[Show all top banners]

ojhasamajdhangadhi

More by ojhasamajdhangadhi
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 MISTER CLEAN LOKENDRA BAHADUR CHAND
[VIEWED 181 TIMES]
SAVE! for ease of future access.
Posted on 02-15-26 6:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टर क्लिन: श्रीलोचन :-
२०४३ साल वैशाखमा राष्ट्रिय पञ्चायतको निर्वाचन सम्पन्न भएपछि नयाँ प्रधानमन्त्री र नयाँ सरकारको चर्चा चल्न थाल्यो । राजाले मन पराएका र मिस्टर क्लिनको छवि बनाएका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द नै पुनः प्रधानमन्त्री हुने चर्चा व्यापक थियो त्यतिखेर । तर त्यहीबीच उहाँका पिताको अचानक निधन भयो । उहाँ पिताको कृयाकर्ममा लाग्नु भो र एक वर्ष बरखी बार्नु भो । त्यहीबीच उहाँलाई प्रधानमन्त्री हुने प्रस्ताव आयो तर उहाँले पिताको बरखी बारेको बेला सेतो पहिरनमा प्रधानमन्त्री पदको शपथ लिन मिल्दैन भनेर प्रधानमन्त्री पदको पद अस्विकार गर्नु भएको चर्चा चल्यो । यस घटनाले लोकेन्द्रबहादुर चन्दको धर्मपरायणता र पदप्रतिको अनाशक्त भाव मात्रै झल्किएन मिस्टर क्लिनको छवि झन् आलोकित भयो।
लोकेन्द्रबहादुर चन्द, नेपाली राजनीति र साहित्यमा विशिष्ट छाप छाड्न सफल व्यक्तित्व हुनुहुन्छ। सुदूर पश्चिम बैतडी जिल्लाको कुरुकुटिया नामक दुर्गम गाउँमा जन्मेर युवा उमेरमैं राष्ट्रिय रङ्गमञ्चमा परिचित हुनु भएका श्री चन्दलाई नेपाली समाजले निश्कलंक राजनीतिज्ञ र भद्र व्यक्तित्वको रुपमा आदर गर्दछ।
उहाँको जन्मस्थल कुरुकुटिया गाउँ पंचायतकालमा कहिले बासुलिङ गाउँ पंचायत त कहिले लिस्किटा गाउँ पंचायत अन्तरगत पर्थ्यो भने २०७२ सालको संघीय संरचनापछि सुनर्या गाउँपालिका अन्तरगत पर्दछ । पिता महावीर चन्द र माता लक्ष्मी चन्दको कोखबाट १९९६ साल फाल्गुण ३ गते कुरुकुटियामा लोकेन्द्रबहादुर चन्दको जन्म भएको हो ।

त्यतिखेरको चलनअनुसार लोकेन्द्रबहादुर चन्दको बाल्यकालीन पठनपाठन घरमै ब्राह्मणहरुबाट आरम्भ भएको थियो । पछि अध्ययनको लागि उहाँ भारतको पिथौरागढ पुग्नु भो। उहाँले २०११ सालमा पिथौरागढको सरस्वती देवसिंह ठाकुर हाइस्कुलबाट मेट्रिक परीक्षा पास गर्नु भो । त्यसपछि काठमाडौंको त्रिचन्द्र कलेजमा पढेर २०१६ सालमा आइए पास गर्नु भो । स्नातक भने उहाँले भारतको नैनितालस्थित डिएसबी गभर्मन्ट कलेजबाट उत्तीर्ण हुनु भएको हो । उहाँले २०२३ सालमा आगरा विश्वविद्यालय अन्तरगतको देहरादुनको डिएभी कलेजबाट कानुनमा स्नातक (एलएलबी) को उपािध लिनु भएको थियो ।
कलेजको अध्ययन समाप्तिपश्चात उहाँले २०२३ सालतिर आफ्नै जिल्ला बैतडीमा कानुनी परामर्श सेवा आरम्भ गर्नु भएको थियो । पंचायतका प्रारम्भिक दिनहरुमा श्री ५ महेन्द्रको व्यक्तित्व र राष्ट्र निर्माण अभियानबाट प्रभावित भएर नवयुवक चन्दले पंचायती राजनीतिमा प्रवेश गर्नु भएको हो । उहाँ २९ वर्षको उमेरमा २०२५ सालमा वासुलिङ गाउँपञ्चायतको उप्रधानपञ्च निर्वाचित हुनु भएर सोही वर्ष बैतडी जिल्ला सभाको सदस्य निर्वाचित भै हाल्नु भो । राजनीतिमा लागेको दुई वर्षमै उहाँ २०२७ सालमा बैतडी जिल्ला पंचायतको सभापति निर्वाचित भै सक्नु भएको थियो । बैतडी जिल्ला पंचायतको सभापतिको निर्वाचनमा उहाँले महेशशरण भट्टलाई पराजीत गर्नु भएको थियो । सुदर्शन युवा व्यक्तित्वका धनी, भद्र र अध्ययनशील चन्दको लोकप्रियता बढ्दै गयो । पंचायतकालमा युवा र पढेलेखेका मान्छेहरुलाई राजनीतिमा अवसर दिने नीति नै थियो । २०३० सालमा उहाँ महाकाली अञ्चल पंचायतको सभापति निर्वाचित हुनु भयो ।
२०३१ सालमा बैतडीमा राष्ट्रिय पंचायत सदस्यको तेस्रो पटक निर्वाचन सम्पन्न भयो । त्यतिखेरसम्म राष्ट्रिय पंचायत सदस्यको लागि बैतडीबाट एउटा आसनको लागि मात्र निर्वाचन हुन्थ्यो । राष्ट्रिय पंचायत सदस्यको निर्वाचनमा पंचायतका गाउँ र जिल्ला निकायका सदस्यहरुले मतदान गर्थे । राष्ट्रिय पंचायत सदस्यको निर्वाचन प्रकृया अहिलेको राष्ट्रिय सभाकै जस्तो निर्वाचन थियो भन्न सकिन्छ । राष्ट्रिय पंचायत सदस्यको लागि २०१९ सालमा बैतडीबाट सुरेन्द्रदेव भट्ट र २०२५ सालमा भानबहादुर चन्दले विजय पाउनु भएको थियो भने २०३१ सालमा ३५ वर्षीय युवा लोकेन्द्रबहादुर चन्दले पुराना पंचहरुलाई पराजीत गरि राष्ट्रिय पंचायतको सदस्य निर्वाचित हुनु भएको थियो।
श्री ५ वीरेन्द्रबाट राज्याभिषेक गरिबक्सेको वर्ष २०३१ सालमा राष्ट्रिय पंचायतको लागि सदस्य निर्वाचित भएर काठमाडौं पुगेपछि पहिलो पटक चन्दले राष्ट्रिय राजनीतिमा प्रवेश गर्नु भयो । २०३१ सालमा राष्ट्रिय पंचायत सदस्यको पदावधि सकिएपछि राष्ट्रिय पंचायतका उपाध्यक्ष डम्बरबहादुर बस्नेतले उपाध्यक्षको पदबाट पनि त्यागपत्र दिएका थिए । रिक्त उपाध्यक्ष पदको निर्वाचन २०३२ असारमा सम्पन्न भयो । सो निर्वाचनका सल्यानका मरिचमान सिंह र बैतडीका लोकेन्द्रबहादुर चन्दका माझमा प्रतिष्पर्धा भएको थियो । केवल एक भोटको अन्तरले विजयश्री चन्दको पक्षमा पर्यो । राष्ट्रिय पंचायत सदस्य भएको एक वर्षभित्रै उहाँ राष्ट्रिय पंचायतको उपाध्यक्ष भैहाल्नु भो । त्यतिखेर राष्ट्रिय पंचायतको अध्यक्ष अछामका नैनबहादुर स्वार हुनुहुन्थ्यो। अहिलेको प्रतिनिधि सभाको सभामुख र उपसभामुख जस्तो त्यतिखेरको राष्ट्रिय पंचायतको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा सुदुरपश्चिमकै व्यक्तिहरु हुन पुग्नु दुर्लभ संयोग बनेको थियो ।

२०३२ साल मंसिरमा राष्ट्रिय पंचायत अध्यक्ष नैनबहादुर स्वारको पदावधि समाप्त भएपछि लोकेन्द्रबहादुर चन्दले कार्यबाहक अध्यक्ष भएर काम गर्न पाउनु भो । उहाँले कार्यबाहक अध्यक्ष भएर सात महिनासम्म काम गर्नु भएको थियो। २०३३ साल असारमा रामहरि शर्मा राष्ट्रिय पंचायतको अध्यक्ष निर्वाचित नहुँदासम्म लोकेन्द्रबहादुर चन्दले राष्ट्रिय पंचायतको कार्यवाहक अध्यक्षको रुपमा देशको तेस्रो ठूलो पदमा बसेर काम गरिरहनु भयो । चन्दले राष्ट्रिय पंचायतको कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहेको सो कालखण्डमा प्रधानमन्त्री डा. तुलसी गिरि, प्रधान न्यायाधीश रत्नबहादुर विष्ट र राजसभा स्थायी समितिको सभापति वेदानन्द झा हुनुहुन्थ्यो । चार वटा उच्च संवैधानिक अंगका प्रमुखहरु सबैजना परिपक्क र पुराना अनुभवी हुनुहुन्थ्यो भने अध्यक्ष चन्द भरखर ३६ वर्षको युवा हुनुहुन्थ्यो । उहाँ श्री ५ वीरेन्द्रको दृष्टिमा परेको समय त्यही हो ।
२०३२ साल मंसिरमा भएको संविधान संसोधनले बैतडीबाट राष्ट्रिय पंचायतका लागि दुई जना सदस्य पठाउने व्यवस्था गरियो । अञ्चल—अञ्चलहरुको क्रमअनुसार निर्वाचन हुने व्यवस्था थियो । चन्दको चार वर्षे पदावधि नसकिदै २०३४ सालमा बैतडीबाट राष्ट्रिय पंचायत सदस्यको निर्वाचन भयो । यसपटक बैतडीबाट लोकेन्द्रबहादुर चन्द एक आसनमा विजयी हुनु भयो भने अर्को आसनमा सुरेन्द्रदेव भट्ट विजयी हुनु भयो । २०३४ साल असारमा राष्ट्रिय पंचायत उपाध्यक्षको निर्वाचन हुँदा चन्द पुनः विजयी हुन भो । यस पटक उहाँ निर्विरोध निवाचित हुनु भयो । यो पदमा उहाँ २०३७ साल असारसम्म रहनु भयो । २०३७ साल असारमा राष्ट्रिय पंचायत अध्यक्ष रामहरि शर्माको कार्यकाल समाप्त भएपछि राष्ट्रिय पंचायतको अध्यक्षको निर्वाचन भयो । यो पदमा प्रायः वरिष्ट र पाका राजनीतिज्ञहरुलाई जिताउने परीपाटी रहेको अवस्थामा पनि ४१ वर्ष नपुगेका युवा लोकेन्द्रबहादुर चन्द नै राष्ट्रिय पंचायतको अध्यक्ष छानिनु भो। राष्ट्रिय पंचायतको अध्यक्षको रुपमा उहाँले एघार महिना मात्रै काम गर्न पाउनु भो ।
२०३७ साल पुसमा भएको संविधान संसोधनले राष्ट्रिय पंचायतका ११२ आसनको लागि प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गर्यो । २०३८ साल वैसाखमा भएको राष्ट्रिय पंचायत सदस्यको पहिलो प्रत्यक्ष निर्वाचनमा बैतडीबाट लोकेन्द्रबहादुर चन्द र गणेशदत्त लेखक विजयी हुनु भएको थियो । सो निर्वाचनमा सबैभन्दा बढी मत पाउने दुई जनालाई दुई आसनमा विजयी बनाउने परिपाटी भएअनुसार १८१५७ मत पाउने लोकन्द्रबहादुर चन्द र ६६६४ मत पाउने गणेशदत्त लेखकलाई राष्ट्रिय पंचायत सदस्यमा विजयी घोषित गरिएको थियो भने निकटतम प्रतिद्वण्द्वी डम्बरबहादुर बमले ६६५३ मत ल्याएर पराजीत हुनु परेको थियो ।
२०३८ सालमा राष्ट्रिय पंचायतको सदस्यमा तेस्रो पटक विजयी भएर जानुभएका श्री चन्दले राष्ट्रिय पंचायतभित्र प्रमुख प्रतिपक्षको जस्तो सशक्त भुमिका निर्वाह गर्नु भो । राष्ट्रिय पंचायतलाई प्रजातान्त्रिक अभ्यास गर्ने थलोको रुपमा विकसित गर्ने उहाँको प्रयासले मूर्त रुप लिदै गयो । २०४० साल असारमा पहिलोपल्ट पंचायती व्यवस्थाभित्र प्रधानमन्त्रीलाई अविश्वास प्रस्तावले पदमुक्त गर्ने अभ्यास भयो । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका विरुद्धमा राष्ट्रिय पंचायतमा अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने कार्य लोकेन्द्रबहादुर चन्दकै नेतृत्वमा भएको थियो। राष्ट्रिय पंचायतमा अविश्वास प्रस्ताव पारित भएर प्रधानमन्त्री सूर्यबहादुर थापा पदमुक्त भएपछि नयाँ प्रधानमन्त्रीको रुपमा स्वाभाविक रुपमा लोकेन्द्रबहादुर चन्दको नाम नै अगाडि आयो। राष्ट्रिय पञ्चायतले सर्वसम्मत रुपले सिफारिस गरेपछि उहाँलाई श्री ५ महाराजधिराजबाट प्रधानमन्त्री नियुक्त गरिबक्सियो । २०४० साल असार २९ गते प्रधानमन्त्री पदको शपथ खाँदा उहाँ भर्खर ४३ वर्ष ५ महिनाको उमेरमा हिडिरहनु भएको थियो ।
नेपालको इतिहासमा सुदुरपश्चिमबाट प्रधानमन्त्री हुने उहाँ दोस्रो व्यक्ति हुनुहुन्थ्यो भने मन्त्रीपरिषदका अन्य कुनै पदमा नियुक्त नभएर एकै पटक सोझै प्रधानमन्त्री नियुक्त हुने उहाँ मातृकाप्रसाद कोइराला र डा. के.आई सिंहपछिको तेस्रो व्यक्ति हुनुहुन्थ्यो । पंचायत व्यवस्थामा राजनीतिमा प्रवेश गरेर पंचायतका गाउँ तहबाट उठ्दैउठ्दै पंचायतको माथिल्लो तह राष्ट्रिय पंचायतको अध्यक्ष हुने मात्र नभएर पंचायत कालमै राजनीतिमा प्रवेश गरेर प्रधानमन्त्री समेत हुने उहाँ पहिलो व्यक्ति हुनुहन्थ्यो।
२०४० साल असार २९ गते लोकेन्द्रहादुर चन्दको प्रधानमन्त्रीत्वमा गठन भएको मन्त्रीपरिषदमा नौ जना क्याबिनेट मन्त्री थिए । चितवनका बखानसिंह गुरुङ, काठमाडौंका पदमबहादुर खत्री र जोगमेहर श्रेष्ठ जस्ता परिपक्क व्यक्तिहरु पनि सो मन्त्रीपरिषदमा मन्त्री थिए भने पाँचथरका पदमसुन्दर लावती, सिन्धुपाल्चोकबाट निर्वाचित पशुपतिशमशेर राणा, धनुषाका हेमबहादुर मल्ल र डोटीका नारायणदत्त भट्टजस्ता अनुभवी व्यक्तिहरु पनि मन्त्रीको रुपमा सो मन्त्रीपरिषदमा समावेश गरिएका थिए। सिराहाबाट निर्वाचित डा. डम्बरनारायण यादव र नुवाकोटबाट निर्वाचित डा. प्रकाशचन्द्र लोहनीजस्ता विद्वानहरु पनि मन्त्रीको रुपमा उक्त मन्त्रीपरिषदमा समावेश गरिएका थिए । उक्त मन्त्रीपरिषदमा बाँकेका फतेहसिंह थारु, ताप्लेजुङ्का विष्णु मादेन, रुपन्देहीका दीपक बोहरा र गुल्मीका श्रीप्रसाद बुढाथोकी पनि राज्यमन्त्रीको रुपमा समावेश गरिएका थिए । हुम्लाका सुरवीर शाही, प्युठानका टंकबहादुर विष्ट, गोरखाकी विद्यादेवी देवकोटा, खोटाङ्का केदार राई, रुपन्देहीका निरन्जन थापा, ओखलढुङ्गाका भोलामानसिंह थापा र भोजपुरका मुकुन्दबहादुर बस्नेत पनि सहायकमन्त्री बनाइएका थिए।
यस पहिलो कार्यकालमा श्री चन्दले २ वर्ष ८ महिनासम्म प्रधानमन्त्रीको रुपमा काम गर्नु भयो । यस अवधिमा २०४१ साल असोज १ गते र २०४२ साल जेठ १ गते दुई पटक उहाँको मन्त्रीपरिषदको पुर्नगठन गरिएको थियो । यी पुनर्गठन पश्चात रुद्रप्रसाद गिरि, हरिश्चन्द्र महत, परशुनारायण चौधरी, रणधीर सुब्बाजस्ता बरिष्ट राजनीतिज्ञहरु र लबरु रानाथारु, हीरालाल विश्वकर्मा, बद्रीप्रसाद मण्डल, राधेश्याम कमारो र लीलाराज विष्टहरुले राज्यमन्त्री तथा रामध्यान राय, नरबहादुर हिराचन, मोहनलाल चौधरी, सत्यमान लामा र दमनध्वज चन्दहरुले सहायकमन्त्रीको रुपमा श्री चन्दको मन्त्रीपरिषदमा बसेर काम गर्ने अवसर पाएका थिए ।
पंचायतकालमा मन्त्रीपरिषदका सदस्यहरुलाई पदमै बसेर चुनाव लड्ने सविधा थिएन । फलतः २०४३ साल बैसाखमा हुने राष्ट्रिय पंचायतको निर्वाचनमा भाग लिन उहाँले २०४२ साल चैत्र ७ गते प्रधानमन्त्रीको पदबाट त्यागपत्र दिनु भयो । राष्ट्रिय पंचायतका चुनाव भएर नयाँ मन्त्रीपरिषद गठन नहुँदासम्मको लागि चैत्र ८ गते नगेन्द्रप्रसाद रिजालको प्रधानमन्त्रीत्वमा अन्तरिम मन्त्रीपरिषद गठन गरियो ।
२०४३ साल वैसाखमा प्रत्यक्ष बालिग मताधिकारको आधारमा दोस्रो पटक राष्ट्रिय पंचायत सदस्यको निर्वाचन भयो । बैतडीबाट चन्दले यस पटक ४१०४३ मत प्राप्त गर्नु भयो भने अर्का विजयी डम्बरबहादुर बमले १३३८० मत पाउनु भयो । २०४३ सालमा उहाँकै पुनः प्रधानमन्त्री हुने चर्चा थियो। तर उहाँको पिताको निधन भएर बरखी बारेको हुँदा दोस्रो पटक प्रधानमन्त्री हुने अवसर गुमेको चर्चा धेरैले गरेका थिए । त्यसपछिको समयमा उहाँले राष्ट्रिय पंचायत सदस्यको रुपमा काम गर्नु भयो । प्रधानमन्त्री भै सकेको व्यक्ति पैदलै हिडेर राष्ट्रिय पंचायतको बैठकमा भाग लिन आएको देख्दा मान्छेहरु उहाँको सरलपना देखेर अचम्म मानेर हेर्थे ।
प्रतिबन्धित दलहरुले २०४६ सालको उत्तरार्धतिर पंचायतका विरुद्ध आन्दोलन आरम्भ गरे । भारतले ती दलको आन्दोलनलाई सघाउन नेपालका विरुद्ध नाकाबन्दी लगाइदियो । आन्दोलन चर्किदै गएपछि २०४६ साल चैत्र २४ गते मरिचमान सिंह श्रेष्ठको मन्त्रीपरिषदलाई पदमुक्त गरियो । त्यसपछि लोकेन्द्रबहादुर चन्द पुनः प्रधानमन्त्री नियुक्त हुनु भो । पञ्चायतविरोधी आन्दोलनले च्याप्दै ल्याएको संकटकालीन समयमा गठन भएको मन्त्रीपरिषदमा केवल ३ जना नैनबहादुर स्वार, पशुपति शमशेर राणा र अच्युतराज रेग्मीलाई मात्र मन्त्री नियुक्त गरिएको थियो । यस मन्त्रीपरिषदले १३ दिन मात्रै काम गर्यो तर पंचायतबाट बहुदलीयतामा प्रवेश गरेको संक्रमणकालीन अवधिलाई संतुलित रुपमा समालेर शासनभार नयाँ अन्तरिम सरकारलाई हस्तान्तरण ग¥यो । लोकेन्द्रबहादुर चन्दले २०३६ सालको विद्यार्थी आन्दोलनको बेलामा आन्दोलनको क्रममा भएको क्षतिका विषयमा छानवीन गर्न सर्वोच्च अदालतका न्यायाधीश धनेन्द्रबहादुर सिंहको अध्यक्षतामा गठित शाही आयोगको सदस्य भएर पनि काम गर्नु भएको थियो । २०४६ सालको आन्दोलनको समयमा पनि सो आन्दोलनलाई निष्कर्षमा पुर्याउन उहाँले प्रधानमन्त्रीको रुपमा व्यवस्थापकीय भूमिका निभाउनु भएको थियो ।
त्यतिखेरको प्रसङ्गलाई सम्झिदै सूर्यबहादुर थापाले आफ्नो पुस्तक ‘मेरा नौ दशक’ मा लेखेका छन् :— "२०४६ साल चैत्र २३ गतेको रातीपख कफ्र्यु लागिरहेका बेला नवराज सुवेदीले मलाई फोन गरे । उनीसंगै म राजदरवार गएँ । दरवारमा म, कीर्तिनिधि विष्ट, रामहरि शर्मा, नगेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा र वेदानन्द झा थियौं । राजाकै अध्यक्षतामा प्रमुख पञ्चहरुलाई राखेर कुरा मिलाउने तय भएको रहेछ । मरिचमान सिंह अत्यन्तै आलोचनामा परिसक्नु भएको भन्ने थियो । मैले राजालाई सरकार ! म सरकारमा सामेल नभईकन बाहिरै बसेर सेवा गर्न चाहन्छु भनेँ । रामहरि शर्माले आफ्नो आँखा कमजोर भएको हुँदा नसक्ने उत्तर दिए । अरु एक दुई जनाले पनि त्यस्तै उत्तर दिए । लोकेन्द्रबहादुर चन्दले जे हुकुम हुन्छ हामी मान्छौं सरकार ! भने । त्यति भनेपछि राजाले भने — ल त चित्त नबुझ्ने जति जाऊ इच्छा हुने जति बस । म निस्किएँ । अरु बसे । कतिपयले राजाकै नेतृत्वमा मन्त्रीपरिषद बन्नुपर्छ भन्ने सुझाव दिएका थिए । म हिडिसकेपछि कीर्तिनिधि विष्टले भनेछन् — सरकार ! यस्तो बेलामा किन जिम्मा लिइबक्सिन्छ ? आगोलाई नछोइबक्सियोस् ! त्यसपछि राजाले सोधेछन् कसलाई गरौं त ? विष्टले राजेश्वर देवकोटालाई देखाएछन् । अरुले अरुअरु पनि नाम लिए । त्यसपछि राजाले भनेछन् — लौ बरु लोकेन्द्र नै हुन्छ । भोलिपल्ट बिहान लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा सरकार बनेको समाचार आयो"।
पंचायत विरोधी आन्दोलनचर्किदै गएपछि आन्दोलनकारीको माग संबोधन गर्दै २०४६ चैत्र २६ गते श्री ५ वीरेन्द्रबाट देशमा तीन दशकदेखि काम गरिरहेको निर्दलीय संचायत व्यवस्थाको सट्टा बहुदलीय प्रणाली लागु हुने घोषणा भयो । त्यो घोषणा हुनुअघि राजदरवारमा चारजना आन्दोलनकारी नेताहरु कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सहाना प्रधान र राधाकृष्ण मैनालीसित राजाबाट वार्ता भएको थियो । यस वार्तामा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि उपस्थित हुनुहुन्थ्यो।
व्यवस्था परिवर्तन गर्ने राजाको घोषणापछि नेपालको राजनीतिको रुप र रङ् फेरियो । मानिसहरु विचार र दलमा बाँडिन थाले । पंचायतकालमा स्वतन्त्र र निर्दलिय रुपमा काम गरेका व्यक्तिहरुलाई पनि फेरिएको अवस्थामा कुनै न कुनै दलमा आबद्ध हुनु पर्ने अवस्था आयो। कैंयौं पञ्चहरुले बलेको आगो ताप्ने क्रममा कांग्रेस र कम्युनिष्ट दलमा प्रवेश पनि गरे । पंचायत कालमा एकै ठाउँमा बसेर काम गरेकाहरु पनि एउटै दलमा आवद्ध हुन सकेनन् । पंचायतको लिगेसी पनि कसैले बोक्न चाहेनन् । लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, पदमसुन्दर लावतीजस्ता केही पंचहरुमा राष्ट्रियताको रक्षार्थ एक परम्परावादी राष्ट्रवादी दलको स्थापना हुनु पर्छ भन्ने कुराको छटपटी थियो । तर एक दलको लागि एक मत भने हुन सकेन। २०४७ साल जेठ १५ गते एकै दिन राष्ट्रिय प्रजातन्त्र पार्टी नामका दुई वटा दल खुले । एउटाको नेतृत्व सूर्यबहादुर थापालाई दिइयो भने अर्को दलको नेता लोकेन्द्रबहादुर चन्द बन्नु भो । एउटै पृष्ठभूमिबाट आएका मानिसहरु दुई तिर बाँडिदा पंचायतको लिगेसी भताभुङ्ग हुन पुग्यो भने राष्ट्रवादी विचारधाराको राजनीतिक धार पनि बलियो गरि अघि बढ्न सकेन।
२०४७ सालमा राजाबाट नयाँ संविधान जारी भएपछि २०४८ साल बैसाखमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भयो । यस निर्वाचनमा लोकेन्द्रबहादुर चन्द आफैले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) को टिकटमा बैतडीमा निर्वाचन लड्नु भो तर सफलता हात लागेन । चन्द क्षेत्र नं.१ र क्षेत्र नं ३ मा उठ्नु भएको थियो । २०४८ सालमा लोकेन्द्रबहादुर चन्दले जीवनको पहिलो चुनावी हार ५२ वर्षको उमेरमा व्यहोर्नु पर्यो । सो निर्वाचनमा राप्रपाका दुबै समुहले नराम्रो गरि पराजय भोग्नु परेपछि राप्रपा एकीकरणको प्रयास आरम्भ भएर केही समयपछि राप्रपा एक पनि भयो । लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाद्वारा नेतृत्व गरिएका दुइटा राप्रपा एक भएपछि २०४८ साल माघ २५ गते सूर्यबहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय विशेष समिति गठन गरिएको थियो । जसमा लोकेन्द्रबहादुर चन्दलाई नेताको पद दिइयो । त्यस्तै राजेश्वर देवकोटालाई सह अध्यक्ष बनाइयो । पदमसुन्दर लावती र रामचन्द्र राय यादव उपाध्यक्ष बनाइए भने रविन्द्रनाथ शर्मालाई महासचिव, जोगमेहर श्रेष्ठलाई कोषाध्यक्ष र कमल थापालाई प्रवक्ता बनाइएको थियो । नयनबहादुर स्वार, लालबहादुर खडायत, नारायणदत्त भट्ट, हेमबहादुर मल्ल, डा.मोहम्मद मोहसिन, फतेहसिंह थारु, छिरिङ तेन्जिङ लामा, श्रीमति कमल राणा र रणबहादुर शाह गरि ७ जना सो विशेष समितिका सदस्य बनाइएको थिए । २०५० साल जेठ २९ गतेदेखि ३२ गतेसम्म काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रथम अधिवेशनले सूर्यबहादुर थापालाई अध्यक्ष, लोकेन्द्रबहादुर चन्दलाई नेता र राजेश्वर देवकोटालाई सहअध्यक्षको पदमा सर्वसम्मतिले छानेर २२ सदस्यीय केन्द्रीय समितिको गठन गरेको थियो ।
२०५१ सालमा भएको प्रतिनिधि सभाको मध्यावधि निर्वाचनमा राप्रपाले प्रतिनिधि सभाका २०५ मध्ये २० स्थानमा विजय प्राप्त ग¥यो । यस निर्वाचनमा लोकेन्द्रबहादुर चन्द पनि बैतडीका दुबै क्षेत्रबाट चुनिएर प्रतिनिधि सभामा पुग्नु भयो । उहाँबैतडी क्षेत्र नं. २ र क्षेत्र नं. २ मा हुनु भएको थियो ।

चुनावपछि संसदमा कसैको बहुमत नभएको स्थितिमा सबैभन्दा ठूलो दल एमालेले अल्पमतको सरकार बनायो । यो सरकार नौ महिना चल्यो । २०५२ साल भाद्र २७ गते राप्रपाको समर्थनमा कांग्रेसका शेरबहादुर देउबाले सरकार बनाए । यो सरकार पनि अठार महिनापछि विघटन भयो । यसपछि एमालेको समर्थनमा राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर आइपुग्यो । यस सरकारको नेतृत्व गर्ने जिम्मेवारी लोकेन्द्रबहादुर चन्दले नै पाउनु भो । पंचायत व्यवस्थाको अन्तिम प्रधानमन्त्रीको रुपमा सिंहदरवार छाडेको सात वर्ष नपुग्दै उहाँ २०५३ साल फाल्गुण २९ गते बहुदलीय व्यवस्थामा पनि प्रधानमन्त्री भएर सिंहदरवार पुग्नु भो । उहाँले नेतृत्व गरेको राप्रपा—एमाले—सदभावना पार्टीको संयुक्त सरकारमा बन्यो ।
आफूलाई संसदीय व्यवस्थाको विकल्पको रुपमा उभ्याउन चाहने तथा सबै दल र विचारलाई वर्ग शत्रु मान्ने उग्र स्वभावको सो बेलाको एमालेसंग पंचायती पृष्ठभूमिबाट आएका राप्रपाका मन्त्रीहरुलाई काम गर्न सजिलो थिएन । तर प्रधानमन्त्रीको रुपमा श्री चन्दले समन्वयकारी र सदभावपूर्ण व्यवहार गरेर कम्युनिष्टहरुको उग्रतालाई निर्मलीकरण गर्दै उनीहरुमा अरुसित सहकार्य गराउने भावनाको विकास गराउनमा ठूलो भूमिका खेल्नु भयो ।
यो सरकार केवल सात महिनामात्रै टिक्यो । २०५४ साल असोज २९ गते कांग्रेसको समर्थनमा राप्रपाका सूर्यबहादुर थापा प्रधानमन्त्री हुन पुगे । राप्रपाको एउटा पक्ष राप्रपा नेतृत्वकै सरकार ढाल्न अग्रसर भएपछि राप्रपा पनि दुई चिरा भयो । त्यसपछिका दिन फेरि राप्रपाभित्र टुटफुट र मतमतान्तरमा बिते । लोकेन्द्रबहादुर चन्दले सदैव समन्वयकारी भूमिका निभाइरहनु भयो ।
यही टुटफुटका कारणले २०५६ सालमा सम्पन्न संसदीय चुनावमा फेरि राप्रपाको नराम्रो पराजय हनु पुग्यो । बैकल्पिक शक्ति बनेर उदय हुन लागेको राप्रपाले सिद्धान्त नमिल्नेहरुसित सरकारमा जाने कामलाई मात्र प्रमुखता दिएकोले जनताले उसलाई फेरि पत्याएनन् । लोकेन्द्रबहादुर चन्द पनि बैतडीमा पराजित हुन पुग्नु भयो ।
त्यसपछिका वर्षहरुमा नेपालको राजनीतिले अशान्ति, हिंसा र अस्थिरताको चरण पार गर्नु पर्यो ।
पार्टीगत रुपमा कमजोर हुँदै गए पनि आफ्नो निर्विवाद र निश्कलंक छविले गर्दा राष्ट्रिय राजनीतिमा भने लोकेन्द्रबहादुर चन्दको आवश्यकता र भूमिका रहि नै रह्यो । परिस्थितिले उहाँलाई २०५९ साल असोज २५ गते चौथोपटक प्रधानमन्त्रीको पदसम्म पुर्यायो । केही नयाँ परिवर्तन गर्ने आकाङ्क्षाले श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट चालिबक्सेको पाइलालाई सघाउन सर्वप्रथम उहाँले नै अघि सर्नु पर्ने स्थिति आइपुग्यो । राजाबाट संविधानको धारा १२७ अनुसार शेरबहादुर देउवाको सरकारलाई पदमुक्त गरेपछिको संक्रमणकालीन अवस्थामा प्रधानमन्त्री पदको निम्ति निर्विवाद पात्रको रुपमा उहाँकै नाम अगाडि आयो ।
माओवादी सशस्त्र द्वण्द्वलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएको यो सरकारले संघर्षरत माओवादीसित पहिलो पल्ट वार्ता पनि गरेको थियो । तर राजनीतिक परिस्थिति बिग्रिदै गएपछि २०६० साल जेठ २१ गते लोकेन्द्रबहादुर चन्दले प्रधानमन्त्री पदबाट राजीनामा गर्नु भएको थियो ।
त्यसपछिका दिनहरु झन्झन् बिगिद्रै गए । राजनीति मिलापभन्दा विघटनको बाटोमा अघि बढ्दै गयो । २०६२÷६३ को आन्दोलनले माओबादी सशस्त्र विद्रोहीहरुलाई मूलधारमा त ल्यायो तर राजनीतिले स्थिरताको बाटो कहिल्यै अँगाल्न सकेन । समयले अघि बढेर सबैले परिवर्तनको बाटो अँगाल्नु पर्छ भन्ने कुरामा लोकेन्द्रबहादुर चन्द स्पष्ट हुनुहुन्थ्यो तर उहाँले राजनीतिमा हिंसा, अशान्ति र बाह्य हस्तक्षेपको बढ्दो क्रमलाई कहिल्यै मन पराउनु भएन । नयाँ संविधान लेख्ने मनशायले २०६४ सालमा पहिलोपल्ट ६०१ सदस्यीय संविधान सभाको निर्वाचन सम्पन्न भयोे । लोकेन्द्रबहादुर चन्द रहनु भएको राप्रपाले समानुपातिक तर्फका ८ स्थान जित्यो भने कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालले ४ स्थान जितेको थियो । त्यस्तै सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टीले ३ स्थान जितेको थियो ।
यस संविधान सभामा लोकेन्द्रबहादुर चन्द पनि राप्रपाबाट समानुपातिक प्रकृयाद्वारा संविधान सभाको सदस्य निर्वाचित हुनु भएको थियो । २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो वैठकले अनायास राजतन्त्र हटाउने निर्णय गर्दा राप्रपाले गणतन्त्रको पक्षमा मतदान गर्ने निर्णय गरे पनि लोकेन्द्रबहादुर चन्द भने व्यक्तिगत रुपमा सहमति र असहमतिको प्रकृयामा समावेश नभएर निरपेक्ष बस्नु भएको थियो । त्यतिखेर कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालका चार जना सदस्यले मात्र राजतन्त्रको पक्षमा मतदान गरेका थिए।
हतारहतारमा राजतन्त्र हटाए पनि अरु कुनै कुरामा सो संविधान सभाले निकास दिन सकेन। अन्ततः २०७० सालमा विघटन हुन पुग्यो र अर्को संविधान सभाको निर्वाचन सम्पन्न भयो । संविधान सभाको दोस्रो निर्वाचनमा उहाँले बैतडीबाट पुनः प्रतिष्पर्धा गर्नु भयो । राजतन्त्रका पक्षधरहरुलाई चुनाव प्रचार गरेर हिड्ने वातावरण नहँदा नहुँदै पनि उहाँले ७४ वर्षको उमेरमा लट्ठिी टेकेरै बैतडीका गाउँगाउँ पुगेर प्रचार गर्नु भयो । उहाँले बैतडीका क्षेत्र नं.१ र क्षेत्र नं.२ बाट प्रतिष्पर्धा गर्नु भएको थियो । तर सफलता पाउन नसकेपछि यो नै उहाँको अन्तिम चुनावी प्रतिष्पर्धा हुन पुग्यो ।
वैदिक हिन्दु धार्मिक मान्यताले ७५ वर्षको उमेरलाई संन्यास ग्रहण गर्ने आयु सीमा मान्छ । लोकेन्द्रबहादुर चन्दले भने ७४ वर्षमै राजनीतिबाट संन्यसा लिनु भयो । २०७० सालको चुनावी पराजयपछि उहाँ सकृय राजनीतिबाट टाढिदै जानु भो । मरुन्जेल राजनीति गर्न नछाड्नेहरुको भीडमा उहाँले खुसीखुसी राजनीतिबाट टाढिएर आफूलाई पदको लागि मात्र राजनीति नगर्ने राजनीतिज्ञको रुपमा चिनाउनु भएको छ ।
लोकेन्द्रबहादुर चन्द मात्र होइन उहाँका परिवारका सदस्यहरु पनि सदैव शक्ति र राजनीतिको अनुचीत प्रभावबाट टाढै रहे । उहाँको पारिवारिक नातागोताको वृत्त ठूलो छ। ठकुरी जातीमा फरियाको नाता र गोरु बेचेको साइनोको पनि महत्व हुन्छ भन्ने भनाई नेपाली समाजमा प्रचलित हुँदाहुँदै पनि उहाँका नातेदारहरुले उहाँको पद र शक्तिको दुरुपयोग गरेको कहिल्यै सुनिएन । राजनीति र सत्तालाई गाजलको सुरुङ भन्ने गरिन्छ। चार पटक प्रधानमन्त्री भएका चन्द र उहाँको परिवारलाई गाजलको सुरुङ्मा पसेर पनि चोखै बाहिर निस्किन सफल भएकोमा सबैले प्रशंसा गर्ने गर्दछन् ।
राजनीतिमा शिष्ट र साहित्यमा शालिन छवि बनाउनु भएका लोकेन्द्रबहादुर चन्द नेपालको एक विशिष्ट साहित्यकारमा गणना हुने स्रष्टा पनि हुनुहुन्छ। उहाँलाई पाठकहरु श्रीलोचनको नाउँले पनि चिन्दछन् । साहित्यका सबैजसो विधामा कलम चलाउन सक्ने श्री चन्दका चौध ओटा साहित्यिक कृतिहरु प्रकाशित भैसकेका छन् । उहाँका कविता र कथा विधामा चारचार वटा कृति प्रकाशित भैसकेका छन् । इन्द्रधनुष, अपरिचित, सन्ध्यावली र तिम्रो झलक कवितासङ्ग्रह हुन् भने हिउँको तन्ना, विसर्जन, रात्रीभोज र पाहुनाघर कथासङ्ग्रह हुन् । त्यस्तै उहाँका कुुर्सी, द चेयर र बारौं खेलाडी गरि तिन वटा निबन्धात्मक कृति प्रकाशित छन् भने नाटक विधामा नेताको साथि र स्प्रिङ नामका दुई वटा कृति प्रकाशित भैसकेका छन् । उहाँको ‘विसर्जन’ भन्ने कथासङ्ग्रहले २०५४ सालमा नेपालको प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेको थियो । २०२८ सालमा ‘कर्णालीको लोकसंस्कृति’ नामक ग्रन्थका लागि संयुक्त रुपमा मदन पुस्कार पाउने बझाङका स्थिरजंगबहादुर सिंह भन्दा पछिको उहाँ सुदुरपश्चिमबाट सो प्रतिष्ठित पुरस्कार पाउने सुदुरपश्चिमको दोस्रो स्रष्टा हुनुहन्छ । राजनीतिमा लाग्ने व्यक्तिले प्रायः जेल जाँदा वा प्रवासमा निर्वासित भएको बेलामा मात्रै साहित्यको सिर्जना गरेको देखिन्छ । सकृय राजनीतिको व्यस्तताको माझमा पनि साहित्यको सिर्जना गर्न सक्ने श्री चन्द दुर्लभ राजनीतिज्ञ हुनुहन्छ ।
राजनीतिको तल्लो तहबाट उठेर माथिल्लो तहसम्म पुग्ने र आफ्नो विशिष्ट छवि बनाउन सफल लोकेन्द्रबहादुर चन्दजस्ता राजनीतिज्ञहरु नेपालमा बिरलै भेटिन्छन् । सिद्धान्त, नैतिकता र मूल्यमान्यताको राजनीति गर्ने राजनीतिज्ञहरुको नाम लिंदा सबैभन्दा पहिला उच्चारण हुने राजनीतिज्ञ हुनु हुन्छ लोकेन्द्रबहादुर चन्द। राजनीतिक कारणले भिन्न विचार बोकेकाहरु पनि व्यक्तिगत रुपमा लोकेन्द्रबहादुर चन्दको निर्विवाद र निश्कलंक व्यक्तित्वको प्रशंसा नै गर्दछन् । उहाँले राजनीतिका अनेकौं उतारचढावहरु व्यहोर्नु परे पनि आफ्नो धैर्यता र स्तरलाई कहिल्यै खस्किन दिनु भएन। उहाँले शक्ति आर्जनको लागि कुनै दूतावासको ढोका चाहारेको पनि देखिएन । पद प्राप्तिको लागि कुनै तिकडम र षडयन्त्र गरेको पनि कहिल्यै देखिएन । उहाँको निश्कलंक र सरलपन नै उहाँको परिचय र पुँजी बन्यो।
राजनीतिमा शिष्ट र साहित्यमा शालीन छविमा प्रकट हुनुभएका लोकेन्द्रहादुर चन्दले नेपाली राजनीति र साहित्य दुबै क्षेत्रमा आफ्नो विशिष्ट स्थान बनाउनु भयो । जुनसुकै भूमिका र जुनसुकै ठाउँमा भएर काम गरे पनि उहाँले आफ्नो ओजिलो व्यक्तित्वमा कहिल्यै दाग लाग्न दिनु भएन । राजनीतिमा शिष्ट र साहित्यमा शालीन छवि बनाउनु भएका भुतपूर्व प्रधानमन्त्री तथा प्रसिद्ध साहित्यकार श्री लोकेन्द्रबहादुर चन्द आज फाल्गुण ३ गते ८६ वर्ष पुगेर ८७ औं वर्षमा लाग्नु भएको छ।
हृदयदेखि नै आदर गर्न मन लाग्ने, सरलता, शालिनता, मृदुता, भद्रता र निश्छलताका धनी श्री लोकन्द्रबहादुर चन्दज्यूमा ८७ औँ जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Funny when Nepalis talk about Epstein and injustice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters