यसरी झिकियो नक्कली एटिएमबाट ८० लाख WEDNESDAY, 21 DECEMBER 2011 10:18 नागरिक 1 2 3 4 5 (15 votes, average 4.27 out of 5) केपी ढुंगाना, काठमाडौं, पुस ६- नेपाली फिल्मका नायक जीवन लुइँटेलकी सासु रुपा शर्मा बैंक खाताबाट 'पैसा चोरी भयो' भन्दै पाँच महिनाअघि महानगरीय प्रहरी अपराध महाशाखा पुगिन्। बेलाबेला उनको एटिएम चलाउने गरेकाले प्रहरीको पहिलो शंका ज्वाइँ लुइँटेलमाथि नै गयो। पुष्टि भएन। कात्तिक २७ गते भिक्षु राजु लामा र त्यसलगत्तै रम्देल लामा पनि यस्तै उजुरी दिन प्रहरीकहाँ गए। सबै उजुरीमा एउटा कुरा समान थियो- पैसा चोरिएका सबै खाता नबिल बैंकका थिए। यही आधारमा अनुसन्धान गरिरहेको महाशाखा टोलीले सोमबार सविन रिमाल र रितेश रिमाललाई पक्राउ गरेपछि चोरीको रहस्य खुल्यो। रिमाल दाजुभाइले बैंककबाट आधुनिक मेसिन मगाएर अर्काको नामको एटिएम बनाउने र धमाधम पैसा थुत्ने गरिरहेका रहेछन्। उनीहरूले पाँच महिनायता नबिल बैंकका खाताबाट ८० लाख रुपैयाँ थुतिसकेको प्रहरीलाई बयान दिएका छन्। यसमध्ये अहिलेसम्म १२ जनाका खाताबाट ४८ लाख चोरिएको विवरण प्रहरीले भेटिसकेको छ। अन्य खातावालालाई आफ्नो पैसा हराएको पत्तै नहुनसक्ने छानबिनमा संलग्न प्रहरी अधिकारीले बताए। 'सुरुमा त हामीले नेपालमा यस्तो प्रविधि प्रयोग गरेर ठगी भइरहेको छ भन्ने अनुमानै लाउन सकेनौं,' अपराध महाशाखा प्रमुख देवेन्द्र सुवेदीले मंगलबार नागरिकसँग भने, 'अनुसन्धान नतिजा देखेर छक्क पर्‍यौं।' प्रहरीमात्र होइन, बैंकले पनि सुरुमा ग्राहकहरू 'खातामा एक्कासि पैसा घट्यो' भन्दै गुनासो गर्न आउँदा वास्तै गरेन। बैंकले नटेरेपछि नै उनीहरू प्रहरीकहाँ गएका हुन्। लगातार उस्तै खालका उजुरी आएपछि एक महिनाको अनुसन्धानबाट 'नक्कली एटिएम बनाएर अर्काको खाताको पैसा चोर्ने' गिरोहसम्म पुग्न सकेको एसएसपी सुवेदीले जानकारी दिए। पक्राउ परेका २६ वर्षीय सविन नबिल बैंककै पूर्व कर्मचारी हुन्। बिबिएसम्म पढेका र राम्रो पारिवारिक पृष्ठभूमिका उनले एकै विषय पढेका साख्खै भाइ रितेशलाई पनि यो ठगीमा सक्रिय बनाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सविन बैंकको एटिएम डिर्पाटमेन्टमै काम गर्थे। त्यस क्रममा ग्राहकका गोप्य जानकारी बटुलेपछि १७ महिनामै जागिर छाडे। 'उनले ठगीकै उद्देश्य राखेर जागिर खाएको र आफूलाई चाहिने सूचना बटुलेपछि छाडेको देखिन्छ,' सुवेदीले भने, 'उनले ग्राहकका एटिएम पिनकोड नम्बर ल्यापटपमा सारेका थिए।' प्रहरीले सोमबार रिमाल दाजुभाइलाई ललितपुर जावलाखेलबाट पक्राउ गर्दा उनीहरूसँग विभिन्न व्यक्तिको नाममा बनाइएको नक्कली एटिएम कार्ड, कार्ड बनाउन प्रयोग गरिने मेसिन र ३ लाख ३४ हजार रुपैयाँ फेला पारेको थियो। उनीहरूबाट राजु लामा, छोनी लामा, विन्दु तोडी, सुरज डंगोल, रुपा शर्मा, वसन्त शाह, पशुपति थापा मगर, श्रवण सुमर पुन, ओमकार नेपाल र विनोद श्रेष्ठको नाममा नबिलले जारी गरेको एटिएम कार्ड फेला परेका छन्। कार्ड बनाउने डाटा इन्कोडर मेसिन, पिनकोड नम्बरलगायत अन्य विवरण रहेको ल्यापटप, १६ वटा हार्डडिक्स, ७३ आइडी कार्ड, नबिलको २ सय ७३ थान भिसा इलेक्ट्रोनिक कार्ड, ३ वटा लोकल क्रेडिट कार्ड, लक्ष्मी बैंकको क्रेडिट कार्ड, नबिलको २० वटा भिसा डेबिट कार्ड, नबिलको ७ वटा नारी बचत डेबिट कार्ड लगायत सामग्री पनि प्रहरीले बरामद गरेको छ। सविनले बैंकमा जागिर खाँदाको अनुभवका आधारमा बजारबाट एटिएम कार्ड किनेको बयान प्रहरीलाई दिएका छन्। उक्त कार्डमा पिनकोड र म्याग्नेट जडान गर्ने मेसिन १५ हजार भाट तिरेर बैंककबाट किनेर ल्याए। उनले बैंकमा काम गर्दा बटुलेका पिनकोड नम्बरको आधारमा धमाधम नक्कली एटिएम कार्ड बनाउन थाले। त्यसपछि भाइ रितेशको सहयोगमा विभिन्न बैंकको एटिएम मेसिनबाट पैसा निकाल्न सुरु गरे। 'उनीहरू पैसा निकाल्न सिसिटिभी जडान नभएका एटिएम मेसिन प्रयोग गर्थे,' महाशाखाका एसपी श्याम खत्रीले भने, 'धेरैजसो हिमालयन बैंकको एटिएम मेसिन प्रयोग गरिएको देखिन्छ।' उनीहरूले कार्ड बनाउँदा म्याग्नेटिक डिभाइस प्रयोग गर्ने गरेको छानबिनमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए। बाहिर कार्डमा प्रयोग भएको व्यक्तिको नाममा भने चिनियाँ भाषाको अक्षर प्रयोग गरिएको छ। यसका लागि गुगलबाट चिनियाँ नामहरू खोजेको उनीहरूले बयान दिएका छन्। पछिल्लो समय यी दाजुभाइले इन्टरनेसनल मनी ह्याकरसँग सम्बन्ध बढाएको पनि प्रहरीले खुलासा गरेको छ। त्यही सञ्जालबाट अन्तर्राष्ट्रिय स्तरमै अर्काको खाताको रकम झिक्ने प्रविधि विकास गर्न सक्रिय रहेको पत्ता लागेको छ। 'अन्तर्राष्ट्रिय आपराधिक समूहका सदस्यहरूसमेत यसमा संलग्न देखिए,' एसएसपी सुवेदीले भने, 'उनीहरूले बैंकक, फिलिपिन्स र पाकिस्तानमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर नेपालका बैंकमार्फत् अन्य देशबाट रकम निकाल्ने तयारी गरिरहेका थिए।' नेपाली बैंकहरूको 'सिस्टम ह्याक' गरेर बाहिरबाटै पैसा झिक्ने उनीहरूको प्रपन्च रहेको प्रहरीले जनाएको छ। यसैका लागि नबिललगायत अन्य बैंकको ग्राहकसम्बन्धी जानकारी अन्तर्राष्ट्रिय आपराधिक सञ्जालमा पठाइसकेको अनुसन्धान अधिकारीको दाबी छ। 'बेलैमा उजुरी आएकाले ठूलो स्तरको अपराध हुन नपाउँदै गिरोह फेला पर्‍यो,' सुवेदीले भने, 'उनीहरूले अन्तर्राष्ट्रिय संगठनसँग समन्वय गिरेर गोप्य सूचना लिक गरिसकेको देखिन्छ।' आधुनिक प्रविधि प्रयोग गरी संगठित रूपमा बैंकिङ ठगी गरिएको यो पहिलो घटना हो। यसअघि अर्काको नाममा रहेको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी ठगी गरेको घटनामात्र सार्वजनिक भएका थिए। Last edited: 21-Dec-11 11:46 AM
timer · Dec 21, 2011 11:46 AM · 10,983 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion