[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 फ्रिक स्ट्रिट नोस्टाल्जिया--सुरेश किरण
[VIEWED 3086 TIMES]
SAVE! for ease of future access.
Posted on 01-21-17 6:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


फ्रिक स्ट्रिट नोस्टाल्जिया

सुरेश किरण शनिवार, माघ ८, २०७३  0 2186 पटक पढिएको



फ्रिक स्ट्रिट !
एकाएक अन्तर्राष्ट्रियकरण भइदिएको काठमाडौंको एउटा गल्ली, जहाँ म हुर्केँ । ‘झ्वःझ्वः छेँ’ अर्थात् लहरै घर भएको कारणले त्यो टोलको नामै झ्वःछेँ हुन पुग्यो । तर सन् १९६०–७० को दशकमा चलेको हिप्पिज्मको लहरले ‘झ्वःछेँ’को हाकुपटासी जबर्जस्ती उतारेर ‘फ्रिक स्ट्रिक’को मिनिस्कर्ट लगाइदियो । त्यसपछि विश्व बजारमा फ्रिक स्ट्रिटको अलग्गै पहिचान बन्यो ।

आजसम्म फ्रिक स्ट्रिटबारे धेरैले लेखिसकेका छन् । कति किताब पनि तयार छापिएका छन् । तर, ती लेखहरू या त फ्रिक स्ट्रिट पढेर लेखिएका छन्, या त फ्रिक स्ट्रिट सुनेर लेखिएका छन्, या त फ्रिक स्ट्रिट देखेर लेखिएका छन् । फ्रिक स्ट्रिट भोग्नेहरूको भोगाइ भने कतै पनि लिपिबद्ध भएको मैले पाएको छैन । यहाँ म भोगेको फ्रिक स्ट्रिट लेखिरहेछु ।
०००
मेरो कुलघर काठमाडौंको पाको न्युरोड । बुबाले न्युरोडको घर बेचेर धेरै ठाउँ चहारेपछि बल्लबल्ल सन् १९७० को सुरुतिर ओमबहाल टोलमा एउटा सानो होटल चलाउनुभयो । डेरा पनि त्यहीँ थियो । ओमबहाल र न्युरोड पाँच मिनेटको बाटो हो । त्यति बेलासम्म वसन्तपुरको डबलीमा इँटा बिछ्याइएको थिएन । धुले नै थियो त्यो । एकपटक तिहारमा दाइहरूले त्यही माटोमा धँसेर रकेट उडाउँदा त्यो सँगैको गद्दी बैठकको झ्याल फोडेर भित्र छिरेको थियो । दाइहरू म सानो फुच्चेलाई त्यहीँ छोडेर कुलेलम ठोक्नुभयो, मचाहिँ त्यहीँ बसेर रोइरहेँ ।

वसन्तपुर क्षेत्र त्यति बेलै पर्यटकीय स्थल थियो । पुरातातात्तिवक महत्वका मल्लकालीन दरबार, थुप्रै मठमन्दिर अनि जीवित देवी कुमारी भएकाले । अहिलेको गुल्जार ठमेलमा त्यति बेलासम्म स्याल कराउँथ्यो । काठमाडौं घुम्न आउने मध्यमवर्गीय पर्यटकहरू वसन्तपुर वरिपरिकै विभिन्न लजमा बस्ने गर्थे । उनीहरू त्यही छेउछाउ खानेपिउने गर्थे ।

तिनै सानासाना लज र होटल रेस्टुरेन्टमध्ये केहीमा मजाले गाँजा पनि तान्न पाइन्थ्यो ।
झ्वःछेँ टोलमा हिप्पिज्म यही गाँजाको धुवाँसँगै फैलिएको थियो । त्यति बेला झ्वःछेँमा प्रचलित नशालु पदार्थमा गाँजाभन्दा पनि ह्यासिस प्रमुख थियो । कालो अलकत्राजस्तो ह्यासिस अर्थात् गाँजाको बोटमा टुप्पोलाई दुई हत्केलाले रगडेपछि बस्ने कालो मयल ।

त्यस्तो ह्यासिस झ्वःछेँभरि फालाफाल किन्न पाइन्थ्यो । झ्वःछेँ र वसन्तपुरबीचको त्यो फराकिलो गल्ली पूरै ह्यासिस बजार थियो । धेरैजसो ठाउँमा यहाँ ‘चिया पाइन्छ’ भनेर लेखिएजसरी नै ‘यहाँ ह्यासिस पाइन्छ’ भनेर साइनबोर्र्ड लेखेर टाँगिएको हुन्थ्यो ।
त्यति बेला युरोप अमेरिकातिर गाँजा प्रतिबन्धित थियो । तर, नेपालमा त्यसरी खुला बिक्री भइरहेको देखेर पर्यटकहरू वसन्तपुरको दरबारमात्र होइन खुला ह्यासिस बजार हेर्न पनि झ्वःछेँ आउने गर्थे ।
०००
झ्वःछेँको ह्यासिस बजार आफैंमा एउटा अनौठो बजार थियो । ओमबहाल टोलमा ‘होटल इडन’ खोलिएपछि यो बजार अझ विस्तार भयो । होटल इडनले यसलाई अन्तर्राष्ट्रियस्तरको आयाम दिलायो । होटलका मालिक थिए, डीडी शर्मा (देवीदत्त शर्मा) । उनी ओमबहाल टोलमा आउँदा युगकवि सिद्धिचरण श्रेष्ठको घरसामुन्ने रहेको एउटा पुरानो घरमा डेरा बसेका थिए ।

उनका दुई छोरी थिए । जेठीलाई टोलका ठिटाहरू ‘डम्फुचा’ भनी जिस्क्याउने गर्थे । सोही पुरानो घरमा बस्दाबस्दै डीडी शर्माले अलि पर ठूलो भवन बनाउन थाले । त्यो नौ तलाको भवन थियो । घर बनाउँदा छरछिमेकसँग अक्सर झगडा परिरहन्थ्यो । तत्कालीन काठमाडौंकै सबैभन्दा अग्लो उक्त भवनमा लिफ्ट पनि राखिएको थियो ।

ओमबहालका तत्कालीन ‘डन’हरू लिफ्टको मजा लिनकै लागि होटल इडन छिरिरहन्थे । म फुच्चे नै थिएँ । मेरा एकजना साथी थिए, राजाराम । उनको घरमा सेतो परेवा पालिराखेको थियो । हामी दुईजना ‘माथि छतमा हाम्रो परेवा बसेछ है, लिन जानुपर्‍यो’ भन्दै लिफ्ट चढेर माथि जान्थ्यौ) । र, पूरा काठमाडौंको दृश्यावलोकन गथ्र्यौं । फर्केर तल आउँदा होटलका कर्मचारीहरूले सोध्थे, ‘परेवा खोइ त ? ’ हामी जवाफ दिन्थ्यौं, ‘ढुंगा हानेको त उडेर गएछ ।’

 

अहिले साँझ पर्नेबित्तिकै भर्खरका युवकयुवतीका जोडीले फ्रिक स्ट्रिट उन्मादित हुन थाल्छ । फ्रिक स्ट्रिट आफ्नो काँधमा पुरानो विरासत बोकेर नयाँ कलेवरसहित रंगीन हुन थालेको छ । फ्रिक स्ट्रिट पुग्दा कतिलाई पुरानो हिप्पिज्मको सम्झना हुँदो हो । तर, मलाई भने पुरानो घाउ चहर्‍याइरहेको हुन्छ ।

‘होटल इडन’ ह्यासिसको ठूलो अखडा नै थियो । साथै होलसेलर पनि । झ्वःछेँका अरू खुद्रा ह्यासिस व्यापारीहरू थोकमा ह्यासिस किन्न त्यहीँ पुग्ने गर्थे । उक्त होटलको छतमा खोलिएको रेस्टुरेन्टमा ह्यासिसका चिया, कफीलगायत विभिन्न परिकार पाइन्थ्यो । उसले आफ्नो विज्ञापन गर्न ‘इडन ह्यासिस सेन्टर’ भनी लेखिएको पोस्टर नै बाँड्ने गथ्र्यो । कुनैकुनै पोस्टरमा क्यालेन्डर पनि हुन्थ्यो । त्यस्तो क्यालेन्डर ओमबहालका प्रायः सबै घरमा झुन्डिएका हुन्थे । हाम्रो पसलमा पनि झुन्डिएको थियो । त्यसमा ‘शुद्ध, असली ह्यासिसका लागि आफूलाई सम्झनुहोस्’ भन्ने सन्देशका साथै विभिन्न प्रकारका ह्यासिसको नाम पनि छापिएको हुन्थ्यो ।

बजारमा कमसल खालका ह्यासिसको पनि बिगबिगी थियो । त्यसैले ‘होटल इडन’को ह्यासिस सेन्टरले ‘नक्कली ह्यासिसबाट सावधान !’ भन्ने खालको सन्देश लेखिएका पम्प्लेटहरू पनि भित्ताभित्तामा टाँस्ने गरेको थियो ।

होटल इडनको आक्रामक पकडपछि ह्यासिस बजार ह्यासिसमा मात्र सीमित रहेन । त्यहाँ बिस्तारै बिस्तारै ब्राउन सुगरले पनि प्रवेश पाउन थाल्यो । यो नयाँ लागूपदार्थलाई ‘स्म्याक’ भनिन्थ्यो । स्म्याक दुई किसिमका हुन्थे- ह्वाइट सुगर र ब्राउन सुगर । ह्वाइट महँगो हुन्थ्यो, ब्राउन अलि सस्तो ।

बजारमा स्म्याकलाई स्थापित गराउन होटल इडनले पहिल्यै ह्यासिसको लत लागिसकेका ओमबहालका १०/१२ जना स्थानीय केटालाई निःशुल्क ह्वाइट सुगर वितरण सुरु गरेको थियो । उनीहरू यो लागूपदार्थको लतमा छुट्नै नसक्ने गरी फसेपछि स्म्याक बेच्न उनीहरूलाई नै प्रयोग गरियो । यसरी नेपाल भित्रिएको स्म्याकको पहिलो लटमै ‘गिनिपिग’ बनाइएका केही स्थानीय केटामध्ये मेरा दाजु पनि एक थिए ।
०००
हामी तीन भाइ थियौं । म कान्छो । एक बहिनी । माहिलो दाइ प्रतिभाशाली थिए । उनी थांका लेख्न र छ्वालीको चित्र बनाउन निपुण थिए । तर, साथीभाइसँगै उनी पनि झ्वःछेँमा सुनियोजित रूपमै फैलाइएको लागूपदार्थको जञ्जालमा फस्न पुगे र दुव्र्यसनी बने । सुरुमा अरूजस्तै उनी पनि ह्यासिस राखिएको चुरोट खाने गर्थे । उनी कोठामा बस्दा पूरा घरै ह्यासिस गन्हाउँथ्यो ।

त्यसैले घरमा आमाबा उनलाई सधैं गाली गरिरहनुहुन्थ्यो । त्यसैले उनी अक्सर लुकीलुकी अथवा बाहिरै ह्यासिस खाने गर्थे । तर, स्म्याक आएपछि उनको खाने बानी, शैली र ठाउँ फरक हुन थाल्यो । अर्थात् उनी बाहिर होइन कोठामै बसेर स्म्याक खान थाले । त्यो खाँदा धुवाँ पनि नआउने, गन्ध पनि नहुने । उनले खाएको चीज के हो कसैलाई पनि थाहा थिएन । त्यसैले उनले ह्यासिस खाए भनेर गाली गर्नुहुने हाम्रा बाआमाले आफ्नैअगाडि स्म्याक तानिरहँदा पनि केही भन्नुहुन्थेन । बरु छोराले अब ह्यासिस खानचाहिँ छोडिसकेछ भनेर सन्तोष मान्नुहुन्थ्यो ।

दाइको अफिसियल नाम सुरेन्द्र भए पनि घरमा उनलाई सानु अर्थात् ‘सानुचा’ भनिन्थ्यो । छिटो बोलाउँदा ‘सान्चा’ हुन्थ्यो । साथीहरू पनि उनलाई सान्चा नै भन्थे । ओमबहालमा सान्चा दाइलगायत उनकै साथीहरू जोरगणेशतिर बस्ने ढालेचा, केशव, राम, चन्द्र आदि पहिलो लटका दुव्र्यसनी थिए । स्म्याक अर्कै खालको लागूपदार्थ थियो जो अरूभन्दा कैयौं गुणा खतरनाक हुन्छ भन्ने त्यति बेलासम्म कसैलाई थाहा थिएन ।

दाइ त्यो दुर्व्यसनमा लागेपछि घरबाट सामानहरू धमाधम गायब हुन थाले । सुरुमा आमाको पूजाका सामानहरू, कांसको थाल, सुकुन्दा आदि सामान हराउन थाले । पछि आमाका साडीहरू गायब हुन थाले । त्यसपछि मात्रै थाहा भयो, घरबाट यी सबै सामान चोर्ने चोर त अरू कोही नभएर आफ्नै माहिलो छोरो पो रहेछ । त्यसपछि बल्ल थाहा भयो, माहिलो दाइलाई त्यसरी घरकै सामान चोर्न बाध्य तुल्याउने त्यो खराब तत्व स्म्याक रहेछ । यो त ह्यासिसभन्दा खतरनाक पनि हुने रहेछ !

दाइको खराब बानीबारे घरले थाहा पाउँदा निकै ढिलो भइसकेको थियो । दाइ त्यो जालमा उम्किनै नसकिने गरी फसिसकेका थिए । त्यसपछि हाम्रो घर नर्कमा बदलियो । एउटा परिवारलाई सिंगै तहसनहस पार्न त्यो घरमा एउटा दुव्र्यसनी जन्माइदिए पुग्दो रहेछ । स्म्याक किन्न दाइले घरमा चोरी गर्ने, पैसाका लागि झगडा गर्न सुरु गरेपछि आफ्नै सदस्यबाट परिवार र घर असुरक्षित हुन थाल्यो । घरमा सानोभन्दा सानो सामानसम्म पनि खुला छोड्न नसकिने भयो । यहाँसम्म कि दाइले मेरो पढाइका लागि चाहिने एउटा अंग्रेजी डिक्सनरीसमेत बेचेर आफ्नो लत मेटाए ।

त्यति बेला उनी गोरखापत्र संस्थानमा जागिरे थिए । राम्रो चित्र बनाउने भएकाले गोरखापत्रका कला प्रमुख एवं प्रख्यात चित्रकार शंकरराजसिं सुवालले उनलाई जागिर लगाइदिनुभएको थियो । शंकरराज उनलाई अत्यन्तै माया गर्नुहुन्थ्यो । उनैले एकचोटि दाइलाई एक महिनाका लागि भारतको कलकत्तामा तालिम लिन पठाउनुभएको थियो । कलकत्ता जाँदा पनि दाइले आफूलाई चाहिने स्म्याक यहीँबाट बोकेर लगेका थिए । तर आफूले लगेको स्म्याक एक महिनालाई नपुग्ने भएपछि दाइ तालिम बीचैमा छोडेर फर्के ।

एकपटक गोरखापत्र संस्थानको गेटमा दाइ समातिए । उनी संस्थानको सामान चोरेर निस्कँदै गर्दा समातिएका रहेछन् । हिसाबले उनी कारबाहीमा परी बर्खास्त हुनुपर्ने थियो । तर, उनै शंकरराजले बीचको बाटो निकाली राजीनामा गर्न लगाउनुभयो । त्यति बेलासम्म उनी पूरै जंकी बनिसकेका थिए । बिहानदेखि बेलुकीसम्मै बिनाइन्जेक्सन बाँच्नसक्ने अवस्थामा उनी थिएनन् । इन्जेक्सन नलिए शरीर एकदम कामेर उत्पातै मच्चाउँथ्यो । नाडीमा प्वालै प्वाल थियो । नाडीमा इन्जेक्सन हान्ने ठाउँ नभएर उनी खुट्टामा नशा खोज्दै सुई लाउने गर्थे ।

त्यसपछि हामी ओमबहालको फ्रिक स्ट्रिट छोडेर बत्तीसपुतलीको आफ्नै घरमा सर्‍यौं । त्यहाँ सरेको केही वर्ष दाइ सुध्रिएका पनि थिए । पछि फेरि पुरानै बाटोमा लागे । उनको कारणले घरमात्र होइन बत्तीसपुतलीको त्यो राम मन्दिर क्षेत्र पूरै तनावग्रस्त बनिसकेको थियो । पछि थाहा भयो, उनकै संगतमा लागेर राम मन्दिर छेउछाउका समेत कतिपय युवा लागूपदार्थको नशामा फसिसकेका रहेछन् ।

घरमा कुनै न कुनै युवाका आमाबा गुनासो लिएर सधैंजसो आइरहेका हुन्थे । तर, हामीसँग गुनासो सुनेर चुपचाप बस्नेबाहेक अर्को उपाय थिएन । कतिपटक उनले आमालाई समेत खुकुरी प्रहार गरे । उनीबाट हामी आफैं त सुरक्षित थिएनौं, अरूका विषयमा के सोच्नु !
०००
हामीले भोगेको हिप्पिज्म किताबमा बयान गरिने स्वतन्त्रताको उन्मादमात्र थिएन । त्यहाँ गिन्सबर्गको आवेगयुक्त कवितामात्र थिएन । त्यहाँ भियतनाम युद्धको विरुद्धमा उठेको आक्रोशमात्र थिएन, त्यहाँ त परिवार र समाज विघटनको चिसो स्याँठ थियो । मृत्युको अँध्यारो बाटोमा डोर्‍याउने कुलत थियो ।

दोस्रो विश्वयुद्धपछि पश्चिमा समाजमा आर्थिक विघटनले सिर्जेको निराशाबाट भागेका हिप्पीहरूको तथाकथित फ्रिडमको निरीह सिकार थिए मेरो दाजु; जो नेपाली समाजमा लागूको बिक्री गर्ने स्वार्थ समूहको पहिलो लटको गिनिपिग भए; जो आफ्नो क्षमता, सिर्जनशीलता र प्रतिभालाई स्म्याकको कुलतमा सक्न बाध्य भए; जसले समाजमा अपरिचित सन्त्रास हुले । आफू विक्षिप्त बाँचे र निरीह मृत्यु मरे ।
०००
एक दिन दाजु कोठामा मृत भेटिए । दिउँसो कोठा छिरेका दाजु भोलिपल्टसमेत ननिस्केपछि हामीले जबर्जस्ती झ्याल खोलेर हेर्दा उनलाई ढोकैमा घोप्टिरहेको अवस्थामा पायौं । हलचल नगरेपछि प्रहरीलाई खबर गर्‍यौं । प्रहरीले झ्यालको रेलिङ झिकेर भित्र पसी हेर्दा उनको मृत्यु भइसकेको थियो । इन्जेक्सन हान्न खोज्दा खाली सिरिन्जबाटै सुई लगाएकाले उनको मृत्यु भएको रहेछ । वीर अस्पतालमा डाक्टर नपाएर तीन दिनपछि मात्रै पोस्टमार्टम हुन सक्यो । चौथो दिनमा अन्तिम संस्कार भयो ।

उनको मृत्युपछि बल्ल हामीले घरमा आल्मुनियम र प्लास्टिकका भाँडाकुँडा हटाएर स्टिलको थालमा खान सुरु गर्‍यौं । उनको मृत्युको केही वर्षपछि मैले थाहा पाएँ— उनका जंकी साथीहरू ढालेचा र केशवको पनि मृत्यु भइसकेछ ।
०००
दाइले स्म्याक सुरु गरेकै ताका नेपालमा ह्यासिसमाथि प्रतिबन्ध लाग्यो । अमेरिकाका तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले नेपाल सरकारलाई सीधै दबाब दिएर ह्यासिसमाथि प्रतिबन्ध लगाएको भन्ने पढेको छु । ह्यासिसमा प्रतिबन्ध लाग्नेबित्तिकै प्रहरीले होटल इडनमा छापा मार्‍यो । त्यसका मालिक डीडी शर्मा भागेर भारतको बम्बई पुगे । इडन भने महिनौंसम्म प्रहरी निगरानीमा रह्यो ।

त्यो प्रतिबन्धपछि फ्रिक स्ट्रिटका जम्मै ह्यासिस सेन्टरहरूको साइनबोर्ड उतारियो । लागूऔषधको कारोबार गर्नेहरू समातिन थाले । केही समय फ्रिक स्ट्रिटमा साइनबोर्डबिनाका ह्यासिस सेन्टरहरू चली नै रहे । प्रहरी जवानहरू नै समातिएका जंकीहरूबाट बरामद भएका स्म्याक वसन्तपुरमा ल्याएर बेचिरहेका हुन्थे । प्रहरीको कडा निगरानीपछि त्यो पनि क्रमशः बन्द हुँदै गयो ।

ह्यासिस सेन्टरहरू बन्द भए पनि संसारभर फैलिएको फ्रिक स्ट्रिट र खुला ह्यासिस बजारको चर्चा भने बन्द भएन । हिप्पी जीवनमा रमाउने संसारका थुप्रै सेलिब्रेटीसमेत फ्रिक स्ट्रिट घुम्न आएको चर्चा सुनिन्छ । त्यही हिप्पी जीवनमा आधारित भएर बलिउडका लोकप्रिय अभिनेता देव आनन्दले ‘हरे राम हरे कृष्ण’ फिल्म बनाएका थिए जसको अधिकांश सुटिङ यहीँ भएको थियो ।

फ्रिक स्ट्रिटको ठीक चौबाटोमा एउटा अग्लो घर छ । जसको एउटा कुनामा ‘हरे राम हरे राम, राम राम हरे हरे, हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे’ भन्ने श्लोक लेखिएको छ । त्यो घर र श्लोक अहिले पनि त्यहीँ छ । देव आनन्द स्पट हन्टमा आएका बेला उक्त घरमा लेखिएको त्यो श्लोक एकछिन रोकेर पढे । पछि उनले त्यही श्लोकबाट आफ्नो फिल्मको नाम नै ‘हरे राम हरे कृष्ण’ राखे । काष्ठमण्डपमा उक्त फिल्मको सुटिङ अक्सर राति हुने गथ्र्यो । मेरो ठूलो दाजु पसल छोडेर भागीभागी सुटिङ हेर्न गइरहन्थे ।

त्यति बेला वसन्तपुरमा हरेकजसो बिहान हिप्पीहरू पसल थापिरहेका देख्न पाइन्थ्यो । त्यो उनीहरूको आफ्नै सामान बेच्ने पसल थियो । उनीहरू आफ्नो देशबाट लगाएर आएको जिन्स ज्याकेट, पाइन्टजस्ता लुगाफाटा जम्मै फुकालेर बेच्थे र फ्रिक स्ट्रिटका पसलहरूमा बेच्न राखिएका हिप्पी शैलीका कपडा किनेर लगाउने गर्थे । त्यति बेला फ्रिक स्ट्रिट पूरैजसो त्यस्तै पसलहरूले भरिएको हुन्थ्यो । र, पसलमा बस्ने अधबैंसे साउजी÷साउनीहरूसमेत कनिकुथी अंग्रेजी बोल्थे ।
०००
फ्रिक स्ट्रिट अन्तर्राष्ट्रिय रूपमै प्रचलित नाम हो । तर, फ्रिक स्ट्रिटका स्थानीय रैथानेहरूलाई भने आफ्नो झ्वःछेँ–ओमबहाल टोलको नाम फेरिएर फ्रिक स्ट्रिट बनेको पत्तै छैन । अझै पनि यहाँका पुराना बूढापाकालाई आफ्नो घर त्यही ऐतिहासिक ‘फ्रिक स्ट्रिट टोल’मा पर्छ भन्ने थाहा छैन । त्यसो त अहिले फ्रिक स्ट्रिटमा त्यो ‘फ्रिक स्ट्रिट’ छैन ।

तथापि त्यसको मगमग भने त्यहाँ अझ पनि सुँघ्न सकिन्छ । कुनै बेला जंकी र हिप्पीहरूले भरिने फ्रिक स्ट्रिटले अहिले आफ्नो रूप फेरिसकेको छ । अहिले साँझ पर्नेबित्तिकै भर्खरका युवकयुवतीका जोडीले फ्रिक स्ट्रिट उन्मादित हुन थाल्छ । फ्रिक स्ट्रिट आफ्नो काँधमा पुरानो विरासत बोकेर नयाँ कलेवरसहित रंगीन हुन थालेको छ । फ्रिक स्ट्रिट पुग्दा कतिलाई पुरानो हिप्पिज्मको सम्झना हुँदो हो । तर मलाई भने पुरानो घाउ चहर्‍याइरहेको हुन्छ ।


 
Posted on 01-21-17 8:16 PM     [Snapshot: 182]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
yo sajha bros, anyone got any update on TPS?
🙏 दलाल स्ट्रिट 🙏
हेरेको तिमीलाइ आँखाले हैन।
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
Conservative discussions
ॐ श्री स्वस्थानी ब्रत कथा
लौ .. संसद नै बिघठन गरिदिएछन ओलिबाले
उस्तै उस्तै हामी
Looking for Potential Match
U.S State Dept for Nepal - Level 4: Do Not Travel Nepal #TPS
Love Letters From The Past--SITARA
Ushering in new era of communism ...
Rain Rain .. Raut
श्राद्द
अन्तरद्वन्द
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
Photo of the day
Amby Writes:- My Caffeine Indulgence- I
What stocks to buy now in 2021?
Nas and The Bokas: Coming to a Night Club near you
sarai chada vaye keti haru
नेपाल र अफगानिस्थानको टि पि एस रिडेजिकनेसन साथसाथै हने कुरो छ
is Rato Bangala school cheating?
विद्या तेरो सिन्दूर खोइ, केपी ओली तेरो पोइ ..
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters