ध्रुवेको डायरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ध्रुवेको डायरी Saturday, 22 December 2012 16:29 वसन्त बस्नेत    मेरो नाम ध्रुव हो। म एक सामान्य हात्ती हुँ। परिस्थितिले मलाई 'ध्रुवे' बनाइदियो।डायरी लेख्न थालेको धेरै भएको छैन। मेरो पढ्नेलेख्ने बानी पटक्कै छैन। म ठूलो भएको पढेर हो र? तर यहाँ प्रेमको कुरो छ। प्रेमले मान्छेलाई कि कवि बनाउँछ भन्छन्, कि पागल। मैले दोस्रो बाटो रोजें त के बिराएँ? बुधबार बेलुकी ममाथि गोली हानियो। शरीरमा रगतका छिर्काहरू लत्पतिएका छन्। कुनै पनि बेला मारिन सक्छु भन्ने लागेपछि डायरी मेन्टेन गर्न थालेको छु। क्रान्तिकारी स्टाइल!म ३५ वर्षको भएँ। नेपालीको औसत आयुभन्दा हात्तीको उमेर २० वर्ष बढी छ। नेपालीले के फूर्ति लाउनु हामीसँग? हिटलिस्टमा मेरो नाम चढाएको छ रे सरकारले। नानीदेखि लागेको बानी गएको छैन। इतिहासमा कसले कति मारेको छ, तिनलाई पनि मार्नुपर्योल। नत्र मलाई पनि आममाफी दिनुपर्यो। ठूलालाई चैन, सानालाई ऐन गर्न पाइन्छ लोकतन्त्रमा? *** हात्तीले प्रेम गर्नु हुँदैन भनेर कहाँ लेखेको छ? मान्छेलाई लाग्दो हो- हावामा हात हल्लाउँदै गफ दिने, दुई खुट्टा टेकेर हिँड्ने, कुम जोर्नेमात्रै प्रेम बुझ्दछन्। हाम्रो पनि मन हुन्छ, जिन्दगी हुन्छ। बोल्न जान्दिनँ के भो! बाहिर हिटलरजस्तो देखिए पनि भित्र कोमल मुटु छ। मसँग गोरी इभा ब्राउन छैन। अरुतिर आँखा लाइएन। एउटी कल्कलाउँदी चञ्चलकली थिई। पछि रोगी भई। आहार, उपचार नपाएर उमेरमै मरी। श्वासमा, धड्कनमा उसैको नाम गुन्जिएजस्तो लाग्छ। कहिले रिस उठ्छ, कहिले शान्त हुन्छ। म जगतलाई मेरा भावना देखाउन बेलाबखत मान्छे तर्साउँछु। यो देशै यस्तै हो। नतर्साई कोही कसैलाई पुछ्दैन यार! मानिसहरू कुरै नबुझी बित्थामा मलाई मार्ने भन्दैछन्। सबभन्दा चर्को मानवअधिकार (पशुअधिकार) को कुरा गर्नेहरू अहिले कहाँ गए कुन्नि। काठमाडौंमा भुस्याहा कुकुर मार्नखोज्दा विरोध गर्नेहरू मेराबारे किन चुँ बोल्दैनन्। न्युज पढ्या थें- फ्रान्समा सर्कस देखाउन नेपालबाट लगिएका दुई हात्तीलाई टिबी भएपछि सुइ दिएर मार्न खोजिँदैछ। त्यसविरुद्ध राष्ट्रपति फ्रास्वाँ होल्लान्ड र कृषिमन्त्रीसामू उजुरी परेको छ। उहाँ त सरकार पनि हात्तीमैत्री छ। यहाँ मेरो यो हाल छ। नेपालको गीत गाएर यो उमेरसम्म हिँडियो। बरु उहिल्यै फ्रान्समा जन्मेको भए! मिडिया मेरै विरुद्धमा छन्। मानौं मान्छे बचाउने ठेक्का तिनले लिएका छन्। मेरो त कुरै छैन। धन्न ट्वीटे र फेसबुकेले सघाएका छन्। नत्र मेरो पक्षमा बोल्दिने कसले? प्रेस र अभिव्यक्ति स्वतन्त्रता हात्तीका लागि होइन रहेछ। मान्छे साह्रै स्वार्थी! आफ्नोबारे मात्रै सोच्छ। भ्यागुताको धार्नी नपुग्ने 'सहमति' सुन्दासुन्दा वाक्क जनताको ध्यान मैले डाइभर्ट गरिदिएँ। यो कम्ती ठूलो सफलता हो? मेरो गतिविधि सुनेर राष्ट्रपतिले पनि सल्लाहकारहरूलाई सोधेछन् 'हैन, यो देशमा कतिवटा शक्तिकेन्द्र छन्?' मलाई भने खुब चित्त बुझेको छ। अर्थ न बर्थका वक्तव्यले रिंगिएका जनताको मुड निःशुल्क फ्रेस गराइदिएँ मैले। अहिले त ओहो, अखबारमा मै छु, टिभीमा मै। रेडियो, अनलाइनमा मै। अखबारले मेरो नाममा परिशिष्टांक छाप्दैछन् रे - ध्रुवे विशेष। सेलिब्रिटी भइन्छ कि! मारिहाले भने त्यो दिन देख्नै नपाइने भो। यो देशै यस्तो। बाँचेकालाई मुर्दावाद, मरेपछि जिन्दावाद भन्छन्। काठमाडौंकेन्द्रित मिडियालाई कमसेकम चितवनसम्म ल्याइयो। चितवन राजधानी भएको भए यतिन्जेलसम्म त राजा भइन्थ्यो। *** बाउराम प्रधानमन्त्री भएपछि कतिका घर हान्दिए। म त झन् हात्ती। मलाई मार्ने निर्णय गर्नुअघि कमसेकम कुनै बेला टाउकाको मोल तोकिएका प्रधानमन्त्रीले बुझ्नुपर्ने हो, एक बेला हामी दुवैको बास जंगलमै थियो। फरक यत्ति हो, मलाई निकुञ्जमा सेनाले जोगाउँथ्यो, उनलाई लालसेनाले। अहिले त ती पनि एउटै भइसके। काठमाडौंको बाटो भत्काउन त्यत्रो डोजर लगाइयो। मलाई एउटी ढोई खोजिदिएको भए फ्रीमै सुँडले उडाइदिन्थें। मितव्ययिताको गुड्डी हाँक्ने प्रधानमन्त्रीले खै कुरो बुझ्या!   *** यहाँ कि सुकर्म गरेर चर्चित भइन्छ, कि कुकर्म गरेर। मैले नाम कमाउन खुबै ट्राइ गरें। विदेशी पनि बोकियो, स्वदेशी पनि। सेलिब्रिटीदेखि नेता, भ्रष्टाचारीदेखि सुन्दरी सबलाई पिठ्युँमा उठाइयो, हिँडियो। कहिल्यै कसैले बाल दिएन। माहुते नामको सानो ज्यानको मानिस चढ्थ्यो। सानो मान्छेका कति ठूला कुरा। जे भन्थ्यो, हेडक्वार्टरको सर्कुलर मानेर हुबहु टेरिन्थ्यो। फलामे अनुशासन। असल बन्नू, ठूलाको आदर गर्नू, सानालाई माया गर्नू भनेर नैतिक शिक्षा स्कुलमा पढिएकै थियो। बल गरेर पढेको भए पास भइन्थ्यो। फेल गरिस् भने गधाको जूनी पाउलास् भनेका थिए बाबुआमाले। संयोग पनि कस्तो, हात्ती भइयो। *** तीन वर्षअघि एउटीसँग यस्सो नजर के जुधेथ्यो। दिल हरिहाली। त्यसपछि के भो? जे हुनुथ्यो, त्यही भो। खानै नरुच्ने, निद्रै नपर्ने। के गरुँ कता जाऊँ भइरहने। के छुटेछुटेजस्तो के बिर्सेबिर्सेजस्तो हुने। हात्तीको जात। हिउँदको बेला यसै पनि मन भरङ भरङ गर्छ। फेब्रुअरी १४ तिर पुग्दा उखुपात नै हुन्छ। चञ्चलकली भेट्न जाने निर्णय गरें। चञ्चलकली मन पराउने अरु पनि थिए। मैले ताक्ने इरादा गरें। बीचमा 'कोही' आउनखोजेको थियो। सुँढैले साइड लाइदिएँ। अरु खास केही भएन, अगाडिको एउटा दाँतचाहिँ भाँच्चियो। प्रेमका नाममा भएको कुर्बानी त्यत्ति थियो। किताबमा पढेको काम लाग्यो- मौकामा हिरा फोर्नु। 'भ्यालेन्टाइन्स डे' वाले साइत छोपियो। २०६६ माघ २५ गतेको रात। होटल टाइगर टप्समा रमझम हुँदैथियो। छेवैको रिद्दीवीर होटलतिर लागियो। मेरो मुड बुझेर हो कि! दिउँसो चढ्न तयार हुनेहरू देख्नासाथ भागिहाले। चञ्चलकलीलाई यताउता खोजें। नदेखेपछि निराश भएँ। कतै ऊ अर्कैसँग...? सास रोकिएलाजस्तो भयो। हात्तीसारमा रहिछे चञ्चलकली। मलाई इशारा गरी। घरक्क ठेल्दा उघि्रने बारलाई हिन्दी फिल्मको हिरोले झैं परबाट उडेर या... दिएँ। चञ्चलकली सिधै मेरो बाहुपाशमा। उसलाई लिएर कता गइयो, के गरियो। सम्भि्कँदा कताकता तातो भएर आउँछ। त्यो सब यहाँ कसरी व्याख्या गरुँ! दिनरातहरू रोमान्समै बित्न थाले। मान्छे बोक्न छाडियो। लाग्थ्यो, सिंगै पृथ्वी मेरै वरिपरि घुमिरहेको छ। अब किन कसैलाई गनिराखुँ? भ्यालेन्टाइन्स डेका दिन चञ्चलकली उडाएपछि उता कुनचाहिँ खैरेले मेरो नाम भ्यालेन्टिनो राखिदिएछ। नारायणगोपालको गीतै छ- म जे छु ठिकै छु, बिथोल्न नआऊ। हामी पशुको जे मन लाग्यो त्यो नाम राख्ने अधिकार मान्छेले कहाँबाट पाए? त्यसमाथि विदेशीले? राष्ट्रियता जोगाउन बंकर खन्नेदेखि सिमानामा मार्चपास गर्नेसम्म किन कोही बोल्दैन? प्रेमकथा लामो छैन। मसँग बस्न थालेको केही महिनामै चञ्चलकली बिरामी परी। बिचरी सुरुमै दुब्ली थिई। शरीरमा बल थिएन। मेरा अनेकन रहर पूरा गर्ने सामर्थ्य नरहेको म बुझ्थें। हात्तीको देखाउने र चपाउने दाँत बेग्लै हुन्छ भन्छन्। सोच्ने भनेको दिमागले हो, दाँतले हो र! मानिसहरूलाई थाहै छैन, यस्तो बेला म कसरी चित्त बुझाउँथे। पिठ्यूँपछाडि त्यस्सै कुरा काट्छन्। हुन त म हिजोआज कसैलाई अघि पर्न पनि कहाँ दिन्छु र! चञ्चलकली बिरामी थिई। जंगलमा कहाँ अस्पताल, कहाँ क्लिनिक। हाम्रो जंगलमा पसेर हाम्रै विरुद्धमा खोर बनाउनेले अस्पताल बनाउन किन सक्दैनन्? जुन राज्यले खान, लाउन, बाँच्न दिँदैन, त्यसलाई जेल बनाउने, गोली हान्ने अधिकार हुन्छ? उपचार नपाएरै ऊ मरी। सरकारका मान्छेले प्रचार गरे, 'मैले चञ्चलकलीलाई बिरामी बनाएँ, अनि मारें।' बोल्न आउने भए खण्डन गर्थे। मिडियाका मान्छे चिनेको भए पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्थें। मेरो कथा सुन्दिने कसले! बोल्न नपाएपछि जे गर्दा अरुले सुन्छन्। त्यही गर्नुपर्योत। साँचो प्रेमले फटाहालाई पनि ज्ञानी बनाउँछ। त्यही प्रेम असफल भयो भने पागल भइँदैन? अनर्गल आरोप लगाउनेहरूलाई देखाइदिनुथियो, प्रेमिका गुमाएको झोंकमा दुई चारलाई हान्दिएँ। सुन्दैछु, फेरि मान्छेहरू प्रचार गर्दैछन्, मैले १५ लाई मारिसकें रे। गन्न जान्दैनन् कि के हो? स्कुलमा राम्ररी गणित पढेको भए पो! म पहिले गाउँ पस्दिनथें। मान्छे जब जंगल पस्न थाले, यो मेरा लागि सुरक्षित रहेन। त्यसमाथि अहिले त रेडियोकलर जोडेका छन् जहीँतहीँ। मेराविरुद्धमा सूचना संकलन गर्न सरकारले तलब दिएर सुराकी खटाएको छ। सरकारमा बस्नेहरू उहिले मसँगै थिए। नयाँ जनवाद ल्याउन धन भए धन नत्र जन देऊ भन्थे। मेरो सुँढले पन्छाएर बनाएको गोहो भएर हिँड्थे। आज तिनको वर्ग फेरियो। म हात्ती नै रहें। समानुपातिक संविधानसभा हुन्छ भनेर एक दिन हाम्रो पनि नाम कसो नआउला भनेर ट्याक्क भोट खसालें। अस्ति सुनें, 'संविधान बनेन। संविधानसभाको पनि चञ्चलकलीकै हाल भयो। अब कहिल्यै फर्कदैन रे। देश यस्तो छ। त्यसमाथि प्रेम पनि छुटेको छ। अनि रिस उठ्दैन? हात्तीको चाहिँ मन हुँदैन? ट्वीटेहरूले बाबुरामलाई खुबै दुःख दिइरहेका छन् भन्ने बुझ्दैछु। कुन दिन झोंकमा ट्वीटर बन्द गराइदेलान् र मेरो पक्षमा कसैले नबोल्ला भन्ने पीर छ। संसद नभएको बेला छ, सरकारले जे पनि गर्न सक्छ। सरकार पनि कस्तो! नगर्नुपर्ने सबै गर्छ। गर्नुपर्ने केही गर्दैन। पार्टीहरूको ताल हेरुँ न। कहिल्यै एकार्कासँग मिल्दैनन्। जाबो एउटा हात्ती मार्न सप्पै मिलेका छन्। कांग्रेस कम्युनिस्ट सबले मेरा विरुद्ध चक्काजाम गरे आज चितवनमा। निकुञ्जका केही गार्ड मेरो पक्षमै छन्। तर आपतका बेला आफ्ना भनिनेहरू पनि बिराना हुँदा रहेछन्। कस्सैले राम्रो नजरले हेर्दैन। प्रेमले मलाई एकलकाँटे बनाइदियो यार। प्रेम पनि कस्तो दिनमा गरिएछ। न मर्न दिन्छ, न चैनले बाँच्न दिन्छ। प्रेम भनेकै जैविक। तालिम लिएर प्रेम गर्छ कसैले? नेपालीहरू इतिहास पढ्छन् तर बुझ्दैनन्। अफिसियल इतिहास मान्ने हो भने युवराज दिपेन्द्र शाहले प्रेम गर्न नपाएकै झोंकमा आमाबाबु र सबलाई ठोकिदिएको होइन? दिपेन्द्र र मेरो बीचमा के अन्तर छ र? उनी राजाका छोरा भए, म निर्धो हात्ती। वर्ग नमिलेर के भो! हाम्रो व्यथा एउटै छ। एक ट्वीटेको ट्वीट पढ्याथें, 'मेरो उपद्रो र लेखक ध्रुवचन्द्र गौतमको सत्तरीऔं जन्मदिन एकैदिन परेछ- पुस दुई।' डाक्टर धु्रवचन्द्र सरको नामै बिगारेर 'धु्रवे' भनेकामा बुढा आवेशमा छन् रे। साहित्य समाजको ऐना हो भनेको सही रहेछ। म समाजजस्तो भएँ, उनी मेरा ऐना। मत्ता हात्ती र कुनै बेला हात्तीछाप चप्पल लगाउने मत्ता लेखक धु्रवचन्द्र सरबीच एकदिन 'जलसमारोह' गर्नुपर्ला। बुढासँग नबसेको धेरै भयो। हिन्दी गजल सुन्न खुब मन लाग्या छ। दुईचार मारियो होला। त्यस्ता हर्कत मच्चाउने आज कोही चरी भए, कोही चक्रे। कोही नेता भए कोही डन। सप्पैलाई राजनीतिक संरक्षण हुने, मलाई चाहिँ खै? पार्टीमा नलागेर दुःख पाइयो। एकदुई चौकी हानेपछि हात्तीको बथानमा मेरो सदस्यता खारेज भइसकेको छ। मान्छे पनि बहिष्कार गर्न लाग्या छन्। तिनकै गोजीभित्र हजारका नोटमा चाहिँ मै छु। मन पर्दैन भने हजारको नोटै बोक्न छाडे भो। किन ठूला कुरा गर्नु! खैर, त्यो नकोट्याउँ, त्यतातिर नजाउ। https://twitter.com/basantabas... http://www.nagariknews.com/nag...  

danphe · Dec 26, 2012 9:31 AM · 15,403 views

2 Replies

 Good one... i will share one paragraph in my facebook as well.

V2001 · Dec 26, 2012 10:23 AM

 Wow !! What a read....simply wow...... Awesome portrayal of current situation of our Nation....

ThahaChaena · Dec 26, 2012 10:45 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion