[Show all top banners]

caliber19
Replies to this thread:

More by caliber19
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

ThahaChaena

lutee_bahun
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 जुआरी (कथा)

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 24759 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-08-13 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

 जुआरी (कथा) भाग १ 
 
 
(कथामा उल्लेखित पात्रहरुका नाम-थर एसै श्रीजिएका हुन्, कुनै दोश्रो अर्थ नलागोस् ।)
 
 
जु - जुनुमाया खड्का, खास नाम । न्वारन गर्ने पण्डित बाले जुराइदिएका; जुनुमाया नाम, अनी जन्म दिने बाको 'हक' पुछारमा झुण्डियो खड्का । पुश्तैनी थात-थलो पर्बतको पिपलटारी तिरै हो तर केही घटनाक्रम पछी उस्ले पर्बत बिर्सेकिछे वा बिर्सिन चाहेकीछे । 
 
 
तिलक खड्काकी जेठि छोरी हो जुनुमाया । तेसो त कुरा काट्नेहरुले उस्का बालाई निकै कन्जुसको ताज पहिर्याइ दिएकाथिए; सदरमुकामबाट आफै नुन-तेल बोकेर ल्याउंछन् र एता आफ्नो किराना पसलमा महंगोमा बेच्छन् भनेर । तर जुनुमायालाई एस्ता कुराको के मत्लव, उ त आफ्ना बाप्रती निकै आभारी थिई, बाले तेती दुखजिलो गरेर पसल नथाप्द्या भए कसरी उस्ले गल्लाबाट २० रुप्यां छड्काएर हरेक शनिबार सिनेमा भ्याउंदी हो ! 
 
 
पढ्दा ताका, पढाई र अन्य कृयाकलाप भन्दा पनि विहान चौरमा गाइने श्रीमान गम्भिर .. र शरस्वती वन्दना उस्लाई निकै मन पर्थ्यो; सानै देखी नाच-गानामा रुची भएर नि होला । करिश्मा केसी (उ बेला मानन्धर भईसक्या थिनन्) निकै मनपर्ने हिरोनी उस्लाई त्यो बेला, तेस्तै बन्ने धुन उस्को र राजेश हमाल जस्तै 'ह्यान्सी' जीवन साथीको तलाश हुन्थ्यो उस्को । 
 
 
२०५८ सालमा जुनुमायाको स्कुले दैलोमा 'जिल्लास्तरिय' भन्ने जन्तु आइपुग्यो । हुन त जुनुमायालाई पढाईप्रती साह्रै मोह ! उ धेरै भन्दा धेरै पढेर ठुलो भन्दा ठुलो मान्छे हुन चाहन्थी । तर उस्को त्यो महान लक्ष्यमा संधै बाधक बनेर वितृष्णा जगाउने ३ मुख्य कारक तत्वहरु थिए - विज्ञान, गणित र अंग्रेजी । खै ! कुन चाइं पटमुर्खले बनाएछ यि कुराहरु ! जुनुमायाको सामुन्ने मात्र आउन् न ति विद्द्वान भनाउदाहरु; कांचै खांदिहो उस्ले ! 
 
 
एक सांझ, स्कुले झोला हल्लाउंदै जुनुमाया घर आइपुगी । छर-छिमेकीको भिड थियो .. आंगनमै बाबु तिलक खड्का ढलेका थिए .. पिंढीमा कुखुराको खोर नजिकै आमा केशरी खड्का ढलेकी थिईन् .. रोइरहेकी ९ वर्षकी बैनी जमुनालाई एउटी फुपु पर्नेले काखमा च्यापेर कुन्नी के-के भन्दैथिन्; जुनुमायाले केही सुनिन । रगतमा लथ्पत निर्जिब बा-आमालाई देखेर उस्लाई रिंगटा लाग्यो, तै नि झोला एकातिर फालेर बालाई झक्झकाउन पुगी, "तंलाई माट्टां हाल्नुहुनी, जा उता" भनी हाल्छन् कि बाले भन्ने उस्को आश । तर बाले केही भनेनन्, उन्ले लाएको सेतो धर्के सट रगतले पुरै रातो भएको थियो, मुखभरी निलडाम, अनुहार कुरुप र सुन्निएर जुनुमायाका हंसिला बालाई उसैले चिन्न नसक्ने जस्ता भएका थिए । छाती उदाङ्गिएको थियो, मांशपेसीका केही चोइटा र करङहरु नाङो आंखाले देखिन्थे, उन्ले लाएको एउटा gold star तेहिं नजिकै उल्टो परेको थियो । 
 
 
उ अर्ध वेहोशीमा आमालाई जगाउन पनि पुगी, तर आमाको पनि उही ताल थियो । रगतले भिजेको कपालले आधी मुख छोपिएको थियो, आङै सिरिङ्ग हुने विक्षिप्त किसिमले देब्रे हात भांचिएको । "आमै - ए आमैss " भन्दै उस्ले आमालाई उठाउने धेरै प्रयास गरी तर जुनुमायाकी आमा अब कहिल्यै नउठ्नेगरी सुतेकी थिईन् । उस्को अवोध मनमा एउटा चट्याङ कड्केर बर्स्यो, यथास्थितीसँग तालमेल बसाउनै सकिन, अब उ पुरै होश गुमाएकी जस्ती भएकी थिई, बाउ-आमा त्यसरी क्रुर किसिमले मारिएर टुहुरी हुंदा पनि उस्को आंखाबाट एक थोपै आंशु झरेन । 
 
 
काका बाउले दाई-भाउजुलाई दागबत्ती दिए; जीवनमा पहिलो पल्ट जुनुमायालाई आत्मग्लानी भो, छोरी भएर जन्मनुमा । नत्र त उसैले काजकृया गर्दी हो आफ्ना बाउ-आमाको, चिताको आगो मुश्लिंदै जल्यो, तेही आगोमा जले जुनुमायाका धेरै सपनाहरु । 
 
 
धेरैपछी जुनुमायाले था'पाइ 'क्रान्ती बन्दुकको नालबाट निस्किन्छ' भन्ने मान्छेहरुले मारेका रे उस्को बा-आमालाई । उस्का बा-आमा असहयोगी थिए रे, नया नेपालको निर्माणमा । क्रान्ति र काला गुलाबहरु बारे अज्ञान थिई उ तर अब अन्जानमै पनि घ्रिणा पलाउन थाल्यो तेस्प्रती उस्को । र डराउन पनि थाली, कतै उस्का बा-आमा झैं उ र उस्की बैनी पनि असहयोगी साबित हुने हुन् कि भनेर । 
 
 
जिम्मेवारीले मान्छेलाई धेरै छिटो बुढो बनाइदिन्छ रे, १४ वर्षकी जुनुमाया पनि अब बुढी भै । बैनिको खुशी र जीवनले अब उस्लाई सपनामा पनि लखेट्न थाले । जमुना कैले दलदलमा भास्सिन्थी, कैले भिरबाट खस्थी, कैले कुनै डरलाग्दो प्राणीको पञ्जामा चेप्टिन्थी; जुनुमायाको सपनामा । आधीरातमा काहालिंदै, निश्सासिंदै र पसिनाले निथ्रुक्क हुंदै जुनुमाया ब्युंतिन्थी र संगै सुतेकी जमुनालाई सकुशल देखेर एक क्षण खुशी पनि हुन्थी तर अर्को क्षण लग्लग काम्दै भयभित पनि हुन्थी; कतै यो सब कुरा सांच्चै भो भने ? 
 
 
एकरात जुनुमायाले के सोची कुन्नी, अलि-अली झिटी-झ्याम्टा बटुलेर बैनिलाई डोर्याउंदै निक्ली, पिपलटारी छोडेर । 
दिदी, हामी कां जान ला' ? जमुनाले आंखा मिच्दै सोधी । 
भोली यहाँ राक्षसहरु आउंछन् के, तेइ भएर हामी धेरै टाढा जान ला' । जुनुमायाले मायालु स्वरमा भनी । 
तेसो भए त दगुरम्न । जमुनाले दिदिको कुर्ताको फेर बलियोसँग समातेर आश्वस्त हुंदै भनी, तर जुनुमाया आफैमा भने आश्वस्त थिईन, उस्ले अलि-अली बुझेकी थिई - संसारको हरेक कुनामा राक्षसहरु छन् भनेर । 
 
 
राजधानी छिरेको सुरुका केही वर्ष, केही मान्छेले उस्को जीवनप्रती दया-माया देखाए; उस्ले नि कबुल गरी आफु र बैनिको भविश्यकालागी, पछी तिनै मान्छेले उस्को जवानीप्रती दया-माया देखाए; उस्ले फेरी नि कबुल गरी बैनिको भविश्यकालागी । 
 
 
आज; जुनुमाया खड्कालाई कसैले चिन्दैनन् । तर, चल्तिका डान्स बारमा उस्को नाम र भलादमी भनाउदाहरुको गोजिमा उस्को नम्बर 'माया' भनेर लिईन्छ, लेखिन्छ र चिनिन्छ । उस्ले आफ्नालागी 'माया' नाम किन रोजी, तेस्को व्याख्या उसंगै होला । तर मलाई व्यक्तिगत हिसाबले सान्दर्भिक नै लागेकोछ, किनभने उ बिना-भेदभाव सबैलाई समानरुपले 'माया' बांड्छे; गोजी गरम हुनुपर्‍यो - बास् । 
 
 
दिदी कफी । आश्मानी सर्ट, गाढा निलो स्वयटर, पेण्ट, टाइ र कालो जुत्ताको युनिफर्ममा रेडी भएकी जमुनाले बाहिर कौशिमा बसेकी मायालाई एक कप कफी ल्याइ पुर्याइ । जमुना अहिले २० वर्षकी भैसकी, राम्रैमा गनिने कलेजमा BCA पढ्दैछे । मायाले नभने पनि, मायाको बारेमा धेरै कुरा था' छ जमुनालाई, बाहिर-बाहिरै धेरै कुरा सुन्छे उ, मायाकी बैनी हो भनेर धेरै कमलाई जानकारी होला तर उस्को आत्माले कैयौं पटक अप्ठ्यारो महशुस गरेको स्थिती पनि छ । एती हुंदाहुंदै पनि उस्ले मायासँग कहिलेइ यो बारेमा कुरा गरेकी छैन; एउटा mutual understanding जस्तो छ उनिहरुमा । जमुनाको हरेक आवश्यक्ताहरु उस्ले भन्नु भन्दा पहिले नै मायाले पुरा गरिदिएकी छे र तेस्को source सोध्ने आंट जमुनासँग छैन; कैलेकाइं बरु उस्लाई आफैप्रती घ्रिणा जागेर आउंछ, म व्यर्थै बोझ भएकोछु र मेरै कारणले दिदीले यो नारकिय जीवन बांच्नु परेकोछ भनेर । 
पैसा चाइने भए मेरो पर्सबाट निकालेर लैजा है । सेतो टि-सर्ट र कालो पाइजामा लाएर गुम्लुङ्ग कालै पश्मिनाको पछ्यौरा ओढेकी, मायाले कफी समाउदै भनी । 
तैंले भनिराख्नु पर्छ र ? मैले अघी झ्याप हानी सकें । जमुना अर्को कुर्सिमा बस्दै भन्छे । 
कफी त हैन नि फेरी ? मायाले जमुनाको कपतिर हेर्दै सोध्छे, उस्को बिचारमा केटाकेटीले चिया-कफी खानु हुंदैन, तेसैले जमुनालाई ति सब कुराहरुमा बन्देज छ जो केटाकेटीले गर्नु हुंदैन; भलै उ आफु ५ वर्ष मात्र जेठि छे जमुना भन्दा । 
यिss दुध हो भन्या ! जमुनाले दुधको कप देखाउंदै प्रमाण पेश गरी । 
दिदीss घरमा नभएनी कलेजमा त खान देन, सब्बैले गिज्याउंछन् के दुध र जुस खाइ भनेर, म त खाइदिन्छु है कुन दिन । जमुनाले दुखेसो पोखी । 
गिज्याउनेलाई गिज्याउन दे, तिन्ले गिज्याएर के हुने होर ? मायाले हातको पत्रीका पल्टाउंदै भनी । 
अं तंलाई भन्न पो सजिलो छ र ! जमुनाले आफुमाथी ठुलै पहाड खस्या झैं गरी । 
तेरो ब्या भएसी सब्थोक मै बनाएर दिम्ला भएन ? अब कती नै बस्लेस् र तं मसँग ? तल बाटोमा हुईकिंदै गरेको एक जोडी मोटरसाइकल यात्रीलाई हेर्दै मायाले भनी । 
एस्तो कुरा नगर है, तंलाई छोडेर म कैं नि जान्न । जमुना चिढिंदै उठी । 
किन ? मै जस्तो बुढी कन्या बस्ने रहर छ र तेरो पनि ? मायाले मुन्टो बटारेर ढोकामा उभिएकी जमुनातीर हेर्दै सोधी । जमुनाको दिल-दिमागमा धेरै कुराहरु तंछाड-मछाड गर्दैथिए प्रतिकृया स्वरुप, तर उस्ले मुखले केइ नि भनिन । 
म तरकारी पकाइदेर जाम् ? जमुनाले भित्र जांदै सोधी । 
पर्दैन, तं जा । खान मन लागे म आफै बनाम्ला । मायाले पत्रीकाको कुनै एक हेडलाइन पढ्दै भनी । 
हैन म बनाएरै जान्छु, टाइम छ केरे । जमुनाले भित्र किचनबाट भांडा बजाउंदै जवाफ फर्काइ । 
 
 
पत्रीकाको हेडलाइन र तेस्को तल छापीएको तस्विरमा मायाले विश्वासै गर्न सकिन । दाहिने हातको कफी कपलाई भुइंमा राखेर, पछ्यौरा अलिक खुकुलो पार्दै फेरी एकपटक राम्रोसँग तेही हेडलाइन र तस्विर राम्ररी नियाली; उ छांगाबाट खसेझैं भै, नाम उही छ ! फोटो पनि उस्कै हो ! उस्को एक मनले भन्दै थियो, यो सब झुठ हो, केही गल्ती छापिएको होला अखबारमा तर उस्को अर्को मनले कता-कता सत्य स्विकारी सकेकोथियो; आंखा भरिएर आयो, आंशुको एक थोपा गालाबाट तल बग्दै - चिउंडोबाट तप्प झर्यो .. 
 
 
माया कारागारको बाहिर कुरिरहेकी थिई, उ देखा पर्‍यो । लामो कपाल, झुस्स दार्ही-जुंगा र उस्तै फोहोरी पोशाकमा उ असभ्य र डरलाग्दो देखिन्थ्यो तर माया डराईन; उस्ले चिनेकी थिई, बाहिरबाट उ घाम-पानीसँग कुनै मतलव नराख्ने कुनै खोल्साको कालो पत्थर जस्तै देखिए पनि भित्रबाट त मैनबत्ती जस्तै थियो - कोमल र सत्गुणी । उ आफै जल्थ्यो, सक्किन्थ्यो तर अरुकालागी उज्यालो पार्न कहिल्यै कन्जुस्याइं गर्थेन । 
अंझै पनि मान्छे कुट्दै र मार्दै हिन्ने हो कि ? मलाई त धोका भयो नि, एक असल मान्छे जस्तो लागेको थियो तपाईं त मलाई ! मायाले अलि-अली रिसाएझैं गरी भनी । 
मलाई के था' त मन्त्रीको छोरो हो भनेर .. नत्र मारिनै दिएंथिएं । उस्ले झन जंगिदै भन्यो । 
था' छ ? भगवानले एउटा कुरा अली धेरै नै दिएछन् तपाईंलाई; रिष ! मायाले उस्को पाखुरो तान्दै ट्याक्सीतीर डोर्याइ । उ दुबै हात गोजिभित्र छिराएर लुरुलुरु हिंड्दै केही सोच्न थाल्यो .. 
 
 
हेर्नुस् साब, तपाईंले २ जना भनेर ४ जना आउनुभाथ्यो तर मैले केइ भनिन । पैला भनेको पैसा त दिनुस् । एक कालो रातमा, सडक छेउ माया आफ्ना ग्राहकसँग पैसा माग्दै थिई । रातो रंगको कुर्ता-सल्वार लाएकी मायाको दुपट्टा करिब-करीब भुइंमै लत्रिएको थियो, सामुन्ने ४ जना अधबैंसे पुरुषहरु उम्किन खोज्दैथिए । 
एss .... ! (एक पुरुषले निकै तल्लो स्तरको शब्द भन्यो) तंलाई था' छ म को हुँ ? खुरुक्क आफ्नो बाटो लाग्, हट् । 
हुनुहोला साब तपाईं कुनै ठुलै मान्छे, मलाई मेरो पैसा दिनुस्, कुरा खत्तम । मायाले रुखो स्वरमा भनी । 
तं जस्ती .... लाई राम्रो मुखले भनेर हुन्न .... ? दिन्नम् तेरो पैसा के गर्छेस् .... ? अर्को पुरुष कुर्लियो । 
ए मिष्टर ! गाली मैले पनि दिन जान्याछु । तिमीहरुलाई फोसामा पनि चाइने, अंझ ठुला कुरा पनि गर्ने ? माया पनि कड्की अब, उ पैला राम्ररी पेश आएकी मात्र हो, एस्ता कती नाथेहरुलाई त नत्र उस्ले देब्रे हातको कान्छी औंलामा नचाएर हिन्ने क्षमता राख्छे । 
तं .... बढ्ता बोल्छेस् .... ! पहिलोले एक थप्पड हिर्कायो मायालाई । 
ओए ....  ! हात हाल्छस् .... ? माया पनि के कम, जाइलागी । मायाको रिष र हिम्मत मात्रै ठुलो हो, चार जना जुंगामुट्ठेसँग घम्सा-घम्सी खेल्नु बिचरीको तुजुकले कां भ्याउंथ्यो र ? दुई नरपिचाशहरुले अब त मायामाथी लात्तो पनि बर्षाउन थाले, माया पनि अन्य दुइलाई जमिन चटाएर चिथोर-च्याथोर र मुक्का-मुक्की गर्दै थिई - दृश्यमा नया पात्रको प्रवेश भयो । 
 
 
ओ दाइहरु ! केही problem छ भने घरतिरै सुल्झ्याउन मिल्दैन र ? यो आधी रातमा बिच सडकमा किन ? उस्ले वस्तुस्थिती नियाल्दै भन्यो, अचानक कोही तेश्रो मान्छेको उपस्थितिले ति चार पिपाशुहरु केही हच्किए, माया दौडंदै उतीर आई । 
एss ! जां जानु छ, खुरुखुरु गैहाल्; राम्रै भेट्छस् नत्र । मायाको चिथोर्याइ भेटेको एकले भन्यो । 
प्लिज, मलाई help गर्नुस् । मायाले उस्को दायां पाखुरोमा झुण्डिंदै सहयोगको आग्रह राखी । 
हेर्नुस् महाशयहरु, यि यो मेरो (हातको पोलिथिनको झोला देखाउंदै उस्ले भन्यो) आमाको कात्रो हो; मलाई मर्नु-बांच्नुसँग केइ मत्लव छैन । जल्लाई मर्ने विचार छ एता आउनुस्, जल्लाई बांच्ने मन छ आफ्नो बाटो लाग्नुस् । उ ओजनदार शैलिमा घाइते शिंह झैं गर्जियो । 
 
 
ति चार जनाले के सोचे कुन्नी, तितर-बितर भए । उ आफ्नो बाटो लाग्दै थियो, मायाले रोकी । 
कता जांदै हुनुहुन्थ्यो कुन्नी ? धेरै-धेरै धन्यवाद है हजुरलाई । 
मलाई अलिक हतार छ अहिले, राम्रोसँग जानुस् है । उस्ले मायाको प्रतिकृयाको पर्खाइ नै नगरि पाइला चाल्दै भन्यो । उस्लाई सांच्चै हतार थियो, अढाइ कोशजती पर उस्की आमाले उस्लाई कुरिरहेकी थीईन्, मुर्दा घरमा, मुर्दा बनेर । बांचुन्जेल भलै आफुले एक गांस खाएर अनी एक सरो लाएर भएनी उस्लाई सुखी पार्नुमै तल्लिन हुन्थिन् उस्की आमा तर मरेपछी भने दु:ख दिन थालेकीछन् उस्लाई, यो अन्जान शहरमा ।  
क्रमश: 
 

 
Posted on 01-08-13 11:48 AM     [Snapshot: 16]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घच्ची को कथा काइला माठ्साब

उपहार पछि को यो कथा ले त कथा बस्तु मा १८० डिग्री नै फड्को मार्यो - तर त्यस्तै राम्रो - ब्राभो

अर्को भाग को प्रतीक्षा मा

 
Posted on 01-08-13 3:19 PM     [Snapshot: 81]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 क्याली मित्र (कहिलादाई)...... मन खल्लो हुने एउटी बालिकाको भोगाइ (बास्तबिकता) अनि एउटी नारिको संघर्षको कथा मार्मिक भावका साथ् आको रैछ पढें ....  अर्को भागको कुराइमा 
- थाने

 
Posted on 01-13-13 10:13 PM     [Snapshot: 221]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  जुआरी (कथा) भाग २ 
 
 
.. मरेपछी भने दु:ख दिन थालेकीछन् उस्लाई, यो अन्जान शहरमा ।
 
 
आ - आइते भनेरै चिन्छन् उस्लाई जमुने भञ्ज्याङभरी, सबैले । असली नाम त आनन्द शिंह गुरुङ हो क्यारे, तर आईतवार जन्मेकोले नामै बस्यो उस्को आइते, भन्न पनि सजिलो ! भारतीय लाउरे राम शिंह र बाटुली गुरुङको एक्लो सन्तान, अंखाको नानीझैं गरेर हुर्काउंदै थिए गुरुङ  दम्पतिले आइतेलाई तर कालको जेठो-कान्छो को नै हुन्छ र यो जगतमा; ९ वर्षको चल्लो मै अनाथ बन्यो आइते - राम शिंहले प्राणको आहुती दिए पराइ भुमिको रक्षा गर्दै । 
 
 
हेर् बटुली, अर्कोबार क्यानाम् छुट्टीमा आउंदा त तंलाई एत्रो-एत्रो नौगेडी बनाइदिम्ला ! बुढी औंला, चोर औंला र माझी औंलाले हावामा सुपारिको दाना जत्रै आकार बनाएर हात हल्लाउंदै राम शिंहले पल्टन फिर्नेबेला भनेकाथिए । 
बा अनी मलाई एता-एता-एता गोजी भाको जिनको पइन्ट है ! आइतेले आफ्नो गोलिगांठो देखी कम्मर सम्म दश ठाउंमा देखाउंदै भन्यो । 
लेकिन किलासमा फस्ट हानिस् भने मात्रै, अच्छा ? राम शिंहले छोरोको कपाल मुसार्दै भने । 
 
 
आइतेले दांतबाट पसिनै निकालेर भएनी फस्ट हानेकोथियो तर राम शिंहले न उस्को पइन्ट ल्याइदे नत बाटुलिको नौगेडी, उनी खाली हातै आइपुगे; बाकसभित्र बन्द भएर । राम शिंह एक्लै मरेनन् त्यो बेला; आइते र बाटुलिका कयौं आशा, खुशी अनी अभिभावकत्व पनि संगै मारिए । उसो त समय कसैलाई कैले साथी - कसैलाई कैले सत्तुर हुनेगर्छ, जेहोस् आफ्नो धर्म नछाडिकन आइतेका आमा-छोराको घाऊ पनि बिस्तारै पुरिदिंदै थियो, तेही पापी समयले । भावीको खेला; भनेर चित्त बुझाए आमा-छोराले, अरु उपाए पनि थिएन । भन्नेको मुख थुन्न सकिएला, हान्नेको हात रोक्न सकिएला, दैब लागेपछी कोसँग सिंघौरी खेल्नु ? 
 
 
जमुने भञ्ज्याङको सेरोफेरो चाहार्दै हुर्कियो आइते, आमा-बाबु दुबैको प्यार ओइर्याएकी थिईन बाटुलिले । आफ्नो गच्छे र बलबुतोले भ्याए सम्म रत्तिभर पनि कसर बांकी छोडेकी थिईनन् बाटुलिले, आइतेलाई सुपुत्र बनाउन, तर आइते सुपुत्र हुंदै भएन, सुपुत्री भयो - बाटुलिको नजरमा । पानी-पंधेरो देखी चुलो-चौको सम्म; आइते आफै गर्थ्यो । घरमा एउटा गाई र दुटा खशी थिए, तिन्को रेखदेख र स्याउलापात नि भ्याउंथ्यो उ । 
 
 
"छर-छिमेकिले पनि कुरा काट्न थाले अब त, मैले त छोरी पो जन्माएछु" धेरैचोटी बाटुलिले भन्ने संवाद हो यो । 
"तिम्लाई घर ज्वाँईं ल्याइदिम्लान्त एउटा, कजाइ बस्नु, हुन्न ?" आइतेको प्राय एस्तै प्रतिकृया हुन्थ्यो । 
"थुक्क हुतिहारा, बुहारी  ल्याउंछु भन्नु त कता हो ?" बाटुली आगो हुंदै भन्थिन । 
"तिमिसँग टिक्नै नसक्ने परी भने खान्छेउ अनी !"  आइते जिस्किन्थ्यो ।  
मौरे आंखा र थेप्चो नाक भएकी, शिलस्वभाव वाली एक राम्री बुहारीको कल्पना गर्थिन् बाटुली हरेक तन्द्रामा, निन्द्रामा पनि । छिटको बुट्टेदार  गुन्युमा पहेंलो पटुकी, मखमलको चौबन्दी चोलीमाथी घलेक, नाकमा सिरुपाते बुलांकी, कानमा कांडे मढरी, हातमा ठोका र छड्के तिलरी - बुहारीको पहिरन पनि करीब-करीब तय थियो उन्को दिल-दिमागमा । 
 
 
खै छोड् मै जान्छु, च्या खाइ त सकें । बाटुलिले आइतेको हातको तामाको गाग्री खोस्दै भनिन् । 
डोको-नाम्लो खोज्दै एक घण्टा जान्छहोला, म ल्याइहाल्छु नि । आइते गाग्री लिएर ओरालो झर्यो, हात्तीछाप चप्पल पड्काउंदै, खैरो चेक सर्ट, गाढा निलो पाइजामामा हल्लिंदै । 
 
 
पंधेरामा चिन्जान्कै दुइटी नखरमाउली थिए, आइतेलाई side खेल्न थाले । 
"बिचरा दाइले कसरी बोक्नुन्छ होला तेत्त्रो गाग्री कांधमा, हाम्लाई भने त पुर्याइदिहाल्थिम्" 
"हो नि, भन्ने मान्छेलाई बुझो लाएसी के गर्नु" 
"मलाई मद्दत चाइया छैन, तिमेरुबाट त झनै चाइया छैन" आइते कांधमा गाग्री च्यापेर उक्लिन्छ । 
 
 
एत्ती मोइ त सक्का । बाटुलिले खाने क्रममा आज्ञा गरिन् । 
भो के, मलाई अली छिटो पुग्नुछ आज । आइतेले बाहाना बनायो । 
कोइको नभा' तेरै काम ! सुन्को तक्मै देलान नि तंलाई ! बाटुलिले ब्यंग्य गरिन् । 
आइते अलिक भावुक भयो, सुनले संधै उस्लाई नौगेडी सम्झाइदिन्छ, नौगेडीले राम शिंहलाई; आधी गिलास मोइ स्वाट्ट पारेर जुरुक्क उठ्यो, थाल-कचौरा बोकेर । 
तेइं छोड्, ढिला भो भन्या होइन्त ? बाटुलिले हातको गांस हातमै रोक्दै भनिन् । 
भैगो, ऐले फेरी ब्वारी-स्वारी को कुरा सुनाउनलाई ? बाहिर निक्लिंदै आइतेले गुनासो पोख्यो । 
 
 
झ्याल नजिकै झुण्ड्याएको सानो ऐनामा हेर्दै आइतेले आफ्नो छोटो कपाल कोर्यो; अली-अली जुंगा पनि ! सलक्क मिलेको ज्यानमा सेतो कमिज र घिउ-रंगको पाइन्ट लायो, सिरानतिरको खापाबाट बिदेशी अत्तर निकालेर छर्केजस्तो गर्‍यो, काखीतीर । 
आमा गएं है । उस्ले निक्लिंदै भन्यो, उ अब बाटुलिको छोरो (छोरी ?) बाट पल्लो गाउंको माश्टर श्रीमान आनन्द शिंह गुरुङ भएकोथियो । 
 
 
गाउं-घर, बिध्यालय; सबैतीर सबैको प्यारो थियो आइते, कतिका आमा-बाउकालागी त नमुना नि भाथ्यो । 
हेर् त्यो आइतेलाई, बाउ नभा' टोकेले पनि लिखा-पढी गरेर आज माश्टर भा'छ ! आफ्ना हरिलन्ठु सन्तानलाई झपार्न सजिलो भैदिएकोथियो  आइते; र तिनै हरिलन्ठु समुहलाई मात्रै बिझाउंथ्यो क्यारे उ । 
 
 
तर समय फेरी रिसायो एकचोटी आइतेसँग, दमको रोग बल्झियो, बाटुली थला परीन् । गाउंको स्वास्थ्य चौकिले टिबी हुनसक्छ भन्यो, सदरमुकामको अस्पातालले भिडियो एक्स्रे गर्न काठमाडौं पठायो । खाताको ४१ हजार गोजिमा हालेर, सञ्चयकोष हिसाब गर्दै काठमाडौं हानियो उ । 
 
 
डाक्टरी पढ्या भए हुनेरैछ ! भनेर चुककुकायो आइते, के-केजाती 'कोपी' र 'स्क्यान' भनेर सयतिर दौडाए उस्लाई डाक्टर साबहरुले अनी सयवटा दुलो पारे उस्को गोजिमा । आइते तै नि सहंदै थियो, शहनसिलता खुनमै थियो कि समयले सिकाएको हो ! तर बज्रै खसेपछी को टुक्रिन्न र ? एकदिन डाक्टर साबले टुहुरो पारीदिए आइतेलाई, बाटुली अब रहिनन् भनेर । 
 
 
आइतेको सानो छातीमाथी आकाशै खस्यो । लागे-पुगे जती सहेकै हो बिचरोले, हुटिट्याउंले सगर थाम्न सक्दैन भन्छन्, के-के थामोस् आइतेले पनि ? सब भन्दा पछुतो उस्लाई लाग्यो, 'ब्या गर्या भए हुने !' 
 
 
औपचारिकता भन्ने शब्दलाई शब्दकोषबाटै हटाउन मन लागेकोथियो आज आइतेलाई । आफ्नै आमाको लाश बुझ्न आज बार्ह ठाउंमा ज्यु-हजुर गर्न र बार्ह प्रकृया पुर्याउन परेकोथियो उस्लाई । बल्लतल्ल मुर्दाघरबाट लाश (?) लैजान पाउने इजाजत प्राप्त भो उस्लाई । कठैबरा बन्ने त कोही थिएनन्, लु न त - भन्ने सहयोगी हात नि भेटेन उस्ले । बाटुलीलाइ मुर्दाघरमै छोडेर; कात्रो किन्न निक्ल्यो उ । 
 
 
आइतेको दिमागमा हजार कुरा खेलीरहेकाथिए । 
यो तानेपछी ड्याम्म पड्किन्छ, बुझिस् ? राम शिंहले कुनै दिन भरुवाको ज्ञान दिएकाथिए । 
यो खाइस् भने फस् आउंछस् । बाटुलिले बेगौंती ख्वाउन कर गरेकी थिईन । 
 
 
शृष्टीकर्ता किन यसरी क्रुर हुन सक्छ ? आइतेको मनमा अनुत्तरित प्रश्न मात्र थियो । 
 
 
एक मिटरको सात रुप्यां । साउजिले भाउ बोले । 
आमै कती अग्ली छिन् भन्ने कुरा आइतेले सोचेन; त्यो दाम उन्कालागी वा अरु कसैकालागी उचित हुनुपर्छ वा हुनु हुंदैन भन्ने मात्र उस्को तर्क थियो, र बाटुली त्यो मुल्यको बकाइदा हकदार थिईन्, शायद बेसी पनि ।
 
 
आइते आमालाई लिन मुर्दाघरतिर जांदैथियो, बाटोमा केही अप्ठ्यारो दृश्य देखा पर्‍यो । २५-३० वर्षकी कुनै केटीलाई चार जना मिलेर लछार-पछार गर्दैथिए । 
ओ दाइहरु ! केही problem छ भने घरतिरै सुल्झ्याउन मिल्दैन र ? यो आधी रातमा बिच सडकमा किन ? आइते बोल्यो । .. 
 
 
भोलिपल्ट आइते आर्यघाटमा थियो, बाटुलीलाइ सक्काउनकोलागी । उ एक्लै रोयो, एक्लै भक्कानियो । 
बाबु, कपडा निकाल्नुपर्छ । पण्डित बाले निर्देशन दिए । 
आइतेलाई मरेतुल्ले भो, जस्लाई उस्ले पुजेकोथियो - आज उस्लाई नंग्याउनु पर्नेभयो । 
क्रमश: 
 
Last edited: 13-Jan-13 10:45 PM

 
Posted on 01-13-13 10:44 PM     [Snapshot: 235]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लरे माठ्साब, 
कथा अलिक घुमाम् नै भनेको हो, तर कती डिग्री घुम्यो - त्यो जिम्मा माठ्साब कै हातमा ! 
 
थाने, 
तंपाइको कमेन्ट म संधै कुरीरा'हुन्छु । तपाईंले प्रशंसा गर्दिनु भो; धेरै आभारी छु तर सांच्चै भन्नुपर्दा मलाई केटीपक्षको मनोविज्ञान लेख्नै आउंदैन, उ बेला कम्पाउण्डर मै जुनी बित्यो क्यार्नु ? 
 
 
मुल्मी, prankster लगाएत सम्पूर्ण पाठकलाई शह्रिदय धन्यवाद, 2nd part अलिक छोटो जस्तो छ, तर 3rd part मै टुइश्ट हालुम्ला भनेर .. 

 
Posted on 01-14-13 10:42 AM     [Snapshot: 314]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 क्याली बन्धु यो त हजुरको ठुलो मन हो तेसैले तेस्तो भन्नु भो .... नत्र मा जस्तो चाउरेका शब्दले....... अनि मित्र एउटा भनाइ छ नि नेपालाँ के त "कि त परेर जानिन्छ कि पढेर " , अब तपाईंले चैं पढेर जान्न परो जस्तो छ ... तर खाँटी कुरा त तपाईंको लेखी मा तेस्तो नारि मनोविज्ञान लेख्न नआको जस्तो कहिँ छैन ....उधाहरण अघिल्लो कथा छ .....
 
कथाको आधा पाटो बल्ल उजागर भो , अब कता घुम्छ कथा कौतुहलताका साथ् कुर्दै छु ल .....
- थाने

 
Posted on 01-14-13 10:57 AM     [Snapshot: 324]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त हिजै राती पढ्या हो -

यो भाग पनि राम्रो गयो - यो कथा चाही दुखै दुख को भण्डार जस्तो छ त - चसक्क मन दुख्ने

 
Posted on 01-14-13 1:51 PM     [Snapshot: 367]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अर्को मज्जा को भाग रेछ , आनन्द आयो पढेर 
 
Posted on 01-18-13 8:24 AM     [Snapshot: 485]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 क्याली ब्रो, फेरी पनि घच्चिको गयो , री भित्र के आउछ भनेर कुर्दै छु 
 
Posted on 01-18-13 3:09 PM     [Snapshot: 539]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 जुआरी (कथा) भाग ३ 
 
 
.. जस्लाई उस्ले पुजेकोथियो - आज उस्लाई नंग्याउनु पर्नेभयो । 
 
 
रि - रितु पांडे, खगेन्द्र देव पांडेकी कान्छी छोरी । पुलिष्टरको फराक लाएर चुङी खेल्दा र बार्हहाते उफ्रिंदासम्म सबै ठिकैथियो तर जवानीले दस्तक दिन थालेसी र जमुने भञ्ज्याङ छोडेर काठमाडौंमा एघार कलास पढ्न थालेसी; न उस्लाई रितु मन पर्‍यो नत पांडे ! उ परिवर्तित भै - ऋचा पाण्डे मा ! 
 
 
खगेन्द्र देवको जुंगा र जिउज्यान मात्र ठुलो थिएन, उन्का काला कर्तुतहरु पनि ठुलै थिए । कती निमुखाहरुलाई मर्दा-पर्दा गर्जो टार्दिने काम त गर्थे सुरुमा तर, पछी ब्याज्को स्याज र स्याज्को प्याज लाएर घर-खेतै उठिबास लाएर मुग्लान भस्साउन माहिर थिए पांडेजी । जमुने भञ्ज्याङमा थोरै मात्र थिए, जस्का तमसुक र लालपुर्जा उनिकाहां धितो थिएनन् । 
 
 
बार्हैमाश कुलो लाग्ने बारीजती उन्कै, मन्सुली धान फल्ने खेतजती उन्कै, गाउंमा पत्थरले छाएको तीनतले घर पनि मात्र उन्कै । जन्मदै थाप्लोमा रिण बोकेर आउने कती कमाराहरु पनि उन्कै हुन्थे - बाउ बराजुले जीवनभर घोटिएर पनि चुकाउन नसकेको बडा अच्म्मको पुश्तैनी प्रशाद प्राप्त भएका । ति केवल आफ्ना कर्म कोस्न जान्दथे; बाघले मासु खाने त भो नि भनेर चित्त बुझाउंथे । माथितिर घुमेको जुंगामा मैनले ताउ दिएर, बुट्टेदार लबेदामा हात पुछ्दै पांडेजी गर्जन्थे, "हेर् जुठे, पैसो त चाइन्जो म तैंले भनेजती नै खन्खनी गनेरै दिम्ला; तर चाइन्जो भाका नाघ्यो भने फेरी साउबाले घरमा ताला ठोके भन्न पाउंदैनस् नि ।" 
अर्को जुनी कुकुर हुनुछैन साउबा, म धर्म किन छोडुंला र ? जुठे दुई हात जोडेर अघिल्तीर टुक्रुक्क बस्दै बिन्ती बिसाउंथ्यो, तर भगवान-भरोशे बिचरो जुठेलाई के था' - अर्को जुनी त के, अर्को साल बेलैमा पानी परेन भने मात्र पनि उस्ले कुकुरकै सरी जुनी बांच्नेछ भनेर । 
 
 
गाउंकै चन्द्रे घर्तीका बाउछोराले बनाइदेको सिसमको पलङ र माइली दमैनीले तकिदिएको चार किलोको डसनामा पनि राम्रो निन्द्रा पर्थेन पांडेजिलाई; आत्म-सुद्धीकालाई अनेक पूजा-अर्चना गर्थे । कालीका खांट्टीका भक्त थिए, रुद्री-चण्डी नित्य अलाप्थे, बर्षको एक बार सत्यनारानको पूजा लाउंथे र समय मिलाएर बाहिरफेरका देवीदेवतालाई पनि खुशी पार्ने कोशीस गर्थे । छोइ-छिटोका पनि उस्तै कट्टर थिए उनी, भरसक कहींकतै बाट बिटुलो नहुने कोशीस गर्थे; केही कुकर्म (?) भो भने कालीमाताले फेरी अर्कै कोही कज्याइं गर्ने भक्तको सृस्‍टि गर्दिन्छिन भन्ने डर उन्को ! 
 
 
तेही धर्म-कर्मले होला शायद, हातमा बर्बर्ती ठेला उठाएर पनि दुईछाक हातमुख जोर्न धौ पर्ने र तालुको कपाल खुईलिनेगरी भारी बोकेर पनि शिरमाथी छानो नहुनेहरुको आंशु नलागेको उन्लाई ! 
 
 
ऋचा तर योसब कुराबाट टाढै थिई । शोक न सुर्ता, भोक न भकारी भन्या जस्तो; उस्लाई घरमा खान पाइयाथ्यो, बाहिर खेल्न पाइयाथ्यो । तर ति दिन धेरै टिकेनन्, अचम्म हुंदै गयो, उस्लाई भोक लाग्न छोड्यो - चुङी, बार्हहाते र गोट्टा खेल्न नि मन लाग्न छोड्यो ! एता र उता कोल्टे फेर्दा नि निन्द्रा लाग्न छोड्यो ! 
 
 
उस्लाई अब घण्टौं एैना हेर्न मन लाग्न थाल्यो, कपाल र उचाइमा उस्लाई खास्सै गुनासो थिएन, चिउंडोको देब्रेतिर सानो कोठी त भगवानले उस्लाई बरदानै द्या जस्तो लाग्थ्यो तर आंखीभौंलाई एतातिर अलिकती उखेलेर त्यो पोस्टकार्डकी दिब्या भारतीको जस्तै बनाम्की जस्तो लाग्न थाल्यो, माथिल्लो ओंठ अलिकती मोटो भैद्या भए हुने भन्ने लाग्न थाल्यो, गाला गौंगोरो हुनुभन्दा यां माथितिर अलिक रातो-रातो भए हुने जस्तो लाग्न थाल्यो, निधार नि थोरै ठुलो भा भए हुने जस्तो लाग्न थाल्यो ! 
 
 
यि झिना-मसिना मात्र चाहना थिए, मुल तिर्सना थियो - आठ कलासमा संगै पढ्ने त्यो खाइलाग्दो झिल्केले आंखा लाइदे हुन्थ्यो भन्ने लाग्न थाल्यो । 
 
 
कश्तुरी आफ्नै बासना खोज्दै रनबन भौंतारिन्छ रे, उस्लाई नि तेस्तै भा हो, भगवानले उस्लाई खास्साकै रंगरुप दिएकै हुन्; दोष लाउने ठाउँ थिएन । तर, हिन्नेले नाक थुन्दै हिन्देपछी, बासनाको के गर्नु ? बडा बदमाश थियो त्यो झिल्के, उस्को ध्याउन्न कि त आफ्नी आमैलाई खुशी पार्नुमै हुन्थ्यो कि भने पढाईमै ! केटीहरुलाई त फुट्या आंखाले नि नहेर्ने कस्तो निठुरी होला त त्यो आइते ! 
 
 
ऋचा मैसाप भने कैले गाजल लाएर जान्थिन्, कैले कपाललाई माछीकांडे बाटेर जान्थिन्, कैले रातो गुलाब स्युरेर जान्थिन्; एक दिन त सिउंदो शुरु हुने र निधार सक्किने भागमा, शिन्दुर हो कि टिका हो जस्तो देखिने नि लाएर गैन् - तई हेरेन मुरदारले ! 
 
 
आनन्द, आज म पनि तिमीसंगै जान्छु है ! एक दिन अती नै भएर, छुट्टी पछी ऋचाले भनी । 
ला, म त दगुर्दै पो जान्छु त, घांस काट्न जानुछ । था'छ, हाम्रो धर्की त ब्याउने छ नि ? आइतेले सुनलाई नुनसँग मिसाउंदै घांस र बाख्रिको कुरो गर्‍यो । ऋचालाई खुटा बजारी-बजारी मुख छोड्न मन लाथ्यो तर, "ए" मात्रै भनी; आइते बत्तियो । 
 
 
भएन अब, पढाई-लेखाइमा नै मरिहत्ते गर्ने प्राणीलाई अब केही पढ्ने सामाग्री नै दिनुपर्यो भन्ने सोच पलायो एक रात ऋचा मैसापलाई । उस्लाई अली-अली तरकिब थाहा थियो, मायालुलाई चिट्ठी कसरी लेख्छन् भनेर, सुरु गरी :- 
 
समय - रातको ११ बजे 
वातावरण - सुन्सान 
याद - केवल तिम्रै 
 
मेरो प्यारो आनन्द 
पत्र लेख्ने खाश कारण त केइ थेन (?) तर पनि यो सेतो पन्नामा निलो डट्पेनले मेरो मन्को बह पोख्दैछु .. 
क्रमश: (लु है, आज एत्तिनै भ्याएं, रिशानी माफ होस्, भोली राखुम्ला बांकी) 
 

 
Posted on 01-18-13 6:48 PM     [Snapshot: 580]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cali dai -
        Purano katha upahar khojera paddai chu ma ta balla . hetteri bhyai nabhayai bhayo malai yo padam bhane pheri dubai incomple judhla ki bhanni pir . lau ma upahar sakna tira lage
 
Posted on 01-19-13 7:45 AM     [Snapshot: 626]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यालि मित्र(काहिंलादाइ),
छोटो भएपनि मज्जाको छ नि .... बल्ल खुल्यो शिर्षकको राज जुनु-आइते-ऋतु को एकअर्कामा अल्झिएको-बल्झिएको कथा .... अर्को भाग को कुराइ व्यग्रताका साथ् ...

- थाने

 
Posted on 01-21-13 7:51 AM     [Snapshot: 709]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 haina bholi bhayena ra bhanya
 
Posted on 01-21-13 9:06 AM     [Snapshot: 726]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब को जादै छ कथा - बल्ल आज पढे

अर्को भाग को पर्खाइ मा -

अहिले चाही अलि लप स्टोरी नै शुरु होला जस्तो छ त है

 
Posted on 06-26-13 3:16 AM     [Snapshot: 1235]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 (यो कथाको, यो पाटोको पोष्ट्याई संगै; थानेलाई धन्यवाद र अरु सम्पूर्ण पाठकलाई माफी चढाएको छु)
 
 
जुआरी (कथा) भाग ४ 
 
 
.. तर पनि यो सेतो पन्नामा निलो डट्पेनले मेरो मन्को बह पोख्दैछु ..
 
 
आनन्द, तिमी मलाइ एकदम राम्रो लाग्छ । कैलेकाइं त सपनामा पनि देख्छु । अस्ती एकदिन त हाम्ले ब्या गरेको पनि सपना देखेको थिएं, बुझेउ ? तेइ नेत्रेका बाले मन्तर पढेका रे, अनी हामी चाइं जग्गेमा थिम । पछाडिबाट कृष्णा, सुनिता र अंजलीले कस्तो गिज्याउंदैथे हाम्लाई, पछी ब्युंतेपछी त मलाई कस्तो लाज लायो नि । 
 
 
मलाई त त्यो सपना कैले बिपना होला भन्ने लागीरहन्छ भन्या ? तर तिमी मलाई love नै गर्दैनौ जस्तो छ ? हिंजो मैले देको चाउचाउको मशला पनि खाएनौ, था छ ? कस्तो नराम्रो लायो नि मलाई । अनी त मैले पनि पछी सप्पै फाल्दिन्छु भनेको कृष्णाले खाइ । 
 
 
तिमी मान्छौ भने म पनि तिमीसँगै घांस काट्न लुकी लुकी आउंछु है । हाम्रो घरमा त सप्पै ठुलेले काट्छ तर मलाई संधैभरी तिमीसंगै कुरा गर्न मन लाग्छ, तिम्लाई हेरिराख्न मन लाग्छ, तेसैले के । तर कां तेत्रो ऊकालो हिन्नुपर्छ है, बरु एकदिन कसैलाई नभनी सिनेमा जाम्न हामी हुन्छ ? फोटो पनि खिचाम्ला नि । अनी राजाको चोकनिर कस्तो मिठो चाउमिन पाईन्छ बाबै !
 
 
सुन न, अनी तिमी पनि मलाई love गर है । बागेश्वरी माइेको कशम, म तिम्लाई संधैभरी खुशी दिनेछु । बरु मेरो बारेमा केइ कुरा नराम्रो लाग्छ भने भन्देउ है, म तिम्ले भन्या जस्तै गर्नेछु । था छ ? एकदिन तिम्ले भन्याथेउ नि, सानो कलासमा नङ पालिश लाउन हुन्न भनेर, मैले त घरमा आएर पुरै सिशी फुटाइदे नि । हेर, मैले तिम्ले भनेको सप्पै मानेकोछु । मलाई love गर है, अनी एस्को उत्तर लेखेर तिम्ले नि मेरो झोलामा हाल्दिनु है । 
 
 
I Love You Anand 
उही तिम्लाई माया गर्ने रिचा 
 
 
चिट्ठी सकेर निकै सन्तुश्टीको शास लि' ऋचाले, एकछिन त । आफैमा रोमान्चित भई उ, उस्ले कल्पनामा मात्रै देखेका र बुनेका दृश्यहरु अब उस्कै आंखा अगाडी फन्फनी घुम्न र नाच्न थाले । बास्, जिन्दगी भोली होस् त एस्तै होस् भन्ने लाग्यो । धेरै बेर निदाउन सकिन उ; कोल्टे फेरी रही; मानशपटलमा मात्रै एउटा नाम थियो; आनन्द । एक मन्ले त भन्यो, ऐलेइ दिउं यो प्रेमपत्र उस्लाई, अनी ऐलेइ I love You भनोस् उस्ले पनि .. तेस्पछी त उस्का बा खगेन्द्र आउन् कि उस्की आमा बाटुली आउन्, भांजो हाल्न; मिल्ने कुरा मान्न र नमिल्ने कुरा त्याग्न तयार छे उ । 
 
 
ऋचा मैसाप आफ्नै मनको लड्डु खांदै निदाइन । तर उन्को मन कहाँ निदाउंथ्यो र ? त्यो त उडीरह्यो, नाचिरह्यो, जमुने भञ्ज्याङको आकाशमा; क्षितिज भेटुंला झैं - रहर सब मेटुंला झैं । 
 
 
आज स्कुल हिंड्नु अघी उस्ले निकै बेर आफुलाई ऐनामा हेरी .. दुई चुल्ठी अलिक मन परेन, कपाल सबै सिम्हलेर घुच्चुकमा बांधी; दिब्या भारतीले जस्तै, अनी अलिकती जुल्फी जस्तो पनि बनाइ निधारमा; तेस्पछी निक्ली' उ फेरी अर्को स्वप्निल नगरि चाहर्दै - जहाँ उस्को आनन्द अब उस्कै भईसकेको छ । 
 
 
१० बजेको घण्टी बज्यो .. कलासबाट सबै दौडे चौरतिर, "श्रीमान गम्भिर.." का लागी, ऋचा भने पर्खिरही । तर सुनिता पनि पर्खिरही, पर्‍यो आपत ! 
सुनिता, तं जा न; मलाई कस्तो पेट दुख्याछ के । मैसापले बाहाना बनाइन् । 
लाss म बिनोद दाइलाई भन्दिम् ? (१० कलासका बिनोद दाई जुनियर रेडक्रस सर्कलका अध्यक्ष थिए, उन्ले कहिलेकांई देखाउने first aid को डब्बामा ध्यान गयो सुनिताको)
पर्दैन भन्या । तं लाइनमा जा न, म यिं बस्छु के । ब्यान औषधी खाथें, एक्छिन्मा ठीक हुन्छ होला । मैसापले अर्को पासा फालिन्, अब त घरै खाने हेतुले । 
ए ! तं नछुने भा' हो ? सुनिताले अन्जान्मै भे नि तगडा गोटी फाली फेरी नि ! 
होइन के, तं जा न खुरुक्क । मैसापलाई अरु केइ फुरेन, अली-अली पारो नि चढ्यो ! 
सुनिता कुन्नी के बर्बराउंदै निक्लि' बाइर, तर मैसापको रंगको गोटीले भने काम गरेकोथियो बल्लतल्ल । हिंजो राती लेखेको प्रेमपत्र हतार-हतारमै स्वाट्ट छिराइ आइतेको झोलाभित्र अनी दुई बेन्च पछाडि आफ्नै सिटमा बसेर लामो साश फेरी । 
 
 
अघिसम्म उस्लाई लागेकोथियो कि त्यो चिट्ठी आइतेको झोलाभित्र हाल्नु नै सब्कुराको फाइनल हो, तर कां हुनु ? घांटी रेटेर छोडेको कुखुरो जस्तो बल्ल पो भई उ ! कुरुक्षेत्रमा उत्रेकी मात्र त थि' उ, कन्हैयाजीले उस्को माया स्विकार्नु र मायाको रथ हांक्नु त बांकी नै थियो जो । आफैभित्र डराउन थाली अब उ, आइतेले पनि I Love you भनेन भने ? उस्का बाउले पूजापाठ गर्ने दुईचार भगवान नि सम्झी उस्ले; हे प्रभु ! आइतेले पनि मलाई माया गरोस् है ! मैसापको काउन्टडाउनमा अरु पनि एक-दुइ भगवान बांकी नै थिए तर सहपाठीहरु ह्वार्‍र कलासभित्र छिरे ।
कस्तो छ तंलाई ? बिनोद दाइलाई भन्दिम् ? सुनिताले फेरी मैसापको कन्सिरी तताइ !
ठीक छ के, धेरै नबोल् । मैसाप अलिकती अमिलो भईन्, बिनोद दाइलाई भन्न नपाएकोमा सुनिता अलिकती तितो भई । अरु पनि आ-आफ्नै स्वादमा थिए; क्षेत्र सर कलासमा छिरे । 
 
 
क्षेत्र सरले हाजिरी लिए, रोल-क्रम अनुसार आएका जतिले "yes sir" पनि भने । तेस्बेला सम्म ठिकै थियो, तर ऋचा मैसापको मुटु तेतिबेला पड्केला जस्तो भो जब क्षेत्र सरले पढाई सुरु गर्न आइतेको अंग्रेजी किताब लिए ! उस्लाई बल्ल याद भो, छिट्ठी त तेइभित्र छ ! 
 
 
क्रमश: 
 

 
Posted on 06-26-13 9:39 AM     [Snapshot: 1278]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति ढिला आएको नि कथा - फेरि माथि बाट सबै एकचोटी पढ्नु पर्यो

तर कथा रमाइलो घच्ची को छ - अर्को भाग चाही पढ्न ३-४ महिना कुर्न नपरोस

 
Posted on 06-26-13 11:30 AM     [Snapshot: 1318]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 धन्यबाद सहर्ष स्वीकार गरे क्याली मित्र....... मेरो कृतज्ञता अर्पण गर्दछु कथा पोस्तिदिनुभाएकोमा...... 
 
बालापनको  बेला झलक्क याद आयो ..... यस्तै भाको थ्यो मेरो एउटा साथी लाइ....बोलीचाली अनि त्यो लवलेटर को लेख्ने तरिका कस्तो तेस्तै तेस्तै ......उसको नि लेटर गुरुबा को हात मा पुग्यो है अनि त गुरुबा ले त्यो लेटर सप्पै क्लास को अगाडी पढेपछि रातो भएर ब्याग लेर क्लास बाट निस्केर हिड्यो अनि त एक हफ्ता क्लास नै आएन..... अर्को हफ्ता त त्यो लवलेटरले काम गरेछ....दुइजाना को लव पुरै बर्ष चल्यो....अनि त के र मोरो प्रेम मा पास भो जांच मा फेल .....केटि माथि किलास चढी केटो ले स्कुल बदल्यो .... 
 
लौ कहाँ मेरो गलफती लिएर बसिचु मा नि...... सहि गयो क्याली मित्र .....समय मिलाएर फेरी अर्को भाग थपम है.......
 
- थाने

 
Posted on 09-24-13 12:35 PM     [Snapshot: 1623]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 थप्ने हैन र क्याली यो कथा को बाँकी भाग ....
 
- थाने

 
Posted on 10-07-13 9:27 AM     [Snapshot: 1723]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

 जुआरी (कथा) भाग ५ 
 
.. उस्लाई बल्ल याद भो, चिट्ठी त तेइभित्र छ ! 
 
एकाएक श्वासप्रश्वास बढ्यो मैसापको, कानका लोतिहरु राता र ताता भए; आरनेले भर्भराउंदो भुङ्ग्रोमा पोलेको फलाम झैं । हात्खुट्टा लग्लग र लल्याक-लुलुक्कै भए; जरो उखेलिदीएको झाल झैं अनी शिर घोप्टियो लज्जावती झार झैं, केही भय मिस्सिंदै । 
 
क्षेत्र सरले च्याप्टर ११ खोज्न, दाहिने हातले किताब समात्दै देब्रे हातले फ्यार्‍र पानाहरु पल्टाए .. फुत्त बाहिर निस्कियो; तेही पापी चिट्ठी ! अब ठाउंको ठावैं बजारिन्छु कि जस्तो लाग्यो मैसापलाई । 
 
हैन ए आइते, क्या हो यो ? क्षेत्र सरले खासै वास्ता नागरिकनै, दुई पल्ट पट्ट्याएको "प्रेम पत्र" आइतेतिर फुत्त फाल्दै भने । 
मैसापलाई संजीवनिको घुट्को लाएजस्तो भो, आइते अब अक्क न बक्क । 
मैले कैले-के राख्या रैछु त ! भन्ने कौतुहल्ताले आइतेले "प्रेम पत्र" फुकायो, संगै बसेको नेत्रे र नेत्रेको छेवइको बिशालले पनि आंखा ठुला पारे; सम्भवत: १-२ लाइन पढ्न भ्याए पनि । आइतेले ट्वां परेर क्षेत्र सरलाई हेर्यो, नेत्रे र बिशालले अरु १-२ लाइन पनि पढ्न भ्याए । 
कापी निकाल् अनी साथीको किताबमा हेर् । ल, अरुले पनि स्पेलिङ टिपो' । क्षेत्र सरले चक-डस्टर समाते, आइतेले "प्रेम पत्र" गुट्मुट्याउंदै गोजिमा कोचार्यो, मैसापले चैनको शास लीईन् । 
 
आइते; तर उ त बेचैन भाकोथियो । जिन्दगीमा पाको पहिलो प्रेम पत्र, तेस्माथी पढ्न नि भ्याकोथेन कल्ले लेखेको भनेर ! हिंजो, अस्ती, पछील्लो परीक्षामा, अघिल्लो वर्षमा .. को-को नजिकिएकाथिए, क-कस्ले मद्दत मागेकाथिए ? कुनै जान्ने केटी नै पो ? कसैले खेला गरेको त हैन ? हेनराइटिङ त .. एक्चोटी पढुम्न पैले । 
बडा गार्हो भो हाफ टाइमको घण्टी कुर्नु आइतेलाई । अंग्रेजी, नेपाली, गणित र विज्ञान खै; अरु दिन त सर्‍र जान्थे - त्यो दिन ति क्लास बिताउन हम्मे-हम्मे नै पर्‍यो । अर्जुनलाई बरु के धौ हुंदो हो र, माछोको आंखोमा निशाना लाउन; तर बिचरो आइतेलाई धेरै निशाना पो लाउनु पर्ने भा'थ्यो । कस्ले लेख्या हो ? किन लेख्या हो ? मलाई लेख्या हो ? मलाई नै किन लेख्या हो ? मैले के लेख्नु पर्ने हो ? 
 
हाफ टाइमको घण्टी बज्यो, मैसापको शिर झुकेकै थियो, आइते; राजाको भोटे कुकुर फुकेसरह शौचालय दौडियो । 
 
पांचौ घण्टी बज्न केही समय बांकी थियो । केही कलासभित्र आइसक्याथे, कोही पर्खाल बाहिर बरफ चुस्दै, कोही भइयाको चाट चाट्दै, कोही बजैको चाकु चपाउंदै त कोही ग्राउन्डमै सांधेको भोगटे खांदै वा चुङी खेल्दैथिए । 
 
कलासभित्र रहेका केही मध्य, आइते र मैसाप पनि थिए । मैसाप घरी-घरी लजाउंदै आइतेलाई हेर्थिन्, आइते घरी-घरी बेप्रसँगको कुरा गर्थ्यो सँगैको नेत्रेसँग । आंखा बोल्छन् रे भन्ने सुनेको हो आइतेले, आज देख्यो पनि - तर आंखैले आज कसरी बुझाउनु, फाटी मर्नु भो उस्लाई । उ केही शिषिरको व्याख्या गर्न चाहन्थ्यो तर मैसापको नयनबाट बसन्त हटेपो ! 
 
आंखाको त्यो चमक, परेलिको त्यो सनक, वदनको त्यो दमक अनी मुजुर नाचेझैं त्यो भाव-भङी; ओहो ! कुनै आणविक हतियारको तुलना गर्न सकिएलार नारिका सामु ? विज्ञानले एउटा मापदण्ड तोकिदेला, अणु-परमाणुको व्याख्या गर्दै; तर क्लियोपेट्रा, फ्राइनी वा हेलेनलाई हामी कसरी व्याख्या गरौं ? वा उनिहरु आज आफैले आफ्नो व्याख्या खोजे भने ? 
 
आइतेको दिमाग गोलचक्कर भो । प्रेम पत्र त गोजिमा सुरक्षित नै थियो तर मन भने ब्याधाले लखेटेको हरिण झैं भो । 
 
पांचौ घण्टी पनि बज्यो, भुगोल पढाउने ॠषि सर भित्रिए । छैटौं, सातौं, आठौं ... एक-एक वर्षसरी बिते, एक-एक घण्टी आज आइतेकालागी; शायद मैसापकालागी पनि । आखिरमा बल्ल-तल्ल बज्यो, ४ बजेको फाइनल घण्टी । एकबार पुलुक्क हेर्यो मैसापतिर अनी दौडियो आइते, बिरेन्द्र शिल्ड जित्ने ज्यानलाई दौडिनुमा त कल्ले भ्याउनु र ! 
 
मैसाप देखा परीन्, गोरेटोमाथीको ठुलो ढुङोमा आइते बसिराथ्यो । हुनत उस्को घर जानुपर्ने बाटो उतै पारीको ओरालोबाट हो, आज यहाँ ढुकिराथ्यो । मैसाप मुस्काइन्, आइते तल बाटोमा हामफाल्यो । 
के लेख्या यो तिम्ले ? पट्ट्याएकै प्रेम पत्र देखायो उस्ले । 
तेही । मैसापले सरल उत्तर दिईन् तर अदाकारीमा आज दिब्या भारतीलाई पनि पछारेकी थिईन्, लज्जा-भय-भरोसा-प्यार-मुश्कान .. उफ् - भिन्चिले देख्याभए अर्को मोनालिशा बनाउदाहुन् !
तिम्रा बाउले तिम्लाई मार्छन्, मेरी आमैले मलाई ! आइते पछाडि फर्कंदै एक-दुइ कदम धम्-धम् हिंड्यो, फेरी फर्कियो । 
मेरोलागी मर्न सक्दैनौ र ? म त सक्छु है । मैसापले आडैको पोथ्रोसँग खेल्दै भनिन् । 
सक्दिन म । किन मर्नु मैले ? आइते हावामा हात नचाउंदै जङ्गियो । 
हे भगवान् ! कस्तो रिष हो ? 
 
हे भगवान् ! कस्तो रिष हो ? अंझै मर्या छैन भन्या ? मायाले ट्याक्सिको ढोका खोलिदीइ, उ चुप्चाप भित्र बस्यो । 
दाई पैला बानेश्वर जाम् है । अर्कोपट्टिबाट भित्र छिर्दै मायाले डाइबरलाई भनी । 
तपाईंलाई सप्पैको मशिहा किन हुनु पर्या ? जेसुकै गरुन् न अरुले .. अलिक सजिलोगरी बस्दै माया रिसाइ । 
खाएको पैसा तिर भन्नु नि गलत हो र ? 
तर सही-गलत भन्ने कुरा कहिलेकाँहीं परिस्थिती अनुसार नि हुन्छ नि ! तेतिबेला चुप: लाग्याभए के जान्थ्यो तपाईंको ? 
ठिकै छ मै गलत, भोन्त अब । 
मेरो त्यो मत्लव हैन भन्या । आफु खुरुखुरु- 
बैनी नया बानेश्वर हैन्त ? डाइबर दाइले बिच्मै रोके मायालाई । 
हो दाई । 
पैला घरमै गा'भए हुन्थेन र ? उस्ले अगाडिको ट्राफिक हेर्दै भन्यो । 
उल्टो पर्ला भनेरनी, एकछिन मात्रै हो । 
अं के भन्दै थेंरे म ? ... मायाको गन्थन सकिएको थिएन, घरि-घरी घच्याक्-घुचुक पार्दै डाइबर दाई ट्याक्सी चलाऊंदै थिए, उन्को एफएममा पाण्डव दाजु कसैलाई गिज्याउंदैथिए .. गंगाजले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी .. 
 
पाण्डव दाजुले आइतेको एउटा अतित पनि कोट्ट्याइदिए । 
क्यालेण्डर अनुसार खासमा होली त आइतवार नै परेकोथियो तर धेरैजसो शुक्रवार नै तयारीकासाथ आएका हुन्थे, तेस्मा २-४ जना अलिक रसिक गुरुबा र गुरुआमैहरु पनि सामेल भईदिन्थे । 
आइते कान ठाडा पारेर बसेकोथियो, कतीखेर हाफ टाइमको घण्टी बज्ला र बत्तिम्ला भनेर, उस्लाई रंग-अबिरको दला-दली र घसा-घसी भन्दानी घरकी ब्याउने धर्किकै चिन्ता थियो । आखिर घण्टी त बज्यो तर बबुरो बत्तिन चाइं पाएन; विज्ञानकी अञ्जु मिसले होलिको शुभकामना र के-केजाती पो दिनथालिन् ! 
अञ्जु मिस क्या गज्जप्की छिन् है ? कस्को फेला पर्लिन् हं ? नेत्रेले कुनै दिन सोध्दा आइतेले हप्काएकोथियो; धत्, आफुलाई पढाउने मान्छेलाई त्यस्तो भन्नुहुन्छ ? तर आज आइतेले अठोट गर्‍यो, आइन्दा नेत्रेलाई उ केही भन्ने छैन ! 
मिस अलिकती टिका है ? अञ्जु मिस बाहिरिन लाग्दा रिचाले सोधी । 
धेरै नलगा नि फेरी ! 
सानो बुट्टेदार मखमली टिकुलीमाथी उस्ले मिसलाई लाम्चो टिका लाइदी' । 
ला, तंलाई पनि । रिचाकै केही अबिर लिएर मिसले नि उस्लाई टिका लाइदिन् र बाहिरिन् । 
पछाडी बसेकाहरु खस्याक्-खुसुक गर्दै आ-आफ्ना पोका-पुन्तुरा खोल्दैथिए, रिचाले ढोकातिरबाटै हांस्दै एक नजर आइतेलाई हेरी, आइतेले नेत्रेलाई हेर्यो, नेत्रे भने ढोका बाहिरतिर हेर्दैथियो - टाढा पर अन्जु मिस अफिसतिर जांदै थीइन् ! 
झोला बोकेर आइते उठ्यो तर ढोकामा सुमेरु पर्वत झैं रिचा खडा थीई, उस्लाई खुशी नपारी पार पाउनु गार्हो थियो । 
हेर, रंग नलाउ है, भन्द्याछु ! आइतेले उर्दी लायो । 
ल हेरुम्त म पनि ! एक मुट्ठी अबिर लिएर रिचाले अड्डी कसी । 
थोरै हैत, टिका मात्रै । आइतेले बिन्ती बिसायो । 
ल भन्या, खुरुक्क मान्यौ भने थोरै .. नत्र त बाबु .. । आंखा सन्काउंदै रिचा मुस्काइ । 
ल त । निधार थाप्दै आइतेले आत्मसमर्पण गर्‍यो । 
रिचाले अब एस्तो मौका किन पो छोड्दी हो ? पुरै मुख, कपाल र धेर-थोर जिउभरी पनि दलिदिई ! 
कलासभित्र र चौर बाहिर पनि अब होलिको माहौल सुरु भइसक्याथ्यो । कुनै जङ जित्या सिपाही झैं रिचा हांस्दैथी', हनुमान मन्दिरको रातो मुर्ती झैं आइते भाथ्यो; उस्लाई नि सनक चढ्यो । 
ओइ नेत्रे, रङ निकाल्त ! बेन्चमा झोला फ्याल्दै आइते सन्कियो, रिचा पनि अर्को एक मुट्ठी अबिर लिएर तयार भई । 
नेत्रेसँग हरियो रङको अबिर रहेछ, एक पसर लिएर आइते रिचातिर सोझिंदै उम्लियो; अब देख्छेउ मैया, आफुलाई दल्दा कस्तो हुन्छ ! 
ए ! मैले त थोरै लाथें है । रिचा केही हच्कीई । 
हो-हो, म नि थोरै मात्तै लाउनी हो ! आइते अघी बढ्यो । 
लौ लगाउ ! हात्को अबिर ह्वार्‍र आइतेतिर फाल्दै रिचा पछाडी दौडीई, केही अबिर आंखामा नि पर्‍यो, आइते एकछिन तिर्मिरायो । 
अब त झन् पख न । आंखा मिच्दै आइते उतै दौडियो । 
अब पालो उस्को थियो । एक हातले रिचालाई च्याप्प पारेर अर्को हातले अन्दा-धुन्द अबिर दलिदियो, हात कता-कता पुगेको आभाश भएपछी मात्रै अप्ठ्यारो मान्दै छाडिदियो; रिचा लाजले भुतुक्कै भई । 
उसै पनि लज्जालाई नारिको गहना मानिन्छ, झन् आज उस्का झुकेका नजर, राता अधर र हरियो रङ्मा लत्पतिएका पोटिला गालाहरु ! कपालको चुल्ठो केही बिग्रिएकोथियो तेइपनी बेजोड राम्री देखिएकी थीई उ; आइतेको पुरुष मनले पहिलो पटक, शायद यो सत्य स्विकारेकोथियो आज । 
 
कलासभित्र सबै आ-आफ्नै तालमा थिए । विध्यार्थी मात्र नभै अब त उनिहरुका झोला, कापी-किताब, बेन्ची र पुरै कक्षा कोठा नै रंगीचङी भएकोथियो । बाहिर सिनियर दाई-दिदिहरु त पानी छ्यापा-छ्याप गर्न सम्म भ्याइसक्याथे ! 
नेत्रेलाई रिश त उठ्या हो; १-२ जना बदमाश गुरुबाहरुले बिचरी अञ्जु मिसलाई एता र उता खेदाउंदै थिए, तर उस्ले कसैलाई केही भनेन । आइते र रिचा अरु भन्दा केही गम्भिर देखिन्थे । 
 
घर जांदा आज आइतेले धर्की बिर्स्यो, अचम्म भयो ! 
हातमा अघी रिचाले दिएको पोस्टकार्ड थियो, दिब्या भारतीको; होलिको शुभकामना सँगै एउटा शायरी पनि लेखेको :-
घाम लाग्ने घमाइलो बादल लाग्ने छायां 
बिर्सी जाने बैगुनिको सम्झी लाग्ने माया 
 
उ घरी तेही पोस्टकार्ड हेर्थ्यो, घरी कुन्नी कता हेर्थ्यो; आंखै अगाडीको ढुङो नदेखेर ४-५ हात पर उछिट्टियो - हत्केला र कुइनो अलि-अली दराल्लियो, टाउकोमा झन्डै टुटिल्को उठेको ! 
तर खास्सै दुखेन, अचम्म भयो ! 
अस्ती बेकार रिसाएछु । "प्रेम-पत्र" वाला दिनको सम्झना भो उस्लाई ..  
तिम्ले कुरै रिष उठ्ने गरेपछी रिसाउनु परेनत ? उ जङिएकोथियो । 
के माया गर्नु हुन्न र ? उस्ले सोधेकिथी' । 
ऐले माया गर्ने बेला हो त ? तिम्रा बाउले मान्छन् ? 
माया मसँग गर्ने कि मेरा बासँग ? सिधै भनन डर लाग्छ भनेर । 
कोसैसँग लाग्दैन डर-सर । 
अनी ?
हैन तिमी कुरा किन बुझ्दिनौ ? 
के कुरा ? बुझाउन त । 
तिमी पो धनीकी छोरी, जे गरेपनी हुन्छ । 
अब धनी-गरिब कांबाट आयो ? ब्या गरन्त, अनी तिम्रै हुम्ला । 
मैले भन्न खोज्या, तिमीहरुसँग पो तेत्रो श्री-सम्पती छ त, मैले त धेरै कुरा गर्न बांकी छ । धेरै पढ्नु छ, नोकरी गर्नु छ; ऐलेइ ब्या गर्दै हिनम् त म ? 
तेइ त भन्या लाटा ! ऐले माया गर्न त सक्छौ नि ? ब्या-स्या पछी गर्दै गरुम्ला ! 
हेर यो सब्कुरा था'छैन मलाई । उसै नि तिम्रा बा मान्ने हैनन् केरे । 
तिमी कुरा घुमाइ-फिराइ किन बालाई जोड्छौ हं ? 
सत्य तेइ हो केरे ! होइन भने गएर भनन्त, म त्यो गुरुङ्को छोरोसँग पोइल जान्छु भनेर । सक्छेउ ? 
सक्छु, परी आएमा किन सक्दिन ? 
भो गफ नदेउ ! हेरुम्ला हामी पनि । 
हेरीराख, तिमी जस्तो पानीमरुवा हुम् म ? 
लन्त, तिमी नै बाहादुर । बास् ? 
रिचाले आंशु थाम्न सकिन । 
हे राम ! किन र्वा फेरी ? 
जिनसुकै होस्, तिम्लाई के मत्लव ? उ बाटो लाग्न थाली । 
हैन नरोउ न भन्या । सँगै हिंड्दै उस्ले मनाउन खोजेकोथियो । 
चेपारो घस्न पर्दैन । जाउ तिमी आफ्नो बाटो । आइतेलाई धकेलेर उ तलतिर दगुरेकिथी', अल्मल्ल पर्दै एकछिन पछी आइते पनि आफ्नो बाटो फर्केकोथियो । 
 
फेरी एकबार उस्ले पोस्टकार्ड हेर्यो, शायरी पढ्यो, मनले मानेन; बत्तियो उ । 
जमुने भञ्ज्याङको पखेरो, गल्छिको बांसघारी र पारीको जंगलमा दौडिंदै गर्दा उस्लाई लाग्यो, नेत्रे बज्या बिनासित्ती अञ्जु मिसलाई गज्जप्की भन्छ; गज्जप्की त खासमा रिचा पो हो त ! एस्लाई अरु क्वैको फेला पर्न दिनुहुन्न ! 
स्याउला-पात गर्न गा'का कसैले देख्या भे सात्तो जांदो हो ! रङीबिरङी हुलियामा बौलाहा झैं दौडिएको आइते अजबको बनझांक्री झैं देख्याथ्यो । 
 
ओरालो झर्दै गरेकी रिचा पनि एक पललाई त झसङै भई; स्वां-स्वां र फ्वां-फ्वां गर्दै आइते उस्को सामुन्ने प्रकट हुंदा ।  
के भो ? कता जान ला' ? उस्ले आश्चर्य प्रकट गरी । 
तिम्लाई नै भेट्न आ', बसन । लामो-लामो शास फेर्दै आइतेले अली पाखातीर देखायो । 
के काम पर्‍यो त त्यस्तो ? झोला काखमा लिएर बस्दै रिचा जिस्की' । 
तिम्लाई सरी भनुम् भनेर नि ! उस्ले झोला छेउतिर राख्यो र आफु रिचाको सामुन्नेको सानो ढुङोमा बस्यो । 
सरी किन नि ? उस्ले अन्जान बन्ने असफल प्रयास गरी । 
एसरी, एती टाढा दौडंदै आएर सरी भन्नुको जोड-घटाऊ रिचाले गरीसकेकीथी' तर स्वभावैले जन्मजात गुण उस्मा पनि थियो । तारिफ, माया र माफी; नारीजातीलाई संधै-संधै बोलेरै बयान गर्नुपर्ने हुन्छ । उनिहरुको अन्तर्मनले बुझेर पनि कहिल्यै-कहिल्यै बुझ्न चाहंदैन ! 
अस्ती तिमीले चिट्ठी दिंदा मैले के-के भनें, त्यसैले के । माफ गर है ! उस्ले ङिच्छ हांस्दै भन्यो । 
ए ! एती सजिलै हुन्छ र भन्या ? कान समातेर उठबस गर, अनी मात्रै माफी । उस्ले दाइने हातैले देखाउंदै भनी । 
हे, रेला नगरन । लु, कान नि समातें, भो ? 
ल-ल मान्द्यो ! नजिकैको सानो सिटोले प्याट्ट हान्दै उ हांसी, आइते पनि हांस्यो र सँगै हांसिरहेका थिए; उनिहरुको मुहारमा अनेक रंगहरु । 
भनेपछी अब माया पनि गर्छौ हैन्त ? कि त माफी मात्रै हो र ? उस्ले शंका पोखी । 
हैन, .. गर्छु । आइतेले भुंइतिर हेर्दै भन्यो । 
छ्या ! स्वाएन भन्या ! खै एता हेरत ! रिचा ठुलो हांसो हांसी । 
केss ? आइतेले बल्ल नजर मिलायो । 
केइ हैन । 
एकछिन सुन्यतामा हेराहेर मात्र भो । 
अघी कलासमा के गर्याथ्यौ ? रिचा केही रिसाए झैं गरी । 
के गर्याथें र ? 
अबिर लाउने बेला, बदमाश ! 
ए । के भो त ? अब त तिमी मेरै त हौ ! 
अंह पाइंदैन, एस्ता कुरा ब्या पछी मात्रै । 
ल-ल, तर ब्या चाइं मैले नोकरी खाए पछी मात्रै .. 
 
केही बेर एस्तै मिठा भविश्यका कुरा भए, केही भयका पनि । बाटुलीलाइ जसरी भए पनि मनाइ छाड्ने संकल्प आइतेले लियो, खगेन्द्र देवले नमानेमा सब्कुरा छोडेर आउने वाचा रिचाले गरी । दिन ढल्न लाग्दा, दुबै लागे आ-आफ्नो घर; प्रशन्न मुद्रामा । भोली आफ्नो पाइताला मुनी के-कती हुन्छ भनेर चिन्तित हुनु मुनासीब छ तर आज आफ्नो हत्केलामा जे-जती छ, तेसैमा रमाउन सक्नु पनि त महत्वपूर्ण हो नि ।   
 
ए, एss दाई, ट्याक्सी रोक्नु त । बागबजारबाट भित्र छिर्दै गर्दा, एक्कासी आइते चिच्यायो । 
किन ? के भो ? माया उत्सुक हुंदै एताउता हेर्नथाली । 
बाटो एस्तो छ, खै कता रोक्नु र ? डाइबर दाइले अलिकती किनार लाउने प्रयास गरे । 
यिं रोक्नु न, म आइहालें । रोक्की' नसकेको ट्याक्सीबाट ओर्लंदै आइतेले भन्यो र ८-१० कदम अर्को दिशातिर दौड्यो । 
हैन के भो यो मान्छेलाई ? माया गन्गन गर्दै बाहिर आएर उभीई । केही पर आइते घांटी तन्काउंदै पल्याक्-पुलुक गर्दैथियो, केही बेरमा निराश फर्कियो । 
के भो ? कस्लाई खोज्या ? 
चिन्या मान्छे जस्तो लाग्यो । 
अरे वा ! यो शहरमा तपाईंको चिन्या मान्छेहरु पनि छन् र ? ल-ल भित्र बस्नुस् नाम-ठेगाना छ भने भोली-पर्सी खोजे पनि हुन्छ । मायाले खास्सै वास्ता नागरिकन भनी, दुबै भित्र बसे, ट्याक्सी गुड्यो; आइतेको मन भने उड्यो - भुमरीमा परेको सुकेको पात झैं । 
अघी त्यो रातो स्कुटरमा जाने केटी पक्कै पनि रिचा हुनुपर्छ, उस्को ठम्याइ एस्तै थियो । 
क्रमश:
 

 
Posted on 10-07-13 10:29 AM     [Snapshot: 1764]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो छ keep going..
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters