यमराजको निम्तो (भाईटिका बिशेष )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यमराजको निम्तो (भाईटिका बिशेष ) ********************************** याँ बढेमानको भैसीमा चढेर आउँदै थिए यमराज | मान्छे पनि क्या डरलाग्दो, मेरो त सात्तोपुत्लो गैसक्या थ्यो | “ओई फुच्चे, चितवन जानी बाटो कता हो ?” चितवनमा आएर चितवन जानी बाटो पो कता हो रे, के पाराको मान्छे होला, मन मनै सोच्दै थिएँ, अनि त्यो डरलाग्दो अजंगको मान्छेले फेरी भन्यो, “मलाई हतार छ, अलि छिटो बाटो देखाईदे” “हजुल चितवन मै त हुनुहुन्छ नि, हजुल को हो ल ?” मैले त्यो मान्छेको परिचय मागें | “म यमराज हो, त्यती पनि चिन्दैनस ? कस्तो मुर्ख रैछ, स्कुलमा संधै फेल हुन्छस क्या हो ?” “हैन, सलदोली फस्टको ठाम नै छोड्दैन, लोशनले सेकेन्डको ठाम छोड्दैन, श्लिधल ल गीता थड ल फोल्थ हुन्चन | मलाई त बल्लबल्ल फिफ़मा ठाम पुग्च| एक चोटी चै झुक्केल सिक्स भाछु तेत्ती हो , मलाई त नाईनको मल्टिपिकेसन टेबल नि कन्ठै आउंछ” म मुर्ख छैन भनेर देखाउन खोजें | मेरो लम्बेतान कुराले भैसीलाई पनि झ्याउ लागेछ अनि ला‌‍ऽऽऽऽऽमो आँईं गर्यो | “तेरो नाम के हो फुच्चे ?”, यमराजले सोधे | “फियुल” छोटो उत्तर दिएँ | उनको अनुहारमा एउटा चमक देखें, शायद केहि कुराको खुशी थियो त्यो | “तिखे भन्नी तैँ होस्?” मलाई पनि खै किन हो खुशी लायो | चिनेको रैछ जस्तो लायो | हत्त न पत्त उत्तर दिएँ, “ हो हो, मेलो नाक लामो छ ले अनि सप्पैले मलाई तिखे भन्नुहुन्छ | चकचक नगली बसें भनी चै तिखुली भन्नुहुन्छ |” “तेरो बा आमाको नाम कृष्ण र राधा हो ?” यमराजले खोजेको मान्छे मै हो भनेर यकिन गर्नलाई थुप्रै प्रश्न हरु सोध्दै थिए | म चै कुरा नबुझी खुशी भएर हो हो भन्दै थिएँ | “तेरो दाई उत्तम हो ?” “हो” मेरो परिचय यकिन गरीसकेपछि उनले भने, “लौ हिंड फुच्चे म संग, तँलाई लिन आको म” “काँ जानी?” “हिंड भनेसी खुरुक्क हिंड न” अरु दिन भएको भए म नचिनेको मान्छे संग त्यसरी जाँदैनथ्यें | त्यो दिन अलि बेग्लै थियो | भाईटिकाको दिन थियो | बहिनीलाई टिका लगाएर दिन भनेर आमाले एउटा खाम दिनुभएको थियो | घर पछाडी गएर खुसुक्क खाम खोलेर हेरें, २० रुप्याँ थियो | मेरो दशैंको ५ रुप्याँ अझै बाँकी थियो | खामको २० निकालेर खल्तीमा राखें, अनि खाम भित्र मेरो ५ रुप्याँ राखें | म यमराजसंगै गएँ भनी त बहिनीलाई टिका लगाएर केहि पनि दिन परेन, त्यो बिस पनि आफ्नै, पाँच पनि आफ्नै | अनि भैंसी माथी सवार यमराजको गोडा नजिकै गएर माथी हेर्दै भनें, “मलाई नि माथी चडाईदिनु न, म नि हजुल संगै जान्छु” यमराजले जुरुक्क तानेर माथी चढाए अनि हाम्रो भैंसी अगाडी बढ्यो | खोल्तीबाट बिस रुप्याँ निकालेर मुसुक्क हाँसे अनि फेरी खोल्ती भित्रै राखें | केहि पर पुगेपछी भैंसी त एकाएक रोकियो | के भएछ भनेर यमराजले पछाडी फर्केर हेरे, “फेरी को हो यो फुच्चे, मेरो भैसीको पुच्छार तान्नी?” मैले पछाडी फर्केर हेरेको, आफ्नी बहिनीलाई चिनीहालें | भैसीको पुच्छार तानेर उभिएकी | “हेत्तेलिका, अब फेली यो खाम दिन पल्नी भयो”, मलाई तनाब भैसकेको थियो | “टिका लाउनी बेलामा कता भाग्नुभा? ढिलो हुन लाईसक्यो, छिटो आउनु ” बहिनीले थर्काई | “के को टिका ? के भन्छन् भुराभुरीहरु” यमराज जिल्ल परे | “दाईलाई पैले मैले टिका लगाउँछु | अनि मैले पैसा नपाए सम्म कतै जान पाईन्न, त्यसपछी जे सुकै गर्नु, जता सुकै लैजानु दाईलाई” उसले यमराजलाई पनि उर्दी जारी गरी | नानुको ढिपीले भैंसीले एक पाईला अघि सार्न सकेन | “लौ तनी” भनेर यमराजले मलाई तल झार्दिए अनि पछिपछि घरै आईपुगे | आँगनको कुनामा गएर मलाई लैजान कुरेर बसे | अघि पो बहिनीलाई पैसा दिन पर्दैन भनेर संगै जान खोजेको, अब त किन जाँदा हुम नि भैंसी चढेर ? फेरी भैंसी पनि कति छुच्चो, हाम्रो बाख्रालाई ल्याको सबै हरियो घाँस खाईदिएछ भन्या | पराल खा भए नि हुन्थ्यो नि | आमा र सानीमाले गुन्द्री ओछ्याई दिनुभयो | दाई र म पलेटी कसेर बसेम | नानुले पानी र तेलको धाराले सबै गुन्द्री घेरी | मैले सोधें, “आमा नानुले के गरेकी ?” आमाले उत्तर दिनुभो, “यमराजले लिन आए भनी, यो तेल नसुकुन्जेल सम्म तँलाई छुन पनि सक्दैनन्” मेरो पालो यमराज तिर हेरेर जिब्रो निकालेर जिस्काईदिएँ | अनि सानीआमाले बहिनीलाई ओखर दिएर ढोकामा लगेर फोर्न भन्नुभयो | नानुले पनि मुंग्रोले बेस्सरी बजाई, ओखर धुजा धुजा भयो | नानुले सोधी,” आमा, किन फोरेको ओखर?” सानीआमाले सप्तरंगी टिकाको थाली मिलाउँदै भन्नुभयो, “यमराज लिन आए भने, तैले बेस्सरी हानेर यमराजको टाउको फुटाईदिनी हो, त्यै ओखर जस्तो” मैले फेरी यमराजलाई हेरेँ, कत्रो ठुलो टाउको ? फेरी कत्रो बडेमानको मुकुट, हाम्री यस्ती भंगेरी जत्री बहिनीले फुटाउन सक्छे त त्यत्रो टाउको ? खै मलाई त बिस्वास पनि लागेन | यमराज पर कुनामा बसेर कुरीरहेथे | यता नानुले टिका लगाईदीई अनि मखमलीको माला लगाईदिई| “नाईं, मलाई सयपत्लीको माला, यसले त घोंच्च” | मखमलीको मालाले मेरो घांटी पास्थ्यो, सयपत्री चै नरम लाग्थ्यो | आमाले भन्नुभयो, “मखमली ओईलाउदैन नि” आमाको कुरा नै बुझिन मैले, “अनि के हुन्छ त ?” आमाले मलाई सम्झाउन खोज्नुभयो, “मखमलीको माला भनेको तिमीहरु दाजु बहिनीको माया हो, यो फुल रहेसम्म, तिमीहरुको माया कहिले ओईलाऊन्न |” बुझे जस्तो गरेर "ए" भन्दै टाउको हल्लाएँ, तर मैले केहि बुझेको थिईन | त्यसपछी नानुले भाईमसाला दीई, मैले चै आमाले दिनुभको खाम दिएँ, अनि गोडामा ढोगें | भंगेरीले उतिनैखेर सबैको अगाडी खाम खोली, खामबाट निस्क्यो जम्मा पांच रुप्याँ | आमाले मलाई हेर्नुभयो तर आमाले केहि भन्न भन्दा पहिले नै खुरुक्क खोल्तीबाट बिस रुप्याँ निकालेर बहिनीलाई दिएँ | “अघिको मेरो पाँच रुप्याँ फिर्ता देउ न”, आफ्नो पांच रुप्याँ मागें | पैसा फिर्ता दिनको साटो मेरो पैसा पनि बोकेर नानु भंगेरा जस्तै फुरुरु गर्दै कता पुगी कता | “बरु अघि यमराजसगं जानु पर्ने रैछ, आफ्नो पैसा त बाँच्थ्यो”, मनै मन सोचेर यसो यमराजलाई हेरेको, भैसीमा चढेर कता जान तैयार भएका रैछन | “मलाई एउटा हतारको काम पर्यो, अन्तै जान पर्ने भयो” यती भनेर यमराज त्यहाँ बाट बाटो लाए | त्यसो भने पनि खासमा हाम्री नानुले ओखर झैँ टाउको फुटाईदिन्छे भनेर डरार भागेका हुन्, मलाई थाह छैन र? ************ हिजो शुक्रबारको दिन पनि दिउसो काममा गएँ | आफ्नो पे-चेक बुझें | चेक आफ्नो खातामा डिपोजिट गरें | बेलुका कोठामा फर्किएँ | ढोकाबाट छिर्ने बित्तिकै ठुलो अईनामा आफुँलाई देखें | भाईटिकाको दिन सातवटा रंगले रंगिने निधार फिका र खल्लो देखियो | बहिनीहरुलाई सम्झिएँ, अनि सोचें, कतै म यमराजसंग भैंसीमा चढेर अमेरिका आईपुगेको त हैन ? त्यो बेलामा यमराज संगै गएको भए आफ्नो पैसा आफैं संग हुन्थ्यो अनि निधार खाली | आज पनि त्यहि छ, आफ्नो पैसा आफैं संग, अनि निधार खाली | खाममा हालेर पैसा दिन्छु भन्दा पनि बहिनी आफुसंगै छैने | ढोग्नलाई बहिनीको गोडा छैन | घाँटी पासेर रातो बनाउने, बहिनीले मायाले लगाई दिएकी मखमलीको माला छैन | त्यो साटेर लगाएको सयपत्रीको माला पनि छैन | भाईमसाला ले भरिएको थाली छैन, सेलरोटी, फिनी, अर्सा र अनारसा रोटी छैन | बल्न त यहाँ चौबिसै घण्टा बत्ती बल्छ, तर दिपावली छैन | प्यारी बैनीहरु, तेलको धाराले आँगनमा बनाएको घेरा अझै सुकेको छैन, तिमीहरुको दाईलाई केहि भएको छैन | तिमीहरुले लगाईदिएको मखमली माला अझै ओईलाको छैन, म तिमीहरुलाई आज पनि उत्तिकै धेरै माया गर्छु | -तिमीहरुको दाई

Fuel Tank · Nov 14, 2015 6:03 PM · 34,281 views

16 Replies

mlnnpl · Nov 14, 2015 7:04 PM

Superb !. लेखाइ सारै राम्रो लाग्यो. धन्यबाद Fuel tank ब्रो. एञ्जोयेद reading .

adhikari_bandhu · Nov 14, 2015 8:24 PM

Excellent! I always wait for your new story. This one I even shared ony my facebook.

nepalijeevan · Nov 14, 2015 11:17 PM

dami lagyo, Keep writing.

hawking666 · Nov 15, 2015 10:42 AM

MlnNpl bro त आँशु नै झारेर रुनुभएछ, एउटा लेखकलाई त्यो भन्दा ठुलो प्रशंसा के नै होला र ? :) कथा पढेर मन पराईदिनुहुने नेपालीजीवन, अधिकारी बन्धु र हकिंग६६६ लाई पनि भित्र बाट धन्यबाद छ |

Fuel Tank · Nov 16, 2015 11:32 PM

सारै राम्रो ट्यांकी ब्रो ... इमो खाइओ नि पढेर

Smaran · Nov 17, 2015 7:24 AM

गज्जब को लेख्ने तरिका ! माने फ्युल माने ! तेसैले त् फ्युल ब्रो को लेख पर्खेर बस्ने गर्छु !

sadekogolbheda · Nov 17, 2015 10:29 AM

दोहोराई तेहेराई पढे . अझै कथा मा केहि पढ्न बाकी छ जस्तो लाग्छ . चित्त बुझ्यो.

Land_of_gorkhali · Nov 18, 2015 11:55 AM

Runa aayo ho malai ta!

furke · Nov 18, 2015 2:18 PM

Ramro lagyo feri aaowos

Pharsi · Nov 18, 2015 2:20 PM

इन्धन मित्र निकै प्रतिभाशाली हुनु हुदो रहेछ| यस्तो कथाहरु अरु पनि धेरै सुन्न पाइयोस|

nepalnepaliko · Nov 18, 2015 3:28 PM

ओहोऊ गाठे, धेरै पछि टंकेको कथा पढ्न पाउदा औधी खुसि लाग्यो है / एकदमै राम्रो लाग्यो है टंके काजी / हुन त आजकल चौतारीमा आउन छाडे देखि औतारीहरु संग भेट नभएको नि जुगौ भैसक्यो / लौ टंके काजी यस्तै मिठो मिठो कथा भविस्य मा पनि पदना पयियेला भन्ने विश्वास छ /

Karnali Blues · Nov 18, 2015 9:40 PM

लौ न , कती धेरै मन पराईदेका हुन् भनेको सझाबासीले | स्मरण, साँदेको गोलभेडा, गोर्ल्खाली, फुर्के, फर्सी , नेपालीब्रो र कर्णाली ब्लुजलाई धेरै धेरै आभार | कर्णाली सरकार, खै चौतारी नि मसानघाट जस्तो हुन लायो, मान्छे आउनै छाडे, म पनि जान छाडें | धेरै पछी येस्सो कथा लेखेको अनि साझामा राखीहालें | पढी दिनुहुने र मनपराईदिनुहुने सबैलाई धेरै धेरै धन्यबाद |

Fuel Tank · Nov 18, 2015 9:49 PM

Almost got tears in my eyes. Very nice.

MimroRaMero · Nov 19, 2015 1:46 AM

पढेर मनपराएको अस्ति हो, तर आज लेख्दै छु . टंके मित्र, पहिले पनि भनेको अहिले नि दोहोर्याऊँदै छु - लेख्न कम नगर, कन्जुसी नगर - राम्रो लेख्छौ, मिठो लेख्छौ, मनको भाव पोख्छौ र त आँखा रसिलो गरेर नि पढु पढु लाग्छ ... पर्नाम गरें टंके साथि र कर्ने मालिकलाइ, भेट्दै गरम्ला केरे ! - थाहा छैन

ThahaChaena · Nov 19, 2015 9:54 AM

थाने दाई, नमस्ते गरें है | लु एक थान धन्यबाद तपाईंलाई नि टक्र्याएँ |

Fuel Tank · Nov 20, 2015 1:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion