शनीवारको दिन हुँदो हो शायद, नत्र तिजको दिन केटामान्छेको अफिस छुट्टी हुन्न।त्यो दिन वुवा घरमै हुनुहुन्थ्यो,सँधै टिभी हेर्दा कराउने भएपनि आज भने टिभी हेर भनेर कार्टुन नेटवर्क लगाइदिनु भएको, मलाई के खोज्छस् कानो आँखो भो। आमा तिजको वर्तमा पशुपतिको लाइनमा थिइन् होला, म पनि त्यतिखेर कार्टुन हेर्दा हेर्दै वत्ति गएर वरण्डामा निक्लिन खोजेकी थिएँ।सिता दिदी आफ्नो साडी मिलाउँदै किचनवाट वाहिर निस्किनुभयो। अनुहारभरी पसिना,केहि गलत गरेजस्तो, केहि विगारेजस्तो।म दिदीलाई हेरीरहेँ, खोइ दिदीले मलाई चाहिँ देख्नुभयो देख्नुभएन।त्यसको करिव एक मिनट पछि वुवा किचनवाट निस्केर मलाई सोध्नुभयो "के भयो छोरी?" मैले विस्तारै जवाफ फर्काएँ "वत्ति गयो !!" ************* ************ ************ ****************** ************* ******** आज सुधा हराएको तिन दिन भयो, अफिसवाट केहि नभनी निस्किएकी।मैले दोश्रो दिन उ वस्ने कोठा खोज्दै जानुपर्यो भन्ने सोचेर पालेदाईलाई सोधी हेरेँ "अहिले उसको ठेगाना कहाँ छ थाहा छ?" "खोइ, कोठा फेरेको फेर्यै , हामीलाई के थाहा र सर , अन्तिम पटक ड्राइभरले अनामनगर छोडेको भन्थ्यो !" उसले नाक खुम्च्याउँदै जवाफ फर्कायो। उसलाई सुधा मन पर्दैन। उसलाई काम गर्ने केटी मान्छे नै मन पर्दैन। उसको नाक त्यसको प्रमाण हो।ठूलो नाक भएकोले हामी उसलाई हाम्रो अफिसको नाक उ नै हो भनेर जिस्क्याउँछौ। उसले नाक खुम्च्याउनु भनेको त अफिसले नै नाक खुम्च्याउनु हो। सानै देखिको साथी भएर पनि उसले मलाई कहिल्यै आफ्नो कोठा देखाइन। सँगै काम गर्न थालेको पनि अव त तिन वर्ष भयो।कहिले जिस्किन्थी, कहिले मौन।सुधालाई मैले वुझ्न सकिन, यति लामो संगतमा पनि। म हाकिमकै कोठामा छिरेँ। उ सँधै जस्तै टेवलमा राखेको पेपरवेट सँग खेल्दै केहि सोचिरहेको थियो। छेवैको वोर्डमा अर्गोनाइजेशन चार्टमा मेरो नाम सुधाको छेवैमा टाँस्सिएको थियो। क्यालेन्डर वाहिरको वतासले हल्लाउँदै थियो। "ओहो, शुक्रवार पनि पुरै दिन अफिस वस्नुभयो? गुड फ्राइडे लागेन आज तँपाइलाई ?" म चाँडै निक्लिएँ भन्ने उसको ठम्याइ हुनुपर्छ।तर यो उसको प्रश्न थियो वा घोचाइ मैले वुझ्न सकिन। वुझ्न जरुरी पनि ठानिन। "सर सुधाले लिभ एप्लाइ गरेको हो?" उसले टाउको हल्लायो। "म यो केटीलाई वुझ्दिन,वर्क स्पिड राम्रो छ मानेँ, तर यति धेरै एरोगेन्स !!!" हाकिमको अनुहारमा सुधा प्रति इर्ष्या देखियो। उसले यो हफ्ताको काम दुइ दिन अघि नै सिध्याएकी थिइ त्यो मलाई पनि थाहा छ।तिन दिन अघि हामीले खाजा सँगै खाएका थियौँ। उ केहि वोलिन। तर जव म उठ्न चाहेँ, उसले मेरो हात समातेर वसाली अनि भनी । "वस एक छिन, तिम्रो काम वरु म सघाउँला!" म पनि वसिदिएँ।मलाई उसको साथ मन पर्छ। "अफिस अलि सुधा प्रति रेस्पोन्सिवल हुनुपर्ने हैन र सर ? तिन दिन भयो एउटा इम्प्लोयी हराएको !" "रिल्याक्स, धेरै चोटी यस्तो भइसक्यो , उ कहिल्यै छुट्टी भनेर लिन्न !" "तर मोवायल पनि त स्विच अफ छ !" मेरो मन मानेन।खोइ किन किन सुधालाई खोज्न निक्लिरहन्छ मोरो मन पनि। उसले मेरो अनुहारमा पुलुक्क फेरि हेर्यो। "हामी आइतवार यो कुरा गरौँला !" उ वाहिर निस्कियो।कृष्ण दाइ आएर झ्याल वन्द गरे। क्यालेन्डर विस्तारै स्थिर भयो। मैले एक चोटी फेरि हामी दुइको नाम हेरेँ। सँगै,टाँस्सिएको.. ****** **************** ***************** ************** ************* ********** आइतवार, जाममा परेपछि मैले यसो टाउको वंग्याए।गाडीको समुन्द्र थियो अघि चिर्नुपर्ने। सुधालाई आज विहान पनि मैलै कल ट्राइ गरेको थिएँ, आज पनि स्विच अफ नै थियो। अफिस पुग्ने वित्तिकै सुधाको क्याविनमा आँखा दौडाएँ।मात्र शुन्यता थियो।टेवलमा मिलाएर राखेका कागजको चांग, उ कहिल्यै अस्तव्यस्त थिइन। मात्र थोरै सनकी,कहिलेकाहिँ। के गर्छे,कसैलाई थाहा नहुने! कहिलेकाहिँ म सँग हफ्तौँ वोल्दिनथी। कहिले भने मेरो टेवल छेउको भित्तामा अडेस लागेरै घण्टौ कटाइदिन्थी। उसका कुराहरु पनि, कहिले उज्याला,पुतली जस्तै वुट्टेदार , कहिले दार्शनिक छेउ न टुप्पाका वुझ्दै नवुझिने। हो, म उसको लागि साधारण केटा थिएँ।एउटा नियमित जिवन जिउने ,कुवाको भ्यागुतो, उ त समुन्द्र भित्रकी जलपरि, त्यसैले होला उसलाई हाम्रो कुवा मन परेन।छोडिदिई! हाकिमको कोठामा छिर्न मन लागेन।फेरि मलाई हिजो जस्तै उपदेश दिन्छ।धेरै चिन्ता नलिनु भन्छ।अनि म निक्लिने वित्तिकै मैले चिन्ता लिएको अफिसभरी भन्छ। त्यसै त हाम्रो सम्वन्ध अफिसको नजरमा अपाच्य थियो। म विहे भएको लोग्नेमान्छे, उ ठेगान नभएकी स्वास्नीमान्छे! सँगै वसेको, हाँसेको विझ्छ।यो समाजमा आफ्नो चिन्ता कसैलाई हुन्न मात्र अरुको चासो हुन्छ।मैले पनि उ हराएको चिन्तालाई समाचार वनाउन चाहिन। थचक्क वसेँ, कम्प्युटर खोलेँ।फेसवुकमा म्यासेजमा रातो नोटिफिकेसन देखियो।मैले पनि तिन दिन भएछ फेसवुक नचलाएको। कहिलेकाहिँ मान्छे आफुले नियमित गर्नुपर्ने काम समेत विर्सिन्छ। फेसवुकमा सुधाको म्यासेज थियो। "आफ्नो ड्रयर एक चोटी हेर है" हत्तपत्त फेसवुक वन्द गरेँ। ड्रयर खोलेँ। रातो डायरि,अनि सुधाका अक्षरहरु....
fucheketo · Aug 29, 2014 10:56 PM · 289,202 views
फेरी पनि सम्झाउन झक्झाको ल ! - थाहा छैन
ThahaChaena · Jan 28, 2016 1:42 PM
माया पाएकी की नपाएकी हून भन्नु पर्ने अबस्था!! माया गरम् न हो फुच्चे साथि
Bhaktey · Jan 30, 2016 12:04 AM
कथा हाल सम्म पनि अल्छी नमानिदिइ पढ्नुहुने सवैलाई धन्यवाद, कथा मैले लेखेका कथाहरु मध्ये सवै भन्दा लामो समय लगाएर लेख्दै गरेको कथा वनेको छ । यसका लागि क्षमाप्रार्थी छु। अव नियमित आउने प्रयास गर्ने छु। Bhakte र Thaney लाई झक्झक्याइरहेकोमा विशेष धन्यवाद । साकेतले सुनाएको सुधाको कथा जीवनमा सुधा आई। एउटा हुरी जस्तो। जस्ले सवै वढारेर लैजान्छे,एउटा अंश छोड्दिन । अतित,नैतिकता केहि पनि। उसलाई पहिलोचोटी भेट्दै लाग्यो यसलाई म चिन्छु। दोश्रो चोटी भेट्दा लाग्यो यसलाई म धेरै पहिलेदेखी चिन्छु। तेश्रो चोटी भेट्दा लाग्यो किन यो र क्यारोन उस्तै छन्। नशालु...स्वच्छन्द । मलाई संसारले मात्र श्रेय दिन्छ मेरा कथाहरुमा ! म त कथा भन्दा आकर्षक पात्रहरु भेट्टाउँछु। *********** ************ ************ ************ ************ ************ सुधा जसले म नभएको वेला पनि मेरो घरको छेवैमा मलाई कुरेर वस्ने धृष्टता गरेकी थिई। उसका धृष्टताहरुको त कुरै नगरौँ। एउटा वेलगाम घोडा जसको वेगमा दौँडिदा कहिलेकाहिँ मलाई नै स्वाँ स्वाँ वनाउछे उ। थाकेर उहि सँग सुस्ताउँदा लाग्छ भँगालो लागेको जीवन समेटिनुपर्छ कुनै मोडमा गएर। तर मलाई लाग्नु अनि उ हुनु नितान्त फरक । सुधा हुरी हो। जसले सवै वढारेर लैजान्छे,एउटा अंश छोड्दिन। अतित नैतिकता केहि पनि। ************** ************* ************* *************** ***************** **** उ कुर्सी तानेर जवरजस्ति नै सहि म सँग वसेकी थिइ। पर भए पनि मेरा आँखाहरु त लुकिछिपी उ सँग टास्सिएका पक्कै थिए धेरै अघी देखी। तर प्रसिद्द हुनुको अहं भनौँ मैले खुलेर वोल्न सकिन। खुलेर वोल्दा मैले दुइ चार ठाउँमा "सस्तो" उपाधि पाएको छु। खै के के वोली बोली , उ सँग हुँदा लाग्यो लेख्न त उ पो लेख्दै छे, म त मात्र श्रोता भएर सुन्दै छु उसका कुराहरु। उसका गुनासाहरु। मेरो कथा राम्रो लागेर,उ आँफै भेटेपनी उसको कथा नलेखिएको गुनासाहरु। उसका आफ्नै गुनासाहरु ,उसकै म भेटीएको खुशीसँग वाझ्दैछन्। उ सँग भेट्दा लाग्यो उ आफ्ना सपनाहरुलाई नै एक एक वटा पात्र वनाइदिएर रंगमन्चमा नाटक मन्चन गराउँदैछे। म विना टिकट उसका सपनामा छिरेको छु। कुन दिन चौकिदारले मलाई समातेर ह्वात्त वाहिर हुत्याइदिने हो थाहा छैन। त्यो दिन म हुतिहारा हुनेछु। किनकी ममा उ समान वेग छैन, ताप छैन। *********** ************ ************* *************** **************** ********* मैले उसलाई नवोलाई भएन। मलाई थाहा थियो मेरो वाँधले उसको हुरी धेरै समयसँग थाम्न सक्ने छैन। उ आइ मेरो वाँध भत्कियो ,मलाई लाग्यो स्थिर हुनु भन्दा त वग्नु नै जीवन हो। म वगिदिएँ, अतित मेरो क्षणमा कतै वाँकी रहेन। उसको वोलीमा क्यारोनको झल्को थियो । एक्लै हुँदा भने म आफुसँग चित्त वुझाउँथे त्यहि भएर न म तानिएँ उ सँग नत्र किन पो तानिन्थेँ र ? अर्को मनले भन्थ्यो कमजोर भएर हो, आत्माको आँत हराएको हो जता पनि डोरिने कहाँकी क्यारोन, कहाँकी सुधा! सुधामा सामान्य केहि थिएन । माया,क्रोध,पिडा केहि पनि। उसको माया वुझिदैन थियो। गर्थी गर्दिनथी नै थाहा हुन्नथ्यो। उसको क्रोध देखिन्न थियो भित्र भित्रै शुषुप्त लाभा जस्तो गलाउँथ्यो । छेउको वातावरण नै रापिलो हुन्थ्यो जव उ रिसाउँथी। तर उ रिसाउँदा पनि त माया गर्थी जुन वुझिदैनथ्यो। अनि उसका पिडा असामान्य , उ आफुलाई कहिल्यै पिडित ठान्दिनथी। एउटा चोक वाट अर्को चोक,एउटा गल्ली वाट अर्को गल्ली अनि जिवनको एक मोडवाट अर्को मोड भौतारिएकी उ देख्दा मलाई लाग्थ्यो। उ स्थिर भइ भने उसलाई पिडा हुनेछ। त्यसैले उसले मलाई छोड्नु ,मान्छेको मृत्यु हुन्छ भने जत्तिकै तितो सत्य हो। मैले त्यसलाई आत्मसाथ गर्नै पर्छ। "आकाश वाँधिदै छ।" मैले क्यारोनलाई सम्झेर लेखेको थिएँ। त्यसको तेश्रो संस्करण निक्लिँदा झल्यास्स सम्झेँ "आखिर मेरो जीवन के हुँदै छ?" सुधा छिरेपछि थोरै अटसमटस भएको छु। नियाल्नेले नियाल्न नपाएर मात्रै हो नत्र सामान्य अवस्थामा त्यो सम्वन्धमा म हतारिएको भन्दिन्थे होला। विमोचन पश्चात पन्ना पन्ना की क्यारोनलाई फेरि पढेँ।त्यो दिन सुधा आई सँधै जस्तै उ किताव वोकेरै आएकी थीई । "फेरि अँध्यारो अन्त्य !" "के को?" मैले अनभिग्यता जनाएँ। "तिमीले क्यारोनलाई मात्र सहि देखायौ ! आफुलाई ढाँट्न सकिन्न !" उसले चुरोट सल्काई। "होला उ नै सहि होला! म गलत नै होला !मैले त आफ्नो भाव राखेको हुँ।" "कहिलेकाहिँ अरुलाई सहि देख्ने आँखा खोज्दा मान्छेले आफ्नो आँखा हराउँछ।" "तिमीले कहिल्यै किताव लेखेकी छौ?" "पढेको मात्रै" उ खितित्त हाँसी । छेवैको मैनवत्तिमा उ आफ्नो औँला आगोवाट आरपार गराउँदै थिइ। "पोल्छ ! के गरेकी ?" "पिडा भोगेको ! पिडा विनाको जीवन खल्लो हुन्छ भनेको हैन तिमीले?" "त्यो त मैले कथामा लेखेको मात्र!" "झुट, तिमी आफुलाई पिडा दिएर रमाउने मान्छे !" म अकमक्क परेँ उसको औँलाको गतिले मैनवत्ति झ्याप्प निभ्यो। उ हुरी न हो ! छेवैको सलाईको काँटीले फेरि जलाई। "मलाई स्वाद चाहियो जीवनमा !" उसले थोरै डढेको हातले मलाई सुम्सुम्याई। मैले उसको औँला हेरेँ ,निलो रंगको नेलपोलिश! क्यारोन कालो लाउँथी। जीवन यिनै रंग छुट्याउँदै जाँदै छ। ************ ************* **************** ************* *********** *********** रातको निष्पट्टता मा जव सुधा मलाई चेपेर निदाउँथी। म उसको अतित खेलाउँथे। उसको वुवा, उसका गुरुवा अनि म , धेरै समानता छ। जव स्त्री पग्लिन्छे हामी समाजको साँचोमा पग्लिएकी उसलाई राखेर विभिन्न स्वरुप दिन्छौ। उ त मात्र पग्लिन जानेकी छे उसलाई मायालु,आमा,वुढी वा वेश्या त हामी वनाउँछौ। हो यो समाज पुरुषले निर्माण गरेको समाज हो। पहिलो चोटी सुधा यो समाजलाई चेताउँदै छे। प्रत्येक रात म एउटै निर्क्यौलमा पुग्छु। सुधा हुरी हो। ************** ************** ************* ************** ********** ********** उ मिर्मिरेमै उठेर हिँडी। उ हिँडेपछि मात्र म वाथरुम छिरेको थिएँ। विहानै उठेर नुहाइछ। आफ्ना केहि अंशहरु छोडिछ।मैले ह्यांगरमा उसले पुछेर छोडेको टावल सुम्सुम्याएँ। उसको सुगन्ध यत्र तत्र थियो। वाहिर निस्किएँ । एश ट्रेमा चुरोटका ठुटाहरु थिए। दुई चार दिन देखि थोरै सास वढेको छ। मैले घटाएको छु। सुधाको घटाउने कुनै लक्षण देख्दिन,कर पनि गर्दिन। नजिकै गएर गनेँ, सात ,आठ नौ,दश.....। दश वटा रहेछन्।मलाई उसले चेपेका चुरोटका ठुटाहरु गन्न मन पर्छ । ति चुरोट उसका कलेटी ओठहरुमा दविएको कल्पना गर्छन्। ति ओठहरु जो एक दम कम शव्दहरु ओकल्छन्। उसको ओठ एउटा गहिरो समुन्द्र वाँध्ने वाँध जस्तो लाग्छ। जसले उसको मुटुको अन्धकारमा उसका पिडा लुकाउँछन्। उसका ओठहरु जव मलाई छुन्छन् ति रापीला ज्वालामुखी वन्छन्। उसका ओठहरु लावा ओकल्छन अनि मलाई पगाल्दै वगाउँदै लान्छन्। त्यो जावो चुरोट के सहन सक्थ्यो त्यो रापलाई, त्यसैले त ति ठूटा वन्छन्। ति ओठहरु शक्तिशाली छन्। ******************* **************** **************** ****************** ******* आजकल किन किन म एक्लै छैन जस्तो लाग्छ। उ नभएको वेलामा पनि म उ सित कुरा गर्छु। उसले आफ्नो परिधि कोरेकी छे । मेरो चार पर्खाल भित्र उसले वनाएको अर्को पर्खाल छ। एउटा अदृश्य पर्खाल। उ मेरो रोजाइले मेरो जीवनमा आएकी होइन। विस्तारै विस्तारै खोलाले किनारा अतिक्रमण गरे जस्तै उ मेरो जीवनमा अतिक्रमण गर्दै छे। म आफ्ना किनाराहरु नियाल्छू । टाढा टाढा उसलाई नै देख्छु। उ नभएको वेलामा पनि म उ सित कुरा गर्छु।आजकल किन किन म एक्लै छैन जस्तो लाग्छ। ************** *********** ************** *********** ************** ********* "लेखक आफ्नो आदर्शको खोल ओड्छ अनि भौतिकता मा रमाउछ। लेखक पाखण्डी हुन्छ। आफूले जन्माएका पात्रहरुलाई जवरजस्ति अराउँछ। नचाउँछ । कुनै मदारीले वाँदर नचाए जस्तो !" आज सुधा उग्र देखिइ। म चुपचाप सुनिरहेँ। म उसलाई कहिल्यै आफ्नो अनुसारले नचाउन सकिन।के म उसलाई पात्र वनाउन सक्दिन त ? शायद सक्दिन होला ! मेरा कुनै पात्रहरु उ जति उग्र छैनन्। सुधा हुरी हो! ************** ************** ************** ************** ******************
fucheketo · Feb 6, 2016 7:33 AM
मैले देखेको सपना –साकेत छालहरु आफ्नो जीवनलाई मेरो पैताला मुन्तिर बाट हुत्याउँदै थिए। थोरै वालुवा पनि आफ्नो ठाउँबाट हल्लिदै थियो। छालको वेग मेरो छेउसम्म आइपुग्दा सुस्त हुन्थ्यो मैले त्यसको गति सम्हालिदिए जस्तो ! निलो आकाश को छाना मुनीको समुन्द्र पनि निलो नै थियो। पर रातो रंगको पनडुव्वी खै के वोकेर हो म भन्दा टाढा जाँदै थियो तर मलाई कुनै दुख थिएन किनकी मेरो छेउमा क्यारोन थिइ। सेतो फ्रक अनि वालुवामा लुकाउँदै गरेका रातो नेलपोलिस भएका औँलाहरु , ति आँखा जव जव म तिर हेर्थे समुन्द्र त्यति गहिरो छैन भनेर म ठोकेर भन्न सक्थेँ। टाउकोमा सेतो लिलि फुल लगाएकी थिइ क्यारोनले त्यो दिन! उ म तिर हेरेर मुस्कुराउँथी । म अनेकौँ भाव वुझ्थेँ त्यहि मुस्कानबाट। टाढा टाढा सम्म सफा थियो त्यो दिन । चुरोट को धुवाँ पनि नभएको। चुरोट किन्ने ठाउँ पनि नभएको मात्र उ र म विच दुइ गिलास फ्रेन्च वाइनको वोतल र दुइ ग्लास आधा आधा भरीएका। लाग्थ्यो हामी त्यो पिउने छैनौँ । त्यो वाइन हामी दुइको मिलनको साक्षी वस्न त्यहाँ छ। क्यारोनमा समय रोक्न सक्ने अदम्य क्षमता थियो । आज पनि उ उही पच्चिसकी जस्ति देखिन्थी । तर अचम्म त्यो दिन मेरा फुलेका कपालहरु पनि काला भएका थिए। थोरै मुजा पर्न थालेका गालाहरु क्यारोनले आइरन लाइदिएर होला चिल्ला भएका थिए। सुर्यको त्यो तेजमा पनि हामी डढेका थिएनौँ । वरु क्यारोनको ओज थपिएको थियो अझ चम्कीली भएकी थिइ। "कस्तो लागिरहेको छ ?" उसले सुस्तरी मेरो कानमा आएर सोधी "किन र?" "मैले तिम्रो लागि बनाएको यो वातावरण ! तिमी भन्दैनौ त?" "तिमी जत्ति आकर्षक त छैन !" मैले सपाट उत्तर फर्काएँ। "तिमी त मलाई स्वर्गकै अप्सरा ठान्छौ कि के हो?" "किन तिमी हैनौ र ?" म मन्द मन्द मुस्कुराएँ। के उ कम छे र स्वर्गका अप्सरा भन्दा ? अहँ छैन। "जीवनको वोझले तिमीलाई थिचेर होला तिमी थोरै खुम्चिएका थियौ ! मैले मात्र तिमीलाई स्वतन्त्र वनाउन यहाँ वोलाएकी हुँ !" "के ले थिच्यो त मलाई ?" उ पर शीत्तल मा जाउँ ! उ विस्तारै उठी। वालुवाहरु आपसे आप पखालिए। उसका लामा लामा औँला अनि रातो रंगको नेलपोलिश झन आकर्षक देखियो। थोरै झिकेर उसले सिपीको खोल उठाइ । अनि आफ्नो हातमा चेपीरही ! "मलाई सिपीको माला लाउन मन छ !" उसले हाँस्दै भनी । "मलाई त मात्र कथा वुन्न आउँछ, माला वुन्न आउँदैन !" मेरो अनुहार थोरै निन्याउरियो। "मलाई थाहा छ ! सवै काम तिम्रो वशमा हुन्न !" उसको अनुहारको मुस्कान यथावत थियो। उ विस्तारै थोरै अग्लो भागको नरिवलको रुख छेउमा गई। त्यहाँ विछ्याएर राखेको गुन्द्रीमा ढल्किइ । "तिमी सम्वन्धहरुलाई परिभाषा दिने भुल गर्छौ सँधै। परिभाषाहरु भन्दा सम्वन्ध ठूलो हुन्छ।" उसले ढल्किदै गर्दा भनेकी थिइ। म उसलाई सुनी रहेँ। उ कुन सम्वन्धको कुरा गर्दैछे । शायद मेरो र सुधाको । उसलाई कसरी थाहा छ ? उ त टाढा छे? हैन उ मेरो मुटु भित्र पनि त छे त्यहिँ कुनामा भेटी होला घुम्दै गर्दा सुधालाई ! चिनजान पनि त भयो होला ! के भनी होला सुधा ले ? कसरी आइपुगेँ त्यहाँ भनी होला? झुक्केर आइपुगेकी ! सरी ! त पक्कै पनि भनिन होला ! क्यारोन छक्क परी कि परिन होला ? शायद परिन होला किनकि उसले मलाई चिनेकी छे , त्यसैले त अहिले उ मलाई सुझाव दिँदै छे। मन भित्रकी उ मेरो मनलाई सुझाव दिन्छे। कसैले घरलाई सुझाव दिएको सुन्नुभएको छ। त्यो मन भित्र हुन्छ ! "के गरौँ त म ! मेरो वानी नै त्यस्तै छ !" "होइन तिमी त्यस्तो थिएनौ , साकेत तिमी पुरानो साकेत रहेनौ !" नरिवलको रुखका पत्ता विचवाट छिरेको घामको किरण उसको ढाडमा पहेँलो पोत्दै थियो। उसको वोली भने एउटा काँडा बनेर च्वास्स विझ्यो मुटुमा ! उ आफ्नै घरलाई कोतर्दै छे ! "मलाई वाटो देखाउ क्यारोन !" म अनायसै चिच्याएँ। "तिम्रो वाटो सँधै तिमी आँफैले कोरेका छौ , म कसरी तिमीलाई तिम्रो वाटो देखाउँ?" उसले पुलुक्क म तिर हेर्दै सोधी। उसको आँखा चम्कियो। तिरमिराएर मैले आँखा लुकाएँ। मेरो मुटु अझ्झ वढि दुख्यो। फुट्ला जस्तो ! "तिमी नै मेरो बाटो कोर्ने आधार हौ !" मैले फेरि उ सँग विन्ति गरेँ। "म त फगत तिम्रो एउटा चोक थिएँ। तिमी अघि वढ्यौ म त्यहिँ रहेँ !" मेरो मुटुवाट अव भल वग्छ होला रगतको ! दुख्दै आयो दुख्दै आयो मैले सहन सकिन ! म झल्याँस्स विउँझे । छेउमा क्यारोन थिइन। सुधा पनि थिइन। छेवैको सिराने हेरेँ । सुधाका अवशेषहरु पनि थिएनन्। उ हिजो आएकी थिइन। भोली सम्म आउन्न उसलाई वाहिर जानु थियो। कतै घुम्न । म वाट टाढा । एक्लै। सुधा त हुरी न हो, कहिले कुन गाउँ कहिले कुन गाउँ कसिंगर वढार्दै दगुर्छे। छेवैको एशट्रेमा दुइवटा चुरोटका ठुटाहरु थिए। झ्यालवाहिर अलि पर सुनाखरी लर्कि रहेको थियो। रुखमा वेरिएर। सुधाको अवशेष चुरोटका ठुटाहरुमा थिए। मैले तिनलाई नियाँले। तर कोठामा धुवाँ थिएन। कोठा सफा थियो। सपनामा देखेको समुन्द्र जस्तै।
fucheketo · Feb 7, 2016 8:53 AM
कति लामो पर्खाई पछि आज पढ्न पाए | न्यान्नो कथा, माघको पारिलो घाम बनेर आएको रहेछ | छिट्टै अस्ताई पनि हाल्यो | धेरै धेरै धन्यबाद , अरु अंश को आशा मा ... -मृगतृष्णा |
Mrigtrishna · Feb 8, 2016 3:23 AM
टैत फुच्चे यतिका समय नि ढिलो आउने हो ? म त उठाउन खोज्दा खोज्दै झन्नै आफै निदाएको ल . हुन त देश, जीवन र परिबन्दले समय चोर्यो होला तिम्रो . पछिल्लो भागमा छोड्ने फुच्चे र अहिलेको फुच्चेमा कति फरक आइसक्यो होला . कथाको कुरो या मैले पहिले भने झैँ लघु-उपन्यासको कुरोको हकमा - कहिँ खोट लगाउने ठाउँ छैन . यत्रो अन्तराल पछि पनि सजिलै बगेको छ धारा नछोडी . तर यो पछिल्लो २ भाग बुझ्न चै , 'ए ! के भाको थ्यो रे पहिले' भनेर दोहोर्याउन पर्यो कथा . अब चै नहराउन ल . - थाने
ThahaChaena · Feb 9, 2016 1:21 PM
मृगतृष्णा ,थाने धन्यवाद, अन्य पढिदिनुहुने , लाइक गरिदिनुहुने लाई धन्यवाद। मेरो अन्तर्द्दन्द-साकेत सुधा अरु एक हफ्ता नआउने भनी टेक्स्ट छोडिछे। मैले स्क्रिन अफ नहुन्जेल मोवायल सुम्सुम्याइरहे। कति सजिलै छोडेर हिँड्छे उ। उसका पदचापहरु बालुवामा कोरिएका छन् । एउटा छाल आउँछ मेटाइदिन्छ। उ अर्को ठाउँमा आफ्नो पैँताला टेकाउँछे। म उ सँग मेरो एउटा तासको घर वनाउँदै छू जस्तो लाग्छ कहिलेकाहिँ। उसले नै सृजना गरेको सानो सिरसिरे वतासले पनि कुन दिन ढलाइदिने छ। उसले मलाई एक दिन उसको कथा लेख्न भनेकी थिइ। लेख्न वसेको मैले लेख्न सकिन । खै किन किन उ अलिखित नै रही।आज फेरि ल्यापटप खोलेँ । उसको नाम कोरेँ । अनि शुन्य स्क्रिनलाई धेरै वेर नियाँले। उसका विभिन्न रुपहरु सामुन्ने आए। उ फर्किनु अघि मैले उसलाई कोरिसक्न मन छ। वाहिर हेरेँ । मेरो घर छेउको रुखमा सुनाखरी लर्किएको छ। मलाई कहिलेकाहिँ आफु पनि त्यहि सुनाखरी जस्तै लाग्छ। पात्रहरु सँग झुण्डिन्छु अनि रंग पोत्छु आफुमा । हेर्नेले त्यहि सुनाखरी हेर्छन्। कसैले म झुण्डिएको रुख हेर्दैनन् जसले मलाई सृजना गरिरहेछ। म कलम दगुराउँछु तर कलमवाट पग्लेर झर्ने त अरु नै कोहि हुन् त्यस्को श्रेय किन मलाई? कहिलेकाहिँ लाग्छ मेरा पात्रहरु सिद्दिएका छन्। पहिलो पात्र जे कोरेँ त्यहि पात्रलाई मात्र कोण वदलिदिएँ मैले दोश्रो वनाउनलाई अनि पहिलो र दोश्रोको फ्युजन गरिदिएँ तेश्रो वनाउनलाई। तेश्रोमा थोरै रंग थपेँ चौथो वनाउनलाई । सारभुत रुपमा त सवै मेरा पहिला पात्रका अंश हुन्। तर सुधा पहिलो पात्र जस्तो छैन त्यसैले पनि शायद म उसलाई लेख्न सकिरहेको छैन । एक छिन वाहिर घाममा गएर सेकिएँ । भनिन्छ कहिलेकाहिँ कोठा वाहिर निक्लेर लेख्नाले कथाको क्षितिज फराकिलो हुन्छ । त्यहि मानेर गएको। मेरो क्षितिजमा सुधा अटाउन सकिन । म उसलाई लेख्न सकिरहेको छैन। उसका प्रत्येक वानिव्योहोरा मलाई थाहा नभएको पनि हैन। प्रत्येक दिन उ साँझमा आउँछे। औँला मा चुरोट तेर्स्याउँदै । मेरो चेनगेटवाट छिरेपछि माउथ फ्रेशनर चवाउँछे। म उसलाई प्रत्येक चोटी छिर्दा नियाल्छु । एक छिन अडिएर उसको सानो पर्सवाट माउथ फ्रेशनर निकाल्छे अनि चवाउँछे ।त्यहिँ उभिएर करिव एक मिनट । सुस्तरी सुस्तरी हिँड्छे । सामान्यतय वँगैचामा फूलेका फूलहरु नियाल्छे। उसको फूल प्रति मोह छैन। तर किन किन नियाल्छे। सुम्सुम्याउँदिन । मात्र नियाल्छे। शायद उ र फूल मन मनै कुरा गर्छन्। अनि त्यसपछि ढोकाको नजिकै आएर वेल बजाउँछे। दुइ चोटी। उसले र हामीले कुनै कोड वनाएका छैनौ दुइ चोटी नै वजाउनुपर्छ भनेर। तिन चोटी वजे म ढोका नखोल्ने पनि हैन तर उ दुइ चोटी नै वजाउँछे। बानी परेकी छे। म करिव पन्ध्र सेकण्ड पछि ढोका खोलिदिन्छे। "के छ राइटर ज्यु ,फूर्यो केहि ? मलाइ सुनाउनु हुन्छ ड्राफ्ट?" सामान्यतय उसले सोध्ने प्रश्न यहि हुन्छ। सामान्यतय म उत्तर दिन्न । कहिलेकाहिँ उसको मनस्थिति मा भर पर्छ दोश्रो प्रश्नको " मेरो लेखिने दिन कहिले आउँछ?" म पुलुक्क नियाल्छु । उत्तर हुँदैन । अनि आँखा लुकाउँदै वाइनका ग्लास हरु लिन जान्छु। म फर्किँदा उसको हातको चुरोट सल्केको हुन्छ। कोठाभरी धुवाँ छरिएको हुन्छ। उ कुनै सोचमा मग्न हुन्छे वा वाहिर नियाल्दै हुन्छे मेरा झ्यालका कर्टेनहरुलाई सुस्तरी हल्लाउँदै । कहिलेकाहिँ झ्याल पनि खोल्छे । धुवा झ्यालबाट छिरेको हावाले पातलिदै हुन्छ। उ म फर्किना साथ मुसुक्क हाँस्छे। उसको मुस्कान मलाई सँधै विजयी लाग्छ । लाग्छ उसले जीवनलाई पनि जितेकी छे। आफ्ना पलहरुमै जीवन कैद गरेर राखेकी छे वन्दी वनाएर। संसारलाई दास जस्तो नचाइदिन्छे। "कत्ति वाइन खाने?" कहिलेकाहिँ भने उसलाई वाइन देखि दिक्क लाग्छ। "के पिउँछौ त ?" म उसको त्यस्तो प्रश्नको उत्तर सामान्यतय प्रश्नले राख्छु। आज तँपाइको वाचनमा कथा सुन्ने । एउटा जादु छ तँपाइको आवाजमा ! उ मलाई फुर्क्याउँछे। तारिफ सुन्दा सुन्दा वाक्क भएको म उसको यो तारिफमा भने रमाउँछु। "कुन?" उ एउटा नाम भन्छे मेरा अनेकौँ कितावहरुमध्येको एउटा किताव । उ नै वुक रेकमा जान्छे अनि उ नै किताव उठाउँछे। लिएर आउँछे । अनि मलाई सुम्पिन्छे। म कथा विस्तारै वाचन गर्छु। उ मलाई कहिल्यै रोक्दिन । उ सुनिरहन्छे। अनि कथा सिद्दिएपछि भन्छे । "यो कथा मैले पढेको भन्दा मैले सुनेको राम्रो छ।" म फेरि हाँसिदिन्छु। उ अर्को चुरोट सल्काउँछे। एषट्रेमा ठूटो थपिन्छ। अघी खुलेको कर्टेनलाई वन्द गर्छे। मलाई आएर अँगालो मार्छे। अनि मलाई उ एउटा योद्दा जस्तो लाग्छ। जसले आफ्नो घोडालाई धाप मारिरहेको छ। म उसको असल घोडा वनेर दगुरीदिन्छु। अनवरत ! सामान्यतय हुने यहि नै हो। उ भित्रका कुण्ठा मैले भोगि नसक्नु छ । मैले कसरी लेख्न सक्छु र सुधालाई ? उ लेखकको परिक्षा हो। शायद म फेल हुँदैछु। थरर्र काँप्छन मेरा औँलाहरु । मेरो ल्यापटपको स्क्रिन हेर्छु । अझै व्ल्यांक नै छन पानाहरु । मात्र मैले माथी लेखेको छु "माया नपाएकी केटी !" फेरि सोच्छु हैन उसले त मायाका विभिन्न स्वरुप भोगेकी छे । किन नपाएकी भनौँ। कर्सर लगेर "न" हटाइदिन्छु । शिर्षक फेरिन्छ। "माया पाएकी केटी !" । शायद यो कथा म लेख्न सक्दिन होला ।
fucheketo · Feb 14, 2016 2:00 AM
गजबको प्रस्तुति कसैले पहिले भने झैँ अघिल्ला दुई अंक चाही अलि क्लिष्ट थिए, तर यो चाही बढो सरल हिसाब ले सतत बगेको पाइयो, यो शृंखलाको मौलिक निरन्तरता कायम गर्दै।
Altijdgoede · Feb 14, 2016 6:46 AM
फुच्चे , कथोउपन्यास सक्काएको हो र ? नासक्किन पर्ने हो अहिले नै त , हैन र ? किन कि प्रविनले डायेरी पढिरहेको छ अनि आखिर किन अपिस बाट यस्सै गाएब भईन त सुधा भनेर अझै कौतुहल यथावत नै छ . यो त बास डायेरीका पानामा साकेतको कथा न हो . तर किन किन साकेत कथित प्रख्यात लेखक भैकन पनि कस्तो निरिह प्रस्तुत भईरहेको छ पछिल्लो केहि भागमा साएद मायामा हराएको छ "तुवाँलोमा धुन्मुन्नीएको काग" झैँ , निस्किन उकुसमुकुस भएर बाटो खोज्ने क्रममा . अब कौतुहलको समाधान पो आउँछ कि अर्को भागमा , कुर्दै छु . - थाने
ThahaChaena · Feb 15, 2016 11:29 AM
हरायो है फेरी ....
ThahaChaena · Mar 10, 2016 7:09 AM
As always beautifully written fucheketo..
yacc · Mar 11, 2016 3:30 PM
फेरी पनि सम्झाउन झक्झाको ल ! - थाहा छैन
ThahaChaena · Apr 20, 2016 8:35 AM
Thaney, Yacc and Other readers(who are still following this thread!!) thank you very much.... मेरो अन्तर्द्वन्द -२ मान्छे धेरै जसो आफैमा वाँडिएको हुन्छ । त्यसैले एकान्तमा पनि त उ आफै सित युद्द गर्छ। युद्द सिद्दिएपछि थकित हुन्छ अनि पत्तो पाउँदैन। कसले जित्यो , अनि उसले आखिर कसलाई हरायो। जित हारको विचमा उन्माद थियो वा पश्चताप। यो मेरो मात्र हैन मान्छेकै कमजोरी हो । मान्छेलाइ हराउन अरु मान्छे चाहिँदैन ,उ आफु नै काफि छ । किन की अरुले घृणा गर्न उसलाइ वुझ्नु पर्छ। आफुलाइ घृणा गर्दा समिकरण अलि सरल बन्छ। आफुलाइ वुझ्ने झण्झट रहँदैन , समिकरणको त्यो अंश आफैले समाधान गरिसकेको हुन्छ मान्छेले। मेरा औँलाहरु, मेरो कलम को युद्द धेरै समयसम्म चलिरह्यो। त्यो दिन पश्चात मेरो चुरोट अनायसै वढेर गयो।मेरो दाह्री पनि । हुन त म पहिले पनि दाह्री पाल्ने नै मान्छे हुँ । तर यसपाली मेरो दाह्री अचम्मको अह्हरो छ । झुक्न मान्दैन, अनि काटिएको छैन। मान्छेहरु भन्छन् घोडाको जग्गर जस्तो । तर म घोडाको पनि किन वेइज्जत गरौँ ? म मेरो दाह्रीको तुलना मेरै दाह्री सँग गर्छु ,मेरो दाह्री मेरै पुरानो काटिएको दाह्री जत्तिको राम्रो छैन। म फगत पालिरहेछु । पालेको पनि के भनौँ , म मात्र काट्न मन गरिरहेको छैन। सुधा फर्केकी छैन। तर मलाइ ओगटेर भने राखेकी छे उसले ।खै म यो किन भन्दैछु, अनि किन लेख्दैछु। किनकी उसको डायरीमा त मेरो अन्तर्द्दन्दको पक्कै स्थान छैन। शायद उसलाइ लेख्ने मेरो मृगतृष्णा हो। म जति उसलाइ सोच्छु उ उति टाढा जान्छे। मैले करिव एक घण्टा घोरिएर त्यो शिर्षकलाइ हेरेको छु। "माया पाएकी केटी" यी तिन शव्दमा सुधालाइ खोज्ने प्रयास गरेकी छु। तर मलाइ थाहा छ , अनि अरु धेरैलाइ थाहा हुनु पर्छ। सुधा खोज्दा मात्र सुधाका केहि अंशहरु भेट्टिन्छन्। उ त यति वृहत छे कि जुनै किताव बाट छचल्किने छे भरिएर।उसलाइ आकार दिन खोज्नु त मुर्खता हो, धृष्टता हो। तर मलाइ त्यो मुर्खता गर्न मन छ । मन भएर पनि म शिर्षक भन्दा तल झर्न सक्दिन। पर्सी सुधा फर्किँदै छे। उसको एउटा टेक्स्ट आएको छ। आउने वित्तिकै सोध्नेछे। "लेखकवर केहि लेख्नु भयो ?" म सँग विभिन्न थरीका उत्तर हरु छन्। मैले केहि लेखिन भनेर उसलाई ढाँट्न सक्छु। वा केहि लेख्ने प्रयास गर्दैछु भनेर वताउन सक्छु। वा लेखेको चित्त नबुझेर च्यातेर फ्याँकिदिएँ पनि भन्न सक्छु। "के लेख्ने प्रयास गर्दै हुनुहुन्छ त ?" सुधाको यो प्रश्न आयो र मैले उसको नाम लिनु पर्यो भने चाहिँ उसको उत्सुकता वढ्नेछ। अनि म सँग मात्र शिर्षक हुँदा भने उ पक्कै खिन्न हुनेछे। उसको एउटा रहर हो म बाट लेखिने । मेरो कलममा त्यो ताकत छ छैन त्यो भने अर्कै कुरा! म भित्तामा टाँगेको घडीलाइ हेर्छु। सामान्यतय म त्यसलाइ धेरै नहेर्ने हुनाले म सँग रिसाएर फन्किएर अल चाँडो चाँडो हिडेर म बाट टाढा हुन खोज्दैछ कि जस्तो पनि लाग्छ। तर घडीको पनि त आफ्नै सिमा छ। काँटाहरु जति टाढिन खोजे पनि खुला चौरमा निक्लिन सक्दैनन् । त्यहि घडी भित्र दगुर्नु पर्छ। उनीहरु दिशाभ्रममा परे जस्तो कुनै दुरी पार नगरी घुमिरहन्छन्। घडी वाट आँखा हटाउँछु। घडी म सँग रिसाएको छ। कलम तिर आग्रही आँखाले हेर्छु। उ पोखिन चाहन्छ,बग्न चाहन्छ तर उसको साधक म हुँ। म विना कलमको अस्तित्व छैन। म कलमको वैशाखी हुँ, म कलमको सारथी हुँ । तर सारथी नै वाटो झुक्कियो भने कति सकस होला कलमलाई । कलमबाट पनि आँखा हटाउँछु। बाहिर टण्टलापुर घाम लागेको छ। रुखको छहारीमा भँगेरा चारो खोज्दैछ। वाहिर गएर उसलाई धपाउन मन लाग्छ। जुरुक्क उठ्छु ,भँगेर उड्छ । उसले मेरो कुरा मैले नबोलिकनै वुझ्छ। म फेरि त्यहि कुर्सीमा थचक्क वस्छु। भित्र किचनबाट पानीको एकनासे आवाज तप्प तप्प झरेझैँ लाग्छ। झर्को लागेर आउँछ। धारा वन्द गर्न उठ्छु। किचनमा छिर्छु ,आवाज आफै हराउँछ। त्यो पानी हैन। अरु नै केहि आवाज ! शायद आफु विचको अन्तर्द्वन्दको चर्को आवाज म सुन्दैछु। फेरि फर्किन्छु, सिरसिर हावा चल्दैछ। पन्ना पल्टिएको छ। शिर्षक त पल्टिएको पानामा छ। फेरि शिर्षकमै फर्किन्छु अनि सुम्सुम्याउँछु " माया पाएकी केटी" लाई। मैले यो कथालाई आकार दिनै पर्छ। सुधाको लागी, उसको रहरको लागि। म सँग समय कम छ। धेरै वेर सोचेपछि एउटा अनौठो विचार मनमा आएको छ। उ त मेरो मोनालिसा हो, मेरो हुनेवाला अद्दितिय कला हो । त्यत्तिकै कहाँ प्रकट हुन्छे उ ? एउटा साधना चाहन्छ, एउटा तपस्या। म अझै भौतिक भएर सोच्दै गर्दा उसको वारेमा सोच्न सकिरहेको छैन। कमजोरी कलममा हैन, मेरो सोचाइमा हो । सोचको परिवर्तन अन्य कथाहरु भन्दा यसलाइ भिन्न वनाउन खोजियो भने ल्याउन सकिन्छ। मैले उसलाई होशमा लेख्न सक्दिन। उसका यादहरु र म एकान्तमा हुँदा भएको हेलुसिनेसन नै आखिर उसको कथा हो नि। म एक्लै हुँदा पनि त उसलाई महसुस गर्छु। ढोकामा चुइयँ आवाज आउँछ। सुधा नहुँदा खेरी मेरो एकान्तको अंश छिर्दैछ, ढोकावाट एउटा उज्यालो प्रकाश सँगै सुधाको भ्रम । फेरि रुखमा दुइटा भँगेरा फर्केका छन् । तर कुनै संगितमा वुरुक्क वुरुक्क उफ्रेर नाच्दैछन्। म सुस्तरि उठ्छु, उसले मलाई तान्छे अनि सोध्छे "तिमीलाई संगित मन पर्दैन?" म कलमलाई नियाल्छु विस्तारै उठाउँछु अनि शिर्षक तल लेख्छु "तिमीलाई संगित मन पर्दैन ?" उसले मेरो हात समात्छे। ढोकावाट वाहिर लान्छे। अनौठो प्रकाश छ। ति भंगेर अहिले मयुर वनेका छन्। नाच्दैछन्। यति पारिलो घाममा पनि पानी परेको छ। म भिज्दै छु ,सुधाको ओतमा !!!!
fucheketo · May 3, 2016 9:19 AM
मित्र फुच्चे , यो छोटो भाग नि पढियो . एक र अर्को भाग को बीचमा यति धेरै अन्तराल रहन्छ कि , कथा फेरी दोहोर्याउन पर्ने हुन्छ भनेको . धन्न रसिलो नै छ कथा . तर अलिकति कुरा नबुझेको के मैले , यो पछिल्लो केहि भाग साकेतले लेखेको छ जहाँ सुधाको अत्तो पत्तो छैन र यो सबै प्रविनले पढिरहेको छ सुधाको डायेरीबाट . यदि सुधा त्यहाँ उपस्थित नै छैन र उसकै डाएरीबाट यो सप्पै कथिदैं छ भने यो साकेत को मनोवाद सुधाको डायेरीमा कसरि आयो ? अलि बुझिन .... हेरुम अगाडी के हुन्छ - थाहा छैन
ThahaChaena · May 5, 2016 12:28 PM
झक्झकाको फुच्चेलाइ , कति निदौना सकेको गाँठे
ThahaChaena · Jun 24, 2016 9:21 AM
साह्रै व्यस्त भयौ त फुच्चे बन्धु , लेखन मित्र लेख ...
ThahaChaena · Jul 19, 2016 9:55 AM
लेख्ने कि फुच्चे मित्र अब त ! उता अनुहारकिताबमा ४-४ वटा नयाँ कथा पस्किसक्यौ यताको लाइ बेवास्ता नगरे हुने हो ...
ThahaChaena · Sep 12, 2016 12:45 PM
मैले त अब कथा नै भुले जस्तो भैसक्यो !!! KJ
kyajhoor · Sep 12, 2016 12:55 PM
सम्झाउन आएको है . सम्झाउँदा सम्झाउन्दै बित्ने भो काया
ThahaChaena · Feb 3, 2017 11:00 AM
khoi ta bro aayena ta lamai samaye bho
terouncle · Apr 24, 2017 1:17 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion