अघिल्लो वर्षको शिवरात्रीमा लुकेर शिवबुटी गाँजा बिक्री गर्ने सन्यासी र जोगीहरु यसपाला निर्धक्क छन् । चुरोटमा रहेको सुर्तीलाई गाँजाको धुलोले विस्थापित गर्दै भारतीले थपे- 'कति लिने ?'
मृगस्थलीमा चिसोसँगै गाँजाको गन्ध उत्तिकै बाफिँदै छ । खिल्लीको १० रुपैयाँ प्याकेटमा राखिएको भए ५० रुपैयाँ । अरु मात्रा हेरी-हेरी । सरकारको कानुनले प्रतिबन्ध लगाएको लागू औषधको कारोबार भइरहँदा प्रहरी आफैँ साक्षी बसेजस्तो देखिन्छ । 'खाएर हल्ला गरेको भेटे ठटाउनु भन्नेमात्र आदेश छ'- सञ्चारसेट घुमाउँदै यताउती गर्दै गरेका प्रहरी असई श्याम बहादुर थापाले भने। डाँडाको एकफन्को लगाएर फर्किंदा उनको कमान्डका प्रहरी नै गाँजाको भाउ सोधिरहेका भेटिए ।
शिवरात्री बाहेकका दिन यहाँ गाँजा खान आउने र तिनलाई खेद्न दौडने पुलिसको चर्तिकला यो पटक देखिएको छैन। शिवरात्रीमा 'शिवबुटी' छ्यासछ्यास्ती छ । शिवकै शैलीमा यसलाई तान्नेहरु पनि उत्तिकै छन् । कति दिन सक्नुहुन्छ ? 'जितना चाहते हो उतना मिलेगा'- भारतीकै छेउमा रहेका एक अर्का जोगीले थपे । पैसा नभए नि चिलिममा गाँजा भर्दै उनले भने- 'शिवका प्रसाद हो । लिनुस्।'
मथुराबाट आएका उद्योदाश नेपाल भित्रिँदा गाँजासँगै भित्रिएको नागरिकन्युजलाई बताए । राममन्दिरको परिसरमा गाँजा र भाङसँगै उनी चुरोटका खिल्लीलाई ताप्केमा तताइरहेका थिए । 'ओस्सिएकाले सुकाएको'- उनले सुनाए । त्यतिखेरै कुर्ता पहिरिएका दुई युवतीले खुसुक्क सोधे 'कति हो ?' हातमा रहेको दुईवटा डाँठ देखाउँदै उद्योदाशले भने 'बीस रुपैयाँ।'
तपाईले पनि शिव बुटी तान्ने संवाददाताको प्रश्नमा लजाउँदै एकले जवाफ फर्काइन 'हैन बुढालाई लग्देको।' यति जवाफपछि उनीहरु गफ गर्न संकोच मान्दै अघि बढे सलले मुख छोपेर हाँस्दै ।
छेउमै रहेको अर्को खैरो धुलो देखाउँदै उद्योदाशले भने, 'यो भाङ । यसमा पावर्तीले दूध र वदाम हालेर घोट्नुहुन्थ्यो।' अनि शिव के गर्थे त ? 'शिव गाँजा सुक्र्याउथे'- उनले भने । राममन्दिर परिसरमा गाँजा बेच्नेहरु आफै सुक्याइरहेका छन् । कठ्याङ्ग्रिदो जाडोमा कैलाशमा बेग्लै गन्ध छ । ७० दशकको हिप्पी युगलाई बिर्साउनेगरी यो पटक शिवरात्रीमा पशुपति लठ्ठिँदैछ- गाँजामा ।