भाग-१ उसले आफ्नो व्यस्त समयवाट आफ्नो कपाल मिलाउन लाई फुर्सद निकाली। किन किन उसले कपाल कान पछाडी छिराएको भन्दा मलाई उसको गालामैँ झुण्डिएको मन पर्छ। कानको झुम्का विस रुपैँया पर्ने हो त्यो । सानीलाई नै दिनुपर्ला भनेर हटियामा मैले पनि हेरेको थिएँ। त्यहि दिन मोरीले पनि किनिछे। मैले आफ्नो कोठामा पुगेर किनेर ल्याएको झुम्कालाई आफ्नो सिरानी मुनी हालेँ, दिन पाइन भनेर । त्यो त्यहि सिरानी मुनी गुम्सियो , मेरा मनका कुराहरु मनमैँ गुम्सिएजस्तो। "पाक्यो, तरकारी पनि ,अहिले नै खानुहुन्छ कि सेलाए पछि? अहिले त धेरै नै तातो हुन्छ" " मेरो जिब्रो खुइलिन्छ भन्ने साह्रै नै चिन्ता छ है तँलाई?" मैले उसलाई जिस्क्याएँ। "खुइले पनि खुइलियोस् , जत्ति खेर पनि जिस्क्याउने वानी त जान्थ्यो होला नी!" उसले थाल पखाल्दै जवाफ फर्काई ।म पाँच वजे अफिस सकिएपछी त्यहिँ गएर वस्थेँ।सरुवा भएर आएको करिव एक वर्ष भयो।अरु होटेल भन्दा यहाँ खाना महँगो छ भन्ने गुनासो छ मेरा अरु साथीहरुको।त्यो यहाँ जाँड नपाइने हुनाले उनीहरुले लगाएको दोष पनि हुन सक्छ।म भने दुइवटा अरु ठाउँमा खाएपछि पछील्लो दश महिनादेखी यसैमा खाँदै छु।मेरो मन वसेको छ उनीहरुको खानामा। उनीहरु रक्सी वेच्दैनथे। वेच्न छोडेका थिए भनौँ, एउटाले एक वर्ष अघि जाँड खाएको सुरमा सानीको हात समातेको थियो, त्यसपछि त्यहाँवाट जाँड हट्यो रे। सानी का वाउलाई के थाहा मात जाँडले मात्र लाग्दैन भन्ने। "के हेर्नु भएको त्यसरी?" मेरो एकटक नजरमा उसले बिराम लाउन चाहि।मेरो नजर मान्दैन भनेर उसलाई कसरी भनौँ। टाढा हुँदा उसको आकृती सँग बोल्न चाहन्छु, नजिकै हुँदा उसको सुवाष सँग बोल्न चाहन्छु अनि शब्दहरु हराएको बेला नजरवाट वोल्न चाहन्छु, कसरी विराम दिउँ मेरा नजरलाई? "अचम्म लाग्यो तैँले स्कुलको ड्रेस नखोली ,खाना पकाउन थालिछस् आज भनेर!" मैले उसको सेतो शर्ट र निलो फ्रक नियाल्दै भनेँ। "एसएलसी आउँदैछ नि त,ट्युसन पढ्दै छु, घर छिरेर लुगा फेरेर आउन पाइन!" "ठूली हुने भइस,अव त तँलाई सानी भन्न पनि नमिल्ने भो,एसएलसी पछी त!" "के भन्नुहुन्छ त?" उसले पस्केको भात मेरो टेवलमा राख्दै सोधी।मैले उसलाई हेरेँ,खोइ के भनौँ म उसलाई । नाम दिन सक्दिन, सम्वन्ध दिन सक्दिन। उसका प्रश्नहरुमा नाजवाफ भएर खिस्स हाँस्न सक्छु, अनी लुकी लुकी उसलाई हेर्न सक्छु। "के भनौँ आँफै सिका न त!" मैले फेरि पनि फैसला उसको हातमा सुम्पे। कहिले काहिँ आफू हारेर अरुलाई जित सुम्पिनु जस्तो रमाइलो केहि हुन्न । विशेषत: जव बिजयी मुस्कानहरुले आफुलाई हार्न वाध्य वनाउँछन् ,सँधै हारीदिउँ जस्तो लाग्छ। "पछि भन्छु ल!" उ खित्का छोडेर हाँसी। " अनी आज वुवा खोइ त तेरो?" " काकाको घर जानु भएको छ , आउँदै हुनुहुन्छ होला!" उसले वाटो तिर आँखा डोर्याउँदै जवाफ फर्काई। "तँलाई एक्लै हुँदा डर लाग्दैन ?" "म एक्लै कहाँ छू र ? तँपाई पनि त हुनुहुन्छ ,हिहि..." उ फेरी हाँसी।म सँग जवाफ छैन त्यसको। खुशि लाग्यो उ जव म सँग हुन्छे , आफुलाई एक्लो ठान्दिन। तर मैले भन्न सकिन, कहिले काहिँ त उ नभएको बेला पनि उ म सँगै हुन्छे। " सानी तैँले वनाए जस्तो कालो दाल त कसैले वनाउँदैन होला!" मैले आज पनि खाना सिध्याएको बेला औँला चाट्दै उसलाई जिस्क्याएँ। "हुन्छ , तँपाइ मेरो वाले बनाएको बेला पनि त्यहि भन्नुहुन्छ होला!" उसले पत्याइन ।मैले ढाँटेको थिइन, तर पनि उसले पत्याइन।मेरो सत्य विवश भएको छ उसको अघी, धेरै जसो लुक्छ, जव जव उ वाहिर निस्किन्छ उ परिचय विहिन हुन्छ। **************** ******************* **************** **************** ********************** **************** **************** ******************** ************ "सवै तिमीले ध्यान नदिएर हो " म फोनमैँ झर्किएँ । नझर्किउँ पनि किन ! साना साना कुराको लागि किचकिच सहनुपर्छ। अव छोरोको टेष्टमा राम्रो नम्वर आएन ,म अफिस वाट के गरौँ? सरला पनि त्यस्तै छे, कम्तिमा विहान बेलुका ध्यान त दिनु पर्छ।मैलै फिस , घर खर्च सवै पुर्याइदिएकै छु। उ छोरा सँग छे त, छोराको जिम्मा उसको नै भएन र! जागिर नै यस्तै छ, कहिले कुन कुना ,कहिले कुन कुना पुग्नु पर्छ। "खोइ पढ त भन्छु नि म, साँझ विहान स्कुल नभएको बेला किताव त हेरीराखेकै हुन्छ! जाँचमा चाहिँ अलि अत्तालिन्छ जस्तो लाग्छ। आएकै कुराहरु पनि विगारी राखेको हुन्छ । नअत्तालिइकन दे भनेर त सँधै भन्छु, खोइ जाँचको बेला के हुन्छ त्यसलाई।" सरलाको स्वर मसिनो भयो।उ सँधै छोराको वचावट नै गर्छे। अलि अलि त गालि पनि गर्नुपर्छ केटाकेटीलाई , नत्र पुलपुलिन्छन् । "फोन देउ,त्यो गधालाई ,किताव हेर्छ कि के हेर्छ!" मलाई झन पारो तात्यो। "अहिले त साथीको मा गएको छ!" "यहि भएर हो , चाहिने ,नचाहिने संगत छ, रात बेरात कुदेको छ। तिमी किताव हेर्छ भनी राख न, हैन म यति टाढा वाट सँधै गाली गरी राख्न त सक्दिन नी सरला,तिमीले नै हो ध्यान दिनुपर्ने।एउटा छोरा छ त्यो पनि नालायक नै हुने भयो!" यसपाली सरला केहि बोलिन, सुँक्क सुँक्क आवाज आयो। आइमाई हरुको यहि वानी मन पर्दैन मलाई आँशु धाराको पानी भन्दा चाँडै झर्छ। " अव के भयो?" "केहि हैन!" मैले सोचेकै उत्तर आयो। "ल ल भोली त्यो भएको वेला मलाई फोन गर ! अनि म केहि भनौँला!!" मैले फोन राखिदिएँ । केहि वेर रिमोट घुमाएँ।विस्तारै निदाएको थाहा नै भएन। क्रमश:
fucheketo · Sep 29, 2012 2:28 AM · 43,601 views
जागिरे जीवनको एउटा अभ्यस्थ दैनिकि! मीठो लेख्यौ । अरु प्रस्तुतिका प्रतिक्षामा! -somewhereondearth
somewhereondearth · Oct 6, 2012 9:09 PM
@सोम दाइ...... ..फुच्चेलै चै "अरु प्रस्तुतिको प्रतिक्ष्यामा" रे........ आफु चै किन हराको नि..... खै त तपाइको लेख पनि अपडेट गर्नुस न ..... न तपाइको ब्लग मा छ न यहाँ हल्या हो....... कस्तो पढ्न मनलागिराछ ......
ThahaChaena · Oct 7, 2012 9:34 AM
प्रभो, धेरै काल पछी झुल्किनु भो, अनि सदा झैँ उत्तम प्रस्तुति. एस्तो लेख्न जान्ने भएको भए त आफ्नो पेसै लेखक हुन्थ्यो होला, जान्नेले लेख्दैनन धेरै के गर्नु र :( अर्को प्रस्तुति कहिले आउछ?
aakinchan · Oct 8, 2012 8:48 AM
"विशेषत: जव बिजयी मुस्कानहरुले आफुलाई हार्न वाध्य वनाउँछन् ,सँधै हारीदिउँ जस्तो लाग्छ।" वाह वाह! फुच्चेकेटो, यति सानो कथा मा यति गहिरा कुरा हरु लेख्नु अत्यन्त कठिन हुन्छ, र कहिलेकाही धेरै जसो लेखकहरु (यानी कि म जस्ता) गहिराइ मा चाहिने भन्दा बढी साहित्य थोप्छन जसले गर्दा अनावस्यक रुप मा कथा लम्बिनछ. तर यो कथा पढ्दा मलाइ त्यस्तो कदापि पनि लागेन. त्यसैले एती मिठो र छोटो प्रस्तुति पस्केको मा धेरै धेरै धन्यवाद. आशा छ राहुल्दाई जस्तै यहाँ को कथा हरु फेरी फेरी पढ्न पाइयोस.
behoove_me · Oct 8, 2012 9:05 AM
Dherai Pachi, Fucheketo ko parstuti padhna paiyo. Sarai nai utkrista..
namit_thapa · Oct 8, 2012 10:38 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion