अमेरिकी राष्ट्रपतिले आठ–आठ वटा युद्ध जितिसकेको कुरा धेरै भइसक्यो। तर आँखाचाहिँ शान्ति नोबेल पुरस्कारमै अड्किएको छ। किनभने काला अमेरिकी राष्ट्रपति ओबामाले त पहिलो कार्यकालमै नोबेल पदकबाट सम्मानित भइसके भने, म गोरा राष्ट्रपति—मैले किन नपाउने?
यही बालहठले ग्रसित तत्कालीन अमेरिकी राष्ट्रपतिलाई FIFA ले समेत एउटा पदकले सुसोभित गरिसक्दा, बालहठ घट्नुको सट्टा झन् बढ्दै गयो। अन्ततः यही वर्ष नोबेल शान्ति पुरस्कार पाउने भेनेजुलियन मचाडोले त्यो पुरस्कार उसको हातमा थमाइदिए।
तर उनले त्यसलाई सजाएर राख्ने कुनै चासो नै नदेखाएको स्पष्ट हुन्छ।
अब प्रश्न उठ्छ—यो पुरस्कार लिएपछि के उसले शान्ति पाउला? के नोबेलको कुरा गर्न छोड्ला?
शान्ति होइन, अशान्ति झन् बढ्नेछ—त्यो पनि पुरस्कार कहाँ टाँगेर राखिन्छ भन्नेमा भर पर्छ। क्लोजेटभित्र वा दैनिक नदेखिने ठाउँमा नराखे, मरिच चाउरेझैँ चाउरिएर माथि जान बेर लाग्दैन।
किनभने जति पटक त्यसमा आँखा पर्छ, आफ्नो नाम होइन—मचाडोको नाम नै देखिन्छ।
“खै त मेरो नाम?”
आफ्नो नाम नदेखिएको पीडाबाट उत्पन्न मानसिक रोग झन् संक्रमणित हुने सम्भावना प्रबल देखिन्छ।
उपाय भने पक्कै निकाल्लान्—
‘मचाडोबाट अमेरिकी राष्ट्रपतिलाई सम्मानित’ भनी सुनौलो अक्षरले, सकेसम्म टाढैबाट पहिलो नजरमै उसकै नाम देखिने गरी थप्लान्।