[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 राजा बिरेन्द्रको पहिले नसुनेको कुरा
[VIEWED 2007 TIMES]
SAVE! for ease of future access.
Posted on 07-20-17 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं । दसैँ टीकाको ठीक भोलिपल्ट ०५६ साल। साँझ पर्नै लागेको थियो। नुवाकोटको ककनी हुँदै काठमाडौँ छिर्ने सडकमा सार्वजनिक यातायातका गाडी त्यति गुडेका थिएनन्। एकाधमध्ये सबै साधन दसैँ मान्न जाने-आउने यात्रुले ठेलमठेल थिए। गन्तव्यमा पुग्न सार्वजनिक सवारी साधन कुरेर बसेका यात्रुका लागि ठाउँ पाउन मुस्किल थियो।

यस्तैमा एउटा कार ककनी हुँदै ओशो तपोवन रहेको गोलढुंगा भञ्ज्याङ आइपुग्यो। गाडीमा तीन यात्री थिए। एक जना चालक, सँगैको सिटमा उनकी श्रीमती अनि पछिल्तिरको सिटमा सैनिक बर्दी लगाएका अर्का एक पुरुष। कार चालकको आँखा गाडी नपाएर निराश र हतास मुद्रामा अघि बढिरहेको एक दम्पतीतिर पर्‍यो। तीमध्ये पतिले एक बालक बोकेका थिए भने बाँकी केटाकेटी हिँड्दाहिँड्दा थकित भइसकेकी पत्नीले समाइरहेकी थिइन्।

गाडी नपाएर यस्तो सास्ती भोगिरहेको दम्पतीका अघिल्तिर कार रोकियो। चालकले लोग्नेमान्छेसँग सोधे, “कहाँ पुग्ने हो ?” उनले जवाफ दिए, “भक्तपुरको सुडाल।” चालकले बच्चासहितका दम्पतीलाई कारमा बस्न अनुरोध गरे। अनि, बालाजु बाइपाससम्म ल्याएर छाडिदिए। त्यस कारका चालक अरू कोही होइन, राजा वीरेन्द थिए।

साथमा थिइन्, रानी ऐश्वर्य। कारको पछिल्तिरका सैनिक बर्दीवाल राजा वीरेन्द्रका एडीसी महासेनानी सुन्दरप्रताप राना थिए। यो थियो, राजा वीरेन्द्रको सहृदयताको नमुना, जो ठीक १३ वर्षअघि १९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डमा आफ्नो पूरै वंशसहित मारिएका थिए।राजा वीरेन्द्रका बारेमा अक्सर कल्पना हुन्छ, उनको जीवनशैली, भव्य र विलासी थियो होला।

उनी बस्ने दरबार पनि त्यस्तै भव्य थियो होला, जस्तो राणा शासकहरूको हुने गथ्र्यो। बोलीचाली त्यस्तै रवाफिलो थियो होला। तर, यस्ता सोचाइ र अनुमान विपरीतका थिए, राजा वीरेन्द्र। उनी सहृदयी र कोमल प्रकृतिका थिए। यो कुरा बुझ्न काफी छ गाडी नपाएर असिनपसिन बनेको त्यो दम्पतीलाई लिफ्ट दिएको घटना।

बोलीवचनमा पनि शालीन

शक्तिको दम्भ र बडप्पनबाट पनि टाढै थिए, राजा वीरेन्द्र। आफूबाट सानोतिनो स्वाभाविक गल्ती हुँदा माफी माग्न हिचकिचाउँदैनथे उनी। आफ्नो जीवनकालमा दर्जनौँपटक वीरेन्द्रसँग भेट र लामो कुराकानी गरेका पत्रकार माधवकुमार रिमाल, ८८, भन्छन्, “बोलीचाली र व्यवहारमा पनि उनी उत्तिकै विनम्र र सरल थिए। त्यो विनम्रता र सरलताको प्रदर्शन उनले आफू मारिने दिन पनि मसँग गरे।

१९ जेठ ०५८ को दरबार हत्याकाण्ड हुनुअघि वीरेन्द्रको अन्तिम भेट पाउने नेपाली थिए, पत्रकार रिमाल। उनका अनुसार साढे ६ बजे वीरेन्द्रसँग भेटघाटको कार्यक्रम तय भएको थियो। उनी समयमै पुगे तर बडागुरु जनार्दनराज पाण्डेको नातिको पास्नीमा गएका वीरेन्द्र र्फकंदा २० मिनेट ढिला भयो। रिमाल सम्झन्छन्, “मलाई भेट्नासाथ राजाले माफी मागे, माफ पाऊँ ढिलो गरेँ भन्दै।

वीरेन्द्रको यस्तो सरल व्यवहार देखे-भोगेपछि नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले समेत उनीप्रतिको आफ्नो पूर्वधारणा बदलेका थिए। ०४८ सालको आमनिर्वाचनको प्रचारका सिलसिलामा भण्डारीले राजा वीरेन्द्र प्रजातन्त्रविरुद्ध सक्रिय हुन थालेको आरोप लगाए। चैत ०४७ मा चाबहिलको सभामा भण्डारीले वीरेन्द्रलाई चेतावनी दिए, ‘महाराज ! आँखा नचम्काइबक्स्योस्, हात नलम्काइबक्स्योस्, यदि राजनीति गर्ने नै मन हो भने श्रीपेच खोलेर मैदानमा आइबक्स्योस्। तपाईंसँग प्रतिस्पर्धा गर्न यो मदन भण्डारी तयार छ।

’प्रजातन्त्र पुन:बहालीपछि राजा वीरेन्द्रले यस्तो तीखो प्रहार कसैबाट सुन्नुपरेको थिएन। राजासँग चुनावी प्रतिस्पर्धा गर्ने यही ऐलानका कारण भण्डारी लोकप्रिय पनि बने। प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भण्डारीबाट पराजित हुनुको एउटा कारण वीरेन्द्रलाई उनले दिएको यो चुनौती पनि थियो।

 

यस्तो चुनौतीपूर्ण भाषणपछि राजा वीरेन्द्रले भण्डारीसँग कुराकानी गर्ने इच्छा व्यक्त गरे। भण्डारी पनि नारायणहिटी पुगे। आफ्ना कटु आलोचकसँग समेत अन्तरक्रिया गर्न चाहने उनले भण्डारीलाई दरबार बोलाएको घटनाले पनि उनको दम्भहीनता स्पष्ट पार्छ। सरल स्वभावका वीरेन्द्रबाट भण्डारी पनि प्रभावित भए।

जबकि, नारायणहिटी पुग्दासम्म उनमा राजाप्रति नकारात्मक भाव जीवितै थियो।राजा वीरेन्द्रका एडीसी धमलाका अनुसार महासचिव भण्डारी मंगल सदन पुग्दा राजा वीरेन्द्र नारायणहिटी दरबारभित्रै थिए। त्यसैले एडीसी धमलाले भण्डारीलाई एकछिन कुर्सीमा बस्न आग्रह गरे तर उनी बसेनन्। आफू राजालाई कुर्ने पक्षमा नरहेको सन्देश थियो, यो उनको। यही कुरा सुनाउन धमला राजा भएको कोठामा गए। ‘ठीकै छ’ भन्दै वीरेन्द्र बैठक कक्षतिर आइपुगे।

राजा वीरेन्द्र र भण्डारीबीच डेढ घन्टा कुराकानी भयो। जबकि, यो भेटघाट ३० मिनेटका लागि मात्र तय गरिएको थियो। धमला भन्छन्, “बाहिर निस्कँदा असिनपसिन हुनुभएको थियो मदन भण्डारी। पहिले बस्नूस् भन्दा मान्नुभएको थिएन। भित्रबाट निस्केपछि आफैँ कुर्सीमा बस्नुभयो र पानी माग्नुभयो।

उहाँ वीरेन्द्रबाट कति प्रभावित हुनुहुन्थ्यो भने त्यसपछि सार्वजनिक रूपमै उहाँले सामान्य सर्ट र सुरुवाल, घेरा फाटेको टोपी लगाउने राजा पनि हामीजस्तै साधारण नेपाली हुन् भन्नुभयो।”संग्रहालय उपप्रमुख ढुंगानासँग पनि यस्तै अर्को रोचक सम्झना छ। माघ ०५० मा वीरेन्द्र दक्षिण भारतको जोधपुर पुगेका थिए, राजा कर्णेल प्रताप सिंहकी छोरीको बिहेमा सहभागी हुन।

भारत सरकारले उनको सुरक्षाका लागि खटाएको टोली प्रमुख राजतन्त्रका घोर विरोधी रहेछन्। उनले नेपाली अधिकारीहरूसँग ‘राजाहरू सामन्ती, स्वेच्छाचारी र निरंकुश हुन्छन्, त्यसैले राजतन्त्र र राजाको नामसमेत सुन्न मन लाग्दैन’ भनेछन्। तर, एक साताको संगतले राजा वीरेन्द्रप्रति उनको धारणामा परविर्तन आइसकेको थियो। ढुंगाना भन्छन्, “उनी राजा वीरेन्द्रको व्यवहारबाट कति प्रभावित भए भने नयाँ दिल्ली विमानस्थलमा खुट्टा ढोगेरै बिदाइ गरे।

-हाम्रोदेश डट कम को सहयोगमा

-http://[Disallowed String for - Excessive self promotion]


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters