Name : Bharati Gautam
Address : Dhankuta (Now: USA)
आँसुको भाषा
आँसुबारेको कुरा सुन्न
आँसुबारेको कुरा भन्न
धेरैलाई ननिको लाग्दो रहेछ
मलाई त खै किन हो
आँसुकै भाषा र आँसुबारेकै कथा
सुन्न निको लाग्ने गर्छ
बेग्लाबेग्लै वर्णमालाका लिपिको आविष्कारअघि
बेग्लाबेग्लै भाषाका बोलीको सुरुवातपहिले
सृष्टिमा जातपातको विभाजनको रेखा पनि नकोरिईकन
सबैले बोल्न सक्ने, सबैले सजिलै बुझ्ने
आँसु एउटा साझा भाषा हुने गर्थ्यो
मनमा भरिएर खुसी पोखिए पनि
मनमा पीडाको बाढीले खुसी बगाए पनि
आँसुको बाटो गरी झरेका आँसुका थोपाले
सुनाइका मनका कथाहरू,
जो पनि जहिले पनि बुझ्ने गर्थे,
मान्छेमान्छेबीचको मात्र नभएर
ईश्वरको सृष्टिसृष्टिबीचकै
साझा साइनो थियो आँसु ।
वेश, भाषा, जात र वर्गविभाजनको आविष्कारले
मानवसभ्यता अनि मान्छे
सर्वोपरि ठानिने परिभाषाले
जीवजीवबीचको त कुरै भएन
बिस्तारै आँसुको भाषा
अब त मान्छेमान्छेबीच पनि
पराई हुँदै गइरहेछ,
क्लिष्ट हुँदै गइरहेछ,
मन्छेले मान्छेकै आँसुको भाषा
बुझ्न पनि क्रमश: गाह्रो हुँदै छ।