रा सूची तयार भएको छ। मैले घुमेका पश्चिमेली युरोपतिरको जस्तो त होइन, तर भारतको भन्दा चाहिँ अत्यन्त सुविधाजनक यो रेलमा सुत्ने र खाने राम्रै प्रवन्ध रहेछ। एक सय बीस युरो (झन्डै दस हजार रुपैयाँ) तिरेपछि यात्राभर भोजनको समेत टुंगो लागेको थियो। रेल चढ्नेबित्तिकै भेटिए एकजना अत्यन्त छोटो कदका, तालुखुइले चिकित्सक। उनले रोजगारका निम्ति उपचारभन्दा पनि हास्य अभिनेताको बाटो किन समाएनन् भन्ने जिज्ञासा मलाई यात्रा अवधिभर भइरहेको थियो। अर्मेनियाका नागरिक जसको परिवार जर्जियामा बस्छ र स्वयंचाहिँ मस्को र फिनल्यान्डमा क्लिनिक चलाएका उनको व्यक्तिगत जीवन पनि उत्तिकै विविधताले भरिएको थियो। फिनल्यान्डबाट रुस प्रवेश गर्ने बेला सीमावर्ती सहर भिदबोर्गमा मेरो पासपोर्ट मागियो। अचानक आइपरेको अनौठो व्यवहारले मलाई आतंकित बनायो। मान्छे लुक्ला भनेर भएभरका ढोका थुनिन थाले र छेवैको बाथरुमका ढोका पनि बन्द गरियो। मध्यरातमा अचानक चकमन्न उज्यालो ठाउँमा रेल प्रवेश गर्‍यो। निकै परपरसम्म देखिएको काँडे तारले म रसिया प्रवेश गर्दैछु भन्ने जानकारी दिइरहेको थियो। 'मान्छे हामफालेर प्रवेश गर्दा झट्टै देखियोस् भनेर काँडेतारलाई त्यति उज्यालो पारिएको हो,' ती चिकित्सक मलाई अर्थ्याइरहेका थिए, 'रुसबाट गैरकानुनी रूपले फिनल्यान्ड प्रवेश गर्न थुप्रैले खोज्छन्।' यता म पनि रेलभित्र अचानक फेरिएको दृश्यले त्रस्त थिए। एउटा अत्यन्त उदार र फराकिलो महसुस हुने लोकतान्त्रिक वातावरणबाट अचानक कडिकडाउ रुसी सुरक्षा दस्ताभित्र प्रवेश गरेजस्तो। सबै सुरक्षाकर्मीका सतर्क र चनाखो आँखा अनि व्यवहारले मलगायत भएभरका यात्रीलाई त्रसित पारेको थियो। मानौं अचानक अपराधीमा परिणत भएजस्तो। व्यावसायिक पोसाकमा सजिएका रेलका परिचारिकाले अघि आएर हामी सबैको छेउका पर्दा थुनिदिएकी थिइन्। मैले त्यो पर्दालाई अलिकता सारेर चिहाउने कोसिस गरेँ। हुलमा बाँधिएका सुरक्षाकर्मी सरासर यतै आउँदै थिए। हाम्रो कम्पार्टमेन्टमा एउटी देख्दै कडा स्वभावकी महिला प्रवेश गरिन्। आँखीभौंसमेत नभएकी उनी अध्यागमनको पोसाकमा थिइन्। उनले पहिले डाक्टर र त्यसपछि मेरो पासपोर्ट पालैपालो मागिन्। मेरो नाम सोधिन् र पासपोर्ट आफैंसँग राखेर आफ्नो कार्यालयतर्फ बढिन्। त्यसपछि दुई घन्टासम्मै सिंगो रेल पूरै बन्दीजस्तो बन्यो। बाहिर झमझम पानी परिरहेको छ। न पर्दा खोल्न पाइने न बाथरुम पस्न पाइने। काठमाडौंबाटै रुसी भिसा लिएर गएको मेरो पासपोर्ट उनीहरूले पहिचानै गर्न सकेनन्। थुप्रै कर्मचारी भेला भएर त्यो पासपोर्ट खेलाउन थाले। मलाई बोलाएर सोध्न थाले : 'कुनचाहिँ पहिलो पाना हो?' 'किन हातले लेखेको?' मैले सकेसम्म यी अनौठा प्रश्नको उत्तर दिने कोसिस गरेँ। सबैले अनौठो मान्दै मेरो पासपोर्ट हेरिरहेका बेला ती अर्मेनियाली डाक्टर भन्दै थिए, 'म पक्का छु, नेपालको पासपोर्ट यिनले जीवनमै पहिलो पटक देख्दैछन्।' होला पनि, यस्तो रुटबाट अरू को नै आएका थिए होलान् र! घरि मेसिन त घरि कुकुरको सुँघाइबाट गुज्रेपछि मैले बल्ल पासपोर्ट फिर्ता पाएँ। त्यसपछि रेल बिस्तारै हिँड्न थाल्यो। लौ मार्‍यो, यत्रो बेर खेलाइएको मेरो रुसी भिसामा स्ट्याम्प लागेकै रहेनछ। बरु अघिल्लो वर्ष म रुस आउँदा प्रयोग गरेको भिसामा पो छाप लगाएछन्! मैले तत्कालै परिचारिका बोलाएर रेल रोक्न लगाए। परिचारिकाले नै दौडादौड सबै काम फत्ते गरेर पासपोर्ट फिर्ता ल्याइदिइन्। म ढुक्कसाथ बिहान मस्को ओर्लिएँ। पहिल्यै मस्को घुमिसकेको भएकाले मलाई त्यहाँ फेरि घुमफिर गर्नु थिएन। बरु त्यसै साँझ मंगोलियातर्फ सोझिने रेल चढ्नु उपयुक्त ठानेँ। मंगोलिया प्रवेश गर्ने विन्दुमै सबै पर्यटकले भिसा पाउने सुविधाले गर्दा हिँडिहाल्न कुनै समस्या थिएन। त्यो बेलुकी नै इकाटेरेनबर्गको रेल समातेँ। बोरिस येल्तसिन जन्मेको यो सहर रुसकै चौथो ठूलो रहेछ। सोभियत संघ रहुन्जेल बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको यो सहरमा सन् १९९१ को सेम्टेम्बरमा पहिलो पटक पर्यटकले पाइला टेकेका रहेछन्। सहरचाहिँ गजबकै। युरोप र एसियाको सिमानामा पर्ने युरल माउन्टेनको फेदैमा बसेको यो बन्द सहर रक संगीतको चाहिँ रसियाकै केन्द्र रहेछ। राजनीतिक खुलापनसँगै स्थानीयले बिटल्सको सालिकसमेत बनाउन भ्याएका। सोभियत संघ हुन्जेलचाहिँ त्यहाँ सार्वजनिक रूपले रक संगीत सुन्नसमेत रोक लगाइएको बताइन्थ्यो। मस्को र सेन्टपिटर्सबर्ग जस्ता रुसी सहर घुम्दा भाषाको समस्या परेको थिएन। फाट्टफुट्ट अंग्रेजी बोल्ने भेटिन्थे। तर, यहाँ त अंग्रेजी बोल्ने भेटिनै मुश्किल। म यहाँ चार रात बसेँ। एउटा खुट्टा युरोप र एउटा एसियामा राखेर फोटो खिच्ने मेरो धेरै पहिलेदेखिको रहर थियो। एक घन्टामा पुगिने नजिकैको जंगलभित्र त्यो भूभाग टेकेर मैले त्यो इच्छा पूरा गरेँ। मेरो साथीको साथीको साथी पर्नेबाट सम्पर्कमा आएका दुई दिदीबहिनी आन्या र काट्याको घरमा म पाहुना थिएँ। उनका बाआमासँग हातको इसाराले कुरा गर्नुपर्थ्यो भने इमेलमा मसँग साइनो गाँसिएका छोरीहरू थोरबहुत अंग्रेजी जान्दथे। युरोप र एसियाको सिमानामा हुनुको अर्को विशेषता यो सहरको खानामा पनि झल्कन्थ्यो। दुवैतिरको स्वादका पर्याप्त खानेकुरा पाइने। तर, मेनु सबै रुसीमा लेखिएकाले कुखुरा खानु परे दुईतिर हातलाई प्वाँखजस्तो बनाएर देखाउनुपर्ने त बंगुरको चाहिए थुतुनो बिगारेर देखाउनुपर्ने। सबैभन्दा गाह्रोचाहिँ यसै कुराले बनाउँथ्यो। सिंगो रुस सेतो मान्छेले भरिएको छ। विरलै पर्यटक आउने सहर भएकाले झन् यस सहरमा त अरू रंगका मान्छे देखिँदै नदेखिने। यस्तोमा म जता गए पनि सबैको निम्ति एउटा अनौठो पात्र बनेको थिएँ। सबै मलाई चासो दिएर हेर्थे। टोलटोलमा खेलिरहेका बच्चा त परैसम्म पछ्याउँदै आउँथे। यो रमाइलो इकाटेरेनबर्ग छाड्ने दिन पनि आइपुग्यो। स्थानीयताको आनन्द लिनका निम्ति अब भने मलाई तेस्रो श्रेणी (प्लाजकाटनी) को रेल टिकट किन्न लगाइरहेकी छन् आन्या। उनका अनुसार पहिलो र दोस्रो श्रेणीमा यात्रा गर्नेले अलिक बन्द भएर हिँड्नुपर्छ। 'तिमीले आफूलाई अनौठो ठान्ने स्थानीयको व्यवहार महसुस गर्नु जरुरी छ,' उनी भन्थिन्, 'पर्यटनको वास्तविक मज्जा यसैमा छ।' मैले उनको सुझाव मानेँ। रातिको यात्रा थियो। मेरा निम्ति टन्नै खानेकुरा बनाएर झोलामा राखिदिएका दुई दिदीबहिनी बस चढ्ने ठाउँसम्मै छाड्न आए। कसेर अंगालो मारे र गालामा म्वाइँ खाँदै बिदा भए। अब म कुनै पुरानो दरबारजस्तो देखिने रेल स्टेसनमा प्रवेश गरेको छु। रातिको रेल भएकाले के-कता, थाहै पाइएन। सबैतिर रुसी भाषा छ। एक जनाले मेरो टिकट हेरेपछि तीनवटा औंला देखाए। के भनेको होला? सूचना डेस्कमा पुगेँ। उनीहरूले पनि बुझाउन सकेनन्। एक रास पर्यटकको झोला थुप्रिएको ठाउँमा तास खेलिरहेको एउटा समूह देखँे। धन्य भगवान, अंग्रेजी बोल्न जान्ने रहेछन्। त्यो तीनवटा औंलाको अर्थ तीन घन्टा ढिलो रेल छुट्ने रहेछ। उनीहरूले नै मलाई अनौठोसँग नियाल्दै आफ्नै साथमा बस्ने अनुमति दिए। 'रुसी भाषा आउदैन?' मैले भनेँ, 'आउँदैन।' 'मंगोलिया जाँदैछौ। मंगोलियन भाषा आउँछ?' मैले भनेँ, 'आउँदैन।' 'त्यसो भए, त्यस उताको चिनियाँ भाषा पक्कै जानेको हुनुपर्छ।' मैले त्यो पनि जान्दिनँ भनेपछि उनीहरू मलाई जीवनमै एउटा अद्भूत प्राणी देखेजस्तो गरेर हेर्न थाले र भन्न थाले, 'केटोले ठूलै आँट गरेछ।' 'तिम्रो रेलसम्म चाहिँ हामी चढाइदिन्छौं, धन्दा नमान,' एकजनाले तासको पत्ति फ्याँक्दै भने। जाडो याममा खोलाको माथि डोजर हिँड्ने त्यो सहरमा गर्मी जारी रहँदै पनि कम्ता चिसो भइरहेको थिएन। बल्ल तीन घन्टा सकियो र करिब तीन हजार नेपाली रुपैयाँ खर्चेर पाएको रेल टिकटबाट इकाटेरेनबर्गदेखि साइबेरियाली सहर इरकुच्कतर्फको यात्रा सुरु भयो। रेलमा एउटी वृद्धा थिइन्, जसले तीन दिनसम्म मसँगै यात्रा गर्दा तीन पटक पनि कुरा गरिनन्। भाषाले गर्दा। उनी केही सोध्न खोज्थिन्, म मुन्टो मात्र हल्लाउँथेँ। हामीले थोरै बोले पनि खानेकुरा भने बाटोभर साटेर खाएका थियौं। यी सारा क्षेत्र जंगलले भरिएका। बाटोमा सहरहरू फाट्टफुट्ट देखिन्थे। छेउछाउमा खानी देखिएकाले त्यो बसोबासको आधार पनि प्रस्ट हुन्थ्यो। रुसभर यात्रा गर्दा मलाई एउटा दृश्यले भने बाटोभर झकझक्याइरह्यो। विशाल कारखानाहरू देखिन्छन्। तर, मसानघाटजस्ता शुन्य। सोभियत संघको पतनसँगै यस्ता संरचना प्रयोजनविहीन बन्न पुगेको स्थानीयहरू बताउँथे। संसारको सबैभन्दा ठूलो ताल 'लेक बाइकाल' छेवैको सहर इरकुच्क पुग्दा म असाध्यै उत्तेजित थिएँ। पूरै परम्परागत सहर। रुसले पछिल्लो पटक लिएको आर्थिक फड्कोले पर्यटकलाई राम्रै आकर्षित गरेको। यहाँ बरु अंग्रेजी बोल्ने मान्छे अलिअलि भेटिए। प्रायः किर्गिस्तान र ताजिकिस्तानतिरबाट आएका कामदार थिए। लेक बाइकाल त्यहाँबाट दुई घन्टा पर पर्थ्यो। त्यसो त मैले अब गर्ने इरकुच्कदेखि रुसी सिमानानजिकैको सहर उलानउडे जाँदा करिब पाँचछ घन्टै लेक बाइकालको छेवैछेउ रेल गुड्थ्यो। तैपनि तालको पानी छुने मेरो इच्छाले गर्दा लिच्भ्यान्का भन्ने सहर पुगेरै छाडेँ। त्यहाँबाट फेरि अगाडि गएर ओलखन भनिने त्यस तालकै एउटा टापुमा गएर दुई रात बिताएँ। म बसेको रिसोर्टभन्दा बाहेक न कुनै मानव न कुनै मानवीय संरचना देखिने। त्यो टापुबाट तालतर्फ हेर्दा बरु सिल नामको भुँडीले घिस्रिएर हिँड्ने प्राणी देखेको थिएँ। निलो पानीबाट निकै तलसम्म माछा पौडिएको देखिने यो ताल कति सुन्दर छ भन्ने कुराको वर्णन सायद म शब्दले गर्नै सक्दिनँ। यो ताललाई लिएर एउटा भनाइ प्रसिद्ध छ- संसारका सबै पानीको स्रोत एकैपटक सुक्यो भने पनि विश्वभरका मानिसलाई लेक बाइकालको पानीले चालिस वर्षसम्म नुहाउन र तिर्खा मेटिदिन सक्छ। अध्ययनबाटै यस्तो पुष्टि भएको हो भन्थे। साइबेरिया भनेको दोस्रो विश्वयुद्धताका रुसले जर्मन युद्धबन्दी ल्याएर सजाय दिने ठाउँ थियो भन्ने मैले यहीँ आएर चाल पाएको थिएँ। चिसोले गर्दा नै यहाँ मान्छे मर्छन् भनेर स्टालिनले पनि आफ्नो राजनीतिक विरोधीलाई यसै स्थानमा पुर्‍याउँथे रे। ती पुराना जेलको टुटेफुटेका संरचना अहिले पनि देखिन्छन्। तर, त्यसवरपर सयौं किलोमिटरसम्मै मानवबस्ती भेटिन्न। यति सुनसान छ यो परिवेश। जतिसुकै मन परे पनि यात्रामा निस्केको मान्छे थामिन मिल्दैन। साइबेरियाबाट मंगोलियातर्फ प्रस्थान गर्नका निम्ति म उलानउडेतिर लागेँ। त्यतिबेला बाटोभर फेरि लेक बाइकालको अर्को किनाराबाट यात्रा गर्न पाइयो। बुरियत रिपब्लिकको राजधानी उलानउडेमा सबै मान्छे संसारकै अनौठो। आँखा छ तर नदेखिने। मतलब सबैका चिमिक्कै छोपिएका चिम्सा आँखा। समस्त रुसमै बौद्धधर्मको अभ्यास हुने एक मात्र यो थलो मंगोलियाको ठिक माथि पर्छ। तिब्बतको पठारजस्तै भूभाग र बसोबास। तिब्बत, मंगोलिया र साइबेरियालाई एकखाले तत्वले बाँधेको अनुमान गर्नेका निम्ति अर्को रोचक जानकारी, यहाँ हाम्रोभन्दा अलिक गन्हाउने भए पनि दुरुस्त उस्तै मःम आम प्रचलनको खानेकुरा रहेछ। मनोरञ्जनका रूपमा कुस्ती र तीरअन्दाजी आयोजना हुने यस भेगमा घोडा चढेरै तीन दिन घुम्दा एकजना भिक्षु पनि भेटिएका थिए। भारतको धर्मशालादेखि आएका बौद्धगुरु। डेढ वर्ष बिताउन भर्खर आइपुगेका उनी यहाँ तिब्बतसँग मिल्दोजुल्दो परिवेश पाएर रमाएका देखिन्थे। यो रमाइलो स्थान छोड्ने दिन पनि आयो। अगाडिको यात्रा झन् दुर्गम र जटिल छ भन्ने पहिल्यै भान परिसकेको थियो। अब केही घन्टामै मंगोलिया प्रवेश गर्ने भएकाले मैले चढ्ने रेलसमेत मंगोलियाको थियो। रेलमा यस्तो भीड थियो कि मेरो निम्ति सिट बच्ला भन्ने अनुमानै थिएन। तै टिकट भएका व्यक्तिलाई सिट छाड्नैपर्ने रहेछ र पाएँ। अर्को रमाइलो दृश्यचाहिँ यो रेलमा धमाधम हाल्दै गरिएको कोइला देखेर भएको थियो। पहिले त कोइलाबाटै चल्ने हो कि भन्ठानेको, होइन रहेछ। इन्जिन त डिजलले नै चल्ने तर अत्यन्त चिसो त्यस भूभागमा रेलको पानी नजमोस् भनेर तताइराख्नका निम्ति कोइला बाल्ने गरिएको रहेछ। दिल्ली जाँदा विहार र उत्तर प्रदेशको रेल चढेजस्तो कम्पार्टमेन्टभित्र बदामका खोस्टा र मान्छे बस्ने सम्पूर्ण स्थानमा सामान खाँदिएको देखिन्थ्यो। तै मैले सिट दाबी गरेपछि छाडिदिएँ। फोहोरले भने साह्रै दिक्क पारेको थियो। उलानउडेबाट रुसको सिमानातर्फ बढ्दै गर्दा देखिने दृश्य स्वप्निल थिए। अब झनै तिब्बतका पठारजस्ता ठाउँ मात्र सबैतिर देखिन सुरु भयो। आठ घन्टाको यात्रापछि रुस र मंगोलियाको सिमानामा पर्ने नौसिकी पुगियो। त्यहाँ फेरि रुसी अध्यागमनका कर्मचारीलाई झेल्नुपर्‍यो। फेरि उस्तै जिज्ञासा र प्रश्नमा साढे तीन घन्टा बिते। त्यहाँचाहिँ मानव तस्करी हुने फिनल्यान्डको सिमानामा भन्दा फरक दृश्य थियो। यताबाट मंगोलियामा तस्करी गरेर मानिस नभई सामान लगिँदो रहेछ। तस्करको ठूलै बिगबिगी। रेलका परिचारिकासमेत त्यस्ता तस्करसँग मिलेका हुँदा रहेछन् र सामान लुकाउन अग्रसरता देखाउँदा रहेछन्। रेलका कार्पेटसमेत हटाएर पेचकिला खोल्दै भित्र सामान लुकाइने। यात्रीयात्रीलाई पनि ती परिचारिकाले तस्करीमा सघाउन अनुरोध गर्दारहेछन्। अरू सामान अस्वीकार गरे पनि दुईवटा मासु (सलामी) का ठूलै पोका केही समयलाई समातिदिन म तयार भइदिएँ। अत्यन्त सुन्दर मंगोलियन अनुहार भएका परिचारिकालाई कसरी निरास पार्ने? त्यसपछि दस किलोमिटरको नो म्यान्स ल्यान्ड पार गरेपछि मेरोसामुन्ने चंगेज खाँको भूमि तेर्सिएको थियो। त्यहाँ फेरि भिसा प्रक्रियादेखि लिएर सबै कुरो मिलाउन अढाइ घन्टा लाग्यो। मंगोलिया विकासको हिसाबले हामीभन्दा पछाडि भए पनि अध्यागमनका सुसज्जित अधिकारी भने निकै प्रभावकारी देखिन्थे। यात्रा जारी नै रह्यो र भोलिपल्ट बिहान राजधानी उलानबटार पुग्यौं। त्यहाँ मेरा पूर्वपरिचित एक साथी थिइन् किम। कोरियाबाट बिहे गरेर उता पुगेकी। उनी स्टेसनमै मलाई लिन आइपुगिन्। हिम मरुभूमि उलानबटार कति चिसो भने अक्टोबर ३ तारिखकै दिन पनि बाँच्नै गाह्रो पर्लाजस्तो। उलानबटारमा रोचक के भने सहरभर सबै संकेत उनीहरूकै भाषामा। तर, 'पाकेटमारबाट सावधान' भन्ने सूचनाचाहिँ अंग्रेजीमा जताततै लेखिएको देखिने। एकपटक डाट्सान गुम्बाबाट होटलतर्फ फर्कंदै गर्दा मेरो झोला कसैले चलाएजस्तो लाग्यो। छायामा ठ्याक्कै मान्छेको आकृति। मैले च्याप्प हात समात्दा उसले लज्जित हुँदै 'एप्पल-एप्पल' भन्न थाल्यो। मैले त्यस मान्छेलाई तान्दै छेवैको पर्यटक सूचना केन्द्रमा बसेका प्रहरीलाई सुम्पिदिएँ। अंग्रेजी बोल्ने त यहाँ झनै दुर्लभ। तै किमको सहयोगले यहाँ पनि मैले धेरै दुःख पाइनँ। सुरक्षाको हिसाबले त्यो स्थान अलिक संवेदनशील थियो। मलाई बेलुकी आठ बजेभित्रै होटल आइसक्न किमले उर्दी दिएकी थिइन्। पहलो दिन मंगोलियाली संसदको अगाडि राखिएको चंगेज खाँको सालिक हेर्न गइयो। पाँच सय पत्नी भएका खाँका अहिले पनि विश्वभर सन्तान फैलिएको दाबी मंगोलियालीहरू गर्छन्। सन् १९९० मै प्रजातन्त्र आए पनि यहाँ मृत्युदण्ड अझै जारी रहेछ। त्यसलाई खाँको सालिकसँगै अर्को अग्लो स्तम्भ बनाएर अधिकारकर्मीले विरोध जनाएको पनि देखियो। रमाइलो के भने, यहाँका चकलेटदेखि रक्सीसम्म चंगेज खाँकै नाम र फोटो अंकित रहेछ। उपत्यकाको हिसाबले काठमाडौंजस्तै भूदृश्य देखिने संसारकै सबैभन्दा कम जनघनत्व भएको यो सहरमा कतिकति बेला उराठ पनि लाग्थ्यो। मूलतः फिरन्ता जीवनबाट आएका मंगोलियालीहरू अहिले पनि पूरै फेरिएका रहेनछन्। राजधानी छेउछाउमै पनि घोडामा हिँड्ने र टेन्ट लगाएर बस्नेको संख्या ठूलै देखिन्थ्यो। राजधानीबाट मोटर र छ दिनको घोडा यात्रापछि पुगिने गोवी डेजर्ट र खान खेन्तिल (चंगेज खाँको जन्मथलो) पुग्दा ठ्याक्कै मुस्ताङको यात्रा गरेजस्तो हुँदोरहेछ। त्यसपछि राजधानी फर्केर बेइजिङको रेल समातेँ। यहाँबाट चीन जाने रेल सबै चिनिया नै हुँदारहेछन्। अत्यन्तै सुविधाजनक। त्यसपछिको यात्रा भने पूरै सुख्खा मरुभूमि। दुई दिनको लगातार यात्राले बेइजिङ पुर्‍याएको थियो। चीन पस्ने बेला मैले जीवनकै अर्को अनौठो अनुभव भोगेँ। मंगोलिया र चीनको रेलका लिकका चौडाइ (गेज) फरक हुँदा रहेछन्। त्यसैले सिमानामा पुगेपछि पहिले प्रत्येक डिब्बालाई छुट्याउने, त्यसपछि यात्रुसहितका डिब्बालाई क्रेनले उचाल्ने र तलबाट फराकिलो गेज भएको चक्कामा लगेर फिट गर्दा रहेछन्। अत्यन्त व्यवस्थित भएकाले पिङ खेलेजस्तो पनि भएन। यो पछिल्लो रेलयात्रामा म एउटा अस्ट्रेलियाली टोलीको साथमा थिएँ। टोलीमा एउटी इजरायली गाइड थिइन्, रुसी र चिनिया भाषा बोल्ने। पचास वर्ष नाघेका १५ जना बुढामध्ये एकजना त एक वर्षदेखि घुम्ने काम मात्रै गरिरहेका रहेछन्। सुन्दै रमाइलो। मैले त आफूलाई उनका सामुन्ने बुच्चो पो देखेँ! त्यसपछि केही दिनसम्मै चीनका विभिन्न सहरको आनन्द लिएपछि रेलबाटै ल्हासा पुगेँ। त्यसपछिको यात्रा समूहमा भाडा तय गरिएको ल्यान्डक्रुजर मोटरमा चढेर सिगात्से, खासा हुँदै तातोपानीसम्म आइपुग्दा फिनल्यान्डबाट हिँडेको झन्डै पाँच साता भइसकेको रहेछ। सपनाजस्ता देशहरूमा बितेको मेरो रमणीय पाँच साता।
_____ · Nov 26, 2011 5:36 PM · 22,860 views
Is this your own experience and writing?
Poonte · Nov 26, 2011 7:53 PM
राम्रो लेखाइ धर्के ब्रो। म पनि एक चोटी बाटैबाटो नेपाल पुगेको थिएँ यूरोपबाट। ग्रीसको थेसालोनिकी बाट टर्कीको इस्तानबुल अनि इरानको तातबान, ताब्रीज, तेहरान र जाहेदान हुँदै पाकिस्तानको मिर्जावेबाट छिरेर क्वेटा पुगेको थिएँ। त्यसपछि त सजिलै भाको थिए। खासमा भन्ने हो भने कतै दु:ख भएन तर रुपेडियाको बोर्डरबाट नेपालगन्ज छिर्ने बेलामा भने नेपाली पुलिस र कस्टमले सार्‍है दु:ख दिएका थिए।
HairyBicep · Nov 26, 2011 8:58 PM
Gazab ko Yatra ani Yatra bhitra ko katha. Malai ni jau jau laagyo. Dhanyabad share gareko ma Blanky brother!
sabaiko satru · Nov 27, 2011 1:09 AM
Awww what a wonderful experience! many thanks for sharing. Cheers.
georgian_satellite · Nov 27, 2011 12:04 PM
I m planning a trip on the same route in 2014. Any intrested guys/gals can contact me... 2 is better than one .
DalluKoSanu · Nov 27, 2011 6:57 PM
This was brilliant!
riddle · Nov 28, 2012 11:45 PM
You lived the life dude. Once in a life time experience. Go to places where people rarely go. That is what some khaires do. As soon as they graduate, they take a year long vacation and travel for a year. I want to do it too man. Total how much you spent dude?
mno · Nov 29, 2012 9:46 AM
'तिमीले आफूलाई अनौठो ठान्ने स्थानीयको व्यवहार महसुस गर्नु जरुरी छ,' उनी भन्थिन्, 'पर्यटनको वास्तविक मज्जा यसैमा छ।' मैले उनको सुझाव मानेँ।............. loved her suggestion... and so true... a mantra for any explorer I wish to travel like you did someday ...
ThahaChaena · Nov 29, 2012 1:40 PM
I would like to do this someday. Really fascinating story
alche · Nov 29, 2012 6:14 PM
me too, howthey will handle visa stuffs?
49cents · Nov 29, 2012 6:20 PM
बधाई छ ब्रो यस्तो आँटिलो यात्रा तय गरेर हामीलाई share गर्नु भएकोमा. यात्रा भन्ने कुरा धेरैले गरेका हुन्छन तर यसरि प्रस्तुत गर्ने कला पनि यहा संग रहेछ . धन्यबाद. <div>p s : I had read the book 'The Great Railway Bazaar' by Paul Theroux a few years back. Your skill in writing made me remember that book.</div>
adhikari_bandhu · Nov 29, 2012 8:00 PM
धेरै सुन्दर यात्रा बर्णन धर्के ब्रो उर्फ अर्पण शर्मा (?) | यो route त मेरो पनि एकदम मनपर्ने अनि dream route नै हो | यो लेख करिब एक वर्ष अगाडी 'नागरिक' पनि छापिएको छ | http://archives.nagariknews.co...
nepalilaure · Nov 29, 2012 8:48 PM
aarkako lekh sare pachhi ta source pani deko bhaye ramro hunthyo ni... ramro kura sabaile padhna paunuparchha, so share gareko dherai ramro, bt original source pani bhayeko bhaye writer ko honesty dekhinthyo ...
Aakinchan · Nov 30, 2012 9:03 AM
aakinchan, maybe he's the same guy?
riddle · Nov 30, 2012 11:45 AM
I have some doubt that 'Arpan Sharma' is Dharke bro. He may have forgotten to cite the source. In the past he has come back and provide the link, but this time he may be real busy :) OR this he is REALLY the guy who travelled this route and wrote this travelouge. Last edited: 30-Nov-12 11:55 AM
nepalilaure · Nov 30, 2012 11:51 AM
ramro lekh , mailay padheko thiyena paila that was funny, deu wota salami samateko, :) अरू सामान अस्वीकार गरे पनि दुईवटा मासु (सलामी) का ठूलै पोका केही समयलाई समातिदिन म तयार I think I should also write my travellouge now, its interesting to share the experiences.
-_- · Nov 30, 2012 12:42 PM
Source is indeed http://archives.nagariknews.co... and writer is indeed Mr. Arpan Sharma, Some confusin /inconvenience was created missing suorce link which is offcours my responsibility. In all my posting I mention source but somehow I forgot to mention it in this posting. Mistake is mine.
_____ · Nov 30, 2012 7:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion