युवा नेता भन्छन्- धरौटीबिनै रिहा गरेको भए हुन्थ्यो
२५ मंसिर, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डलाई मंसिर १ गते गालामा थप्पड हान्ने बाग्लुङे युवक पदम कुँवरले २८ हजार धरौटी नबुझाएका कारण उनलाई सोमबार जेल चलान गरिएको समाचार अनलाइनखबरमा आउनासाथ ‘कुँवरको धरौटी म तिरिदिन्छु’ भन्दै इजरायलबाट नेमा तामाङको टेलिफोन आयो । लगत्तै अनलाइनखबरमा संसारका विभिन्न भागमा बसेका नेपालीहरुले २८ हजार धरौटी तिर्ने भन्दै प्रतिक्रिया दिन थाले । कतिपयले तत्कालै सहयोग गर्न भन्दै कुँवरका परिवारको सम्पर्क ठेगाना र बैंक खाता नम्बरसमेत मागे ।
अनलाइनखबरमा तत्काल आएका ५६ प्रतिक्रियामध्ये १६ जनाले उनको धरौटी तिरिदिन आफूहरु तयार रहेको बताए भने केहीले इमेल र फोनबाट पनि यस्तो आग्रह गरे । यसरी आग्रह गरेजति सबैले सहयोग गर्ने हो भने २८ हजार त के, ४/५ लाख रुपैया सहजै उठ्ने स्थिति देखियो । यसअघि काभ्रे घर भई अमेरिकाको न्यूयोर्कमा बस्दै आएका अर्जुनप्रसाद मैनालीले कान्तिपुर दैनिकमार्फत् कुँवरलाई १० हजार रुपैयाँ सहयोग पठाएको मंसिर २० को कान्तिपुरमा छापिइसकेको छ ।
नेतालाई पिटेर सार्वजनिक अपराधको मुद्दामा सजायँ भोगिरहेका कुँवरप्रतिको यस्तो समर्थन सहानुभूतिले आइटी पुस्ताका नेपालीको मनोविज्ञान बुझ्न नेपालका नेताहरु, विशेष गरी स्वयं प्रचण्डलाई समेत सहयोग पुगेको हुनुपर्छ । आखिर प्रचण्डमाथि सार्वजनिकरुपमै हातपात गर्ने युवकमाथि किन यसरी मानिसहरुले सहानुभूति जनाएका होलान् ?
यो घटनालाई उचाल्नु हुँदैन-गगन थापा
पदम कुँवरमाथि देखिएको सहानभूतिबारे कांग्रेस युवा नेता एवं पूर्व साभासद् गगन थापा भन्नुहुन्छ- ‘यसलाई दुईवटा पाटोमा हेर्नुपर्छ । पहिलो, घटनालाई प्रस्तुत गर्ने र लिने तरिकामा भर परेको छ । नेताहरुले गलत गरेको हुनाले यो घटना सबैको आक्रोशको प्रतिनिधि हो भन्ने प्रस्तुति र बुझाइले गर्दा कुँवरप्रति सहानुभूति बढेको छ । दोस्रो, हाम्रो समाज नकारात्मकतातिर गएको छ भन्ने अभिव्यक्ति पनि हो ।’
तर, नेताहरुमाथि हुने हातपातलाई सबै जनताको आक्रोशको प्रतिनिधिमूलक घटना मान्न नहुने थापा बताउनुहुन्छ । ‘हो नेतामाथि जनताको आक्रोश छ, तर कसैले लहडमा पिट्दैमा यो आमजनताको प्रतिनिधि हो भनेर बुझ्न हुँदैन ।’ थापाले भन्नुभयो- ‘यो घटनालाई उचाल्नेभन्दा पनि मत्थर पार्नेतिर लाग्नुपर्छ ।’
२८ हजारमा कम्प्युटर किनिदिए हुन्छ- हेमराज भण्डारी
एमाओवादी युवा नेता एवं पूर्वसभासद् हेमराज भण्डारी यो घटनाको जिम्मेवार नेताहरु नै रहेको बताउनुहुन्छ । ‘यो नेतृत्वप्रतिको वितृष्णा हो । संविधानसभामा नेताहरुले भूमिका खेल्न नसकेपछिको वितृष्णा हो यो ।’ भण्डारीले भन्नुभयो, ‘यतिबेला नेताहरुलाई सबक सिकाउने क्रम बढेको छ । विगतमा नेताप्रति कत्रो सम्मान हुन्थ्यो, नेताका लागि मानिसहरु मर्न तयार हुन्थे तर, अहिले त्यसको विपरीत ठाउँमा पुगेको छ हाम्रो समाज ।’ जनतालाई कस्तो संस्कार सिकाउने भन्ने नेतृत्वमै भर पर्ने बताउँदै भण्डारीले यो घटनाबाट नेताहरुले ठूलो सबक सिक्नुपर्ने बताउनुहुन्छ ।
‘कुँवरलाई सहयोग गर्न चाहनेहरुले उनीप्रतिको सहानुभूति पनि दर्शाएका हुन् । घाइते, अंगभंग हुनुका साथै जनयुद्धमा लागेर परिवारको अवस्था बिग्रेको हुनाले पनि कुँवरप्रति मानिसहरुको सहानुभूति देखिन्छ । प्रचण्डमाथिको आक्रमण संभवतः यही आक्रोशको अभिव्यक्ति थियो । तर, प्रचण्डले माफी दिइसकेपछि उनलाई धरौटी नलिई प्रशासनले रिहा गरिदिएको भए न्याय हुने थियो ।’-भण्डारीले अनलाइनखबरसित भन्नुभयो ।
‘यो घटना आम नेताप्रतिकै वितृष्णा हो, झलनाथ खनाललाई पिट्ने देवीप्रसादप्रति यस्तै सहानुभूति ओइरिएको थियो । यस्तो हुनु राम्रो होइन, तर, नेताकै व्यवहारको ‘रिफ्लेक्सन’का रुपमा यसलाई लिनुपर्छ ।’-उहाँले भन्नुभयो ।
तर, समाजको ध्यान सिर्जनामा भन्दा ध्वंशतिर गैरहेको भण्डारीको गुनासो छ । उहाँ भन्नुहुन्छ- ‘पदमलाई गर्नेजस्तै आर्थिक सहयोग दुर्गम भेगका मान्छे बिरामी पर्दा वा अन्य कुनै सिर्जनामा लगाउने तत्परता देखाइनुपर्छ । ‘२८ हजार सहजै सहयोग गर्न सक्नेहरुले पिछडिएको क्षेत्रका विद्यालयमा एउटा कम्प्युटरमात्रै अनुदान दिने हो भने पनि त्यसले नयाँ पुस्तालाई पदम कुँवर बन्नबाट जोगाउँछ ।’
स्वाभाविक मान्नुपर्छ- नीति अर्याल (खनाल)
समाजशास्त्री नीति अर्याल (खनाल) चाँहि पदम कुँवरप्रति मानिसहरुले देखाएको सहानुभूतिलाई स्वाभाविकरुपमा लिनुपर्ने बताउनु हुन्छ । ‘अहिले नेताप्रति समग्र नेपालीमा वितृष्णा छाएको छ, नेताहरुले गर्न सक्नेभन्दा पनि बढी कुरा गरेर जनतालाई आशामात्रै देखाउने गरेका छन् । माओवादीले त अझ जनयुद्धको बेला यस्ता आशा र आश्वासन धेरै देखाइदियो, व्यवहारमा गर्न सकेन । बोली र गराइमा धेरै फरक देखियो ।’ खनालले भन्नुभयो-’ आफूलाई सर्वहाराको नेता भन्ने, तर संभ्रान्त बन्न खोज्ने प्रवृत्तिले माओवादी नेताहरुप्रति जनताको आक्रोश बढेको छ । त्यसैले यो घटनालाई स्वभाविक रुपमा लिनुपर्छ ।’