कसैको मस्तिष्कमा कैद हुँदा कस्तो हुँदो हो। सँघर्ष बिनाको जीवन र सूर्य बिनाको दिन कस्तो हुँदो हो। यो त कल्पना पनि गर्न मिल्दैन तर मैले एउटा यस्तो व्यक्ति भेटेँ जो बतासको वेगसँग प्रश्न गर्दै थियो। म प्राय सधैँ हत्तारमै हुन्थेँ। त्यस दिन पनि हत्तारमै थिएँ। कलेज पनि हत्तारिँदै पुगेको थिएँ। कलेजबाट फर्कदा त्यो व्यक्ति त्यहिँ थियो। सडकको पेटीमा लम्पसार, अनि लाचार। नजिक गएर हालखबर सोध्ने आँट आएन। के भएको होला? कहाँबाट आएका उनी? खासै जान्न जरुरी थिएन। तर मलाई केही प्रश्नका उत्तरहरु चाहिएको थियो। ‘ह्या! यो पागल हो हिँड जाउँ’, मुनाले मेरो हात तान्दै भनी। मैले केही नसोची फनक्क फर्किएँ। *** अर्को दिन। म आज पनि हत्तारमै थिएँ। लाग्थ्यो कलेज जान हतार हो कि जीवनको गन्तव्य पुग्ने? ‘सायद जिन्दगी हत्तारको यात्रा हो।’ उ आज पनि त्यही थियो। हेर्दा अर्धबैसेँ देखिन्थ्यो। ठाउँ-ठाँउमा टालिएका वस्त्रले शरिर ढाकिएका थिए। कालो केस मैलिएर कैलो भएको थियो। अलि फोहोरी देखिन्थ्यो। परबाट हेर्दा उसको मुहारमा बिफोरका दागहरु थिए। डरलाग्दो देखिने। त्यस्तो चरित्र भएको व्यक्तिसँग म बोल्न जाँदा समाजले पचाउन सक्ला? शंकाको हुरीले अनेक आंकलन गर्ने विषय थियो यो। मनमनै भने मान्छेहरु कस्तो मानसिकता पालेर बस्दा रहेछन्। जस्तो मानसिकता, जीवनशैली पनि ठ्याक्क उस्तै। ‘सायद जीवन मानसिकता अनुसार चल्दो हो।’ *** हिजोको अर्को दिन। अर्थात नयाँ आज… म सबेरै निस्किएँ घरबाट। यसपटक मलाई हत्तारमा कुनै मौका गुमाउनु थिएन। जति जति पाइला अगाडी लम्कँदै बढे, त्यस्को दोब्बर मनमा उब्जिएका प्रश्नहरुले पछाडी ढकेल्दै गए। ‘सुन्नुस् न!’ मैले गुहारे। अब मलाई के गर्ने होला, के ठान्ने होला? मेरो बोलाहटको प्रतिक्रिया कुर्दै थिए म। उनीले एकटकले मलाई गाडेर नियालि रहे। उनको निरन्तर हेराइसँगै म मा डर उब्जिदै थियो। भागेर कतै टाढा जान मनलाग्यो। ‘कतै झम्टिहाल्ने पो हो कि मलाइ?’ मैले भ्रमको भुमरीमा एक्लै घेरिएको महसुस गर्न थाल्यो। ‘के भयो बिटिया?’ उनको सभ्य मधुर बोली सुनेपछी भत्भतिएको मेरो मुटुले बल्ल आराम पायो। म निर्धक्क भएँ। ‘बतासको वेगसँग पनि कुरा गर्न मिल्छ?’ मैले केहि नसोची फ्याट्टै सोधेँ। नजर झुकाउँदै उनी एकोहोरिन थाले। केहि बोल्न जाँदै थिए उनी। “सुन्ने मान्छे नहुँदा म दिनमा बतासको वेगसँग बात मार्छु। अनि रातमा निस्पट्ट अन्धकारसँग।” ‘किन?’ मैले प्रश्नमाथि प्रश्न गरेर सायद उनलाई दिक्क लागेको हुन सक्छ। “किनकी…म जीवनबाट हारेको मान्छे हुँ!” यो वाक्य निकै गहिरो थियो। सतहमा जवाफ दिइरहेका उनको जीवनकथा र यथार्थ अझै गम्भीर थियो होलान्। ‘यसो सोच्दा, जीवन हार पनि रहेछ।’ बाहिर फोहोरी देखिएता पनि उनको मन सफा थियो। तर जीवन फाटेको कपडा जस्तै।उनको अनुहार हेर्दा देखिन्थ्यो कि राम्रो दिनको पर्खाइमा उनले धेरै नमीठा दिनहरु भोगेका रहेछन्। ‘धैर्य गर्नु पनि जीवन रहेछ।’ उनी पागल थिएनन्। संघर्षका आफ्नो दिन व्यस्त सडकको पेटीमा कटाउँदै थिए। ‘जीवन सँघर्ष पनि रहेछ।’ उनी मधेसबाट ठूलो सपना बोकेर काठमाडौँ भित्रेका रहेछन्। उनको बुवा थिएनन्। जेठो छोरो भएको कारण उमेर नपुग्दै काँधमा जिम्मेवारिको बोझ थपिएको रहेछ। पढाइ पूरा गर्ने ठुलो धोको। अन्जान सहरमा एक्लो उनी अपहेलनाको पात्र बन्न पुगेका रहेछन्। उता रोगले च्यापेर उपचार गर्ने पैसा नहुँदा आमाको पनि निधन भएछ। एक्लो बहिनीले आमाको निधनको वियोगबाट मुक्ति पाउन आत्महत्या गरिछे। विवशता र वेवास्ताको त्यो तमाम शुन्यतामा उसले आफ्नो जिन्दगी गुमाएको थियो। बाँच्नुको अर्थ गुमाएको थियो। ‘केही गुमाउनु पनि जीवन नै रहेछ।’ *** उभित्र कल्पनाहरुको सागर रहेछ। इच्छ्या आकान्छ्याको सिढिँ चढ्न खोज्दा असफलताको नमीठो अध्याय बन्न पुगेछ। मनको तलाउ कसरी सम्हालेका होलान्। उसको जीवन तमासाको तालीमा सिमित थियो। ‘जिन्दगी कसैको लागि तमासा न रहेछ।’ उ कसरी मानिसको मस्तिष्कमा कैद हुन सक्थ्यो? मानिसको भिडबाट निस्किएको ‘कठै!’ शब्दमा उसको अस्तित्व लुकेको थियो। उ निरन्तर चलिरहने समयको कैदी थियो। ‘समयको कैदमा हुनु पनि जिन्दगी रहेछ।’ ‘के नै रहेछ जिन्दगी।’ कसैको कथाले जिन्दगीको परिभाषा बद्ल्न सक्छ भने आखिर यो कस्तो जिन्दगी? ‘सायद बद्लिरहने ऋतु जस्तै हो जिन्दगी। घडीको टिकटिक चालसँगै चलिरहेको सास हो जिन्दगी। अत: यसैमा कैद हुनु रहेछ जिन्दगी।’ आखिर के मात्र होइन जिन्दगी?
Smriti-malla · Mar 26, 2024 11:32 PM · 11,502 views
जिन्दगी कसैलाई भाबिको लहना हो जिन्दगी कसैलाई विलासको गहना हो जसलाई जेसुकै भए पनि मलाइ एक मात्र बाच्ने बहाना हो ! साभार: मानस पटलमा अल्झिएर बसेको कसैको कबिता
logan · Mar 28, 2024 3:33 PM
"उ कसरी मानिसको मस्तिष्कमा कैद हुन सक्थ्यो? मानिसको भिडबाट निस्किएको ‘कठै!’ शब्दमा उसको अस्तित्व लुकेको थियो। उ निरन्तर चलिरहने समयको कैदी थियो।" kasto ramro lekhai, keep writing! CL
crazy_love · Mar 28, 2024 4:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion