dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पाहुना

[Please view other pages to see the rest of the postings. Total posts: 78]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 37549 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 03-10-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग १


"दिपिका ला हेर्न खत्तम नै हुने भयो, बर्बाद हुने भयो"--- सारीका फोनको रबर को एन्टेना चिमोट्दै आइपुगी मेरो कोठामा। दस पाइलाको दुरिमा थियौँ होला हामी त्यो दुरी पनि हिंड्न नसकेर दौडेर आइ। 


"बिस्तारै हिँड। घर भित्रै दौडिन त पर्दैन होला नि? आइपुग्ला तेरो बाजे फेरी तल बाट निहु खोज्न"---आफुलाई उस्को कुरा सुन्न भन्दा बढी तल बस्ने कालेको पिर। अलिकती आवाज ठुलो भयो भने पनि तल बाट हान्न थाल्थ्यो उस्को दलिनमा। आफुलाई पैतालामै ठोक्या सरी हुने गरेर।


"मान्छे ह्याँ मर्न आँटिसकेँ, उस्लाई तेइ असत्ती नरपिसाच को पिर"---फन्केर हिँडी मेरो कोठाबाट। खुब प्रयोग गर्थी यो नरपिसाच भन्ने शब्द। शब्दै सुन्दा नि दिउँसै तर्साउला जस्तो डर लाग्ने।  


"किन मर्न आँट्या त्यो पनि सुनारै जा न"---उस्को अनुहार पनि नहेरी, आँखा झिमिक्क नगरि मनिटर तिर अनी औंला चै किबोर्डमा पिटिक पिटिक पार्दै मैले सोधेँ, मैले नसोधिकन उस्ले चै नभन्ने नै झैँ गरेर।


"हेर्न अको दिदी आउने रे पर्सी, बुधवार आएर आईतवार जाने रे"---रुँला जसरी भनी।

"आहा!"---निस्किहाल्यो मेरो मुख बाट। सारीका तीन छक्क परी।


अको दिदी भनेको त्यस्को फुपु। उहाँको र मेरो चिना पर्ची केबल फोटोमा मात्रै भएको थ्यो। आफ्ना छोरा बुहारी  अनी नातिनिलाई भेट्न अमेरिका आउनु भएको छ भनेर सारीकाले नै सुनाकी थीई १-२ महिना अगाडि। बेला बेलामा सारीकाले  फोन गरेर "मलाई भेट्न आइस्योन" त भन्थी तर चेपारो पार्दा आँफै चिप्लिछे। बोलिको अली रुखो र छुच्चो अनी बुहारी  सँग खट्पट चै सधैं पर्छ भनेर पनि उसैले राग गाएकी थिई। अब यो पाली साँच्चिकै खट्पट बाट लम्किन खोज्नु भएको हो कि भदैको चेपारो को चपेटोमा पर्नु भएको हो थाहा भएन। आउने निधो गर्नु भएछ। खासै उहाँ आउनु भनेको मेरो लागि त कागलाई बेल पाक्या सरह नै हुनुपर्ने थ्यो तर परीस्थिती अर्कै परीदियो यो पाली।


आको दिदी "in" हुने बित्तिकै सफल "out" हुन्थ्यो हाम्रो अपार्ट्मेन्ट् बाट। खास मलाई खुशी लागेको चै सफल "out" हुने भएर हो।


सारीकाको र मेरो अपार्ट्मेन्ट् मा हामी भन्दा धेरै बस्ने ; हामी भन्दा धेरै खाने तर पैसा चै फुटी कौडी ननीकाल्ने अनी काम गर्न भनेपछी वरको सिन्का पर पनि नसार्ने; ढलेको गिलास धरी उठाउन एक्छिन सोच्ने यदी त्यो उठाउदा मेरो कम्मर मर्किने हो कि भनेर; मोजा खोलेर कहिले सोफामा कहिले भान्सामै फालिदिने; टि.भी को आवाज दुई कोश पर सम्म सुन्ने गरेर ठुलो बनाउन पर्ने; नुहाए पछी घरमा को को छ मत्लब नगरेर रुमाल कम्मर मा बाँधेको भरमा अर्ध नग्न शरीर लिएर दुई घण्टा वरदोर गरेर बस्ने; दिन भर भिडियो गेम पाएपछी बसेको ठाउँबाट हलचल नगरने; खान पकाउन केही जाँगर पनि नदेखाउने तर खानेकुरा केही फ्रिजमा देख्न पनि नहुने। देख्यो भने अरु खावस कि नखावस वास्ता नगरेर एक बचन कसैलाई नसोधी आफु मात्रै खाने; हरेक बिदा, लामो होस् कि छोटो होस् आइपुगिहाल्ने; यती धेरै गुणहरुले भरिपूर्ण "सफल" नाम गरेको सारीका को बोइ फ्रेन्ड थ्यो। नाम मात्र सफल काम जती उस्का सबै असफल हुन्थे। मान्छे त बिदा भएपछी काम गर्न तिर लाग्छन नि उ त सिधै आइपुग्थ्यो हामी काँ। दुई हप्ता भन्दा धेरै कुनै काममा पनि टिक्न सकेको हाम्रो ज्ञानमा आएको छैन। काममा जो सँग पनि ठ्याक नमिल्ने उस्को। त्यस्तो त मैले आज सम्म उस्को बाहेक अरु कसैको पनि सुनेकी छैन।  एउटा ठाउँ नराम्रो हुन सक्छ दुइटा हुन सक्ला सब का सब नराम्रो त कसरी हुन्छ? त्यो मैले कहिले बुझिन।  


हुन त सफल बस्ने हाम्रो अपार्ट्मेन्ट त के हाम्रो स्टेट मै थिएन। उ अर्कै स्टेटमा बस्थ्यो र त्यही युनीवर्सिटिमा पढ्थ्यो। सारीका पनि पहिले त्यही पढ्थी र सँगै बस्थी। सुरुमा त दुई जनाको जोडी चखेवाको जोडी जस्तो थ्यो रे। पछी कुरा मिल्न छोड्यो रे। दुई जनाको झगडामा मायाप्रिती त पिङ-पङ बल्ल जसरी कहिले एका छेउ कहिले अर्को छेउतिर हुइकिन थाल्यो रे। पछी सारीका हाम्रो युनिवर्सिटिमा ट्रन्स्फर भएकी थिई। सँगै बस्दा नमिलेका कुराहरु छुट्टीदा चै मिल्यो रे उनिहरुको। अब एकअर्का प्रती माया सागर को छाल जसरी उर्लेर आयो रे। तर पनि अचम्मको कुरा चै जती उर्लेर आएपनी, बगाएर अर्को छेउ तिरै पुर्याए पनि सँगै चै कहिले नबस्ने रे, दु:ख पाए रे। त्यस्तो पनि हुने रहेछ।  


सँगै नबस्ने पनि भन्ने मात्रै हो। सफल जहिले हामी काँ हुन्थ्यो। जस्ले पनि तिमीहरु तीन जना बस्ने हो भनेर सोध्थे। अरु त अरु एक्चोटी म्यानेज्मेन्ट बाट चिट्ठीनै आएको थ्यो हामीले खबर नै नगरि अर्को मान्छे पनि राख्यौँ भनेर। हामीले पछी गएर उ त पाहुना हो भन्दा त्यस्तो सधैं बस्ने पनि पाहुना हुन्छ भनेर हामीलाई नै उल्टो प्रश्न गरेकी थिई म्यानेजरले। त्यती हुँदा पनि सफललाई केही फरक परेको चै थिएन। उ आफ्नो नित्य कर्म गरिनै रहेको थ्यो, बिदा भयो कि झोला बोकेर हामीका पसारो पर्न आईहाल्थ्यो।


यो पाली पनि दुई हप्ता बितिसकेको थ्यो, अब अर्को दुई हप्ता बस्ने सफलको प्लान थ्यो। अको दिदी आएपछी त उ जानै परीहाल्यो। आफ्नै फुपुको अगाडि सारीका पनि बोई फ्रेन्ड सँग एउटै कोठामा त बस्न कसरी सक्थी र? बस्न नसक्ने मात्रै होइन सफललाई चिनाउन पनि सक्दिन थिई त्यो बेलामा। सफल को र उस्को सम्बन्ध कस्तो हो सारीकालाई नै त छुट्याउन हम्मे हम्मे थ्यो अरुले के बुझ्ने र उस्ले कस्लाई के भन्ने?  त्यसैले उ चिन्तित थीइ अको दिदी आउने भनेर। आफुलाई त सफल जस्तो चन्डलाई पठाउन पाए जुन मुन्ड आएपनी केही थिएन, झन फुपु त राम्रै भयो। 


क्रमश: .......

 
Last edited: 10-Mar-09 09:13 AM

 
Posted on 03-13-09 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai--


त्यही भन्या ठुल्दाइ, अर्काले हुन्छ भनोस नभनोस मत्लब छैन।  त्यो पनि जिस्किन मिल्ने मान्छे वा साथीहरुलाई  भए पनि सहनु, फुपु जस्तो लाई त्यो पनि अझ दिउसै टर्च लाईट नै बालेर खोजे पनि कतै नभेटिने जस्तो गोबर गणेशलाई त्यत्तिकै मेरो बोईफ्रेन्ड रे।  

Last edited: 13-Mar-09 04:10 PM

 
Posted on 03-13-09 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अर्को भाग आयो भन्ठानेर छिरेको त।   

 
Posted on 03-15-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा सारिका !!!


दिपिका दिदी हजुरको दिमागमा के के मात्रै कल्पना आउने !! माने मैले इर्ष्या नै लाग्यो हजुरको लेखाईको।


त्यहीं त सफल मोरो  चै तोरीलाउरे नै रहेच।


अनि म यहीँ बसिरहने अरे --लौन!! पाहुनाको त्यस्तो हालत हुने रहेच फेरि त्यो सारिका ले जे जे पाती भन्ने रहिचे, बरु पुजालाई नै ल्याउनु पर्च  


मेरो दिदीलाई मिस गरेकी रे?  हजुर त हो नि मेरी दिदी, ल अरु को छ र भन्चु?!


 


 
Posted on 03-16-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु, दोस्रो भाग पनि हास्य-ब्यङ ले भरिपूर्ण रहेछ, मज्जा ले हास्न पाइयो। लेखाइ को त के बर्णन गर्नु, सधैं झै सुन्दर छ। बाँकी कथा पनि चाडै पढ्न पाए हुन्थ्यो। 
 
Posted on 03-16-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले उसको आँखामा आँखा जुधाएँ उसका आँखाहरु म सँग क्षमा माग्दै थिए मलाई लाग्यो उ हब सुध्रिएकी छे उ निश्छल भएकी छे । उ अब कहिल्यै झुठ बोल्ने छैन !!!!!!!!!!!
हाहाहाहाहा ।।।।।।।मेरो भर्जनमा तिम्रो कथा ट्राइ गरेको सुहाउँदै नसुहाउने रैछ !!!!
ल दामी छ।।।।।।।।।अर्को भागको प्रतिक्षामा!!!!!
अनी धन्यवाद पनि,

 
Posted on 03-16-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जी अर्को भाग राखिसकेको रईछौ पढ्छु भन्दा भन्दा आज मौका पाए।
कस्ती मोरी सारीका रईछ त बिचरा मेरी भान्जी लाई,दाइ भन्न नमिले पनि साथी को दाई/भाई सम्म भनेको भए ठिकै थियो,काबाट बोइफ्रेन्ड रे
अनी पुरै चित्र आउछ पढ्दा खेरी।


सफले ले कुरा फुस्काउछ जस्तो लाग्यो मलाई। झुठ बोलेको न हो कही न कही फुस्किहाल्छ।
ल अर्को भाग छिट्टै राख ल अब आको दिदी सँग के गरेर कुरा मिल्याउ भनेर।


 
Posted on 03-17-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ३


कालेले शंखा नगरोस पनि कसरी? एउटी ले त्यसरी दुबै हातले च्यापेकी थीइ बोक्नै लागेको जसरी। आफ्नो लुगा सरेर ढंगमा थिएनन। कालेको शंखालु दृष्‍टि पाएपछी हामी दुबै अली सतर्क भयौँ। कालेले कुदृष्‍टि नै परेको झैँ गरेर छोरालाई घिच्च्याउदै माथि लाग्यो। सारीकाले हात अली खुकुलो बनाइ।


"छोड भन्या। लुगा सबै सर्यो"---त्यस्को हात पन्छ्याउदै भने। उस्ले हात छोड्न चै छोडि तर फेरी म दौडेर माथि पुग्ने हो कि भनेर भर्र्याङ्  छेकी नै राखी।


"अरु केही भन्न सकिनस? बोई फ्रेन्ड नै भन्नु पर्थ्यो?"--- रिस ले आँखा पनि ठुला ठुला बनाउदै सोधेँ। 


"तेरो दाई भन्छु भन्दा आँखा फुट्याले पनि पत्याउदैनन भन्ने तँ नै होस्। आफ्नो नातेदार कोही भन्न नमिल्ने। अनी अरु को भन्ने त?"---अझ आफ्नै डाँको ठुलो गर्न थाली।


"साथी भन्ने भनेको होइन? के खान कुरा बद्लेर मरिस् मलाई थाहै नदीइ?"--- आफुलाई विश्वाशघात गरेको तोड निकै जोड को थ्यो। अझै रन्थन्नी रहेको थिएँ म।


"भन्या त हो नि। कहाँ को साथी? कस्तो साथी? नेपालमा घर कता? बा के गर्ने? आमा के गर्ने? भनेर दस थरी सोधे पछी के गर्ने त? अनी मलाई थाहा छैन भनेको घरमा केटो मान्छे बस्याछ अझ केही थाहा छैन तिमीहरुलाई भनेर उल्टै उफ्रिन थालेपछी मैले तँलाई थाहा छ भन्न परीहाल्यो अनी तेइ कुरा मिलाउदा केही सिप नलागेर तेरो बोई फ्रेन्ड भने" --- म अगाडि नभएको फाईदा मज्जाले लुटिछे। 


"अनी मलाई चै के थाहा छ त? मलाई सोध्नु भयो भने के भन्ने?"---अब चै मलाई नै पिर पर्न थाल्यो। मलाई झन केही थाहा थिएन त्यो सफल को बारेमा। थाहा पाइरहनु पर्ने कुनै कारण पनि थिएनन। 

"मैले तँलाई धेरै खोजिनिती गर्या मन पर्दैन। फेरी रिसाउँछे भन्दी सकेँ"---आफ्नो बचाउमा बोली सारीका।


"किन भन्दैन थिस त? दुष्ट त मलाई नै बनाइहाल्छेस नि"---मुर्मुरिदै माथि लागेँ। सारीका पनि पछी पछी आइ।


भित्र  छिर्न पाएको छैन अको दिदिको हाजिर जवाफ सुरु भईसकेको थ्यो। 


"तल सम्म जान्छु भनेर कहाँ पुगेका तिमीहरु? चिया नै सेलाइसक्यो।"---मेरो चियाको कप छाम्दै सोध्नु भयो। भान्सा मै बस्यो भने अझ कती प्रश्न को जवाफ दिनु पर्ने हो भनेर चिसो चिया एकै घुट्कोमा सकेर फुपु भदैलाई कुरा गर्न छोडेर म आफ्नो कोठामा गएँ। हामी तल गएपछी सफल पनि आफ्नो कोठामा पसिसकेकोथ्यो। म भित्र गएर सम्राट उपाध्यायको "Arresting God in Kathmandu" को जम्मा दुई वोटा कथा मात्रै पढ्न बाँकी थ्यो त्यही सिध्याउन थालेँ।


खाना  पकाउने पालो मेरो थ्यो। सारीका आइहाली "खाना पकाउने होइन" भन्दै। उ पनि धेरै बेर फुपु सँग के कुरा गरेर बस्न सक्नु? "एक्छिन पख्न" भनेको मानिन।


हाम्रो पालो अनुसार म खाना पकाउन थालेँ सारीका चै भाँडा माझ्न थाली। अको दिदी त्यही मेचमा बसेर हामीले काम गरेको निरिक्षण गर्दै हुनु हुन्थ्यो। भान्सा सानो थ्यो त्यसैले उहाँलाई भन्सा मा आउन दिएनौँ। तीन जना भयो भने त ओर्किने फर्किने ठाउँ हुँदैन थ्यो। अको दिदीको मनमा कती खुल्दुली मचिएको थ्यो नसोधी किन बस्न सक्नु हुन्थ्यो र?


"अनी दिपिका नानी! सफल बाबु के थरी हुन? ---अको दिदिले अली सानो स्वरमा सोध्नु भयो। हुन त ठुलै स्वरमै सोध्नु भएको भए पनि सफलले सुन्दैन थ्यो होला। ढोका थुनेर बसेको थ्यो, पक्कै सुतेकै हुनु पर्थ्यो।
 
"सेर्चन"---पक्कै थर नै सोध्नु भएको होला भनेर मैले जवाफ दिएँ। धन्न मलाई त्यो जवाफ चै थाहा थ्यो।


"ए थकाली पो?"---नाक खुम्चाउदै अचम्म मान्दै सोध्नु भयो।


"सारिका अको दिदिले कतै अग्रवाल भन्ने सोच्नु भएको थ्यो कि क्या हो?"--- कुहिनोले सारीकालाई घोच्दै मैले जिस्किएँ झैँ गरेर भने। अको दिदिले जातिय भेदभाव गर्नु भएको मलाई मन परेन। झन सारीकालाई त के मन पर्थ्यो?


"यो अको दिदिलाई कती पिर लाग्छ है अरुको जात भात को?"---सारिकालाई अली झनक्क भई।


"मलाई त के पिर लाग्नु नि? दिपिका नानी कै घरमा चै पिर गर्नु होला। छोरा छोरी ले बुद्धी बिगारे भने बा आमालाई इज्जत जोगाउन कती पर्लय पर्छ हाम्रो नेपाल मा"--- फुपुले शायद मलाई जानकारी दिनु भएको होला। जानकारी दिनु पर्ने मान्छे आफ्नो भदै कानमा तेल हालेर बसेकी छे मलाई पो सुनाउन थाल्नु भयो। बिचरा मेरो बाबा आमालाई इज्जत नै जोगाउन प्रलय हुने त मैले के गरेको थिएँ र? अब केही भन्नु भयो भने चै मैले दुध को दुध पानी को पानी त्यही गर्छु भनेर तयार भएँ। तर मेरो जवाफ नसुने पछी फुपु केही बोल्नु भएन। सारीकालाई हेरेको उ त फुपुलाई घुरेर हेरिरा रहिछे। अनी पो फुपु चुप लाग्नु भएको रहेछ।      


त्यतिकै मा सफल आइपुग्यो। उसै त सानो आँखा झन सानो बनाउदै यसै पनि कुचो जस्तो जर्खर परेको थ्यो उस्को कपाल अहिले त जिङरिङ्ग परेको शायद एक निन्द्रा पुर्याएर आएको हुनु पर्छ। सिधै भान्सा मा आयो। एक गिलास पानी पियो र सोफा मा गएर पल्ट्यो। अको दिदी केही नबोली चुप चाप हेरिरहनु भएको थ्यो।


अको दिदिले केही प्रतिकृया दिनु अगाबै सारीकाले सोधिहाली---" अजय दाई को के छ? छोरी त ठुलि भईसकी। हजुरलाई रमाइलो लाग्यो होला नि छोरा सँग बस्न पाउँदा?"


"के हुनु? बिहान सात बजे निस्के पछी घर छिर्दा बेलुकाको छ नै बज्छ। गाँस टिप्ने फुर्सद पनि नहुने। बेलुका न्याउरो अनुहार लाएर आउछ। बुहारी  पनि खान पकाएर एक डुंगुर भाँडा छोडेर कलेज जाने रहिछे। सबै भाँडा अफिस बाट आएपछी उसैले माझ्दो रहेछ। नेपाल मा हुँदा केही गर्नु पर्या थिएन। बरु नेपाल नै फर्के त अहिले पनि २-४ जना नोकर चाकर राखेर खुट्टा पसारेर खान पुग्ने सम्पत्ति जोडेकै छौँ। के देख्या हो यो अमेरिकामा कुन्नी? यहाँ भन्दा त उतै कती सुख कति"--- पुत्र मोह र यो देश प्रती तिरस्क्रित भावनाहरु अको दिदिले बिरक्त मान्दै पोख्नु भयो।


"यहाँ सबै जना यस्तै त हो नि अको दिदी। सबैले आफ्नो काम आँफै गर्नु पर्छ।"---सारिकाले शायद एक आमाको मन बुझिन त्यो बेलामा। ठाडै उत्तर दीइ।


"खोइ नानी के पो हो? तिमीहरुको अमेरिका तिमीहरु नै जान"--- बसेको मेचबाट जुरुक्क उठेर आफुले ओड्नु भएको पस्मिनाको सल खोलेर फेरी पुरै शरीर ढाक्ने गरेर मिलाएर ओड्दै बाथरुम तिर जाँदै अको दिदिले भन्नु भयो।


"यो अको दिदिको बानी यस्तै कर्करे छ। जती गरे पनि चित्त नबुझाउने। धन्न भाउजुले टिकाकै हो २ महिना"---बाथरुम को ढोका लागेको आवाज आउने बित्तिकै खास-खुस गरे झैँ गरी अनुहार कुच्च्याउँदै सारीकाले भनी।  


"यो फुपु कती बोल्न सक्ने भन्या? थाकेर आएको होला, आउने बित्तिकै सुत्छ होला भनेको त सुगा जस्तो बोल्या बोल्यै छ। मलाई त किन यहाँ आएर बस्या भनेर सोध्दै थ्यो तिमीहरु तल गएको बेलामा"---बाथरुम को ढोका लागेको सुनेर सफल आइपुग्यो भान्सा मा गुनासो पोख्न। सुतेको होला भनेको त सबै कुरा सुनेर बसिरा रहेछ।  सधैं हाम्रो अपार्ट्मेन्टमा पसारो पर्दा हामीले केही भनेका थिएनौँ। फुपुले सोध्दा छाँङा बाट खस्या जस्तो भएछ। 


बाथरुम को ढोका खुलेको आवाज आउने बित्तिकै सफल दौड्यो सोफा तिर। अघी सम्म आँखा चिम्लेर पल्टिराथ्यो अब चै उठेर टि.भी का च्यानलहरु एक पछी अर्को लगाउन थाल्यो। फुपु आएर मेच मा बस्नु भयो। सफल को चर्तिकला हेरिरहनु भएको थ्यो तर केही बोल्नु भएन। सारीका पनि गएर मेच मा बसी। म पकाएका भाँडाहरु भिजाउदै थिएँ।


"यो सफल केटा मान्छे भएर पनि कती अल्छि भा होला? केटीहरुले खान पकाएपछी यसो भाँडा त माझिदिनु नि। खाली यता लड्या छ उता लड्याछ फुर्तिफार्ती त कतै छैन"--- फुपुलाई सहन निकै नै गाह्रो भएछ सन्की हाल्नु भयो। अघी सम्म त बाबु जोडीरहनु भएको थ्यो नाम को पछाडि अब त त्यो पनि थिएन। सफल तर्सेर जर्याक जुरुक उठेर भान्सा मा आयो। हामीले भनेको भए किन टेर्थ्यो र? फुपुले भन्नु भएकोले घोसे मुन्टो लगाएर भाँडा धस्काउन लाग्यो। एउटा पाहुनाले अर्को पाहुनालाई झापारेको देखेर सारीका र म मुखा मुख गर्दै हाँसो रोक्न बल गर्दै थियौँ। फुपु चै मेरो अनुहारमा पल्याक र पुलुक हेर्दै हुनुहुन्थ्यो कतै मैले नराम्रो माने कि भनेर। मलाई के को नराम्रो लाग्नु? लागे पनि सारीकालाई लाग्यो होला। म त दंग थिए बल्ल हामीलाई हेपेको ताइन देख्यो सफल ले भनेर।


क्रमश: 


 
Posted on 03-17-09 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि गज्जबकै गयो


अब त्यो बुढी कती बस्ने होला - आएको दिन नै एस्तो छ झन पछी के गर्ने होला


 
Posted on 03-17-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chipledhunga---


चिप्लु ल आयो अर्को  भाग।


shubha---


शुभु, सारीकाले केही भन्दिन तिमीलाई। हा हा हा पूजा लाई लेराउने। तिमीलाई पनि मन पर्‍यो पूजा?


Nepal ko Chora--- 


नेप्चु ल पढ अर्को भाग। टाँसिसकेँ माथि नै। 


fucheketo---


फुच्चे तिम्रो कथा मेरो भर्सन मा पनि किन सुहाउथ्यो र? हा हा हा 


बिस्टे---


हो भन्या है मामा? साथीकै दाई भन्देको भए पनि भईहाल्थ्यो नि। अहिले पो किन नभनेकी होली जस्तो लाग्यो। त्यो सफललाई त अहिले सम्म थाहा पनि छैन उ को हो फुपुको नजर मा भनेर। फुपे सासु भनेर जे भने पनि मानी रहेको छ त्याँ।


serial---


बौचा तिमीलाई पनि दिक्क लागेको हो? मलाई पनि त्यस्तै भएको थ्यो।
हा हा हा हुन पनि हो है आएकै दिन एउटालाई झापार्न थालइसक्नु भयो। बाँकी ३ दिनमा त म र सारीका पनि कसो नपर्नु?


धन्यवाद


दिपिका


 


 


 


 


 
Posted on 03-17-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ दीपू, तात्तातै पढें मैले त। 

जानकारी दिनु पर्ने मान्छे आफ्नो भदै कानमा तेल हालेर बसेकी छे मलाई पो सुनाउन थाल्नु भयो।

लोल लोल लोल

सार्है चाख लाग्दो हुँदैछ चार जनाको अन्तरकृया। अझ त्यो हात्तीसूँढे भाँडोबाट खन्याएको चिया खाँदै पढ्न पाएको भए झन् मजा आउँथ्यो।  
छिट्टै अरु पढ्न पाउने आशामा।     

 
Posted on 03-17-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जी तेस्रो भाग तात्तातै पढे मैले पनि,मजा आयो।
तेही बुढा बुढी हरु तेस्ताइ हो,के दोश उनिहरु को अनी बिचरा तिमीलाई बेक्कार मा एक माथि अर्को झुठ बोल्नु परेको होला हैन। जे होस् सफल ले चाइ काम पाएछ भाडा माझ्ने भए पनि।


लौ अली छोटो भयो भन्या अर्को भाग छिट्टै राख ल।


 
Posted on 03-17-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त पुरै गोलमाल फिलिम जस्तो हुन थालेछ , कस्तो ढक रहेछ त्यो सफल भन्ने , फेरी हुदो न खादोको गर्लफ्रेन्ड हुनु परेको रैछ हाम्री डिपिकालाई ।


लोल लोल , लौ अर्को भागको पर्खाइमा ।


 
Posted on 03-17-09 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त दोस्रो भाग देखिन नी. भाग १ र भाग ३ मात्र देखे । दोश्रो भाग कहाँ  छ ? भन्नु पर्‍यो ।भाग १ त एक्दम रोचक्पूर्ण  रहेछ । अब दोश्रो भाग को प्रबचन नगरि तेस्रो भाग को कसरी थालनी गर्नु । कृपया  भाग २ कहाँ छ देखाइदीनु पर्‍यो ।


 

Last edited: 17-Mar-09 03:10 PM

 
Posted on 03-17-09 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल! भेंटाए, बुठेशकाल लागेच,
दीपीका नानी सार्‍है राम्रो लेख्, एकदम रोचक्पूर्ण । अर्को भाग को प्रतिक्छ्यामा ।
 
Posted on 03-17-09 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol dippu.. fupu le safal lai ramrai sanga bhanidinu bhayecha.. nepal ma fupu jasto maanche haru dherai hunchan.. pyacchai bhanidine.. huna ta nabhanera pani ke garnu ta sahanai garho hune gari safal le bujh pachaera base pachi.. ekdamai raamro cha..
 
Posted on 03-18-09 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ भाग पनि आइ सकेछ, झन्डै पढ्न बिर्सेंको। यो भाग पनि गज्जब को छ, जे होस फुपु ले सफल लाई तह लाउनु हुन्छ जस्तो छ। अब अर्को भाग कहिले आउने होला कुन्नी?
 
Posted on 03-18-09 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचssssssssssरा सफल! च्व, च्व ! कठैबरा !  कस्तो माया लाग्दो!


अब दिपुले मार्ने भइ मलाइ। म भाँगे है।


 
Posted on 03-18-09 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chipledhunga---


चिप्लु हात्तीसुढेँ कप त फुटेर एउटा पनि बाँकी छैन। बरु अर्कै कप मा चिया दिउँला है।


बिस्टे---


त्यही त मामा कती सम्म पच्छ्यौने हो ति झुठहरुले मलाई। एउटा झुठ लुकाउन कती झुठ बोल्न पर्ने हो?


Harka_Bahadur---


हर्क दाई हजुरले "गोलमाल रिटर्न्स" हेर्नु भयो? त्यस्तो चै नहोस् है। अब छिट्टै अन्त्य पनि हुन्छन यि गोलमाल।


HomeBoi---


हजुरले आँफै देख्नु भएछ खुशी लाग्यो। मेरो बाटो हेर्नु भएको भए बल्ल अहिले हुने रहेछ। यती बेर सम्म त भाग १ पनि बिर्सिने बेला भईसक्थ्यो।


kancha01---


हामीले कहिले भन्न नसकेको फुपु ले पहिलो दिनमै भनिदिनु भयो कान्छा।


Nepal Ko Chora---


खोइ नेप्चु कस्ले कस्लाई तह लगाउने हो? तिमीले फुर्सद पाएछौ मेरो कथाले चै तिमीलाई तह लगाएको जस्तो छ।


crazy_love---


मैचा म त तर्सेकी थिएँ तिमी हरायौ भनेर । खोज्ने बेला भईसकेको थ्यो कता गइ भनेर। प्रेज्ज त खोज्न पनि गएकी थीइ। पाइन दिपु भनेर रित्तै फर्की। कता गएको हँ तिमी?


धन्यवाद


दिपिका


 
Posted on 03-19-09 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम भाग


सफल चुपचाप केही नबोली भाँडा माझ्न थाल्यो। उस्लाई शायद फुपु ले ठुलो स्वर गर्नु भएको चित्त बुझेको थिएन होला। खानपिन कार्यक्रम सकिएपछी अको दिदीलाई सारीकाले मेरो खाट देखाइदीइ। म बाहिर सुत्नु पर्ने थाहा नै थ्यो ओड्ने र तकिया लिएर बाहिर निस्केँ। खाट छोडेर सोफा मा सुत्नु परेको निन्द्रा त आँखाको छेउछाउमै थिएन। ओल्टिदा र पल्टिदा झन्डै १ नै बज्ने बेला भईसकेको थ्यो। बल्ल आँखा लागेर झिमिक्क मात्रै के गरेको थिएँ भुइँचालो गएको जसरी सोफा नै थररर काँप्यो। झसङ भएर उठेको त सारीका ठिङ अगाडि उभिएकी।


"अबुइ!!!! मान्छे सुतेको देखिनस? घर भत्केला जसरी हिंड्नु पर्छ?"--- म रिसाएँ। सातो पुत्लो उडेर समात्न मुस्किल होला जस्तो भएको थ्यो।


"तँ यहाँ सुतिरा?"---अचम्म मान्दै सोधी। दुइ हात बाधेर जाडो ले कक्र्याक कुक्रुक परेको जसरी उभिराथी।


"कहाँ सुत्ने त? बाहिर बरन्डामा?"---उसै त सोफा मा सुत्न परीराछ अझ थाहा नपाएको जसरी सोध्दा झोकै चल्यो।


"मलाई त निन्द्रा नै लागेन एका तिर फुपु घुर्ने अर्को तेरो घडी को आवाज कती ठुलो? सेकेन्ड को सुइ  पनि सुनिने"--- उल्टो उही गुनासो गर्छे।


"धन्न खाट पाछेस। खुशी हो न। आफु ह्याँ सोफामा लम्पसार पर्नु पर्याछ"---कुहिनो को पछाडि भाग ले आँखा छोप्दै भने। माया नै लाग्यो आफ्नो ताल देखेर।    


"त्यती सानो खाट छ........."---गनगन गर्दै गई भित्र। असन्तोषी भनेको त्यही हो। सक्ने भएको भए बाहिर भर्र्याङ् मा लगेर सुताईदिन्थे लौ ला तलाई ठुलो खाट भनेर। उचाल्नै नसक्ने भएर पो त।


तीन घण्टा लागेको थ्यो निदाउन अब के निन्द्रा लाग्ने फेरी? यसै भएन उसै भएन भनेर Vicks Nyquil  एक बिर्को घुट्काइदेको  एकैछिनमा ढालिहाल्यो। निन्द्रालाई काल को भाई भन्थे हो कि जस्तो नि लाग्छ कहिले त। सुते पछी केही अत्तोपत्तो  नहुने।


बिहान सात पनि नबझ्दै फुपुले भाँडा बजाइरहनु भएको सुनेको थिएँ तर हात खुट्टा सबै लट्ठ थिए। चियापत्ती र चिनी कहाँ छ गर्दै हुनुहुन्थ्यो मैले ठाउँ भन्न त भने तर के भने आँफैलाई थाहा छैन। शायद पाएरै त होलानी केही आवाज नसुनेको। एक्छिन सुत्न पाएको छैन फेरी बाहिर आएर "कती सुतेका यिनिहरु आधा दिन नै भईसक्यो"  भन्दै हुनुहुन्थ्यो, को उठ्ने? सारीका १२ -१ नभै कहिले उठ्दिन। सफल त उ जन्ममा कुम्भकर्ण  नै थ्यो कि जस्तो लाग्थ्यो।  आफुलाई Nyquil ले लट्ठ बनाइरा।


घरी यो कोठा घरी त्यो कोठा गरेर १० चोटि फन्का मार्दै अनी ११ चोटिको पालोमा चै फेरी "आधा दिन भईसक्यो......" दोहराउदै हुनुहुन्थ्यो। हिडाँई त फुपु भदैको दुरुस्तै रहेछ।काले ले त्यो दिन चै तल बाट होइन माथिनै आएर बन्दुक ले नै ठोक्ने भो जस्तो लाग्याथ्यो। आएको भए  फुपुलाई सबै भन्दा अगाडि उभ्याइ दिन्छु भनेर सोचिराथेँ। फुपु उता कोठामा गए पछी एक्छिन फेरी निन्द्राले झ्याप्प पार्न पाएको छैन त्यही ढ्वाङ ढ्वाङ गरेको हिडाँई को आवाज आउन थालिहाल्थ्यो अनी फेरी "लौ न! "आधा दिन भईसक्यो ..."  


यो पाली चै "आधाको" "आ" सुन्ने बित्तिकै झल्यस्स सम्झेँ। आफ्नो त काम मा पो जानु पर्ने भनेर। १२ बजे देखी काम नै थ्यो। घडी हेरेको ११:३० भईसकेछ। जर्याक जुरुक उठेर नुहाउन गएँ। पछी कोठामा लुगा फेर्न जाँदा सारीका चै मुन्टो सिरक भित्रै राखेर कराइराथी---"प्लिज सिक कल गर्न आज एकदिन, भोली त तेरो बिदा नै हो। फुपुलाई घुमाइदिनु पर्ने छ।"


"त्यही बाँकी छ अब। काम साम छोडेर तेरो फुपुलाई घुमाएर बस्छु" भन्न मन थ्यो तर भनिन। "अब त ढिलो भईसक्यो। मिल्दैन। बरु छिट्टो आउँला"---आउन मिल्दैन थाहा थ्यो तै पनि झुठो आश्वासन दिएँ। उस्ले पत्याउदिन भन्ने पनि थाहा थ्यो।


काम बाट फर्किदा १० नै बजिसकेको थ्यो। फुपु त उहिले सुकला भईसक्नु भएछ। सारीका र सफल बाहिर सिनेमा हेरेर बसिराथे। आज को दिन त कट्यो भोली के गर्ने भनेर पिर पर्याथ्यो सारीका ले छिर्ने बित्तिकै गूड् न्युज सुनाइहाली। फुपुको नातेदारले  छ रे। हामी बस्ने भन्दा ३ घण्टा टाढा बस्ने रहेछ भोली जाने भनी। उस्ले त हामी ४ जना नै जाने प्लान गरेकी रहिछे। नचिनेको ठाउँ मा म जान्न भनेर पंछिहाले। सफल पनि फुपु सँग त जान्न भन्न थालेछ। सारीका त यसै पनि जान परीहाल्यो। 


भोली पल्ट सारीका फुपुलाई लिएर गई। सफल र म घरमै बस्यौँ। जाने बेलामा फुपुको अनुहार मा लुकेका भाव र संखा सजिलै बुझ्न सकिन्थ्यो तर आफुले कुनै गल्ती नगरे को भएर होला खासै मतलब पनि लागेन।


त्यो दिन पहिलो चोटि होला शायद सफल र मात्रै घरमा भएको। उ उता कोठामा आफ्नै काम मा ब्यस्त थियो म आफ्नो। बेला बेलामा भान्सामा जम्का भेट हुन्थ्यो। म भान्सा मा गएको थाहा हुने बित्तिकै आइहाल्थ्यो "के पकाउन लागेको?" भन्दै। दिन्भर घरमा बस्दा बस्दा दुबइ दिक्क भएर बेलुकी घर अगाडिकै पार्क मा हिंड्न गयौँ। मलाई सफल को बारेमा खासै केही थाहा थिएन। त्यो दिन कुरै कुरामा सोधेँ। उस्को कुरा सुनेर एक्छिन त अचम्म परेँ। उ अब २ सेमेस्टर मा ग्र्याजुएट हुन लागेको रहेछ त्यो पनि डबल मेजरमा र आज सम्म कुनै पनि क्लास मा "बी" नआएको रहेछ। पुरै छात्रब्रिती मा पढिरहेको रहेछ। खान र बस्नलाई कलेजमा टुटोरिङ्ग गर्दो रहेछ र नेपाल मा बाबाको आफ्नै राम्रो ब्यापार भएको ले अली अलि पैसा नेपाल बाट पनि आउने रहेछ जस्ले उस्को महिना धानिने रहेछ। उस्लाई पैसा को त्यती मोह रहेनछ। पुगे भयो भन्ने भावना राख्दो रहेछ। बच्चा देखी नै छात्राबास मा बसेको भएर खासै पारिवारिक बातबरण कस्तो हुन्छ थाहा पत्तो रहेनछ। म बल्ल बुझ्दै थिएँ उस्को बानिहरु किन अजिब भनेर। 


सफल प्रती मेरो धारणा निकै नै गलत रहेछ। एक मन ले त सारीका सँग नगएको खुशी पनि लाग्यो। कसैको खुबी सँग परीचित हुने त्यस्को कदर गर्ने मौका पाएँ। पार्क बाट फर्केपछी खाना तताएर दुबै ले खायौँ र आ-आफ्नो कोठामा गयौँ। दुई दिन भईसकेको थ्यो आफ्नो ओछ्यान छोडेको त्यस्कै माया लागेको जस्तो भएछ। कस्तो न्यानो लाग्यो आफ्नो कोठा। कती दिन देखिको निन्द्रा बाँकी भएको जसरी खाट्मा ढल्न पाएको छैन निद्राले आँखा ढपक्क ढाकिहाल्यो।


भोली पल्ट बेलुका तिर फुपुलाई लिएर सारीका आइपुगी। म भित्र कोठामै थिएँ सफल चाँही बाहिर भिडियो गेम खेलेर बसिराथ्यो। फुपु सोफा मा थचक्क बस्नु भयो। सारीका मलाई खोज्दै भित्रै आइ। एकदम थकित देखिन्थी। खाना बनिसकेको थ्यो। एक्छिन खाट्मा पल्टि।


"ओहो कस्तो थाकियो केही तातो खान पाए पनि हुन्थ्यो" ---अको दिदी थकित स्वरमा भन्नु भयो बाहिर कोठा बाट।


"त्यती ड्राइभ मैले गरिराछु। बाटो भरी पनि सुतेकै देखिराछु यो अको दिदी तै पनि कसरी थाकेको हो कुन्नि?"---आँखा चिम्म नै राखेर सारीका ले भनी।


बाटो भरी हत्तु पार्नु भयो जस्तो छ फुपु ले ठुस्स अनुहार लगाइराथी। फुपु ले तातो खाँउ भन्नु भएको त भुसुक्कै बिर्सेंछु। एक्कासी "बरु अलीकती चियापत्ती र दुध पनि हालेको भए हुन्थ्यो नि" भनेको सुनेँ। बाहिर गएर बुझ्दा त सफल ले तातो खाँउ भन्नु भएको सुनेर जुरुक्क उठेर पानी तताएर तातो पानी पो दिएछ। हासउठेर एक्छिन त मर्नै लागेको थिएँ। खाना सबै पाकिसकेको थ्यो त्यही तताएर दिएँ। 


भोली पल्ट बिहानकै फ्लाईट थ्यो अको दिदी खाएर सुतिहाल्नु भयो। आफ्नो फेरी उठिबास लागिहाल्यो आफ्नै खाट बाट। सारीकालाई "आज चै राती ब्युझाँउन आइस भने मैले के गर्छु तैले सोच्न पनि सक्दिनस" भनेर थर्काएँ। खास यो गर्छु भन्न पनि आएन तुरुन्तै। त्यो सोफा मा यसै पनि छिटो निन्द्रा लाग्न गाह्रै हुन्थ्यो फेरी अर्को एक बिर्को Vicks Nyquil तुन्काइदिएर सुतेँ चोर नै आएर चोरेर लठिबत्र पारेनी थाहा नहुने गरेर।


बिहानै फुपुको फ्लाईट थ्यो सारीका ले पुर्याएर आइ। सफल अर्को एक हप्ता बस्यो। उस्को व्यबहारमा केही परिवर्तन थिएन। "फोहर मोजा जताततै नफाल न सफल" भन्यो भने "त्यती भन्नु सट्टा कता राख्ने हो राखिदेउन" भन्थ्यो। हजाम को छुरा जस्तो थ्यो मुख चलाऊन त। आफु पनि बिग्रिन सजिलो हुन्थ्यो तर ऊ सप्रेला भन्ने आसा राख्नु त मुर्ख नै हुनु सरी थ्यो। 


सारीका र सफल को च्याप्टर अर्को १ सेमेस्टर मै बन्द भयो। त्यो हुनु त थियो नै बरु सोचेको भन्दा धेरै नै टिक्यो जस्तो लाग्छ। बिस्तारै सफलका सम्झनाहरु पनि मानसपटलबाट बिलाउदै गए। 


३ बर्ष पछी *************


सारीकाको बिहे भयो। अर्कै केटा सँग। ऊ अर्कै स्टेट मा सरीसकेकी थीइ। म बिहेलाई गएँ। पुराना साथीहरु भेट भए र पुरानो स्‍मृति ताजा बनाउन लाग्यौँ हामीहरु। गोलो टेबल मा हामीहरु कलेजका साथीहरु ८ जना बसेका थियौँ। सारिका निकै खुशी देखिन्थी र पाहुनहरुको स्वागत मै ब्यस्त थीइ। हामीहरुको हाँसो निकै चर्को थियो र मलाई कसैले पछाडि बाट कोट्याए झैँ लाग्यो। हेरेको त अको दिदी पो हुनुहुदो रहेछ।


"ओहो दिपिका नानी! के छ? सफल बाबु पनि आएको हो?----अको दिदिले सोध्नु भयो। एक्छिन त को सफल जस्तै भएँ अनी सम्झे पछी त तर्सिहालेँ।


"ए......... म मात्रै आएको"--- कुरा छोटयाउदै भनेँ। न सारीकाले सफल लाई छोड्दी त्यसैले सफल को बारेमा थाहा छैन भन्नु? न त ३ बर्ष अगाडि भनेको सबै झुठो हो भन्नु? भनेकै भए पनि फुपुले किन पत्याउनु हुन्थ्यो र? अहिले आएर मेरो भदैलाई दोश लाउने भन्न बेर लगाउनु हुन्न थ्यो।


"म साथीहरु सँग छु पछी कुरा गर्छु नि है हजुर सँग" भनेर फुपुलाई पठाइदिएँ। यता सात जानाले घुरेर "को केटा हो तेरो भन्छेस कि मार्दिम घुस्घुसे" भन्न थाले। जस्को बिहेमा पाहुना भएर आएकी छु उस्कै त्यस्ता कुरा कसरी भन्नु? त्यत्तिकै घुस्घुसे भन्ने नाम कमाइयो। मनमनै त "यो फुपु बुढी सँग अब यो जुनिमा कहिले भेट नहोस्" भनेर प्राथना गर्दैथेँ। एक झुठ ले सय चोटि रुवाउछ भनेर बाबाले भन्नु हुन्थ्यो आफुले त साबित नै गरेर देखाइदिएँ। त्यो झुठ ले अझ कती पच्छ्यौने हो त सोच्न पनि मन लागेन। गल्ती गरेर निर्दोष एुउटी भईहाली हुँदो न खाँदो को दोषी म ठहरिएँ।


समाप्त


 
Posted on 03-19-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>"को केटा हो तेरो भन्छेस कि मार्दिम घुस्घुसे"<<


ल अर्को नाम नि कमाएछ घुस्घुसे - भनेर दिपिकाले


ल कथा मजाको गयो -


 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters