लघुकथा: समाज
-उत्तम पौडेल
सामाजशास्त्र पढाउने शिक्षकले कलेजको एउटा कक्षामा भने –“भौगोलिक अवस्था, आर्थिक अवस्था, ऐतिहासिक घटनाक्रम आदिले नै उक्त समाजको रितिरिवाज, चालचलन र संस्कार निर्धारण गरेको हुन्छ |” .....बाक्य जटिल लागेर हो या बिषय गम्भीर भएर, बिधार्थीहरु सोचमग्न भए, कक्षा चुप भयो |
पढाएको कुरा बिधार्थीहरुले कतिको बुझे या बुझेनन् भनेर जान्न उनि फेरी बोले –“ ल अब तिमीहरु भर्खरै पढाएको कुरा पुस्टि गर्ने उदाहरणहरु देउ त |”
एकछिन पछि कृष्ण बोल्यो – “चाइनामा माओले औध्योगीकरणको नाममा कृषिलाई लत्याएपछी अनिकाल लगेर लाखौ मानिसहरु मरे | आजसम्म पनि खानेकुरा फ्याँक्नेलाई उक्त समाजमा घृणा गरिन्छ |”
शिक्षकले खुशी हुँदै कृष्णलाई स्याबासी दिए |
हरिले अर्को उदाहरण दियो –“जापान र इजरायलमा प्राकृतिक श्रोत नभएको कारणले, त्याहाँको समाजमा शिक्षालाई सबैभन्दा महत्व दिइन्छ| पैसा हुनेलाई भन्दा शिक्षित व्यक्तिलाई सम्मान गरिन्छ |”
हरिले पनि स्याबासी पायो |
कैलास पनि के कम, उसले अर्को उदाहरण ठोक्यो –“बेलायत संग १०० बर्षे युद्द भएको कारणले, र जर्मनीसंग प्रतिस्पर्धा भएको कारणले गर्दा फ्रेन्च नागरिकले अंग्रेजी र जर्मन सिक्नै चाहेनन् | बिकसित देशहरुमा आजपनि फ्रान्स सबैभन्दा कम बहुभाषी भएको देश हो |”
कैलासले पनि जोड्दार स्याबासी पायो |
बबिता पनि कहाँ कम थिई र, अर्को उदाहरण आयो- “स्थापना कालदेखिनै थुप्रै देशका बासिन्दाहरु बसाँइ सरेर बनेको समाज हुनाले, अमेरिकी समाज आजसम्म पनि सबैभन्दा बलियो आप्रबासी अधिकार र स्वतन्त्रता भएको समाज हो |”
पुरै कक्षा ‘को भन्दा को कम’ को शैलीमा उदाहरण दिँदै थियो, र स्याबासी पचाउँदैथियो | तर कक्षाको अर्को तीक्ष्ण बिधार्थी रमेश भने चुपचाप थियो, गम्भीर भएर सबैको कुरा सुनिरहेको थियो |
त्यो देखेर शिक्षकले रमेशतिर नजर फ्याँक्दै सोधे-“ तिम्रो दिमागमा पनि केहि उदाहरण छन् कि रमेश ?”
रमेशले भुइँतिर हेर्दै जवाफ दियो – “इज्जत-बेइज्जतको ख्याल नभएको, बेला-न-कुबेला कर्कश बोलीमा हुँदो-नहुँदो भुक्ने, क्वार-क्वार कराउनेहरुलाई हामीले प्रभु मान्छौं | त्यसैले नेपाली समाजमा कार्तिकमा कुकुर र कागको पुजा हुन्छ |”
स्याबास भनुँ या नभनुँ भनेर शिक्षक बडो दोधारमा परे |
-------------------------
मेरा अन्य लघुकथाहरु:
http://www.mysansar.com/2013/09/7405/