देहात एक्सप्रेस-१ चन्द्र घिमिरे मान्छेले कुल्चेरै औलो भगाएको मधेश तिर मिनपचासमा पुग्दा कालाजारले डढेका र पाटाखाडीमा पटुवा बनेका मामाहरू घमौराले चिलेको म भान्जाबाबुलाई सिँयाल ओताउँदै दौडन्थे । कट्टु नअडिने छोटुसँग 'बल्छी' थाप्थ्यौँ माछाको साटो पथ्र्यो अयोग्य भ्यागुत्ता हिलोबाट पइँया ठेलेर उद्धार गर्दिनु पर्ने साधुलालको नालायक बैलगाडा जोगीकुटीको बगैँचाबाट चोरेको आँपभन्दा जोगीबाट खाएका चर्का गाली निगुरो टिप्दा हाम्लाई झम्टने अक्कडो गोमन साँप नाङ्गै पौडी खेल्दा नियमापत्ति नगर्ने र हरेकको गोप्य भूगोल पढाउने धैँती खोला मंसिरमा खमारमा दाइँ र पत्तपत्ति धुवाँएको बबुवाको बैराग्य गीत धान उठाएको खेतबाट हिउँदमा डनजस्तो धान चोर मुसो सपरिवार पक्रने गोलु मुसर खेत पटाउँदा पानी झगडा कुटाकुट गर्ने प्रियजन पैनी र हरुवा मट्काको ताडी पिलाउने हटारु तरुनी र हल्लिँदै घर फिर्ने ललुवाको रहस्यमय सम्बन्ध टिङ-टिङ घण्टीको आवाज नजिकिँदा बस्तीको अर्थतन्त्र हाँक्ने बनियाँ तेली उसको सवारी बुझने हामी भुराभुरी घाँटीमा लत्रेको कौडाको मालाले मालिकको औकात बताउने भैँसीहरू छाप्रोमा हररात लोग्नेसँग गृहयुद्ध पछि रुँदै आँग्नामा घोषणा गर्थी 'मरगइल रे...' तीनपुस्ते गाली प्रक्षेपण गर्ने हरियाकी स्वास्नीको त्यो नारी-अधिकार पँजाबबाट पैसा कमाएको हैसियत घन्काउँथ्यो छिमेकी गाँवबाट बम्बैया गीत बजाउने भुरेलालको माइक बस्तीमा लाग्ने डाका र चुनाउ दुवैबाट लुटिएको बात गर्थ्या चिया पसल के-के हुन्थेन मधेशमा ! जाँदा आमासित हाम्रा पुराना लुगाफाटा पनि जान्थे बाँडेर बस्तीलाई देहातको दुःख छोप्नु रैछ । ('डन्ट टच मी, ओ कविताहरू !' सङ्ग्रहका कवि चन्द्र घिमिरेको आउँदै हरेको नयाँ कवितासङ्ग्रहबाट)
Rudramati · Jan 20, 2014 2:25 PM · 12,052 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion