हेरेको तिमीलाइ आँखाले हैन।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हेरेको तिमीलाइ आँखाले हैन। भाग-१ धेरै कुरा गर्नु छ भन्ने रहर हुँदा हुँदै पनि, गर्न नसकिएको जस्तो । ठुलो सपनाहरुको लहर , तर हतार नभएको जस्तो मन। जिन्दगीमा के के नै गरुला भन्ने चाहना, तर यो सब के को लागि? के बाँच्नु मात्रै सबैथोक हो त? के होला त जिन्दगीको सार्थकता? घर, काम, स्कुल! मनभित्र यस्तै उदास बादलहरु मडारिरहेको बेलामा एकदिन जुनाले मलाई देखाइ परैबाट उसलाई । "त्यो केटा मलाई एकदम मन पर्छ। तर भौतिक रुपमा हैन नि, मानसिक अनी भित्री सुन्दरताको कारण मात्रै। त्यो एकदम हम्बल छ" जुना दुई बच्चाकी आमा भैसकी। तर उ एकदम इमान्दरीपुर्बक आफ्नो भावनाहरु ब्यक्त गर्छे, कुनै हिच्किचाहट बिना। म त्यस्तो गर्न सक्दिन। जुनाले देखाएको "इन्टर्न" लाई मैले पनि हेरे। भर्खरकै रहेछ, होला त्यस्तै २७-२८, तर पनि धेरै कलिलो देखिने भएर होला, उसले दार्ही र जुङा पालेको थ्यो। दुब्लो शरीर, सानो सानो कद, सानो आँखा, लाम्चो अनुहार, सिल्की कपाल। मेरो पहिलो हेराइमा उ केबल एउटा साधारण पुरुष थ्यो। यदी उ पेशाले भबिश्यको डक्टर नभएको भए शायद बिल्कुलै सामान्य खालको चरित्र हुन सक्थ्यो वास्तविक जिबनमा। तर उ सेतो कोटमा डक्टर भन्दा बढी कुनै रसियन लेखक जस्तो लाग्थ्यो मलाई। न त मेरो सम्झनामा कुनै रुसी लेखकको अनुहार प्रस्ट छैन। चेखबको केही कथाहरु मन पर्थे, त्यसैले मैले उसलाई चेखबको रुपमा कल्पना गरे। तर पछी मैले चेखबको फोटो हेर्दा धेरै आकर्शक लागेको थ्यो। यदी मैले उसलाई कुनै प्रसिद्द रुसी लेखकको रुपमा कल्पना नगरेको भए, शायद यो कथाको शुरु हुन्थेन। जुना म भन्दा पनि उमेरले सानी हुनु पर्छ, तर धेरै कुरामा उ म भन्दा धेरै व्याबहारिक छे। म शायद मिड्लाइफ क्राइसमा छु, मलाई धेरै कुराको अर्थ लाग्दैन। जस्तैकी माया प्रेम, घर, परिवार। सबैको आफ्नै आफ्नै परिभाषा हुन सक्छ जिबनको, बुझेर वा नबुझेर हो मलाई त खाली नाटक जस्तो लाग्छ । एउटा रुटिन जस्तो जिबन! राम्रो संस्कार, आफुभन्दा सक्षम जिबनसाथी, सामाजिक मान्यताको लागि विवाह र सन्तान, राम्रो जागिर, घर, बैँक ब्यालेन्स र एकोहोरो जिन्दगी। मलाई अत्यास लाग्छ यो रुटिन देखी। जुना र मेरो जिबनमा पनि फरक छ। उसको घर छ, परिवार छ र शायद माया पनि। मेरो घर मात्रै छ। जुनालाई “हम्बल” लागेको मान्छेलाई मेरो मनले त्यती सम्झीरहेन। तर एकदिन म लन्चको लागि के मगाउने भनेर साथीहरुसँग अफिसमा कुरा गर्दैथे, कसैले ढोका पुरा नखोली मेरो नाम बोलायो। मैले ढोकामा हेरे। हम्बल मान्छे मलाई हेरिरहेको थ्यो। उसको निलो र खरानी जस्तो आँखाहरु मैले देखे। "के तपाईं रुम नं २०१ को बिरामीको लागि कफी लागि दिनु हुन्छ, प्लिज?" म स्तब्ध। मेरो आँखाहरु स्तब्ध। मानौ उसका निला आँखाहरुले मेरो मनको गहिराइ सम्म स्पर्श गरेको छ। मेरो धरातल डगमगाएको छ। मेरो मन स्तब्ध। मेरा आँखाहरु अब उसको सुन्दर आँखाहरुबाट अलगिन्न चाहदैनन। अचानक मेरो वरिपरिको सबै आवाज बन्द हुन्छन र उसको "प्लिज" मात्रै गुन्जिरहन्छ। साँच्चै अती साधारण जस्तो देखिने यो मान्छेको आँखामा के छ, म पत्याउनै सकिरहेकी थिएन। "क्रेजी? सुन्नु भयो?" म झसँग भए। जुनाले एक चोटि परिचय गराएकी थि, उ सँग धेरै पहिले। उसलाई अझै मेरो नाम याद रहेछ। "हजुर, के भन्नु भयो? सरी!" "रुम नँ २०१ मा कफी लागि दिनु हुन्छ, प्लिज?" उही अनुरोध, उही मिठास अनि जुनाले भने झै “हम्बलनेस”। "स्योर!" मैले आफ्नो मनलाई फकाए। मलाई उ सँग अझ धेरै कुरा गर्न मन थ्यो, तर उ हतारमा जस्तो देखिन्थ्यो। उ "धन्यबाद!" भन्दै गयो तर मेरो मनमा उसको निला आँखाहरु गढी रहे। मलाई दिनभरी छट्पटी जस्तो भैरह्यो। मेरो मनको तारमा मिठो संगीत भरेर उ कहाँ गयो? मलाई उ कहिले फर्केला भन्ने आशा लाग्न थाल्यो। अचानक बर्षौपछि मेरो मनमा रहरको टुसा फेरी पलाउन थाल्यो। सुकिसकेको पातमा हरियो रङ फैलिएको जस्तो लाग्न थाल्यो। मनको कुरा कसलाई थाहा हुन्छ? कहिले कुन रङ फेरिरहन्छ? एक नजर, एक हेराइ, एक पल! त्यही एक दिनले मेरो जिबनमा ठुलो तरङ ल्याइदियो। मेरो मन बेलाबेलामा पखेटा फिजाएर उड्न चाहन्थ्यो। मलाई “हम्बल” मान्छेको बारेमा बुझ्न मन लाग्थ्यो। मैले उसको फेसबुक हेरे। प्रोफाइल फोटोमा उ एउटी सुन्दर केटीसँग औपचारिक पहिरनमा थ्यो। शायद कुनै बिशेष समयको हुनु पर्छ, उसले कालो टक्सीडो लगाएको थ्यो र उ सँगकी केटीले वाइन कलरको कक्टेल ड्रेस लगाएकी थी। त्यो केटीको कपाल सर्लक्क सिल्की लामो थ्यो, फोटोमा उ हम्बल भन्दा अग्ली देखिएकी थी। हम्बल शायद मेरो हाइटको हुनु पर्छ र केटीले हाइ हिल लगाएकी हुन सक्छे। तर त्यो केटी “हम्बल”को जोडीको रुपमा सुहाउदिनथी। उ कुनै प्रख्यात फेसन पत्रीकाको मोडेल जस्ती थी। तर "हम्बल" भोलिको साइकोलोजिस्ट हुँदैथ्यो, उ सँग प्रसस्त पैसा र प्रतिस्ठा पक्का थ्यो। । त्यो राम्री केटी उसको मंगेतर हुन सक्थी वा जिबन साथी। तर प्रोफाइल हेर्दा तिनिहरु बिबाहित जस्ता देखिदैनथे। मलाई फेरी आफ्नो उमेरको खयाल आयो। जिन्दगीको यस मोड्मा म आफुलाई प्रौढ भन्न रुचाउन तर मेरो अनुहारको छेउ छेउमा टल्किने चाँदी जस्तो कपालले मलाई नब यौबना भन्न पनि दिदैन। शरीरमा देखिएको परिवर्तनले मलाई कुनै लुगा लगाउन छेक्दैन, तर मनमा भने अरुले के भन्ला भन्ने डर जस्तो लगिरहन्छ। त्यो दिनभरी मैले उसको जिन्दगीको बारे बुझ्ने कोशिस गरे। फेसबुक उसले प्राइवेट गरेको रहेछ तर केही फोटोहरु देखे। उसको परिवारसङ को वा साथीहरुसङको। धेरै पहिलेको जब उसको अनुहारमा दार्ही जुङाहरु पलाएका थिएनन। फोटो र उसलाई हेरेर मैले उसको र मेरो बिचको उमेरको फरक थाहा पाउन सकिन। यती चाँही अड्कल गर्न सकिन्थ्यो उ र मेरो उमेरमा एक दशक भन्दा कम फरक हुन सक्थेन। घर पुगेपछी केही बेर मैले उसको बारेमा सोच्न रोक्नु पर्‍यो। घरमा मेरो धेरै भुमिकाहरु थ्यो। अब म कसैको आमा, श्वासनी, भाउजु, दिदी र काकी मात्रै थिए। ती मध्ये निभाएको प्रेमिकाको भुमिका धेरै पहिले सकिसकेको थ्यो। म भित्रको प्रेमको रङीन सपनाहरु खन्डहरजस्तो निराश भएका थिए। म फेरी नाटकको पात्र झै आफ्नो चरित्र निभाउदैथे। घरमा सबै आ-आफ्नो फोनमा ब्यस्त थे। औपचारिक कुराकानी पछी म आफ्नो कोठामा गए। ड्रेसिङ टेबुलको अगाडि पुगेपछी म झस्के। मेरो प्रतिबिम्बमा जवान युबती थिएन, त्यहा निरस र थाकिएकी एक नारी थी। मेरो ओठको रङ गुलाबी थिएन, सुकेर पत्र पत्र भएको थ्यो। बिहानै लगाएको लिप्स्टिक र फाउन्डेसन गैसकेको थ्यो। फुङ उडेको अनुहारमा रहरको कुनै नाम निशान थिएन। दिउसो भरिएको रङीन मन अहिले फेरी खुइलिएको थियो। मलाई आफ्नो रुप आँफैलाई मन परेन। नुहाइ सकेर फेरी एकचोटि आफुलाई हेरे ऐनामा ! प्रतिबिम्बमा भिनस उभिएकी थिए, जो रोमनहरु बिच प्रेम, सुन्दरता, यौन र सम्रिद्धिको लागि प्रख्यात थी। शरीरमा बगिरहेका शीत जस्ता पानीका थोपाहरुलाई हेर्दै मैले आँफैले आँफैलाई सोधेको थिए। के म मा प्रेम अझै बाकी छ? क्रमश:

crazy_love · Apr 30, 2021 9:59 AM · 84,946 views

71 Replies · Showing 61 - 71
Page 4 of 4

Chicagoan, Thank you for your patience! Was thinking to end soon but I have to think about the people and evidence I left in the earlier parts. Once again, thank you for reminding me of all those. Keep inspiring!

crazy_love · Jun 10, 2021 10:37 AM

भाग-११ प्रिय पाठक, मलाई अझै थाहा छैन। मेरो समय र जुनाको समयमा हम्बल कहाँ उपस्थित थियो र कहाँ थिएन। म अझै धेरै कुराहरुको खोजीमा छु। तर मलाई यो थाहा छ हम्बल म सँग हिजो राती थियो। जुना उसलाई १ बर्ष देखी देखेको छैन भन्छे। मेरो मनले मान्दैन। तर म जुनालाई हम्बल र मेरो ब्यक्तिगत कुरा भन्न सक्दिन। मैले हम्बलको नम्बर खोजे, फोनको लिस्ट थ्यो अफिसमा, अरु सबैको नम्बर थियो, तर उसको थिएन। मलाई अचम्म लाग्छ ऊ म सँग त्यति नजिक हुँदा पनि मैले किन उसको नम्बर सेभ गरिन। मेरै गल्ती थ्यो, इ-मेलमा नयाँ खबर थिएन। जुनाले के के भनी मैले सुनिन। म के भैरहेछ भन्ने सोच्दै हराइरहे आफ्नै संसारमा। "सुन न! तिमीलाइ यो कुरा सुनाउछु!" जुनाले फेरी उसको संसारमा लगी। "के कुरा?" मैले सोधे, मन थिएन कुरा गर्ने तर पनि साथी हो सुन्नै पर्‍यो। "मेरो छोराले के भन्यो थाहा छ?" ऊ हाँसी। उसको छोरा त्यस्तै ५-६ बर्षको हुनु पर्छ। मैले भेटेको छैन। उसैले भनेकी। "के भन्यो त्यो फुच्चेले? कति बर्ष रे?" "६ बर्ष लाग्यो। म एक्सर्साइज गर्दै थिए, डोरी खेल्दै थिए। उसले के भन्यो भने छाती नहल्लाइकन डोरी खेल्नु रे।" ऊ फेरी हाँसी । मलाई नि हाँस उठ्यो। "बिचरा! बच्चा छ। उसलाई के थाहा रुख हल्लिदा फल हल्लिन्छ भनेर।" "त्यही त! केटाहरु लाई सुन्तलाको रुख हल्लिदा सुन्तला पनि हल्लिन्छ भन्ने थाहा हुँदैन कि क्या हो! मेरो छोरा त सानै छ। तर ठुलो भएपछी पनि केटाहरु त्यस्तै सोच्छन है? हामीहरुले जानि जानि उनिहरुको ध्यान आकर्षन गर्न आफ्नो शरीरको अगाडिको भाग हल्लाउछौ भनेर। कसरी सम्भब छ शरीर हल्लिने अनी हाम्रो छाती नहल्लिने?" "तिम्रो छोरा सानै छ, पछी ठुलो भए पछी बुझ्ला नि!" "हामीहरुले सम्झाउन बुझाउन जान्यौ भने उसले पनि बुझ्ला।" मेरो मनमा अरु कुराहरु खेलिरहेको थ्यो। मैले सम्झे लिसासङ सोध्नु पर्ला हम्बलको बिषयमा। किनभने ऊ पनि थि त्यो दिन जुन दिन हम्बल म सँग जिस्किरहेको थियो। लिसा र म के कुरा गर्दै थ्यौ, हम्बल आएर के को साइज भनेर सोधेको थ्यो। हामीले सुइको साइज भनेका थ्यो। त्त्यो दिन लिसाले हम्बल र मेरो कुरा सुनेकी थिइ। "जुना, तिमी लिसासँग काम गरेकी छ्यौ?" "को लिसा?" "त्यही के त “हट” लिसा! उसको जहिले डेट हुन्छ नि। बिधुवा के त?" "ए, त्यो लिसा! मैले उसलाई नदेखेको धेरै भैसक्यो। उसले फेरी बिहे गरी रे।" "लौ, हो र? त्यसो भए उसको चौथो बिहे भयो।" "मान्छे यहाँ एउटा बिहेले अघाइसक्यो, उसले चार चोटि बिहे गरिसकी!" जुना आफ्नै धुनमा कुरा गर्दै थिइ। म सँग दुइटा उपाय थ्यो। एउटा लिसा सँग सोध्ने, अनि लिफ्टको घटना। त्यो घटना जुनालाई पनि थाहा हुनु पर्ने नि। सोधौ कि नसोधौ भन्ने दुबिधामा परे। उसले के,कसो, किन भनेर फेरी उल्टो सोध्ली भन्ने पीर पर्‍यो। लिफ्टबाट निस्किदा दुइजनाले देखेको थ्यो म र हम्बललाई! मेनेजर र मेन्टेनेन्सको स्टाफ। मैले उनिहरुलाई सोध्नु पर्छ , त्यो दिन के भएको थियो। हम्बल र मेरो हालत कस्तो देखिएको थ्यो। मेनेजरलाई सोध्ने मेरो हिम्मत भएन। किनभने चरित्रको कुरा होला, बेकारमा नराम्रो किन सोच्न दिने अरुलाई। तर मेन्टेनेन्सको स्टाफ, जसको मलाई नाम याद भएन, कहिलेकही भेटिन्छ वार्डमा। ऊ कहिले एसी, कहिले बाथरुम बनाउन आइरहन्छ। उसले “हाइ” भन्छ तर मैले उसलाई जवाफमा “हाइ” बाहेक उसको नाम सोधेको छैन। मलाई झिनो आशा थियो, हम्बलले चाह्यो भने मलाई फोन गर्न सक्छ अफिसमा। उसलाई थाहा छ, म कुन कुन दिन काम गर्छु। हरेक चोटि फोन बज्दा म त्यस्तै सोच्थे, कतै यो उसको फोन हुन सक्छ। ब्रेकमा फेरी फोन हेरे। जिरो नयाँ इ-मेल थ्यो तर ३-४ वटा मिस कल थ्यो। ३ वटा मिसकल डक्टर रबर्टको अफिसबाट थ्यो। वोइस मेलमा "छिटो अपोइन्टमेन्ट लिनु!" भनेको थ्यो। मैले तपाईंहरुलाई पहिले भनिसके डक्टर रबर्टको मिसकल यो भन्दा अगाडि पनि आएको थ्यो। म ठिकै छु, कुनै समस्या छैन भनेर मैले वास्ता गरेकी थिइन। तर बारम्बार किन सोधेको होला भनेर उहाको क्लिनिकमा फोन गरे र एक हप्ता पछीको अप्पोइन्टमेन्ट लिए। अर्को मिसकल रिजाको थ्यो। मलाई मेसेज पनि गरेकी थी एक हप्ता अघि फोन गर्नु भनेर। मैले रिजालाई फोन गरे । "का बेपता?" मैले के छ भन्न नपाउदै रिजाले सोधी। "यही छु। के छ खबर?" मैले सोधे। "सब ठीक छ। तिमीलाइ हाम्रो पार्टीमा आएको सबैले सोधी राख्छन।" रिजाले भनी। "त्यो दिदीको समस्या समाधान भयो?" मैले उसको पाहुना हरु सम्झिन थाले। "म कोशीश गर्दैछु मद्दत गर्न। तर तिमीले पनि मद्दत गर्छु भनेको थियौ नि। "स्योर! म पनि हेल्प गर्छु। तर केही दिन म एकदम बिजी छु। अर्को हप्तापछी ल।" "भैहाल्छ नि! अब कहिले भेट्ने त हामी?" रिजाले सोधी। "भेट्ने कुरा त छदैछ। अर्को हप्ता पछी भने नि। तिमीलाइ एउटा कुरा सोधु?" "भन न!" "त्यहा एउटा बहिनी पनि थि नि! उसको खबर के छ?" "को?" "म बरन्डामा बस्दा आएर कुरा गरीकी थी नि।" "ए, त्यो शमा हो। उसको नि सबै ठिकै छ। तर उसले भन्थी तिमी एक्लै कुरा गरिरहेकी थ्यौ रे। मैले भने एक्लै कुरा गर्नु नर्मल हो। म पनि त कहिले कही एक्लै कुरा गर्छु। हैन त?" रिजा हासी उता। "त्यही त! किन एक्लै कुरा गर्दा त्यस्तो नराम्रो के हुन्छ र?" मैले हिच्किचाउदै भने। "शमाको अहिले एक्लै कुरा गर्ने बेला भएको छैन नि। ऊ हामी भन्दा सानी छे। जब हाम्रो उमेरमा पुग्छे। ऊ पनि एक्लै कुरा गर्न थाल्छे।“ "सुन न! मेरो ब्रेक सकियो। म जान लागे। सबैलाई सोधेको छ भनिदेउ है?" "हुन्छ! बाइ!" उसले फोन राखी। ब्रेकपछी मैले रोजीलाई भेटे। खरायोको सिङ हुन्छ भन्ने रोजी। ऊ सधैं झै हसिलो देखिन्थी। "मिस क्रेजी, तपाईंलाई थाहा छ एउटा कुरा?" "के रोजी?" मलाई खरायोको कुरा जस्तो लाग्यो। "मिस लिसा त क्यालिफोर्निया जानु भयो नि। नयाँ बिहे त गज्जब फाप्यो उहालाई।" "हो र? यहाँको घर नि?" लिसासङ मैले केही कुरा सोध्नु थियो। त्यो पनि अधुरो भयो। कहाँ होली? कसरी सोध्ने होला? मलाई यस्तै कुराहरुले पिरोल्न थाल्यो। लिसासङ अब मेरो भेट कहिले होला? "सबै बेचेर जानु भयो नि। पैसा टन्न छ के को पीर? जहाँ गयो त्यही घर किन्न सक्ने क्षमता छ नि उहाको." "तिम्रो खबर के छ नि?" "बिन्दास छ! मेरो डिवोर्सको अन्तिम प्रोसेस हुँदैछ। अनि म पनि स्वतन्त्र हुन्छु। जहाँ नि जान सक्छु जे पनि गर्न सक्छु।" "तिम्रो पढ्ने लक्ष्य चाँही?" "पढुला! तर अहिले पैसा बचाउनु पर्छ। अलि बढी काम गर्नु पर्छ।" "अनी खरायो को हालखबर?" मैले कुरालाई मोडे। "सिङ भाँचेको छैन!" भनेरै हाँस्दै ऊ अर्को वार्डतिर गइ। मेरो अन्तिम साक्षी मेन्टेनेन्सको स्टाफ थ्यो। त्यो भन्दा अरु कुनै उपाय थिएन। म यस्तो कुराको खोजमा थिए। जुन मेरो जिबनको वास्तविक घटना थ्यो तर म घटनाको लागि प्रमाणहरु जुटाउने प्रयासमा छु। हम्बल सँगको मेरो माया सत्य थियो र हामीबिचको सम्बन्ध प्यारो थियो मलाई। मैले ऊ सँग बिताएको पलहरु सबै सुन्दर थिए। मैले ती सबै सुन्दर क्षणहरुलाई आफ्नो मनमा सजाएको छु। मेन्टेनन्स अफिसको ढोकैबाट मैले त्यो स्टाफलाई देखे। उसले पनि मलाई देख्यो। "के तपाईंले मलाई सम्झिनु भएको छ?" मैले उसको नजिक गएर सोधे। "किन नचिन्नु? तपाईं त्यो बिग्रेको लिफ्टमा हुनुहुन्थ्यो हैन? कस्तो डर लाग्यो होला है?" उसले सोध्यो। "डर त लागेको थ्यो। तपाईंहरुले हामीलाई बचाउनु भयो त्यो दिन। धन्यवाद!" मैले भने। उसको नाम माइक रहेछ, मैले देखे उसको शर्टमा लेखिएको रहेछ। "त्यही त ! एक्लै त्यो अन्धकारमा त्यती धेरै बेरसम्म लिफ्टमा बस्दा कस्तो भयो होला तपाईंलाई?" माइकको कुरा सुनेर म फेरी छक्क परे। “ एक्लै ? म सँग अर्को डक्टर पनि थ्यो त्यसमा! देख्नु भएन?" मैले सोधे। "तपाइ एक्लै नै हुनु हुन्थ्यो। तपाईं एक्लै नै निस्किनु भएको थ्यो।" माइकले " एक्लै " शब्दलाई धेरै चोटि दोहोर्‍यायो। माइकले के देख्यो के देखेन त्यो ठुलो कुरा हैन मेरो लागि। तर म लिफ्टमा एक्लै थिइन। म सँग हम्बल थियो, मैले उसको स्पर्श महसुस गरेको थिए। उसले मलाई माया गरेको थ्यो। लिफ्ट बन्न अलि ढिलो भएको भए, हामीबिच धेरै कुरा हुन सक्थ्यो। माइक दोस्रो मान्छे थ्यो जसले हम्बललाई देखेन। शायद माइकले हम्बललाई मनको आँखाले हेरेन। शायद माइकले १ महिना अघिको कुरा केही सम्झ्यो र केही बिर्स्यो। मलाई सम्झ्यो तर हम्बल उसको स्म्रितीबाट हरायो। मलाई भुतप्रेतमा विश्वाश लाग्दैन, तर बेलाबेला यो हस्पिटलमा भुतको कथाहरु सुनिन्छ। जस्तै खाली कोठाबाट कसैले बोलाउछ। एउटा बच्चा आउछ अनि बिलाउछ। अर्को बुढो भुत छ, औशधी माग्छ। कहिलेकही छायाले पनि पछ्छ्याउछ। बिरामी नभएको कोठाबाट घन्टी बज्छ आदी इत्यादी। लौ, एकछिनको लागि यो मानौ की भुतप्रेत हुन्छ। तर भुतप्रेत हुन त पहिले मान्छे मर्नु पर्छ हैन र? हम्बल मरेको छैन। ऊ तपाईं हामी जस्तै ज्युदो मान्छे हो। उसँग मैले बिताएको पलहरु साक्षी छन, ऊ भुत हैन। तर ऊ एक्कासी किन गायब भयो? मलाई किन प्रश्नै प्रश्नको भुमरीमा छोडेर गयो। मैले यो सबै कुराको जवाफ खोज्नै पर्छ। शायद म अर्को भागमा यो सबै कुराको उत्तर भेट्टाउछु। क्रमश:

crazy_love · Jun 12, 2021 1:09 PM

मलाई भुतप्रेतमा विश्वाश लाग्दैन, तर बेलाबेला यो हस्पिटलमा भुतको कथाहरु सुनिन्छ। जस्तै खाली कोठाबाट कसैले बोलाउछ। एउटा बच्चा आउछ अनि बिलाउछ। अर्को बुढो भुत छ, औशधी माग्छ। कहिलेकही छायाले पनि पछ्छ्याउछ। बिरामी नभएको कोठाबाट घन्टी बज्छ आदी इत्यादी। लौ, एकछिनको लागि यो मानौ की भुतप्रेत हुन्छ। तर भुतप्रेत हुन त पहिले मान्छे मर्नु पर्छ हैन र? हम्बल मरेको छैन। ऊ तपाईं हामी जस्तै ज्युदो मान्छे हो। उसँग मैले बिताएको पलहरु साक्षी छन, ऊ भुत हैन। तर ऊ एक्कासी किन गायब भयो? मलाई किन प्रश्नै प्रश्नको भुमरीमा छोडेर गयो। मैले यो सबै कुराको जवाफ खोज्नै पर्छ। शायद म अर्को भागमा यो सबै कुराको उत्तर भेट्टाउछु। भाग-१२ (अन्तिम भाग) हरेक दिन मेरो लागि फेरी उही निराशा बोकेर आउथ्यो। मैले हम्बलको फेसबुक दिन दिनै हेर्थे। त्यहा नयाँ अपडेट थिएन। मलाई मेसेज पठाउन मन नलागेको हैन, तर मलाई अरु कसैले हेर्ला भन्ने डर थियो। मैले उसको नाम गुगल गरे। ऊ आफ्नै शहरमा प्राइभेट प्र्याक्टिस शुरु गरेको थियो। उसको आफ्नै क्लिनिक थियो। उसको शहर म भन्दा धेरै टाढा थ्यो। मलाई जान न मन लागेको हैन। तर कतै उसैले मलाई इ-मेल गर्ला वा फेसबुकमा निम्ता देला भन्ने आश लाग्यो। ऊ र मेरो १० जना फेसबुक साथीहरु थ्यो, जसलाई हाम्रो “म्युचल फ्रेन्ड्स" भनेर देखाउथ्यो। मलाई आशा थ्यो कुनै दिन उसले मलाई जरुर फ्रेन्ड रिकुएस्ट पठाउछ भनेर। एक हप्ता पछी म डक्टर रबर्टको क्लिनिकमा थिए। डक्टर रबर्ट त्यस्तै ६०-६२ बर्षको हुनु पर्छ। २-३ बर्षमा रिटायर्ड हुने योजनामा हुनु हुन्छ। उहा मान्छेको मनको गहिराइसम्म पुगेर उपचार गर्नु हुन्छ। "यतिका दिन कहाँ हराउनु भयो? तपाईं नेपाल जानु भयो कि क्या हो?" मलाई देख्नासाथ उहाले पहिलो प्रश्न गर्नु भयो। "हैन! म त यही छु, कतै गएको छैन।" मैले भने। "अनी के छ त हालखबर?" उहाले गहिरिएर मेरो अनुहारको भाब हेर्नु भयो। "सबै ठिकै छ। काममा जान्छु, घर जान्न्छु। काम-घर, घर- काम, राम्रै बितिरहेको छ।" मलाई थाहा छ, उहाले पत्याउनु हुन्न। तर मैले झुठ बोले। "तपाइको अपोइन्टमेन्ट छ महिना अघि थ्यो। तपाईंले केही खबर गर्नु भएन। हामी तपाईंलाई फोन गरिरहेका थ्यौ। तपाईंको बारेमा मलाई चिन्ता लागेको थ्यो। सबै ठीक भएको भए एकचोटि हामीलाई सुचित गर्नु पर्थ्यो।" उहाले शान्त स्वरमा भन्नु भयो। "हजुर! म ब्यस्त थे। घरको कामले मैले तपाईंलाई फोन गर्नै भ्याइन।" मलाई उहाको १० भन्दा बढी फोन आएको थ्यो, तर मैले जानी जानी बेवास्ता गरेको थे। "सबै ठीक छ भन्नु हुन्छ। आँखामुनिका काला गाढा धर्साहरुले त अरु केही भनिरहेको छ।" उहा मेरो मानसिक स्वास्थको डक्टर हुनु हुन्छ। "एक हप्ता जति भयो। निद्रा लाग्दै लाग्दैन। मनमा अनेक कुराहरु खेल्छन।" मैले भुइमा हेर्दै भने। "तपाइले निद्राको औशधी लिनु हुन्न? मैले तपाईंलाई दिएको थे।" उहाले के औषधी भनेर रेकर्ड हेर्न थाल्नु भयो। म मौन रहे। "तपाइले त छ महिना देखी औषधी पनि रिफिल गर्नु भएको रहेनछ। तपाईंले औशधी छोड्नु भयो ? एम्बिएन लिनु हुन्थ्यो हैन र?" उहाको निधार अलि खुम्चिएको देखियो। "एम्बिएनले मलाई निद्रा त लाग्छ तर बिहान उठ्नै गार्हो हुन्छ। दिनभरी आलस्य बनाउछ। केही गर्ने जाँगर लाग्दैन। त्यसैले मैले छोडे।" "यो कुरा त भन्नु भएन तपाईंले। मलाई एकचोटि सोध्नु भएको भए म तपाईंलाई अर्कै औशधी दिन्थे।" उहा सोच्न थाल्नु भयो। " औशधी नि कति खानु? मैले निद्राको लागि व्हिस्की खान थालेको छु। तर त्यसले पनि मलाई निद्रा लाग्दैन आजभोलि।" "कती मात्रामा खानु हुन्छ? एक गिलास? दुई---?" उहा सोध्दै हुनु हुन्थ्यो। "३-४ शट मात्रै।" मैले उहाको कुरा बिचैमा काटे। तर म त्यो भन्दा धेरै शट खान्थे। "अह। अरु कुनै पदार्थ?" उहाले सोध्नु भयो। "कहिले कही वीड स्मोक गर्छु। तर सधैं हैन। हप्ताको १-२ पटक। १ स्टिक मात्रै।" मैले केही लुकाइन। "त्यसले निद्रा लगाउछ?" "म गहिरो निद्रा सुत्छु। तर आजकाल मलाई वीडले प्यारानोइड बनाउछ। डर लाग्छ। त्यसैले युज गरेको छैन।" "शुरुमा निद्रा लागे पनि लामो समय पछी त्यसले गर्ने इफेक्ट नै प्यारानोया हो।" "मलाई थाहा थिएन।" "अनिद्रा बाहेक तपाईंको मुड कस्तो छ?" उहाले प्रश्न गर्नु भयो। “निराश, दुखी, फ्रस्ट्रेशन, यस्तै मात्रै महसुस हुन्छ।" "अनी अरु?" उहा ध्यान दिएर सुन्दै हुनु हुन्थ्यो। "मलाई बाच्नुको अर्थ लाग्दैन। म नभये पनि संसार त चलि नै रहन्छ। मेरो जिबनको कुनै महत्व छैन।" "तपाइले आत्महत्याको बारेमा नि सोच्नु हुन्छ?" उहाको प्रश्न सुनेर म सोच्न थाले। "कहिले कही!" मैले छोटो उत्तर दिए। "अहिले नि?" मलाई थाहा छ मेरो जवाफले मलाई कहाँ पुर्याउन सक्छ। यदी मैले अहिले पनि आत्महत्याको बारेमा सोच्दैछु भनेमा मलाई डक्टर रबर्टले कुनै मानसिक अस्पतालमा पठाउनु हुन्छ। "अहिले म खाली निराश छु। आत्महत्याको कुनै सोच छैन।" "तपाइले थेरापी पनि जान छोड्नु भयो?" डक्टर रबर्टलाई सब थाहा भए पनि मसँग सोधिरहनु भएको थ्यो। "मलाई मन लागेन।" मैले छोटो उत्तर दिन खोजे। "किन?" उहालाई चित्त बुझेन। "मैले बुझे पनि घरको मान्छेले बुझ्दैन। मानसिक स्वास्थ्यको बारेमा राम्रो धारणा राख्दैन। म राम्रो भएर के गर्नु? घर र बातावरण उही हो।" मैले भने। "त्यसो भए कसरी उपचार गरु त म? तपाईं औशधी पनि नखाने। थेरापी पनि नजाने।" उहाले सोध्नु भयो। "डक्टर रबर्ट, तपाईंलाई एउटा कुरा सोधु?" "भन्नुस् न!" "मेरो जिबनमा अचम्मको घटना घटिरहेको छ। म जे देख्छु अरुले देख्दैनन। म जे सुन्छु अरुले सुन्दैनन।" "तपाइ यसको बारेमा बिस्तारमा बताउन सक्नु हुन्छ?" मैले मेरो र हम्बलको सम्बन्ध, लिफ्टको घटना, छतमा भएको कुरा सबै डक्टर रबर्टलाई भने। उहाले इ-मेल पनि हेर्नु भयो हम्बलले मलाई लेखेको। केही छिन अरु थप प्रश्नहरु गरेर अनि उहाको किताब हेर्दै उहाले मेरो रोग पत्ता लगाउनु भयो। ********************************************************************************************* “डिलुजनल डिसअर्डर” डक्टर रबर्टको बयान- "क्रेजी मेरो पुरानो बिरामी हो। यो भन्दा अघि पनि उनलाई "डिलुजन डिसर्डर" जस्तो लक्षणहरु देखिएको थ्यो। तर ती लक्षणहरु सामान्य थिए। उनलाई थेरापी मात्र दिएको थ्यो। उनलाई अनिद्रा र चिन्ताको धेरै पुरानो समस्या थ्यो, मैले उनलाई औशधीहरु दिएको थिए। तर उनले खानै छोडिन् । अहिले उनको कुराहरु सुन्दा साइकोसिस जस्तो पनि देखिन्छ। तर उनी बिछिप्त भएकी छैनन। उनी के सत्य र के कल्पना हो भन्ने कुरा छुट्याउन सकिरहेकी छैनन। उनको लोग्ने मैले कहिले भेटेको छैन। उनको भनाइ अनुसार उनिहरुको सम्बन्ध राम्रो छैन र उनिहरुको समाजमा मानसिक स्वास्थ्यको कुरा हुँदैन। क्रेजी अझै काम गरिरहेकी छिन। त्यसैले उनलाई नियमित रुपमा साइकोथेरापी र औशधी दियो भने उनि "डिलुजन" र वास्तविकता छुट्याउन सक्ने हुन्छिन। बिडम्बना के भने उनलाई साथ दिने उनको मानसिक स्वास्थ्य बुझेर, औशधी खान सम्झाउने कोही छैनन। उनलाई मन लागे खान्छे, मन नलागे खान्न। यस्तो अवस्थामा बिरामीलाई परिवारको ठुलो साथ चाहिन्छ। हेरौ, क्रेजीले अब के गर्छे? मैले उनको इ-मेल हेरे , हम्बलको जवाफ भनेको इ-मेल क्रेजीले आफ्नै अर्को अकाउन्टबाट लेखेकी थी। उनलाई मैले सबै कुरा सम्झाएको छु। उनि सामान्य हुन्छिन भन्ने मैले आशा गरेको छु।" लोग्नेको बयान- “ क्रेजी पागल नै हो। पहिले नै अलिअलि खुस्केकी थी। अहिले पुरै खुस्केकी छे। रातभरी एक्लै कुरा गरिरहन्छे। मलाई लगाएको सबै आरोप उनको भ्रम हो। मलाई उनको छाया पनि मन पर्दैन भने मायाको कुरा त गर्नै पर्दैन। मैले वकिलसँग कुरा गरिसकेको छु। मलाई यो बिबाहबाट मुक्ति चाहिएको छ। मर्द हुँ, अर्की बिहे गर्छु। “ हम्बलको बयान- “म के भनु? म क्रेजीसङै छु। उनले जे भन्छे ,त्यही गर्छु। म उसको मन हुँ। मनको पखेटा हुँदैन तर यो जहाँ पनि पुग्न सक्छ। जे पनि कल्पना गर्न सक्छ। “ “म” पात्र- “मलाई यो पनि थाहा छैन कि डक्टर रबर्ट मेरो डिलुजन हो कि वास्तविक जिबनको पात्र। तर मलाई यति थाहा छ हम्बल र मेरो प्रेम साँचो हो। प्रेम पनि त भ्रमको एउटा नाम हो नि, हैन र?” समाप्त!

crazy_love · Jun 17, 2021 12:16 PM

अन्तिम लाइन, "प्रेम पनि त भ्रमको एउटा नाम हो नि, हैन र?" वाहँ, वाहँ तपाईंका शब्दहरु त डाइरेक्ट मनभित्रै लाग्ने। ती तपाईंका शब्दहरु बुनेर त सिङै मान्छेलाई ढाल्दिने गीत नै लेख्न मिल्छ होला कि। मैले यस्ता धेरै मुभिहरु हेरेको छु, तपाईंले भन्नु भाको डिसर्डरलाई समेटेर बनाइएका, अहिले ठ्याक्क भन्नुपर्दा याद आउनेहरुमा, 'अ ब्युटिफुल माइन्ड', हिन्दीमा 'कार्तिक कलिङ कार्तिक', आदी। यस्तो प्लटहरुले सधैं नै फ्यासिनेट चै गरेका नै हुन। तपाईंले दिनुभएका कारण, कृयट गर्नुभएको स्थिती, क्यारेक्टर सबै जस्टिफाईड लागे। साझामा "बोर्न राइटर' पनि छन भनेर तपाईंले प्रमाणित गर्नुभएको छ है। फेरी फेरी तपाईंका श्रीजनाहरु पढ्न पाउछु भन्ने आशमा छु। मे बी, मैले पनि नेपालीमा कुनै कथा लेख्ने तपाईंबाट प्रेरणा पाउछु कि।

Bennedict · Jun 17, 2021 2:40 PM

Thanks again, Bennedict! I am just learning. Will continue to learn. I can't wait to read your story. You once mentioned "Mukundo". Do you suggest any other movies? Thank you for your support and encouragement! CL

crazy_love · Jun 17, 2021 4:28 PM

Ma ta lost bhaye Hajoor. Clear case of schizophrenia dekhiyo. Aba juna, Lisa sanga gareko Sabai kura real ho ki figment of narrator’s mind ho? Bhag ek dekhi12 samma kun real ho bhanna garo chha. Sayad Dr Robert sanga ko repeated appointment postponement lai foreshadowing manne po ho ki? Last episode le katha lai unexpectedly back to track lyayeko chha.

chicagoan · Jun 17, 2021 4:35 PM

Chicagoan, I am lost too. It is more associated with "erotomanic delusional disorder". But I don't know how to explain that in the story. Usually, men or women feel they are in love with a celebrity or higher-status person. That is why some people stalk the person they think they are in love with. There is no treatment for the delusion but therapy can help. Sometimes they are highly functional people who go to work and follow the routine. What is the correct translation of "erotomanic" in Nepali? Couldn't find it.  An illusion is "bhrama" but what is delusion in Nepali? Btw, r u a real person or a part of the delusional world too? Last edited: 17-Jun-21 04:59 PM

crazy_love · Jun 17, 2021 4:49 PM

Erotomania ko Nepali ultha sajilo chhaina, yo premjanya bishad ho Tara tetile matra purna artha didaina, afu bhanda mathillo taha sanga sambandhit chahi chhutna janchha Dukha ko kura Nepali ma illusion ra delusion duitai bhram ho. Tara bhram le delusion ko artha dindaina kina bhane yo haluka sabda ho, delusion gahiro chha Jastai, Nepali sabda “abhagi” dherai gahiro chha. Thado ultha unfortunate ho Tara unfortunate “abhagi” ko gahirai samma pugna sakdaina, unfortunately :-)

chicagoan · Jun 18, 2021 11:11 AM

"Premjanya bishad" is rarely used and understood in Nepali. I have a problem with describing those in Nepali. Sometimes, an erotomanic delusion may happen with the person of the same status too. That indicates mania or people in the manic stage. It is complicated anyway. An illusion is "bhram" based on reality I guess. Delusion is also the "bhram" but based on the imagination or audiovisual hallucination. Never thought about "Abhagi" and the word "unfortunate" translation. The conversation between the protagonist and other characters in the story is not a delusion. However, the protagonist's creation of the lover, another imaginary character " The romantic Humble" is a part of the delusion. The ending was already planned but the writer should have given some indications for the readers from the beginning of the story. My apology for making you feel lost! CL . Last edited: 19-Jun-21 11:14 AM

crazy_love · Jun 19, 2021 11:11 AM

सी एल जी, मैले यो लिन्क भेटाए, प्लिज हेर्नुहोला. https://www.google.com/search?... यो अनुसार, केही हुन सक्ने नेपाली शब्दहरु:- प्रेमोन्माद, कामोन्माद तेस्तै delusionको नेपाली उल्था यो होला कि? https://www.shabdkosh.com/dict... भ्रान्ती, विमोह (नेपाली परीप्रेक्ष्यमा पनि यी शब्दहरु सुनिएको हुनाले) मैले अहिले मुभिहरु धेरै कम हेर्छु, हेरे पनि साउथ ईण्डियन हेरेर हैरान भाको छु, बलिवूड र हलिवूड भन्दा उनिहरु टेक्नोलोजी, प्रेजेन्टशन, स्टोरी टेलिङमा धेरै अगाडि पाएको छु। तपाईंले भनेको प्लटमा केन्द्रित रहेको अर्को स्प्यानिश मुभी मलाई २००६-७ तिर हेरेको याद आउछ, बेस्ट फरेन मुभी के के अवार्ड पाएर साह्रै चर्चित भाको थियो, त्यो बेला। गूगल गर्नुहोला नहेरेको भए। मुभी थियो Pan's Labyrinth यसको डाइरेक्टर त मेक्सिकन भर पनि हलिवूड मुभिहरु बनाइराको छ अझै पनि। म त उसको बिग फ्यान नि। एक फरेनरले अमेरिकनहरुलाई मुभी बनाउन सिकाइराको छ भनौ। Lucid dreamingको नतिजा र कुन साचो हो कुन झुठो हो, कसको औचित्य के थियो, के होला, भ्रम हो या हैन, यस्तै मनो-विवादमा बनेकोले तपाईंलाई शायद मन पर्छ कि?

Bennedict · Jun 19, 2021 12:14 PM

No apologies necessary Crazy ji. As someone said, we are students for life and there are always new things to learn. Yes, stronger foreshadowing would have helped to connect the ending. Ignoring Dr Robert’s appointment request was kind of a foreshadowing I guess. The conversations between narrator, Lisa and humble in one instance and narrator, juna and humble in another was a clear indication to me that humble and narrator were falling in love in a normal chronological fashion. Yet, when both Lisa and Juna mentioned those conversations happened many years in the past, came from nowhere and threw me off. Other than that, the mastery of language, the punchlines, the suspense build up are all superb. Looking forward to your “brainchilds” in the future.

chicagoan · Jun 19, 2021 12:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion